अव्यवहारिक र क्रूर बन्दैछ फेसबुक र सेल्फी

आइतवार, जेष्ठ १९, २०७६

loading...

- पूर्णशोभा चित्रकार



- पूर्णशोभा चित्रकार

अव्यवहारिक र क्रूर बन्दैछ फेसबुक र सेल्फी

अहिलेको प्रविधिको प्रयोग र विस्तारलाई केहि दशक पहिलेको समयसँग दाँजेर हेर्दा आफैलाई अचम्म लाग्छ । ०३५/०३६ सालसम्म नेपालमा यदाकदा टेलिफोन लाईनहरु थिए । व्यक्तिहरुले टेलिफोन लाईन पाउनको लागि दूरसंचारमा निवेदन हालेपछि आफ्नो पालो आउन दश पन्ध्र वर्ष कुर्नु पर्दथ्यो । टिभि, कम्प्युटर र मोबाइल फोन त टाढाको कुरा थियो । मलाई अझै याद छ; शिक्षक हक, हित तथा अधिकारको लागि उठेको आन्दोलनको दौरानमा नुवाकोटका शिक्षक गणेश पण्डित र शारदा रमण नेपाललाई भेट्न र शिक्षक आन्दोलनको बारेमा छलफल गर्न मिरा ध्वँजुलाई साथमा लिएर त्रिशुली र चौघडा पुगेकी थिएँ । उहाँहरुलाई भेटेर चौघडाबाट हिँडेर टोखा भई हात्तिगौडा पुग्दा बल्ल मिनि बस चढेर आफ्नो घर पुगेकी थिएँ । नुवाकोटबाट काठ्माडौं पुग्ने टोखाको बाटो छोटो रहेछ । त्यसैबेला थाहा पाएँ । यी हरफहरु लेख्दै गर्दा मलाई एउटा कुरा याद आएको छ । हामी दुई जना किशोरीहरु करीब चार घण्टा भीरपाखाबाट हिँड्दा अहिलेको समाजमा जस्तो असुरक्षा, हिँसाको डर भने कहिँ कतै अनुभूति भएन ।

अहिले संचारको विकासले जो कोहिलाई पनि त्यो बेलाको स्थिति भोग्न आवश्यक छैन । एक कल फोनको भरमा संसारको कुनै पनि भागमा आफ्नो कुरा पुर्याउन सक्ने भएका छौं । ईमेल, फेसबुक, भाईवर, ट्वीटर, इन्स्टाग्राम, फिलकर आदिको माध्यमबाट जो कोहिले जससँग पनि सजिलै संवाद गर्न सम्भव बनेको छ । आ.व. २०७४/०७५ को सरकारी तथ्याङ्क अनुसार नेपालमा इन्टरनेट प्रयोग गर्नेको संख्या कूल जनसंख्यामा ५५.४ प्रतिशत रहेको छ । यी माध्यमहरुको कारणबाट पुरानो हुलाकी कारोवार बन्द भई, हुलाक अड्डाहरु खालि जसो हुन पुगेका छन् ।

नेपाली समाज अति कम विकसित मुलुकको सूचिमा रहे पनि हिजो आज हातमा मोबाईल नहुने नेपालीहरु शायदै होलान् । युवा पुस्ताकाले त दुई तीन वटा पनि मोबाईलहरु बोकेको देखिन्छ । फेसबुक र सेल्फीको प्रचुर प्रचलनको अवस्था छ । फेसबुकको माध्यमबाट प्रत्येक व्यक्तिको जीवनशैली, विचार, संगत, पारिवारिक स्थिति, ईच्छा, यात्रा आदि बारे जान्न सजिलो भएको छ । कोहि व्यक्तिको घरमा को-को छन् ? कहाँ-कहाँ जान्छन् ? के खान्छन् ? कस्तो लुगा लगाउँछन् ? कुन बच्चा कहिले जन्म्यो ? कुन बच्चाको जन्म दिन कहिले ? कसले कुन दिन के खायो ? को कुन होटलमा बस्यो ? कुन रेष्टुराँमा खायो जस्ता ससाना कुराहरु पनि यी सामाजिक  सञ्जालबाट थाहा पाउन सजिलो भएको छ । यस्ता नितान्त व्यक्तिगत कुराहरु, पारिवारिक गोपनियताका कुराहरु सजिलै मानिसहरुको जानकारीमा आउनु फाइदा कि बेफाइदा भन्ने बारेमा नेपालको सन्दर्भमा यथेष्ट अनुसन्धान सायद भएको छैन । फेसबुकका सिईओ मार्क जुकरबर्गले बेलाबखत व्यक्तिगत सुरक्षाको हिसाबले नितान्त वैयक्तिक कुराहरु फेसबुकमा नराख्न आग्रह गरेको देख्न पाईन्छ । त्यहि फेसबुकका ग्राहकहरुको अमेरिकाको चुनावमा दुरुपयोग भयो भन्ने समाचार पनि हामीले नपढेको होईन ।

संचारको दुनियाँमा सामाजिक  सञ्जाल एक प्रभावकारी माध्यमको रुपमा अगाडी आएको छ । नेपाल जस्तो कम विकसित मुलुकले यस्तो सामाजिक संजाल मार्फत पनि धेरै फाइदा लिन सकिरहेका छन् । मानिसहरुलाई लेख, रचना, साहित्य, अनुसन्धान, घटना, सूचना आदि सामाजिक  सञ्जाल मार्फत छिटो र सजिलो तरिकाले प्रचार प्रसार गर्न सक्ने अवसर प्राप्त भएको छ । तर अर्को पक्षबाट भन्ने हो भने हामी नेपालीहरुले यस्ता सामाजिक सञ्जालहरुलाई व्यवस्थित र सकारात्मक परिवर्तनको लागि उपयोग गर्न सकिरहेका छैनौं ।

कहिले काहिँ सामाजिक सञ्जाल बदलाको भावले प्रयोग भएको देखिन्छ । नीच मनोभावनालाई पूरा गर्न प्रयोग भएको पनि देखिन्छ । मानिसहरुलाई रीस उठ्यो, कसैलाई बदला लिन वा चरित्र हत्या गर्ने भाव उठ्यो, मान्छेहरुलाई जथाभावी गाली गर्न मन लाग्यो, ऊ वा त्यो व्यक्तिको विरुद्धमा लेखी आफ्नो अभिष्ट ईच्छा पुरा गर्न मन लाग्यो भने जे पनि लेख्ने वा बोल्ने विषयले ठूलो ठाउँ ओगटेको देखिन्छ । यसमा प्रयोग गरिएका शब्दहरुलाई पढ्दा लाग्छ मानिसहरुलाई लाज, ईज्जत, मान, सम्मान केहिको पनि पर्वाह छैन । यस्तो गर्नेहरुमा केहि नक्कली खाताहरु खोल्ने र विदेशमा बस्नेहरु समेत रहेका बुझिन्छन् । संसारभरि यस्तै समस्या आएकोले फेसबुकले हालसालै मात्र ३ अर्ब भन्दा बढी फेक अकाउन्टहरु हटाई दिएको छ ।

सामाजिक सञ्जालमा मानिसहरुले मरेको मान्छेको, चितामा राखेको, जलेको, दुर्घटनाले क्षत विक्षत भएको शरिर, रातो रगतले लटपटिएको शरिर, फोटोशपबाट बनेका झुठा, डरलाग्दा कथाहरु, चिता बोकेको, किरियापुत्री बसेको, कपाल मुडेको आदि इत्यादिका फोटोहरु सामाजिक सञ्जालमा राख्ने गरेका छन् । यस्ता कुराहरुले पक्कै पनि मानिसहरुको मन  मस्तिष्कमा राम्रो प्रभाव पार्न सक्दैन । त्यसको साक्षी म नै छु । बिहान समाचार हेर्नको लागि फेसबुक खोल्दा सबभन्दा पहिले मरेको मान्छेको विभत्स तस्बिर देखा पर्दा केहि समय त मेरो दिमाग स्तब्ध हुन पुग्छ । हिजो आज मैले त्यस्ता फोटोहरु राख्ने व्यक्तिको नाम लिष्टबाट हटाईदिने गरेकी छु । त्यस्ता साथीहरुबाट टाढा हुने सजिलो उपाय यहि मात्र छ अहिलेलाई । भनिन्छ नि आफूलाई जुन कुरा वा व्यक्तिबाट अशान्त भएको महशुश भएको छ तीबाट टाढा रहनु नै बेस ।

कहिलेकाहिँ त सामान्य नागरिकहरु मात्र होइन, राजनैतिक क्षेत्रमा नाम कमाएका व्यक्तिहरु, सांसदहरु पनि नाँगो शरीर, अस्पतालको बेडमा सुतेको, भुँडी फ्यात्त बाहिर निकालेर, छातीको रौं देखाउँदै म बिरामी छु भनेर सामाजिक सञ्जालमा राख्न पछि पर्दैनन् । ताज्जुब लाग्छ मलाई । के उद्देश्य होला त्यस्ता फोटो सामाजिक सञ्जालमा राख्नुको ? एउटा अर्को पंक्ति देखिन्छ, हरेक राजनीतिक नेताहरुसँग खिचेको फोटो फेसबुकमा हालेको हालै गर्ने । फोटो सहित हरेक जन्म दिनमा शुभकामनाहरु दिइरहने । हुँदा हुदाँ मानिसहरुले पूर्व प्र.म. स्व.शुशिल कोईरालाको गन्जी र तौलिया बेरेको फोटो पोष्ट गर्न पनि भ्याएकै थिए ।

सामाजिक सञ्जाल मार्फत व्यक्तिका सूचना सजिलै संकलन गर्न सकिने भएकोले नै हिजो आज अपराधहरु बढ्दै गईरहेको समाचारहरु पढ्नु परिरहेको छ । हत्या, हिँसा, बलात्कार, बेचविखनका घटनाहरु बढ्दै गईरहेको आभास भइरहेको छ । अशिक्षित, पारिवारिक तथा सामाजिक दुःखबाट आक्रान्त बनेका चेलीहरुलाई फकाई फुल्याई गर्ने र बेचविखन गर्ने माध्यम पनि सामाजिक सञ्जालनै बनेको छ । हिजो आज गाउँका विद्यालयहरुमा विद्यालय अध्ययन पुरा नगर्दै विद्यालय छोड्ने, बाल विवाह गर्न तम्सिने कारण सामाजिक सञ्जाल बनेको छ भन्ने अविभावकहरुको संख्या पनि बढ्दो छ ।

सेल्फी लिनेहरुको पनि वर्णन गरेर साध्य छैन । मैले एकदिन नर्भिक अस्पतालमा एकजना व्हिलचियरमा बसेको, नाकमा अक्सिजनको नली घुसाईएको, अचेत व्यक्तिसँग एकजना महिलाले सेल्फि लिईरहेको देखेँ । हेर्नु सजिलो कुरा थिएन । बोल्नु पनि भएन । यस्तो खालको सेल्फी लिनेको संख्या शायद दिनको हजारौं होला नेपालमा । त्यसतो सेल्फीमा अति प्यारो लागेको मान्छे भनेर स्टाटस पनि लेख्छन् मानिसहरु । तिनीहरुको दैनिक जीवनको बारेमा कसलाई के थाहा ? त्यस्ता सेल्फी लिनेहरुले यो कुरा सोचेका हुँदैनन् कि ती बिरामीको मनमा के होला? के आफ्नो अशक्त, दीन, दुःखी शरिर सामाजिक सञ्जाल मार्फत प्रचार प्रसार होस भन्ने चाहन्छन् ? उनीहरुको पनि आफ्नो  ईच्छा, मान, सम्मान, इज्जत , बेइज्जत, आफ्नो मानव अधिकार भन्ने होला नि । आमाको मुख हेर्ने वा बुबाको मुख हेर्ने दिनको फोटोहरु त हेर्न पनि असहज हुन्छ मलाई । एक पुरिया बिस्कुट हातमा थमाएको फोटो पनि सामाजिक सञ्जालमा राखेका हुन्छन् । आमाबाबुले आफ्नो  मुटुको एक एक थोपा रगत निचोरेर छोरा छोरी हुर्काएको फोटोहरु राख्ने कसरी र कहाँ ?

फेशनको दुनियामा सेल्फीको तिलस्मी अर्कै छ । मैले एक जना महिलालाई कपडा पसलमा लुगा किन्ने बहानामा कपडा लाउँदै फेर्दै फोटो खिचेर पोष्ट गरिरहेकी देखेकी थिएँ । यसतो रहर हुने मानिसहरुको जमात समाजमा कति छ कुन्नी, तर यो पनि सामाजिक सञ्जालको दुरुपयोग सिवाय अरु के हो र ? शुन्य खर्चमा सामाजिक संजाल मार्फत फेशनको दुनियाँमा छाईरहनु नै पर्ने यो कस्तो ईच्छा हो मैले बुझ्न सकिन ।

फोटोग्राफीको सम्बन्धमा विश्वमा यस्तो पनि घटना घटेका रहेछन् । हालको दक्षिणी सुडानको अयोड भन्ने ठाउँमा खानाको अभावमा हाड र छाला मात्र वाँकी भएको केटो ( पहिले गिद्ध र केटी भनेर लेखेको थियो) गिद्धले लुछ्न तयार भएको दृष्य केविन कार्टर भन्ने फोटोग्राफरले खिचेका थिए । त्यो फोटो २६ मार्च १९९३ मा अमेरिकाबाट निस्कने द न्यूयोर्क टाईम्स मा प्रकाशन भएको थियो । त्यो फोटोको लागि उनले सन् १९९४ मा ‘पुलिटजर प्राईज फर फिचर फोटोग्राफी’ को शिर्षकमा पुरस्कार पनि प्राप्त गरे । पुरस्कार प्राप्त गरे पछि उनी आलोचनाको शिकार  भए । मानिसहरुको आलोचनामा फोटो खिच्नुमा भन्दा बच्चालाई ज्यान जोगाउन तिर लागेको भए केटो गिद्धबाट बच्न सक्ने थियो । जबकि फोटो खिचेको ठाउँबाट संयुक्त राष्ट्रसंघको खाना वितरण गर्ने स्थान करीब आधा माईल मात्र टाढा थियो । आलोचनाको पहाड खनिए पछि उनीले आत्महत्या गरे ।

नेपालमा यसता फोटोग्राफरहरु वा सेल्फी प्रेमीहरुको संख्या कम छैन कि भन्ने बारेमा केहि घटनाहरुले अनुमान लगाउन सजिलो छ । आगलागी भएको ठाउँमा गएर पानी खोज्नु वा सहायता गर्नुको सट्टा मानिसहरु सेल्फीमा रमाईरहेका दृष्य भेटिन्छन् । आफ्नो  बाल्यकालमा त मेरो टोलमा आगो लाग्यो भन्ने वित्तिकै टोलबासीहरु आफ्नो घरमा गाग्रो, बाल्टी, जे छ पानी बोकेर आगो निभाउन तर्फ लाग्थे । करुवा, गाग्रीमा पानी खाली गर्नु हुँदैन भनेर आमाले बेला बेलामा उपदेश दिइरहनु हुन्थ्यो । तर अहिले सेल्फीको मोहले मानिसहरुको मानवीयतालाई कहाँ पुर्याइसकेको रहेछ ? अरु जे सुकै होस मानिसहरुलाई आफ्नो  पहिचान चाहिएकोछ सेल्फीको माध्यमबाट नै किन नहोस ? हाम्रो सोच र व्यवहारहरु झन भन्दा झन् अव्यवहारिक र क्रुर त बन्दै गईरहेको छैन ? मानिसहरुलाई आपतमा सहयोग गर्ने बानीलाई बेवास्ता गर्दा आफू अप्ठ्यारोमा पर्दा पनि यस्तै हुन सक्छ भन्ने सोच्नु जरुरी छैन र ? मान्छेहरुलाई संकट कहाँबाट, कहिले र कसरी आउँछ भन्ने कसलाई के थाहा ?

सामाजिक सञ्जाल मार्फत देखा परेका प्रवृत्ति र विकृत्तिहरुको बारे केलाउनु र सुधार्नु पर्ने धेरै वटा विषयहरु छन् । समयक्रमा त्यो हुँदै जालान् । आजै पनि हामीले हाम्रा सामु भएका सामाजिक सञ्जालहरुलाई नेपाल र नेपालीको हितमा प्रयोग गर्न सक्छौं र तर गरिरहेका छैनौं । हामीले हाम्रो समय र शीप हाहा..हुहु..मै बिताईरहेका छौं । यसलाई बदल्नको लागि विशेष गरि युवापिँढीको ध्यान जानु जरुरी छ  ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata