कमाठीपूरा,गल्ली नम्बर १२

भारतमा बेचिएकी चेलीको अत्यन्तै दर्दनाक र वास्तविक कथा

बुधबार, जेष्ठ ३१, २०७४

loading...


फाईल तस्विर

आखिर,जति कोशिस गर्दा पनि उनीहरुले मलाई धन्दाका लागि मनाउन सकेनन् । केही सिप नलागेपछि उनीहरुले मलाई अर्कै कोठीमा लगेर बेच्ने योजना बनाएछन् ।एक दिन राती उनीहरु आएर मलाई भने,‘तिमीलाई अब हामी बाहिर लैजान्छौं र फ्रेस बनाएर ल्याउँछौं । भित्र बस्दा बस्दा तिमीलाई दिक्क लागेको होला । बाहिर खुला हावा खान पनि हुन्छ,बाहिरको बातावरण हेर्न पनि हुन्छ , ल हिँड बाहिर घुम्न जाउँ ।’

मलाई पनि त्यो जेलजस्तो अँध्यारो कोठाबाट बाहिर जान मन लागिरहेको थियो । घरवाली र त्यो मेनेजर केटाले म र सानो छोरालाई ट्याक्सीमा राखेर सोझै बाहिर कतै लगे । उनीहरुले कहाँ कहाँ .लैजादै थिए मलाई थाहा थिएन । म त साँच्चै घुमाउँन लगेको होला भन्ने लागेको थियो । मलाई एउटा कोठीमा लगियो । एउटा गल्लीबाट अर्को गल्लीमा लगियो । त्यो कोठीमा पुगेपछि पो मलाई उनीहरुको योजना के रहेछ भन्ने थाहा भयो ।

म त्यो क्षणको बयान कसरी गरुँ ? सम्झिँदै मेरो आङ् सिरिङ्ग हुन्छ । मेरो जीवनको त्रासदीपूर्ण घडी थियो त्यो । कालरात्री थियो त्यो ।कोठीमा लगेपछि मलाई अध्यारो कोठामा घुर्ची दिए । म हुर्रिएर पल्लो छेउमा पुगें । धमिलो अँध्यारोमा मेरो मुटु ढुकढुक् गरेको बाहिरै सुनें । भाग्ने त मेरो उपाय थिएन । त्यो मलाई थाहा थियो । चारै कुनामा देख्दै डरलाग्दा अग्ला मोटा डरलाग्दा काला लोग्ने मान्छे उभिएका थिए । सबैका आँखाले मलाई खाउँला झैं गरेर हेरेका थिए । कोही कसैसंग याचना गरे पनि सुन्न कोही तयार थिएनन् । भए पनि कसैको त मन पग्लिन्छ कि भनेर हात जोेडें र रुंदै भनें–‘दाई मलाई छोडिदिनुस् । मेरो छोरो पनि छ । उ मलाई नदेखेर कति रोइरहेको छ ? मलाई जान दिनुस् ।

म रोएर हात जोडेको उनीहरुलाई रमाइलो लागेछ । एउटा कालो भूस्तीघ्रे अघि सरेर मेरै नक्कल गदै दुबै हात जोड्यो,मैले झैं भन्दै गयो,दाई मलाई जान दिनुस ।’त्यति बेलासम्म त ऊ मेरो नजिकै आइपुगिसकेको थियो । उस्को मुखबाट आएको पानको गन्धले मेरो टाउको चड्कियो । मैले आँखा चिम्म गरें । उसले मेरो कान टोकिदियो । म रन्थिनिएर निहुरिएँ ।आफ्ना बाघे पञ्जाले मेरो कपाल तान्दै उसले मेरो कानमा मुख ल्याएर कराउँदै भन्यो–‘एक महिनासम्म कसैलाई छुन चलाउन नदिएर सावित्री बनिस् । हैन त ? जतनले मलाई नै साँचेर राखेकी ? ल पहिला म नै तँलाई जुठ्याउँछु । त्यसपछि उ हेर त लाईनमा छन् सबै ।’

सबै हलल हाँसे राक्षसहरु । हेर्दाहेर्दै त्यो त मेरा आँखा अगाडि नाङ्गियो । मैले हेर्न नसकेर आँखा चिम्ले । उसले यही मौकामा मेरो सुरुवाल खोलेर फालिदियो । कुर्ता च्यातिदियो । निर्वस्त्र बनाएर मेरा छातीमा जोडसँग मुड्की बजार्यो । म त्यसको चोटले बेहोस भएँ । त्यसपछि राक्षसहरुले मलाई के गरे ? कसो गरे ? थाहा पाइन । होस् खुल्दा म नाङ्गै थिएँ । लडेरै यताउता छामछुम गरें । केही फेला परेन । मेरो शरीरमाथि च्यातिएको कुर्ता फालिएको थियो । उठ्न खोजें सकिन । टाउको उठाउनलाई छामछुम गर्दा हात चिसो भयो । के रहेछ भनेर धमिलो उज्यालोमा नियालें , रगत पो छ ए । हत्तपत्त उठ्न खोजें कम्मरदेखि तल चल्दैन । यसरी एकजनाले हैन,दुई जनाले हैन,चार चार जनाले ग्याङ रेप(सामुहिक बलात्कार) गरे । एउटा अकल्पनीय पीडा । त्यो क्षण जुन शारीरिक,मानसिक र आत्मिक प्रताडना भोगें,त्यसको वयान शब्दमा गर्न खोजे पनि सकिन्न । त्यो भोग्नेले मात्र महसुस गर्ने पीडा हो  ।

मुम्बईमा ‘बाह्र गल्ली’,‘दश गल्ली’भन्ने हुन्थ्यो । अनेकौं गल्लीहरुका घरैपिच्छे कोठीहरु हुन्थे । मलाई कमाठीपुरा,मुम्बईको ‘बाह्र नम्वर’ गल्ली मा रहेको कोठीमा बेचिएको रहेछ ।
सुनिता दनुवारको पुस्तकबाट साभार

1978 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Nic Asia
dashain suvakamana
Janamat health right side janta bank saral flyer Below blog adv