वैदेशिक रोजगार आवश्यकता, रहर कि बाध्यता ?

सोमवार, जेष्ठ १२, २०७७

loading...

- नविना डंगाेल



हाम्रो देशको करिब ७०% युवाहरू रोजगारीको लागि विदेशमा रहेको कुरा तथ्याङ्कले देखाउँदछ । जस मध्ये २०-४०वर्ष उमेर समूहका बढी रहेको देखिन्छ । विदेश जानेहरू मध्ये अधिकांश खाडी मुलुकमा कन्स्ट्रक्सन कम्पनीहरूमा काम गर्न गएका छन् भने केही युरोप, अमेरिका तिर गएका छन् । विदेश गएका अधिकांश नागरिक म्यानपावर कम्पनीका एजेन्टहरूको मीठा र चिल्ला गफमा मक्ख भएर धेरै भन्दा धेरै पैसा कमाउने अभिलाषा लिएर काम गर्ने कम्पनी के कस्तो हो ?  वास्तविक रूपमा नबुझी एजेन्टको विश्वासमा आफ्ना रहर/सपनाहरू पूरा गर्न बिदेशीएका हुन्छन्। उनीहरूले आफू जाने देशको भाषा र सीपको अभावमा धेरै समस्याहरू झेल्ने गर्दछन् । विदेशमा रुखमा पैसा टिप्न पाइन्छ जस्तो सोच्ने उनीहरूलाई त्यहाँको वातावरण परिवेशमा घुलमिल हुन धेरै गाह्रो हुन्छ । अनि आफ्नो गाउँघर, साथीभाइ, परिवारको माया र सम्झनाले सताउने गर्दछ । एकातिर परिवारको माया र सम्झनाले सताउने अर्कोतिर भाषा र काम नजान्दाको समस्या र वैदेशिक भूमिमा अर्काले गर्ने अवहेलनाले विक्षिप्त भई मानसिक समस्या झेल्न पुग्छन ।

कतिपय युवाहरू साथीभाइहरूले सामाजिक सञ्जालमा राखेका तस्बिरहरू र त्यहाँका आधुनिक सुविधायुक्त ठाउँका दृश्य र उनीहरूको कमाईबाट आकर्षित भएर आफ्नो गाउँघरको हुँदा खादाको काम व्यापार, व्यवसाय छाेडेर बिदेशीने प्रवृत्ति छ । तर त्यहाँ पुगिसकेपछि सामाजिक सञ्जालमा देखिए जस्तो जीवन त्यहाँ नपाए पछि निराश हुने गर्दछन् ।र कतिपय युवाहरू आफ्नो सीप क्षमता अनुरूपको रोजगारी देशमा उपलब्ध नभएर, आफ्नो आफ्नो क्षमता तथा input अनुसारको output नहुँदा बिदेसिशीने गर्दछन् ।

विषय प्रवेश,
पछिल्लो समय भारत लगायत अन्य देश (विदेश) जाने नागरिकहरूको तथ्याङ्क सङ्कलन गर्दा करिब १६००० जनसङ्ख्या रहेको एउटा स्थानीय तहमा लगभग १४०० जना नागरिक (युवा) विदेशमा रहेको तथ्याङ्कले देखाएको छ । देशभर ७५३ वटा स्थानीय तहमा रहेका करिब तीन करोड जनसङ्ख्यामा लाखौँ युवाहरू विदेशी भूमिमा रहेको तितो यथार्थ हामीले नकार्न सक्दैनौँ ।

कोरोना भाइरस (COVID-19) को सङ्क्रमणले विश्वलाई नै आतङ्कित र त्रसित बनाएको कुरा हामी सबैलाई सर्वविदितै छ । यस भाइरसको सङ्क्रमणबाट सयौँ नेपालीहरूले विदेशी भूमिमा ज्यान गुमाइसकेको अवस्था छ । विदेशी भूमिमा ज्यान गुमाएका नेपालीहरूको शव समेत परिवार आफन्तले हेर्न पाएका छैन। यस्तो अवस्थामा परिवारजनमा कस्तो विपत्तिमा गुज्रिएको होला हामी सहजै अनुमान लगाउन सक्दछौँ। हालको अवस्थामा मृतकको आत्माको चिर शान्तिको कामना र परिवारजन प्रति धैर्य धारण गर्ने शक्ति प्रदान गरुन् भनी प्रार्थना गर्न बाहेक के नै गर्न सक्छौँ र?

कतिपय देशहरूले नेपाली नागरिकहरूलाई आफ्नो देश फिर्ता पठाउन पहल गरिरहेका छन् भने कतिपयले आफ्ना देशका नागरिक सरह सुरक्षा दिई राख्ने कुरा परराष्ट्र मन्त्रालय लगायत देशका उच्च पदस्थ पदाधिकारीहरू समक्ष प्रतिबद्धता जाहेर गरेको छ ।

वैदेशिक रोजगारीमा गएका नागरिकलाई तत्काल स्वदेश ल्याउन आवश्यक छ कि छैन?
नेपाली नागरिक जो, जहाँ, जे कामको सिलसिलामा रहे पनि उनीहरू नेपाली हुन् । उनीहरूको जीवनको सुरक्षा गर्नु राज्यको दायित्व हो/हुन्छ । हालको कोरोना भाइरसको सङ्क्रमणकालिन अवस्थामा उनीहरूलाई स्वदेश ल्याउन के कति सम्भव वा आवश्यक छ भन्ने विषयमा विभिन्न विश्लेषकहरुको आ – आफ्नै धारणा रहेको पाइन्छ । एकथरी विश्लेषकहरू नेपाली भूमि मात्र होइन । नेपाली जनता पनि देशको सम्पत्ति हो । उनीहरूलाई सङ्कट परेको समयमा राज्यले आवश्यक व्यवस्था गरी स्वदेश ल्याउने पहल गर्नु पर्दछ भन्नेमा जाेड दिइरहेका छन भने  अर्को थरी विश्लेषकहरू विदेशमा रहेका नेपाली नागरिकहरू विदेशी भूमिमा नै सुरक्षित छन् भने नेपालमा ल्याएर उनीहरूलाई क्वारेनटाइन राख्न स्रोत साधन के कति छ त ? उनीहरूलाई राज्यले सुरक्षित रूपमा व्यवस्थापन गर्न सक्छ त ? भन्ने प्रश्न गर्छन् । उनीहरूमध्ये कोही एक जनालाई पनि भाइरस सङ्क्रमित रहेछ भने उसबाट हजारौँमा फैल्याई भाइरसले महामारीको अझ विकराल रूप लिई यसबाट धेरै जन को क्षति नहोला भन्न सकिँदैन।

अतः यस विषयमा सरकारले विदेश स्थित कूटनीतिक नियोग,दुतावासहरुमा सम्पर्क गरी नेपाली नागरिकहरूलाई सुरक्षित रहन आवश्यक पहल गर्नु पर्ने र अति नै समस्या मा परेका, अलपत्रमा परेका नागरिक हरुलाई क्वारेनटाइन व्यवस्था गरी सुरक्षित रूपमा नेपाल ल्याउनु पर्ने देखिन्छ ।

अर्को कुरा, रोगका कुरा छाडौँ –
राज्यले कुनै पनि योजना, नीति तथा कार्यक्रम तय नगरी विदेशमा रहेका सम्पूर्ण नागरिकहरूलाई एकै पटक देशमा ल्याउँदा रोजगारको क्षेत्रमा कस्तो प्रभाव पर्छ/पर्ला त ? रेमिटेन्समा निर्भर अर्थतन्त्रमा कस्तो प्रभाव पर्ला भन्ने प्रश्न हामी सामु रहेको छ । के राज्यसँग रोजगारीका लागि बिदेशीएका लाखौँ नागरिकहरूलाई स्वदेश ल्याई तत्काल रोजगारीको व्यवस्थापन गर्ने कुनै योजना नीति तथा कार्यक्रम छ त ? यसलाई व्यवस्थापन गर्न राज्य सँग के कति स्रोत साधन र क्षमता छ त यस विषय प्रति पनि ध्यान दिनु पर्ने देखिन्छ।

यसो भन्दैमा हाम्रा युवाहरू सधैँ विदेशी भूमिमा रगत पसिना बगाउन भन्ने कदापि होइन । युवा जनशक्ति विदेश पलायन हुनु राज्यको लागि पक्कै पनि फाइदाको विषय होइन । यति अरब र खर्व रेमिटेन्स भित्रयौं भनेर गर्व गरेर बस्नु हुँदैन । सधैँ रेमिटेन्स को भरमा अर्थतन्त्र टिक्न सक्दैन । राज्यले देशमै रोजगारी सृजना गर्न समय सापेक्ष योजना नीति तथा कार्यक्रम तय गरी युवा जोश, जाँगर र सीपलाई आफ्नै भूमिमा प्रयोग गर्न सके मात्र सुखी र समृद्धि प्राप्त गर्न सकिन्छ युवा जनशक्ति विदेश पलायन गरेर होइन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments