हेलो, छापामार !

आइतवार, फाल्गुन ४, २०७६

loading...

- राजु झल्लु प्रसाद



प्रिय पराइ मान्छे,
आज अतीतको गोठालो हुन् मन लाग्यो ।
तिम्रो यादहरू चराउँदै हिँड्दै छु – सम्झनाको उराठिलो फाँटहरूमा ।

मितिपात्रोको त्यो पवित्र तिथिमा तिमी अतिथि बनेर मेरो हृदयको बलेँसीसम्म रुझ्दै आएकी थियौँ । ब्लिडीङ हार्टका लहराहरू निथ्रुक्क भिजेका थिएँ । म बार्दलीमा बसेर कालो आकाश नियालिरहेको थिएँ । काला बादलहरू ओथारो बसेका माउ कुखुरा जस्ता देखिन्थे । गमक्क फुलेका । तर अनायासै बादल फेरी चुहियो । रोकिएको झरी फेरी पोखियो । बलिरहेको पानस मुनि रोइरहेको अँध्यारो जस्तो- अध्यारिदै थियो दिन ।

अचानक तिमीलाई देखे- सुनसान सडकमा, तिमी बडो सतर्क भएर हिँड्दै थियौँ । सडकमा व्याप्त धुमिल कुहिरोबिच पनि तिमी प्रस्ट देखियौँ । म एकाग्र भएर तिमीलाई हेरिरहेँ । तिम्रो ओठमा लाली थिएन । झरीले पखालिदिएको हुँदो हो । ओठ कमाइरहेकी थियौँ । र, सायद कतै ओत लाग्न खोज्दै थियौँ ।

टाइट जिन्स र निलो टिसर्ट लफ्रक्क भिजेको थियो । झरी यस्तै छ । मनपरि गर्छ । जसमाथि जे पनि गर्छ । झरीले प्रजातान्त्रिक हमला गरेछ तिमीमाथि पनि । तिम्रो छातीको गोलाईको नाप म पहिलाउन सकिरहेको थिइन् । तलमाथि गरिरहेका तिम्रो छातीमा मखमली लयात्मक धुन भने आँखाले भेउ पाईरहेको थियो । तिमी ठ्याक्कै मेरो घरधनीको घर मुनि ओत लागेयौं । प्रथमपटक मलाई झरीसँग रिस उठ्यो ।

म तल झरे । आशीर्वाद मुद्रामा आसनरत जस्ताको पालि मुन्न्याड तिमी लग् लग्..लग् लग् कामिरहेकी थियौँ । प्रथमपटक हामीले एकअर्कालाई देख्यौँ । मैले आफ्नो शिर छाती तिर झारे । सायद तिमीले पनि । तिम्रो नशालु आँखाको बैँसालुु हेराइले हृदय ठ्याक्कै अन्धो भई’दियो । हामीले फेरी शिर उठायौँ । प्रथमपटक हामी हासेयौँ।  त्यतिखेर.. तिम्रो ओठबाट गुलाबी छाता बोकेर एउटा बैँसालु मुस्कान फुत्त निस्कियो । त्यो हाँसो सम्झिरहेछु म यत्तिखेर ।

त्यसपछि एक-एक कप झरी पियौँ हामीले- बेमौसमी मौसमको बर्सादी क्याफेमा । कुहिरोले बाक्लो कम्बल ओढाउँदै गयो यो शहरलाई । हामी दुवै मौन..चुपचाप..चुपचाप..मौन रहिरहेयौं । एक टुक्रा साँझ कालो वैन्डप्रुफ जकेट लगाएर आइपुग्यो हामी बिच, तिमी थोरै लाज मान्दै धेरै मुस्कुराउँदै उ परको मोड देखि मोडियौँ ।

वसन्तको एक साँझ !

कालो मफलर ओढेर आइपुग्यो- एक टुक्रा अँध्यारो । हामी सहरको साँघुरो गल्लीमा थियौँ । तिमीले भन्यौ, ‘अग्लाअग्ला घर बनाएर तिम्रो सहरको मान्छेले आकाश घटाइरहेछन् । मलाई यो कुरा मनपर्दैन् ।’ म बोल्न मात्रै लागेको थिएँ, ठुलो मेघ गर्जन सहितको हावाहुरी मडारियो । लाग्यो, शताब्दियौंदेखिको बाक्लो हुरी एकासाथ मडारिँदै छ । र, वसन्तलाई विधवा बनाएरै छाड्नेछ ।

हाम्रो नजिकै कुनै नेवारी खाजा घर थियो । हामी अत्तालिँदै त्यही छिरेयौं । र, नेवा: ऐला घुट्कायौं । मैले भनेँ, ‘जिन्दगी भट्टी हो । हामी जँड्याहा हौँ । अतीत जाड हो । भविष्य रित्तो प्याला हो ।’ तिमीले फ्याट भनेयौं -‘ अँ वर्तमान चाहिँ मातिरहनु होला नि ?’ फेरी अर्कोपटक हाँसो.. । जोडसँग..गलल्ल..अनि खितितिती…। हाँस्दाहाँस्दै भनेयौं, ‘ चियर्स !’ त्यसपछि झड्याम्म.. । हामी घन्टौँ यसरी एकअर्कामा हरायौँ ।

अर्को कुनै बिहान- आर्यघाट ।

हाम्रा जिन्दगीको पाइलाहरू मृत्यु कुल्चँदै घाट तिर बरालीरहेका थिएँ । ‘घाट एक सुन्दर पवनभूमि हो, जहाँ कोमामा गएको हुन्छ – जिन्दगीको भीषण भुस्याहा ज्युँदोपन ।’ मेरो कुरालाई बहुत चासो दिँदै तिमीले भन्यौ, ‘मलाई त लाग्छ – मृत्यु न्यायधीस हो जसले जन्मकैदको सजाय सुनाएको छ जिन्दगीलाई । ‘

म पारिपट्टि बलिरहेको चिताहरू हेर्दै एकाएक चुप भएँ । तिमी मेरो काँध थपथापाउदै बोल्न थालेयौं, ‘ जिन्दगीको शत्रु सास नै हो यार । सासले निम्ताउने बकवास आशले गर्दा मान्छे हताश हुन्छ । दौडिन्छ – कहीँ पुग्दैन । हेर्छ – केही देख्दैन । खान्छ – कहिल्यै अघाउँदैन । खोज्छ- केही भेट्दैन ।’

जुरुक्क उठेर तिमीलाई आफूतिर तान्दै भने ‘साँच्चै ! सासको इतिहास पर्दाफास नगरी भएन । ‘
‘छ्या फोहरी । बिझायो ।’ म खिस्स हासे, मुखको सुपारी पनि ननिकालीकन किस गर्न पुगेछु ।

हेहे ! अतिथि बनेर मेरो दिलको डेरामा आएकी तिमी, बिस्तारै यसै गरी घरधनी बन्दै गयौँ ।

एक रात !

तिम्रो आवाज एकदम मलिन सुनिन्थ्यो मोबाइलमा । ‘आफ्नै घाटीमा बेरिएको यी कपाल को तख्ता झैँ लागिरा’छ । मलाई केही थाहा छैन यार म के गरु ?’ तिम्रो फोनले म निस्तब्ध भएँ ।

केहि समयपछि…
तिम्रो आवाज फेरी आयो, ‘घण्टाघर आज रानीपोखरीमा हाम्फ्यालेर मर्नेवाला छ रे ! जाऊँ हिँड हेर्न ।’ मेरो हृदय निसास्सियो । सास भुक्क फुल्यो ।
हत्त न पत्त यत्ति भन्न पुगेछु, ‘रानीपोखरीमा पानी कहाँ छ ?’
‘आत्महत्या गर्न पानी कहाँ चाहिन्छ ? कहानी भए पुग्छ ।’ त्यसपछि तिमी जोडजोडले हासेयौ । मेरो एक्कासि कन्चट तातियो । रिसाएर फोन राखीदिए ।

मधुरो घाम लागेको दिनको दिउँसो !

पुसको महिना । म छतमा उक्लेर रोबर्ट एम पिरसिगको ‘झेन एण्ड द आर्ट अफ मोटरसाइकल मेन्टेनेन्स’ पढीरहेको थिएँ ।अकस्मात् आएको तिम्रो फोनले मलाई विक्षिप्त बनाइदियो ।

‘हेलो छापामार । अन्डरग्राउन्ड छिरेको कति समय भयो ? मलाई भेट्नु पर्दैन ? खुरुक्क आउने याँ । ‘
‘हँ ?’
के का हँ ? खुरुक्क आऊ ।

तिमी ब्ल्याक कफी पिइरहेकी रहेछौँ । नजिकै गएर भनेँ, ‘आफू जस्तै कफी मगाईछौं त !’
मैले यति भन्न मात्र के भ्याएको थिएँ, तिमीले मेरो ढाडमा अक्षर बांगीएको अस्तव्यस्त हस्ताक्षर गरेयौं । गुड झरेर बौलाएको चरीजस्तै भएकी रहेछौ तिमी ।

‘१ महिना भयो हगी ?’
तिमी चुप थियौँ । रिसले ।
‘यो १ महिना म आफ्नै काममा अल्झेर तिमीसम्म आइपुग्न सकिरहेको थिइन् । अहिले त आएन नि ।’
तिमी अझ पनि चुप थियौँ ।

के बोलु के बोलुको मनस्थितिमा मैले पनि कालो कफी नै मागेँ । कफी आयो ।
आइपुगेको कफी तिमीले आफूतिर सारेयौं । मलाई कफी नपिईकनै स्वादिलो लाग्यो ।

‘कहिलेकाहीँ तिमी मेरो सम्झनामा आउन भुलिदिन्छौ, अनि लाग्छ- ती बाडुल्कीहरु पनि रक्सी पिएर कतै बरालीरेहका छन् कि ? तिमी त मलाई सम्झिन्नौ, सम्झिन्नौ । तिम्रा सम्झनाहरूले पनि मलाई सम्झिन छाडे । ‘ मलाई तिम्रा ती वचनहरू साह्रै तिता लागेका थिएँ ।

‘जबजब तिमी मलाई भेट्न निम्ताउँछौँ । म बडो बेगले तिमीसम्म आइपुग्छु । जब आइपुग्छु, आफ्नो गति बिर्सिन्छु । आफ्नो स्वभाव बिर्सन्छु । नदी समुन्द्रसम्म पुगेजस्तै ।’ तिमी मेरो यो आवाजले केही सतर्क भयौँ । तिमो ओठमा त्यो बेला गुलाबी मुस्कान खिल्खिलाउँदै थियो ।

‘जिन्दगी फुल रहेछ यार । भमराहरूलाई रसपान ! पुतलीहरूलाई सौन्दर्य ! र, काँडाहरूलाई झन्झट !’ त्यस भेटमा तिमी अर्कै थियौँ । कस्ताकस्ता अडमिल्दा शब्दहरूको सहायताले वाक्य गठन गरिरहेकी थियौँ ।

‘सपना दुई आँखाको गल्ती रहेछ । मैले फेरी अर्को गल्ती गरेँ ।’ तिम्रो कुनै पनि कुराहरू म बुझिरहेको थिइन ।

अचानक आँसुले भिजायौँ आफ्नो अनुहार । म बोल्न सकिरहेकै थिइन् । तिमी एक्लै चाहिदा-नचाहिँदा सब कुराहरू बोलिरहेकी थियौँ ।

हिउँदकै महिना भएतापनि त्यस दिन झरी परेको मलाई याद छ । यो पनि याद छ, हामी त्यहाँबाट निस्किसकेपछि झरी पर्न शुरु भएको थियो । म ओत खोज्न लागेँ । तिमी त्यही स्थिर उभीइरहेयौं । मैले तानेर तिमीलाई आफू भएतिर ल्याएँ । तर..तिम्रो मुहारमा झरी परिरहेको थियो- त्यस बेला ।

म चुक्चुकाए, ‘ज्याँ एउटा छाता पनि बोकिएन ।’
‘जिन्दगी झरी हो । ओत खोज्नु हाम्रो दायित्व हो । तर छाता कहिल्यै नबोक्नु । ‘
‘के भनिराछौ ?’
‘छत र छाताले मान्छेलाई बन्दी बनाउँछ । मान्छे त खुल्ला हुनुपर्छ । जिन्दगी मन्दिरजस्तो भिडभाडमय हुनुहुँदैन । जिन्दगी त घाटजस्तो सुनसान हुनुपर्छ ।’ तिमी यसो भन्दै पुनः झरीमा रुझ्न हामफ्यालेयौं ।

मेरो केही चलेन । अन्ततः म पनि रुझीदिएँ ।

छुट्टिँदा तिमी भन्दै थियौँ, ‘ढिलो हिँड्न पनि जानेको छ । छिटो छुट्न पनि जानेको छ । समय भर्सटाईल छ ।’
‘किन ?’
नाडी हेर्दै तिमीले भनेयौं, ‘तिमीलाई पर्खिदा समय ढिलो हिडीदिन्छ । तिमीसित हुँदा समय चाडै दौडिदिन्छ । समय भर्सटाइल छ । ‘

त्यसपछि हामी छुट्टियौँ । भन्नुपर्ने धेरै कुरा थियो तिमीलाई । तिमी हतारमा थियौँ । तिमीले किन भेट्न बोलायौँ त्यो पनि तिमीले भनिनौ ।

घाउ

धेरै अगि हामी अपरिचित थियौँ ।
र, धेरै भएको छैन – हामीले एकअर्कालाई चिन्न छोडेको ।

जसरी जाडोले कठ्याङ्ग्रिएको सडक बालक ज्वरो आउँदा खुसी हुन्छ, उसैगरी तिम्रो सम्झनाले कठ्याङ्ग्रिँदा म खुसी हुन्छु । आजभोलि म कहाँ पुग्छु, के गर्छु – म थाहा पाउन्न । मेरो बिहानले बताउन सक्दैन, मेरो साँझको ठेगाना ।

तर जब रात पर्छ, हृदय युद्धभूमि बनिदिन्छ । जहाँ तिम्रा याद र मेरा धड्कनहरू लड्न शुरु गर्छन् ।

प्रिय पराइ मान्छे !

लाग्छ तिमी लुतो हौँ – मेरो हृदयमा सल्किएको । चिलाइरहन्छ । कनाइरहन्छु । कहिल्यै निको हुन्न । झनझन बढ्दै जान्छ । के तिमीलाई बिर्सन सम्भव छैन ?

याद ! उफ्फ़… यो बहुत पीडादायी कुरा रहेछ ।
याद आउन सम्झिने कोही हुनुपर्छ या कोही सम्झिने हुनुपर्छ ?
या सम्झिरहनेहरूले बिर्सिदिँदा बाडुल्की लाग्छ या बिर्सिएकाहरूले सम्झिदिँदा ? मलाई थाहा छैन ।
हुन त कसैले सम्झिदिँदा मात्र कहाँ कसैलाई सम्झिरहँदा पनि बाडुल्की लाग्दो हो ।

आजभोली मेरो अनुहार ‘रहस्यमय कर्कलाको पात’ बनेको छ । जहाँ आँसु बाहेक केही अडिन मान्दैन ।

खोला – पैताला/घुँडा भएर आउँछ ।
बाढी, टाउको भएर आउँछ ।
र, आँसु ?…

प्रिय पराइ मान्छे !

आजभोलि पनि यो सहरमा झरी पर्छ । आजभोलि पनि म त्यो झरीमा एक्लै रुझ्छु । यादको झरीमा तिम्रो गल्लीतिर हिडीरहँदा, आँसुको दहमा नुहाएका यी आखाँहरुले छाता बोक्नुपर्छ भनेर कहिल्यै सम्झिएनन् ।

काला बादल र तिम्रा यादहरू, दुवै छाता नबोकी आइपुग्छन् – मेरो हृदयको बलेँसीसम्म । अनि मलाई घुमाउन लैजान्छन् ती पुराना ठाउँहरूमा जहाँ हामी भेट्ने गर्थ्यौँ, रुझ्ने गर्थ्यौँ, ओत लाग्ने गर्थ्यौँ ।

आजभोलि आँखा ओभानो बनाएर ती ठाउँहरूमा पुग्ने गर्छु म जहाँ प्रेमको झरीले हामी निथ्रुक्क भिज्ने गर्थ्यौँ । तर तिमीलाई थाहा होला नहोला, आँखा ओभानो हुनेहरूको दिल खुबै रुझेको हुन्छ । भिजेको हुन्छ ।

तिमी भन्थ्यौँ, ‘सपना दुई आँखाको गल्ती हो । ‘ होइन, ‘अतीत, वर्तमान र भविष्यको सामूहिक बलात्कार हो सपना ।’
म सपना नदेख्ने गल्ती गर्न सक्दिन । प्रेम जैविक ड्रग्स हो । विशुद्ध अर्ग्यानिक । नशालु । मलाई यसको नशामा हराउन देऊ ।

म मान्छु, तिमी मेरो भई’रहन पर्दैन अब । हाम्रो भेट भइराख्न पनि जरुरी छैन । बस्, म खुट्टा बनी आउँदा – तिमी ठेस बनी आइदिए पुग्छ ।

उफ्फ़ ! लेख्छु भनेको त घाउ न हो । लेखिरहँदा कोट्याइरहे जस्तो हुने रहेछ ।

प्रिय पराइ मान्छे !

तिमी पराइ हृदयको पाण्डुलिपि बनेको खबर साँचो हो ?
यदि हो भने म विष्मायोधिवोधक चिन्हले भरिएको अप्रकाशित कविता जस्तै भएको कुरा पनि साँचो हो ।
तिमीलाई नयाँ जीवनको शुभकामना छ ।

अन्त्यमा,

यतिखेर पनि झरी परिरहेको छ । म बार्दलीमै छु । बिल्डिङ हार्टका लहराहरू भिजिरहेकै छन् । तर यतिखेर म नितान्त ‘झरी परेको दिनको सूर्यमुखी फुल’ जस्तै भएको छु ।

आज फेरी पनि तिम्रो प्रेम शीत बनी चुहियो हृदयको बलेसी छेउ । डायरी निकाले अनायासै । केही लेख्न मन भएर आयो ।

खालि पानालाई हेरिरहेछ कलमको निभ ।
निभको टुप्पोलाई हेरिरहेछ खालि पाना ।
आहा ! क्या मिठो अन्दाज ।
आह ! क्या प्रेम ।
….म तिमीलाई प्रेमपत्र लेख्न चाहन्थे । कापी र कलमको प्रेम हेरेरै अघाए !!

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments