लकडाउनमा भोक !

मङ्लबार, जेष्ठ ६, २०७७

loading...

- दीपक कुमार मण्डल



‘लकडाउनमा भोक’ भन्ने शीर्षकमा लेख लेख्दा सब भन्दा पहिले भोकको परिभाषालाई बुझौँ। भोकको शाब्दिक अर्थ शरीरमा खानाको कमिले कमजोरी वा बेचैनी हुनु हो। भोक भनेको कुनै पनि वस्तु प्राप्ति गर्ने चाहना पनि हो।

भोकलाई साधारण रूपमा बुझ्दा खानाको भोक र शक्तिको भोक भनेर नै बुझ्ने गरिन्छ। खानाको भोक त एकपल्ट शान्त पार्न सकिन्छ तर शक्तिको भोक कहिल्यै शान्त पार्न सकिँदैन।

नेपाली राजनीतिमा भोकको वर्गीकरण गर्दा मत लिने लाई बहुमतको भोक हुन्छ भने मत दिनेलाई मासु रक्सीको भोक हुन्छ।

भोकको वर्गीकरण पनि गरौँ

मानिसको भोकलाई वर्गीकरण गर्दा यो थुप्रै प्रकारको हुनसक्छ। उदाहरण स्वरुप: भौतिक भोक, भावनात्मक भोक, शक्तिको भोक आदि। मानिसको शरीरलाई केन्द्रमा राखेर हेर्ने हो भने पनि भोकलाई विभिन्न प्रकारमा विभाजन गर्न सकिन्छ। केही मीठो खाऊ भन्ने पेटको भोक हुन्छ । केही सुन्दर हेरौँ भन्ने आँखाको भोक हुन्छ।  केही मीठो सुगन्ध लिऊ भन्ने नाकको भोक हुन्छ भने केही कोमल स्पर्श छौ भन्ने छालाको भोक हुन्छ। यसरी शरीरको हरेक अङ्गको आ-आफ्नै किसिमको भोक हुन्छ।

गरिब मजदुरलाई केन्द्रमा राखेर भोकलाई बुझौँ
गरिब मजदुरको स्थिति के छ भने बाहिर कोरोनाले मरिन्छ भने घरमा भोकले मरिन्छ। करिब दुई महिनाको लकडाउनले सबै व्यक्तिको काम ठप्प पारेको छ। बिहान काम गरेर बेलुका खानाको जोहो गर्ने मजदुर वर्ग यसको मारमा बढी परेको छ।

न त उनीहरूसँग घरमा खाद्यान्न छ न त काम। गरिब मजदुर खाद्यान्न, औषधि उपचार गर्न घर बाहिर निस्किदा प्रहरीको लट्ठी खानु परेको छ। यती गर्दागर्दै पनि पसलमा खाद्यान्न र औषधि किन्दा दोबर तेबर दाममा किन्नु परेको छ।

सरकारले कोरोनाबाट बाच्न अनिवार्य मास्क र स्यानिटाइजर प्रयोग गर्नुपर्छ त आदेश गर्‍यो तर बजारमा मास्क र स्यानिटाइजर छ कि छैन भन्ने कुराको मतलब राखेन। बजारमा भएका मास्क र स्यानिटाइजरको कति कालोबजारी भएको छ भन्ने हेक्का समेत राखेन। रु. १० पर्ने मास्कलाई रु. ५०मा किनेको घटना मलाइ अझै स्मरण छ।

सरकारले राहतको घोषणा त समय समयमा गरेको छ तर यो राहत कहाँ गइरहेको छ भन्ने कुरा स्पष्ट छैन। जनप्रतिनिधिहरूको आफ्नो मानिसहरूले मात्र राहत पाएको र असली गरिबले राहत नपाएको समाचार सुन्नु हाम्रो लागि नौलो होइन। राहतमा पाइएको चामल, दाल आदि कुहिएको हुनु कुनै अनौठो विषय होइन। विडम्बना त के हो भने यो लकडाउन गरिबको लागि मात्र भएको जस्तो छ। शक्ति हुने ठुला बडाले लकडाउनमा पनि स्वतन्त्र रूपमा आफ्नो स्वार्थ पूरा गर्न सकेका छन्।

२०१९ को ग्लोबल ह्ङर इन्डेक्स अनुसार नेपाल ११७ राष्ट्रमध्ये ७३औँ स्थानमा छ। नेपालको ग्लोबल हङर इन्डेक्स स्कोर २०.८ छ जो कि चिन्ताजनक छ। यस लक्डाउले यो समस्या अझै विकराल हुने सम्भावना छ। यस समस्यामा सरकारको उदासीनता बढी चिन्ताको विषय बनेको छ।

गत चैत ११ गते देखी जारी लकडाउनको आदेश गर्न सरकारले ढिला गरेन । तर लकडाउनको आदेश दिने दिन देखि देखा परेको छ सरकारको अल्प तयारीका कारण गरिखाने वर्गहरू बढि मारमा परेका छन । कोरोनासँग लड्न लकडाउन सँगै सरकारकाे  तयारीमा खासै ध्यान गएकाे देखिदैन ।  कोरोना भाइरस संक्रमणसँगै सरकारले अप्रयाप्त याेजना मुताबिक भाेक, राेग र शाेक  बढी खतरनाक बन्रे निश्चित जस्तै छ ।  विश्वका शक्तिशाली राष्ट्रहरूलाई कोरोनाले अस्तव्यस्त बनाइराख्दा नेपाल जस्तो गरिब राष्ट्रलाई यसले कतिसम्मको क्षति पुर्‍याउन सक्छ त्यो सजिलै अाँकलन गर्न सकिन्छ।

महामारीको अवस्थामा कुनै पनि राष्ट्र त्यो महामारी सक्दो छोटो समयमा नियन्त्रणमा ल्याउनुमा केन्द्रित हुन्छ तर नेपाल सरकारले गरेको स्वास्थ्य सामाग्रीको खरिद पनि विवादबाट अछुतो रहन सकेन। यसको कारण जुन गतिमा कोरोना टेस्टिङ गरिनु पर्थ्यो त्यो गतिमा भएको पाइँदैन।

लकडाउनको आदेश र राहत कार्यक्रम सँगै आउनु पर्ने विषय हो। यहाँ त राहतको समस्यासँगै कोरोना टेस्ट गर्ने कीट र पी.पी.इ को कमी भएको अवस्था छ। पी.सी.आर प्रविधिबाट कोरोना टेस्टीङको सङ्ख्या सीमित छ।

नेपालको मध्यम वर्ग यस लकडाउनमा घरभित्र थुनिदा विभिन्न प्रकारको रचनात्मक काम गर्न व्यस्त छन्। थरी थरीका खाना पकाएर, नाच गान गरेर सामाजिक सञ्जालमा पोस्टायाउनमा व्यस्त छन्। उनीहरूमा महामारीको डर हुनु अस्वाभाविक भएन। तर यहाँ एउटा अर्को वर्ग पनि छ जसलाई रोगको डर भन्दा बढी भोकको डरले सताइ रहेको छ। जुन वर्ग दैनिक ज्यालादारी काम र निजी कम्पनीमा काम गर्छन् । यस्तो वर्ग कति समय सम्म महामारीको डरमा भोक सहँदै घरमै बस्न सक्छन् त ?  बिना तयारी यो लकडाउन यसरी नै लम्बिँदै जाने हो भने धनवान् युरोपेली मुलुक इटलीमा जस्तै सानो पसल लुटपाटको अपराध सुरु नहाेला भन्र सकिदैन ।

कोरोना सङ्क्रमणमा रोक लगाउन लकडाउनको माध्यम सही देखिएला तर भोकको दृश्यले देख्दा यो फरक देखिन्छ। जसरी यो लकडाउनको अवधि बढ्दै जान्छ त्यसरी नै भोकको विषय गम्भीर हुँदै जान्छ।

सहयोग एउटा साधारण मानिसबाट पनि गर्न सकिन्छ। मदर टेरेसाको शब्दमा भन्दा यदि तिमी सय जना मानिसहरूको भोक मेटाउन सक्दैनौ भने कम से कम एक जना मानिसको भोक मेटाऊ अर्थात् कमसेकम एक जनालाई सहयोग गर। हुनेले नहुनेलाई सहयोग गर्न सक्नुपर्‍यो र यसका धेरै उदाहरण पनि समाजमा देख्न सकिन्छ।

खासमा यस संसारमा भोकको इलाज छ तर लोभको छैन। मोहनदास गान्धीको भनाइ अनुसार यस विश्वमा सबको आवश्यकता पूरा गर्न सकिन्छ तर लोभ पूरा गर्न सकिँदैन।  गरिबको भोक आवश्यकता भित्र पर्छ भने शक्तिको भोक लोभ भित्र पर्छ।

देश यस्तो परिस्थितिबाट गुज्रिदिन महत्त्वपूर्णता अझै शक्तिकै भोकलाई मेटाउने कार्यहरू प्रति दिइएको छ। शक्तिको भोकमा डुबेकाहरूलाई आफ्नो शक्ति भोकको अगाडि निम्न आए भएका गरिब मजदुरको भोक देखिएको छैन।

गरिबको भोक र शक्तिको भोकमा जमिन आकाशको भिन्नता छ। गरिबको खानाको भोक छ भने शक्तिको तिर्खालुलाई शक्तिको भोक छ। खानाको भोक शान्त गर्न सकिन्छ तर शक्तिको भोक शान्त गर्न सकिँदैन। भाेक माथिकाे राजनीतिले शक्ति त प्राप्त गर्न सकिएला तर भाेक मेटाउन सकिदैन भन्रे कुरा नेतृत्वले अाभास गराेस ।

अन्त्यमा: सरकारले गरिब मजदुरको लकडाउन नामक हतियारले नाक त थुन्यो तर राहत नामक समाधानले गरिब मजदुरको मुख खोलेन।

-दीपक कुमार मण्डल (लेखक कानुनका विद्यार्थी हुन)

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments