ऐतिहासिक महत्व बोकेको धरोहर – रणमुक्तेश्वर

आइतवार, साउन २७, २०७५

loading...

- परिवेश मल्ल ठकुरी



- परिवेश मल्ल ठकुरी

काठमाडौंको मुटु न्युरोड स्थित यो मन्दिर ऐतिहासिक रुपमा रहे पनि प्रचार प्रसारको अभावमा ओझेलमा परेको छ । हामी यही मन्दिरको छेउमा र अघिल्तिर धेरै हिड्छौ तर हामीलाई वास्ता रहन्न, मतलव हुन्न । आशा छ यो लेखले हामीलाई त्यस ठाउ नजिक पुग्दा एकचोटी त जाउं न भन्ने भावना जागृत गराउने छ ।

काठमाडौंको मुख्य ब्यापारिक क्षेत्र न्युरोड आफैमा सधै भिडभाडले भरिएको हुन्छ अझ किनमेलका लागि त्यहाँ ताम्राकार कम्प्लेक्स , पिपल्स प्लाजा र आर.बि. कम्प्लेक्समा नपुग्ने नेपाली तथा विदेशी पाहुना कमै होलान । हो त्यहि आर.बि. कम्प्लेक्स अगाडी नै रहेको मन्दिर नै रणमुक्तेश्वर मन्दिर हो र यसकै नाममा कम्प्लेक्सको नाम रहेको हो, आर.बि. कम्प्लेक्स अर्थात रणमुक्तेश्वर बिजनेस कम्प्लेक्स ।

कुनै पनि मन्दिरको निर्माणको उधेश्य धार्मिक आस्थासंग जोडिएको हुन्छ । रणमुक्तेश्वर शिवालयको निर्माण पनि धार्मिक आस्था संग जोडिए पनि उक्त मन्दिर तत्कालिन इतिहासको एउटा अकल्पनीय घटना संग प्रतक्ष्य जोडिएर निर्माण गरिएको थियो । ईतिहास केलाउदै जाँदा बि.स. १८६३ बैसाख १५ गते तदनुसार २५ अप्रिल ई.स. १८०६ मा घटेको घटनाको साक्षी रणमुक्तेश्वर मन्दिर एउटा जीवित इतिहास हो । जसको निमार्ण तत्कालीन अवस्थामा सर्व शक्तिमान पदमा पुगेका भीमसेन थापाले रण बहादुर शाहको आत्माको मुक्तिको लागि गराएका थिए ।

ऐतिहासिक घटनाक्रम केलाउदै, खोज्दै जाँदा हामी बडामहाराजाधिराज पृथ्वी नारायण शाहका नाति स्वामी महाराज रणबहादुर शाहको प्रतक्ष्य शासनकाल नभई मुख्तियारी कालमा पुग्नुपर्ने हुन्छ ।

स्वामी महाराज रणबहादुर शाहले आफ्नी प्राणप्यारी रानी कान्तिमतीको इच्छा बमोजिम उनीबाट जन्मेको गिर्वाणलाई राजा बनाउन आफु २६ बर्षको हुंदा बुढो भए भन्दै स्वैच्छिक रुपमा राजकाज त्यागी डेढ बर्षका गिर्वाणलाई राजा बनाई आफ्रले राजकाजको अधिकार लिई मुख्तियार भई शासन चलाउन थालेका थिए ।

त्यति नै बेला मुख्तियार तीर्थाटनको लागि बनारसमा रहँदा सरकारी ढुकुटीबाट १८ हजार रुपैया निकाली नोक्सान गराएको आरोप आफ्नै सौतेनी भाई शेर बहादुर शाही, काजी त्रिभुवन खवास, काजी नरसिंह गुरुङ्लाई लगाईएको थियो । जुन आरोप मुख्तियार नेपाल आउदा थानकोटमा नै केरकार गरि सबैलाई आरोपमुक्त गरिएको थियो । तर सेलाइसकेको मुद्घा अचानक उधिनी काजी त्रिभुवनलाई देश द्रोहिको अभियोग लगाई बिष्णु मतिमा काट्नु भनी मुख्तियार रण बहादुर शाहले आदेश दिए ।

त्रिभुवनले पनि यस मुद्घामा म मात्रै छु कि अरु पनि छन् यसको तहकिकात गर्न भारदारी कचहरी बसोस अनि थाहा हुनेछ सबैको पोल खोलि दिनेछु भन्ने बेहोराको बिन्ति पत्र लेखि आफुलाई काट्न आउने कुम्भेदान जयन्तको हात मुख्तियार कहाँ पठाईदिए । काजी त्रिभुवन प्रधान (खवास) लाई थुन्नु भन्ने आदेश भयो बाँकी आरोपीहरु चौतारा शेरबहादुर शाही (सौतेनी भाई) र काजी नरसिंह गुरुङग माथि पुन छानविन र त्यो मुद्घाको पुरपच्छे गर्न भनि बि.स. १८६३ बैशाख १५ गते रात्रीमा त्रिभुवन कै घरको माथिको ठुलो कौसीमा भारदारी कचहरी बोलाइयो । अक्सर गरेर मान्छे मार्ने कचहरी रातमा नै बस्ने गर्दथ्यो । तात्कालिन समयमा राजदरबार बसन्तपुरमा नै रहेको थियो तर पनि कचहरी भने हालको न्युरोडमा बोलाइएको थियो । सारा भारदार भेला भए । उक्त कचहरीमा सबै आरोपीहरुलाई जसरी पनि ल्याउन कम्पु पल्टनलाई आदेश जारि गरिएको थियो ।

r3

अभियुक्त काजी त्रिभुवन प्रधान (खवास), चौतारा शेरबहादुर शाही)सौतेनी भाई) र काजी नरसिंह गुरुङगलाई भेला गराईयो । सभामा आरोपी शेर बहादुर सहित ४ चौतारिया र भीमसेन थापा सहित ८ जवान काजी र गुरु रंगनाथ पौडेल सभामा बसेका थिए । कचहरी सुरु गर्नलाग्दा त्यतिबेला काजी रहेका भीमसेन थापा खाना खान भनि लुसुक्क निस्के र घटनाको अन्तमा मात्र आए जसले इतिहासमा भीमसेन थापा प्रति श‌का गर्ने ठाउँ पैदा गराएको छ ।

कचहरी शुरु हुना साथ मुख्तियार रण बहादुर शाहले कड्केर भने “ लौ भन मलाई काशी धपाउन तिमीहरुले ढुकुटीको धन झिकेर लिएका हौ कि होइनौ ? यो धन कुन बैरी संग लड्न खर्च गर्यौ ? कुन देश जित्यौ ? कीर्तिपुरमा फिरंगीलाई कोठी खोल्न दिएर तिमीहरुले बिरायौ कि बिराएनौ ? भनेर हप्काउदा त्रिभुवन कायल भैसकेको थियो ।

शेर बहादुरले पनि मैले बिराए जानिन अघि थानकोट मै माफ मागेको थिए र माफि पनि पाइसकेको थिए भनेर विस्तारै बिन्ती गरे । तर मुख्तियार रिसाउदै, मेरो जिउ को लागि माफ दिन हुन्छ ढुंगाको बिगारमा मैले माफ दिएर कहाँ हुन्छ त्रिभुवन त काटिन्छ काटिन्छ तेरा पनि आखाँ झिकिन्छ भनेर गाली गर्दै थिए ।

काल भैरव जस्ता स्वामी रिसाउँदै कड्के पछि फेरी शेरबहादुरले चौतारिया प्राण शाह र बम शाहलाई देखाउदै मैले मात्र विराएकी अरुले पनि विराए , विराउंदा सबैले विराउने सजाय चाहिं म मात्रै पाउने भनेर जिकिर गर्दै थिए । स्वामी के मान्थे – यिनीहरुको के लेखा जसको पायो त्यसको चाकरी गर्छन, खान्छन , तँ त मेरो साख्खै भाई होस बाफजादाको छाला गयो भने तँ के खाई जुठ्छस भन्दै छोपीहाले । शेर बहादुरले के मलाइ बात लाग्यो ? मैले माफ पाउन्न त भनेर सोध्हा पाउन्न्स भनेर रण बहादुरको जवाफले शेर बहादुरको मुख प्याक प्याक भयो २, ३ अम्खौरा पानी खाए र आफु जसरी पनि मारिने देखि चौतारा शेरबहादुर शाहीले म्यानबाट तरबार निकाली स्वामी महाराज रणबहादुर शाह माथि घातक प्रहार गरिदिए । तर उक्त प्रहार स्वामी महाराजको गर्दनमा नलागी पेटमा लाग्न गयो ।

चौतारा शेरबहादुर शाही मैनबत्ती निभाएर भाग्ने कोशिस गरेता पनि सफलता हात परेन । स्वामी महाराजका अङ्गरक्षक सरदार बालनरसिंह कुंवर र चौतारा बम शाहबाट पक्राउ परि तुरुन्तै काटिए । तरबार प्रहारको चोटबाट घाइते स्वामी महाराज रणबहादुर शाहलाई काजी भीमसेन थापा आएर ओछयान सहित सो घरबाट चोकमा ल्याई पुर्याउदा त्यहि नै उहाँको स्वोर्गारोहण भयो । यसरी रणबहादुरको प्राण मुक्त भएको ठाउं हुनाले काजी भीमसेन थापा (जो पछि नेपालका प्रथम प्रधानमन्त्री भनि कहलिए) शिवालयको स्थापना गरिदिए र नामकरण भयो रणमुक्तेश्वर ।

मन्दिरै मन्दिरको शहरको उपमा पाएको काठमान्डौमा यो मन्दिर पनि धार्मिक कारण र आस्थाले पनि आज पर्यन्त अटल र अडिग भएर काठमान्डौको मुटुमा ठडिएको छ । यो मन्दिर संग प्रतक्ष्य रुपमा जोडिएको ऐतिहासिक पाटोलाई लोप हुन नदिई युग युग सम्म जीवित राख्न पनि यस मन्दिरको ऐतिहासिक तथा धार्मिक महत्वको बारेमा ब्यापक रुपमा प्रचार प्रसार हुनु अत्यन्त आवश्यक भैसकेको छ । रणमुक्तेश्वर मन्दिर रहेको स्थान राजधानीको मुटुमा नै अवस्थित छ । जसको ऐतिहासिक महत्वले जोकोहीलाई पनि आर्कषित गर्न सक्दछ ।

यसैले यो मन्दिर भएको स्थानलाई ऐतिहासिक तथा धार्मिक पर्यटकीय गन्तब्यको स्थलका रूपमा विकास गरिए आन्तरिक तथा बाह्य पर्यटकहरुको गन्तब्य स्थल बन्न सक्दछ ।

738 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank