राजनीतिक स्थिरता खोज्दै परिवारमा स्नेह बाँडौँ

बुधबार, बैशाख १०, २०७७

loading...

- सीता ओझा-अध्यक्ष महिला अध्ययन केन्द्र



प्यारी छोरी,

अहिल्या
मुटुभरि सम्झना र ममता

उमेरले नेटो काटे पनि छोरी,म अहिले निकै स्वास्थ्य छु ।हाम्रो परिवारका सबै सदस्यहरू लगभग एक महिनादेखि घरै छन् । सायद कोरोनाको सङ्क्रमणको डरले होला कोही आउँदैनन् र घरका पनि कतै जाँदैनन् । यसरी एउटै भात भान्साका हामी यति लामो समयसम्म चौबिसै घण्टा सँगै बस्न पाउने दिन पनि जुट्दो रहेछ । समय बलवान् हुन्छ,नभएको नदेखेको काम र कुराहरू पनि समय कुर्न सके देख्न पाइन्छ भन्थे, हो रहेछ । मानिसले पर्यावरणको दोहन गरेको बुझेर नै होला प्रकृतिले आफ्नो सन्तुलन मिलाउन नै होला यो कोरोना भन्ने सरुवा रोगले विश्वलाई आक्रान्त पारेको पनि । म विज्ञान र प्रविधि नबुझेको ,साँवा अक्षर मात्रै जानेको मान्छेले विश्लेषण गरेको कुरा तिमीहरूलाई त्यति मन नपर्न सक्छ । अहिलेसम्म मैले घरपरिवार ,समाज भित्र अनेकौँ आपत् विपत् देखेँ,भोगेँ,यस्तो भोगाइका क्रममा कति पटक, कति जनको खाने र बस्ने बाँस मेटिएको,अलपत्रै परेको,आफन्त गुमाएको देखेथेँ तर परिवारसँग जुटेर बस्ने,खाने,हाँस्ने,रमाइलो गर्ने यति लामो समयको मेल भने देखेको थिइन र पाइएको पनि थिएन ।

एक महिना अघि तिरको कुरा होला , तुवाँलोले आकाश धमिलाएको थियो । आकाश धमिलिएकै कारण होला, मेरो शरीर निकै थकित,गलेको जस्तो गरी दुखी रहेको थियो । चिया,खाजा खुवाएपछि सृजनाले ” आमा म एक छिन बारीतिर छिरेर काँक्रा फर्सी गाडी दिन्छु,सविनलाई यसो नजर लाउनु है !” भन्दै कुटो बोकेर बारीतिर छिरी । सृजना बारीमा छिरेपछि यसो सोचेँ घरभरि मान्छे छन्, हेरिहाल्छन् नि जस्तो लागेर ” ए,भित्र बस्नेले सानो नानी पट्टि नजर राख है !” भन्दै म पनि सृजना कै पछि लागेँ । बारीमा छिरेको देखेर सृजना कराउँदै थी । तर म नटेरी उसैलाई समाउँदै ,” एक छिन भएनी यसो मेसिन चलाउनु पर्‍यो भनेर आएकी नि !” भन्दै काँक्रा पर्सि रोप्न सिकाउन थालेँ । तिमीहरू हुँदा पनि म सृजना देखेपछि त्यसै खुसी हुने गर्थेँ । उ पनि मलाई त्यस्तै गर्छे, त्यही कारण अहिलेसम्म हामी दुई सासू बुहारीबीच तितो पिरो,अमिलो भएको छैन । यस्तो हुनुमा हामीबिच बढेको विश्वास,अपनत्व, हाम्रा आवश्यकता र चाहानाप्रति भएको खुलापनले गर्दा नै हामीमा हार्दिकता बढेको हुनुपर्दछ । हामी दुबैका देखाउने र सुनाउने कुरामा भिन्नता छैन । एउटै रगत भएर पनि तिमीहरूलाई अपारदर्शी तरिकाले च्याप्ने मेरो बानी नभएर पनि हुनसक्छ । यसरी च्याप्ने बानी भएको भए त तिमीहरूको दाइको अन्तरमुखी स्वभावको कारण अहिलेसम्म हामीमा धेरै प्रकृतिका अन्तर्विरोध जन्मन्थे होला । त्यस्तै धेरै पटक मैले तिमीहरू गुहार्थे । अनि सृजनाले पनि अनेकौँ पटक कचहरी गराउँथी होला ! अहिल्या हामीले हाम्रो घरपरिवार र नाताभित्रको आवश्यकता ,अधिकार र कर्तव्य बोधबाट टाढा हुनुहुन्न । निकटताले सम्बन्ध बलियो हुन्छ । नाता सम्बन्ध जाने जोडिरहन्छ, गल्तीले होइन गलत बुझाइ र हेपाइको कारण मिनेट भरमा टुट्छ । टुटेपछि नाता खोजेर जोड्नु भन्दा पहिले नै विचार पुर्‍याउनु चाहिँ बुद्धिमानी हो नि ! त्यसो भनेर आफ्नो हक र अधिकारको विषय कसैले बिर्सनु पनि हुन्न छोरी ।

सृजना तिम्रो परिवारभित्रको खुल्लापनले नै हामी सबैलाई पारदर्शिताको महत्त्व सिकायो । तिम्रो ले सबैलाई आफ्नो देख्ने कुराले सहभागी हुने वातावरण बनायो । सबै सहभागी भएर गरेको निर्णयले घरभित्रका आर्थिक,सामाजिक पक्षहरूमा निर्णय गर्न सजिलो भयो । परिवारभित्रका सबैका आवश्यकता र चाहानाका बारेमा खुला छलफल, सरसल्लाह गर्ने बानी बस्यो । यी सबै तिम्रो व्यवहारले मलाई सिकाएका विषयहरू हुन तर यी र यस्ता कुराहरू म पहिले कसैलाई पनि भन्न सक्दिन थिए । छोरीहरू कराउँथेँ, ” आमा तपाईँ सृजनासँग के रन्थनाएको नि ! म डरले मुख खोल्दिन थेँ । यस्तै गनथनाउदा गनथनाउदै हातमा बोकेको बीउ सिद्धिएछ । एक्कासि सविन दौडेर आयो र चिच्याउँदै भन्यो, ” हजुरआमा,हजुरआमा , उ माथि हेर्नू त ! के हुन ती ? यहीँ आउँछन् हो ? ” हामी दुवैले छक्क पर्दै सँगै माथि हेरिरहेछौँ र सँगै भनेछौँ,ती त कर्याङकुरूङ हुन्, काँक्रा फर्सी रोप्ने बेला भयो भन्न आएका बाबु ! ” – सविन छक्क परेर हेरिरह्यो । निकै बेर आकाशतिर घाँटी तन्काइ रह्यो । कर्याङकुरूङ देखुन्जेल हेर्‍यो अनि, ” हजुरआमा ती त हराए त ? भन्दै नजिकै आयो । त्यहीँ बेला सृजनाले सविनलाई मुसार्दै भनिन् – ” तिनीहरू काँक्रा फर्सी रोप्ने सूचना दिँदै हिँडेका हुन भनेर सम्झाइन् । सविन पनि मक्ख पर्दै बारीमा छिर्न खोज्दै थियो तर मैले उसको बाबालाई बोलाएँ । पर्शुले छोरालाई समायो र अखबार पढेर देखाउँदै ” आमा अब घरबाट निस्कन र हिँडडुल गर्न बन्द रे , कोरोना भन्ने सरुवा रोग विश्वभरि फैलियो रे ! त्यो त मान्छेले मान्छेलाई छाएर सर्छ रे, त्यसैले अब सार्वजनिक बसदेखि व्यापार,व्यवसाय,कलकारखाना सबै बन्दा बन्दी रे, बूढाबूढी,केटाकेटी र असक्तहरूलाई जोगाउनु पर्छ रे ! ” भन्न थाल्यो । त्यसै दिनबाट हामी कोही बाहिर निस्किएका छैनौँ । सायद तिमीहरू पनि घरभित्रै छौ ।

छोरी अहिल्या ,
अहिले त चारैतिर शान्त वातावरण भएर होला घरै मुन्तिरको चिलाउनेको रूखमा कोइलीको सुरिलो स्वरले -काफल.. पाक्यो,काफल पाक्यो …. ! को हो ..को हो भनेर कराएको सुनिएको छ । हरेक दिन दिउँसो अम्बाको हाँगोको टुप्पो नुहिनेगरि जोडी ढुकुर रमाएको देखिन्छ । आँगनको पल्लो छेउको मेवा जुरेलीको चुच्चोले ठुँगेर चार पाँच वटै सिद्ध्याए छन् । सानादेखि ठुला कति हो कति चराचुरुङ्गी र पुतलीहरू त ! ती सबै लखेट्ने र नाम सोध्ने गरेर सविनले हैरान पारी सक्यो । यस्तो आनन्द त मेरो जीवन कै पहिलो होला छोरी ।

नानी यो कोरोना भन्ने सरुवा रोग हाम्रै छिमेकी देश चीनबाट पो फैलिएको रहेछ त । यसरी फैलँदै अहिले संसारमा २४,७८,७३४ मानिस सङ्क्रमित भएछन् , त्यस्तै ६,५१,७३६ अस्पतालबाट निको भएर घर फर्केछन् ! मर्नेको सङ्ख्या सुन्दै आत्तिने छ । हेर त आज वैशाख ९ गते मध्यान्ह सम्म १,७०,३८९ यति पुगेछन् । नेपालमा पनि ३१ जनालाई यो रोगले समात्यो । चार जना ठिक भएर घरतिर गएको सुनेर खुसी भएँ । धन्न कसैको ज्यान लिएको छैन । म जस्ता उमेरको उत्तरार्धतिर पुगेकाहरूलाई सर्‍यो भने त सास फेर्नै गारो हुनेगरि ऐँठन भए झैँ च्याप पारेर ज्यानै लिँदो रहेछ । म त समाचार सुनेको सुनै गर्छु र यतिका सूचना थाहा पाएँ । अहिले त सबैलाई फोनबाटै सचेत पनि सचेत गराउँदो रहेछ । त्यसै कारण म घर भन्दा बाहिर निस्केकी नै छैन । तिमीहरू पनि आफ्ना सामाजिक,राजनीतिक कामहरू गर्दा सामाजिक दुरी कायम गर्दै काम गर्नु है । ” मानिस प्यारो हुन्छ रोग प्यारो हुन्न भन्ने कुराको हेक्का राख्नु है !” ” हुलमुलमा जिउ जोगाउनु,अनिकालमा बीउ जोगाउनु! ” भन्ने उखान सम्झेर काम गर्नु ।

छोरी,
यस्तो बेलामा मैले नाना भाँतीका कुरा समाचारमा सुनेँ । थुप्रैले सरकारलाई सरापे,मानिस बसेको थाक थलो छोडेर जथाभाबी हिँडे,खान नपाएको,भ्रष्टाचार गरेको,पाटी नै फुटाउने कानुन बनाएको, आदि नाना भाँतीका समाचारले म अलि दिक्क छु । देश कोरोना जस्तो रोकको सङ्क्रमणको पीडा सहिरहेको बेला सबै प्रकारका विमतिलाई एक ठाउँमा थन्क्याएर आग्रह,पूर्वाग्रह भन्दा माथि उठेर विपक्षीहरूलाई पनि साथ लिएर एकजुट भएर महामारीको विरूद्द लड्नु पर्ने बेला यो बेमौसमी बाजा बजाएको देखेर मलाई तिमीहरू देखि पनि दिक्क लाग्या छ । मिल्ने मिलाउने वातावरणमा देश बनाउन छोडेर राजनीतिक स्थिरताका लागि हिजो सहमति गरेको संवैधानिक सहमति,विना राजनीतिक सरसल्लाह आपत्कालीन विधेयकको रूपमा तेर्साएर चालिस प्रतिशत विधायक सङ्ख्या पुर्‍याएर दल टुक्र्याउने विधेयक ल्याउनु भनेको फेरि देशलाई अन्योलतिर धकेल्नु होइन र ? त्यस्तै विधायकको खरिदबिक्री जस्तो राजनीतिक अपराधीकरण भित्र्याउनु पनि त हो नि !

नमच्चिने पिङको सय झड्का भन्थे बुढापाकाहरूले,अहिले नेताहरूलाई,बल्लतल्ल बनाएको पाँच वर्षे दुई तिहाइको सरकार निल्नु न ओकल्नु भएको देख्दा अचम्म परेकी छु । सङ्कट समाधानमा भूमिको उपयोग ,कृषि,चौपाया कसरी बढाउने,अर्को साल जनतालाई खाने प्रबन्ध कसरी जुटाउने,भ्रष्टाचार कसरी उन्मुलन गर्ने ? आफ्ना नागरिकलाई सुविधा सम्पन्न र रोजगारी कसरी दिने? मानवीय आवश्यकताहरू कसरी पूरा गर्ने? जस्ता विषय सोच्नुपर्ने ,दलै फुटाउने कानुन पो बनाए,भन्ने सुने । त्यस्तै सल्लाह दिएका हौ छोरी ?

नेताहरूलाई नीतिमा चल्न,सामूहिकतामा विश्वास गर्न, आलोचना आत्मा आलोचनाले आफूलाई सुधार्न,दुख,सुखको आफ्नो सहकर्मीप्रति भरोसा गर्न,विपक्षीको विचारलाई सम्मान गरेर अघि बढ्न लाग्छौ भन्ने ठानेको छोरी तिमीहरू नै अस्थिरता रोज्न थालेछौ । यस्तो समाचारले म त्रसित भएकी छु । मेरो उमेर सँगै सुरु भएको जहानियाँ शासन विरूद्काे आन्दोलन देखि अहिलेसम्म मैले कहिल्यै राजनीतिक स्थिरताको भेटेकी छैन । अहिलेसम्म पनि राजनीति कोरोना भाइरसले जस्तै अतिक्रमण र सङ्क्रमणमा नै हराएको देख्छु । यो संविधानले रोकेको दलीय विभाजन,आन्तरिक टुटफुट , गाली, गलौच, अराजकता, शङ्काले होइन अब विश्वास,स्थिरताको राजनीतिक सहकार्य खोज्ने प्रयास बनाउनु पर्छ छोरी ! त्यता पहल गर्ने वातावरण बनाऊ है ! यो त आन्तरिक र बाह्य विश्वास बटुलेर समयमै मेलमिलापको वातावरण बनाउने बेला थियो । तिम्रो पचासौँ वर्षको लगानी ,त्याग र निस्स्वार्थ समर्पण मुलुकको स्थिरताको लागि हुनु पर्छ । नानी अझै केही बिग्रेको छैन । कूटनैतिक प्रयासमा अझै लाग्छौ कि !

अन्त्यमा,
अहिल्या छोरी, मैले उहिल्यै विश्व युद्धको कुरा सुनेकी थिएँ । त्यस बेला धेरै मानिसहरू युद्धमा मारिएका थिए रे ! गोला,बारुद सहित विश्व दुई धुरीमा विभाजित भएको थियो रे ! पछिल्लो युद्धमा जापानको नागासाकी र हिरोसिमामा बम छोडेर सहरै स्वाहा पारियो रे ! लाखौँलाख मानिसको ज्यान गयौँ ,हजारौँ हजार घाइते,घरबार विहीन भए रे ! यस्तो नरसंहारको अन्त्य गर्न, समझदारी बनाउन लामो समय लागे पनि अनेकौँ प्रयत्नले युद्धरत राष्ट्रहरूबिच आखिर सन्धि भयो रे ! त्यस्तो नरसंहारकारी युद्धको अन्त्य त भयो भने यो अध्यादेश निष्क्रिय नहुने कुरै आउँदैन । तर तिमीहरू जस्ता कार्यकर्ताको लगाव चाहिन्छ ।

अहिले विश्वभर फैलिएको कोरोना नामको भाइरसको सङ्क्रमण सर्ने रोग हो । होसियार अपनाए सङ्क्रमण बिस्तारै निस्तेज हुन्छ । त्यसैले अहिले विश्वभर बन्दा बन्दी भएको अवस्था छ । यो प्राकृतिक विषाणु हो कि जान्ने सुन्नेले बनाएको हो कृत्रिम विषाणु मलाई यश बारेमा पनि जान्न मन छ । मान्छेले नै बनाएको हो भन्ने किन यस्तो आत्मघाती काम भयो ? यस्तो जिउँदो मात्रै होइन मरेको लास प्रति घृणा जाग्ने,आफन्त मर्दा रुन र छुन नपाउने अमानवीय पुरुषार्थप्रति म गर्भ गर्दिनँ ! खेद व्यक्त गर्छु ।

हेर छोरी, म त उमेर अस्ताउन लागेको मान्छे, बाहिर गएर केही गर्न सक्दिन तर जसले आफ्नू जीवन र परिवार भन्दा माथि उठेर अहोरात्र मानिस बचाउन लागे,सुरक्षा दिए,अति आवश्यक सामग्रीको सुविधामा सहजीकरण गरे,रोगको सङ्क्रमणबाट बाँचेर अरूलाई हौसला दिए तिनीहरू प्रति मलाई गौरव लागेको छ । अन्य व्यवस्थापन गर्ने सबै प्रति म धन्यवाद दिँदै यस पटकको आमाको मुख हेर्ने औँसीमा तिमीहरू दुवैले घरकी आमा (सासू) सँगै रमाउने प्रयत्न गर ,बाटोमा छरपस्ट हुन खोजेको र भएको राजनीतिक समाल, स्थिर राजनीतिले तिमीहरू जस्ता सयौँको घरपरिवारको स्नेह,सुख जोडेर आपसमा सहयोग बढाउँछ । राजनीति सबै नीतिको माउ हो भन्छन् त्यसैलाई सँगाल्दै सबैको आवश्यकता र भावना बुझेर देशको उन्नति खोज्न प्रयत्नशील बन । पारिवारिक स्नेह र ममता बुझ र बाँड्ने प्रयत्न गर । परिवार जस्तैगरि दल र दल भन्दा बाहिरका जनताको सहयोगी बन्ने प्रयत्न गर । म तिमीहरूकी आमा पनि त्यसैमा रमाउने छु । आमाको मुख हेर्ने दिन बिहानैदेखि प्रविधि खोलेर,मन साटौँला,माया बाँडौला । हात हातको स्मार्ट मोबाइलमा कुरा गर्दै हाँसौला है छोरी ! हामीले मात्रै चाडपर्व नमनाएको हैन,यस पटक सबैले धर्म,कर्म र संस्कृतिलाई केही समय स्थगन गरेका छन् ।

छोरी, मैले राजनीतिमा नबुझेको एउटा दुखेसो तिमीसँग गर्नु छ । दूर दराजको गाउँ , तिमी छोरी, पढ्न पनि हुन्न भन्ने समय,पञ्चायतको निरङ्कुशता भित्र तिमी राजनीतिमा लाग्दा मैले सहेको अपमान,हेलाँ ,होचो,तिरस्कार,घेराबन्दी र निषेध सम्झँदा अहिले पनि मेरो छाती चर्कन्छ । भक्कानु फुट्छ । अपमान बिर्सेको छैन। म र तिमी जस्ता लाखौँलाखको रगत र पसिनाले बनेको यो देश कुनै एउटा व्यक्तिको दम्भ (घमन्ड)ले भागबन्डातिर लाने चेष्टा नगर्नु है । यो मर्ने बेलामा तिमीसँग बसेर धेरै भलाकुसारी गर्नु छ । यस पटकको बन्दा बन्दी खुलेपछि मातातिर्थ मनाउन, म नै सकेसम्म तिमीहरूलाई भेट आउने छु । अनि बाँकी दुखेसो कहुँला है कान्छू ।

तिम्री मायालु आमा
सुभद्रा……

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments