रूपान्तरित हुँदै छ अर्थतन्त्र

मङ्लबार, मंसिर १४, २०७३

loading...

- डा. गोविन्दबहादुर थापा



काठमाडौं, १४ मङ्सिर । नेपालको अर्थतन्त्र अहिलेसम्म पनि अधिक मात्रामा श्रममूलक नै छ । अर्थतन्त्रका केही सामान्य क्षेत्रबाहेक अन्य प्रायः सबै आर्थिक गतिविधिहरूमा आधुनिक प्रविधि प्रवेश गरेकै छैन भन्दा पनि हुन्छ । अर्थतन्त्रको एकतिहाइ अंश ओगटेको कृषिक्षेत्र पूर्णतः परम्परागत प्रविधिबाटै चलेको छ, त्यहाँ आधुनिक प्रविधिको प्रवेश भएको छैन ।

ठूला निर्माण आयोजनाका सिभिल वक्र्सहरूमा केही हेभी मेसिनको उपयोग गर्ने गरिएको भए पनि बाँकी सबै काम सामान्य उपकरणहरू उपयोग गरी मजदुरहरूले नै गर्ने गरेका छन् । यसले नेपालको अर्थतन्त्रमा मानवश्रमको महत्व दर्साउँछ । त्यसैले मानवश्रमलाई नेपाली अर्थतन्त्रको अहिलेसम्मको मुख्य संवाहक शक्ति मान्नुपर्छ ।

१५ देखि ५९ वर्षसम्मको उमेर समूहलाई सक्रिय जनशक्ति मानिन्छ । यही उमेर समूहको जनशक्तिले नेपालका सबै आर्थिक तथा गैरआर्थिक गतिविधि सञ्चालन गरेका छन् । अहिले वैदेशिक रोजगारीमा गएको जनशक्ति शतप्रतिशत नै यही उमेर समूहको जनशक्ति हो । ६० वर्ष र सोभन्दा माथिको उमेर समूहको जनशक्ति पनि पूर्णतः निष्किृय भइसकेको नभए पनि आर्थिक गतिविधिमा उनीहरूको मुख्य भूमिका कम नै हुन्छ ।

पछिल्लो जनगणनाअनुसार नेपालमा १५ देखि ५९ वर्ष उमेर समूहको जनसंख्या कुल जनसंख्याको ५७ प्रतिशत छ । यो भनेको १ करोड ५१ लाख हो । यसमध्ये ४० लाख वैदेशिक रोजगारीमा गएको मान्ने हो भने त्यो कुल जनसंख्याको १५ प्रतिशत र कुल सक्रिय जनशक्तिको २६.५ प्रतिशत हो । देशको एक चौथाइभन्दा बढी सक्रिय जनशक्ति देशबाट रोजगारीका निमित्त बाहिरिएपछि अर्थतन्त्रमा परिरहेको त्यसको असरका बारेमा केही प्रश्न उठाउने यो आलेखको उद्देश्य हो ।

वैदेशिक रोजगारीमा गएका प्रायः सबै नेपाली युवा युवती ग्रामीण कृषिक्षेत्रमा संलग्न थिए भन्ने कुरा नमान्ने आधार छैन । त्यसैले ती मानिस विदेश जानुअघि न पूर्ण रूपमा रोजगार थिए न पूर्ण रूपमा बेरोजगार नै । अर्थात अर्धरोजगार वा अर्धबेरोजगार थिए । हरेक वर्ष कात्तिक–मंसिरमा बाली स्याहारिसकेपछि रोजगारीको खोजीमा ग्रामीण युवायुवतीहरू केही मुग्लान (भारत) तर्फ र केही नेपालका नजिक पर्ने सहरबजारतर्फ लाग्ने नेपालको प्रचलन हो ।

त्यसरी आर्जन गरेको अलि अलि पैसाले नुन, तेल र केही वडापैरी खरिद गरी खेती गर्ने बेलामा उनीहरू गाउँ घर फर्कन्थे । त्यसो गर्दा ग्रामीण क्षेत्रको खेतीपाती पनि पूर्ण रूपमा हुने गथ्र्यो । अर्कातिर हिउँदका महिनाहरूमा निर्माणका काम हुने सहरबजारमा मजदुरहरूको अभाव हुँदैनथ्यो । मजदुरहरूको अभावका कारणले काममा ढिलाइ हुदैनथ्यो र ज्याला खर्च पनि उचित किसिमको हुन्थ्यो ।

यसरी त्यतिखेर गाउँ र सहरको अर्थतन्त्र आफ्नै किसिमले क्रियाशील थियो । अहिले त्यो स्थिति छैन । अर्थतन्त्रमा ठूलो डिस्लोकेसन आएको छ । अहिले न खेती गर्ने बेलामा युवा युवतीहरू गाउँ फर्कन्छन्, न मर्दापर्दा गाउँमा मानिसहरू जम्मा हुन्छन् । विडम्बना के भएको छ भने ग्रामीण क्षेत्रको विकासका लागि भनेर राज्यले गाउँमा बजेट खन्याएको खन्यायै छ, बाटाघाटाहरूबेका छन्, हिजोसम्म दुर्गम मानिने कतिपय ग्रामीण बस्तीमा मोटर पुगेका छन्, बिजुली, इन्टरनेट र मोबाइल फोन पुगेका छन् ।

विद्यालय र स्वास्थ्यचौकी पुगेका छन् तर गाउँ रित्तिँदो छ । ग्रामीण क्षेत्रमा समयमा विकास नपुग्दा र आय आर्जनका अवसरहरू सिर्जना नगरिँदाको परिणाम हो यो । देशमा सहरीकरणले गति लिँदा केही मात्रामा यसो हुनु स्वाभाविक हो । तर, गाउँ नै रित्तो पारेर वैदेशिक रोजगारीमा जानु स्वाभाविक होइन । माओवादी द्वन्द्वकालमा गाउँमा टिक्नै नसकिने अवस्था सिर्जना भएका कारण पनि बिदेसिने प्रवृत्तिलाई मनग्य बल पु¥याएको कुरालाई स्वीकार गर्नैपर्छ ।

यो अवस्थाले गर्दा ग्रामीण क्षेत्रका कृषि भूमिहरू बाँझै रहन थालेका छन् । गाउँमा रहेकाहरूको भरणपोषणका निमित्त पनि आयातीत खाद्य सामग्री पुर्याउनुपर्ने भएको छ । यसो भएपछि व्यापारघाटा बढ्ने नै भयो । देशको ऊर्जाशील जनशक्ति विदेशतिर लागेपछि सहरी क्षेत्रको आर्थिक गतिविधि पनि कम प्रभावित भएको छैन । हरेक आर्थिक गतिविधिमा जनशक्तिको अभाव खड्किन थालेको छ । मागको तुलनामा श्रम आपूर्ति न्युन भएकाले ज्याला दर अकासिएको छ । रोजगारदाताहरूले श्रमिकको सर्त स्वीकार गर्नैपर्ने स्थिति छ । अर्थात् नेपालको श्रमबजार आजकाल ‘सेलर्स मार्केट’ भएको छ । यसले अर्थतन्त्रलाई उच्च लागतको वनाएको छ ।

यो स्थितिको अर्को दुष्परिणाम के देखिएको छ भने नेपालमा राहधानी, प्रवेश अनुमति पत्र र विदेशी मुद्राको आवश्यकता नपर्ने विदेशीहरूको आप्रवाह ह्वात्तै बढेको छ । सरकार र निजी क्षेत्रले ठेकेदारमार्फत गराउने निर्माणका कार्यहरूमा प्रायः यस्तै कामदारको बाहुल्य देखिन्छ । यस्ता काममा यस्ता कामदार पहिले पनि थिए, तर अहिले यस्ता खाले कामदारको उपस्थिति बाक्लिएको छ । निर्माणका विभिन्न विधाका प्राविधिक कामहरूमा त उनीहरूले पहिलेदेखि नै एकाधिकार जमाएका थिए ।

अहिले त्यस्तो एकाधिकार झन् संस्थागत र घनिभूत भएको छ । निर्माण सामग्रीको आपूर्तिकर्ताहरूमार्फत उनीहरूले नेपालको सबै स्तरको निर्माण क्षेत्रमा कब्जा जमाएका छन् । भारतीय मुद्रासँगको नेपाली मुद्राको स्थिर विनिमय दर प्रणालीले पनि त्यस्तै कामदारहरूलाई सहयोग पु¥याइरहेको छ । यसले नेपालमा भारतीय मुद्राको माग पूर्ति गर्न नेपाल राष्ट्र बैंकलाई मुस्किल पारेको छ ।

अहिलेसम्म त परिवत्र्य विदेशी मुद्राको सञ्चिति पर्याप्त भएकाले अमेरिकी डलर बिक्री गरेर भारतीय मुद्रा खरिद गर्न नेपाल राष्ट्र बैंकलाई सजिलो भएको छ । तर, परिवत्र्य विदेशी मुद्राको आर्जन खस्कन थाल्यो भने नेपालले भारतीय मुद्रा आपूर्तिको अरू कुनै उपाय निकाल्नुपर्ने हुन्छ ।

विगत डेढ दशकयता नेपाली अर्थतन्त्रको जुन किसिमको रूपान्तरण भएको छ त्यो प्रतिफलरहित भने छैन । देशमा भित्रिएको विप्रेषण त्यसको प्रतिफल हो र त्यो सानोतिनो रकम छैन । आर्थिक वर्ष ०७२/७३ मा रु. ६ खर्ब ६५ अर्बको त्यस्तो विप्रेषण भित्रिएको थियो, जुन नेपालको कुल गार्हस्थ्य उत्पादनको झन्डै ३० प्रतिशत हो । गैरबैकिङ माध्यमबाट भित्रिएको विपे्रषणसमेत समावेश गर्ने हो भने यो रकम अझ धेरै हुन्छ । ती नेपालीले नेपालमा रहँदा गर्ने आर्जनभन्दा यो रकम निकै ठूलो हो ।

ती नेपाली नेपालमा रहँदा गर्ने गरेका गैरनगद क्रियाकलापलाई नगदमा रूपान्तरण गर्दा पनि विप्रेषणको रकम निश्चित रूपमा ठूलो हुने अनुमान गर्न सकिन्छ । त्यसैले शुद्ध आर्थिक दृष्टले मात्र हेर्दा नेपाली युवाहरू विदेश जाँदा नेपाल बचतमा छ । तर नेपाली समाजमा जे–जति परिवर्तन र रूपान्तरण ल्याएको छ त्यो त्यही विप्रेषणले ल्याएको छ, त्यसको उपयोगले ल्याएको छ ।

विदेशवाट अलिअलि पैसा कमाएर ल्याउनेहरू सहर झर्ने भएकाले विप्रेषणले सहरको आर्थिक गतिविधि विस्तार गरेको छ । विप्रेषणकै कारणले बैंकहरूसँग पर्याप्त विदेशी मुद्राको सञ्चिति भएकाले आवश्यक अनावश्यक तर बजारमा बिक्री हुने सबै किसिमका सामान आयात भइरहेका छन् ।
बैंकहरूले नाफा कमाएका छन्, सरकारले राजस्व पाएको छ, व्यापारीहरूको व्यापार फस्टाएको छ । यसरी अर्थतन्त्र चलायमान भएको छ ।
तर, अर्कातर्फ गाउँहरू क्रमिक रूपमा सुक्दै गएका छन्, सहरहरू फुक्दै गएका छन् । गाउँहरूको आकर्षण घट्दै गएको छ, सहरहरू आकर्षणका केन्द्र भएका छन् ।

गाउँका पूर्वाधार न्यून क्षमतामा चलेका छन् तर सहरमा पूर्वाधारहरूको न्यूनता खड्किएको छ । अतः विकाससँग सम्बन्धित सरकारी निकायहरूको ध्यान यो प्याराडक्स’ सच्याउनेतर्फ जानुपर्छ ।

691 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank