भात खाए जस्तो हो र काठमाण्डौका मेयरले गर्ने काम ?

शुक्रबार, भदौ २३, २०७४

loading...

- दीपकसंगम थापा



- दीपकसंगम थापा

भात कपाकप खाए जस्तो होईन । त्यसैले १०० दिनमै सयौ कामको आशा गर्नु बालुवामा विरुवा चाहियो भनेजस्तै हो ।

पछिल्लो समयमा काठमाण्डौ महानरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सय दिनमा केही गर्न सकेनन् भनेर सामाजिक सञ्जाल र व्यक्तिगत रुपमा दर्ता गरिएका साना मिडियाहरुमा रोईलो मच्चाउनेदेखि बनावटी रुवाबासी गरिरहेका छन् । यस्तो रोईरो मच्चाएको देख्दा अन्य सचेत युवाहरुले अनौठो मान्ने नै भए । कुनै पनि काम गर्न पहिलो कुरा त योजना बनाउनुपर्छ । योजनालाई कार्यन्वयन गर्नु र सफल हुनु पछाडीको कुरा हो । तर जननिर्वाचित भएको सय दिनमै सयौ सफलता चाहनु र आशा गर्नु नजाएज नभएपनि त्यो अलि बढ्ता कुथुर्की नृत्य नै हो । यहाँ मैले विद्यासुन्दर शाक्यको पक्षमा बोलेको हैन तर नेपालको कार्यप्रणाली विकास प्रणालीको कुरा एक पटक स्मरण गराउन मात्र चाहेको हो ।

विकास निर्माण प्रणालीमा नेपाली परिपाठी नै ढिलासुस्ती छ । गलत प्रणाली, परिपाठी बसेको छ । विद्यासुन्दर को हुन र ? एकाएक चमत्कार देखाईदिने ! विद्यासुन्दर एक व्यक्ति हुन् । उनी काठमाण्डौ महानगरपालिकाका मेयर हुन । उनले १०० दिनमा चाहदैनमा केही परिवर्तन हुने होईन । कुनै व्यक्ति आउँदैमा एकछिनमा परिवर्तन हुने होईन । नेपालको विकासे प्रणाली कस्तो छ भन्ने त सबैलाई थाहा होला । वर्षभरी कानमा कपास राखेर असारको महिना धमाधम योजना र रकम बाँड्ने गरेको होईन र ? यसो भन्दै गर्दा वर्षदिनै कुर्नु पर्छ भन्ने चाही होईन । तर हरेक क्षेत्रको विकास गर्दा केही समय भने अवश्य लाग्छ र धैर्य पनि गर्नुपर्दछ । विकास निर्माण गर्नु भनेको भात कपाकप खाए जस्तो होईन । त्यसैले १०० दिनमै सयौ कामको आशा गर्नु बालुवामा विरुवा चाहियो भनेजस्तै हो ।

धुलो, धुवाँ, सडक खाल्डाखुल्डी, खानेपानी विस्तार, फोहोर व्यवस्थापन, विजुली, ट्राफिक समस्या यीनै होईनन् काठमाण्डौका समस्या ? यी समस्याहरु एकैदिन समाधान हुने विषय होईनन् । एउटै उदाहरण मात्र लिऔः काठमाण्डौमा खानेपानीको समस्या छ, तर के अहिले विद्यासुन्दरले भन्दैमा मेलम्चीको पानी आउँछ ? मेयरले त पहल कदमी चाल्ने हो, सरकारसँग समन्वय गरेर जतिसक्दो छिटो पानी ल्याउन सघाउने हो । काठमाण्डौ महानगरपालिकाले आफ्नो क्रमागत योजनामा पनि राख्ला । कतिपय दलका मझौला खालका नेताहरु र केही व्यक्तिहरुले आज सडक निर्माण सम्पन्न गर्नुपर्ने, भोली खानेपानी आउनुपर्ने, पर्सी ग्यासको पाईप जोडिदिनुपर्ने, अर्को दिन धुलो र धुवा हटाईदिनुपर्ने जस्ता मागको लिस्ट दिएको जस्तो भयो । अपेक्षा पनि त्यस्तै गरेको पाईयो । प्रत्येक दिन नयाँ नयाँ विकासे काम कही कतै सम्पन्न हुँन सक्दैन ।

अहिले काठमाण्डौका केही भागमा सडकमा खाल्डाखुल्डी छन तर ती अहिले विद्यासुन्दरले चाहेर भोलीपल्ट कालोपत्रे गर्न सक्दैनन् । दुई चार दिन अवश्य कुर्नु पर्दछ । अरु आए पनि सक्ने होईनन् । किनभने अहिले मेलम्ची पिउनेपानी आयोजनाले पाईपलाईन विस्तार गर्नुपर्ने भएकोले खाल्डाखुल्डी हुन पुगेको हो । एकातिर सडक विस्तार गर्ने अर्को तिर सडक खन्ने हुन सक्दैन । धुलो र धुवा हुनुको पनि पाईपलाईन विस्तार हो । पाईपलाईन विस्तारपछि सडकको कालोपत्र काम सम्पन्न होला । थानकोटदेखि कलंकी र चक्रपथका क्षेत्रमा सडक चौंडा पार्ने काम भएको छ । धुलो आयो भन्दैमा कामलाई रोक्न त भएननी । टेलिकम , खानेपानी , विद्युत लगायतको लाईन विस्तार लगायतका कामले अलिकति ढिलो हुन पुगेको हो । पुरानो संरचनालाई नयाँ संरचनामा ल्याउन केही समय त लागिहाल्छ नी । के सय दिनमा सय काम देखाउन सम्भव छ ? विद्यासुन्दरलाई सय कामको प्रगति माग्नेहरुले चाँही के के काम गरेर देखाए त ? लौ एउटा काम भनौं त ? भन्न सजिलो छ तर गर्न गाह्रो छ । काठमाण्डौ नगरपालिकाको सबै काम महानगरले मात्र सम्भव छैन ।

सरकार, महानगरबासी, दातृ निकाय, प्रहरी प्रशासन, आम नागरिक सबै लाग्नु पर्दछ । काठमाण्डौलाई भोलीका भोली झर्लङ्ग विकास गरेर देखाउन सम्भव छैन । महानगरमा परिवर्तन हुन्छ तर केही समय भने कुर्नै पर्दछ । भोलीका भोली परिवर्तन त विद्यासुन्दर होईन कोही प्रधानमन्त्री, राष्ट्रपति कसैले सक्दैनन् । काठमाण्डौको समस्या भन्दा देशको समस्या एक पटक फर्केर हेरौ त ? आज विकास निर्माणमा लाग्ने हजारौ युवाहरु विदेशी भुमीमा जान बाध्य छन, दैनिक भ्रष्टाचार गरेका समाचार आएका आयै छन, संविधान कार्यान्वयनको मुद्धा, कर्णाली विकासका मुद्धा, हुम्ली र जुम्लीहरुले नुन र औषधि समयमै खान नपाएका कुरा, बेरोजगार समस्या बढेको बढ्यै छ, महंगी बढीरहेको छ, नेताहरु सत्ता, सम्पत्ति र शक्तिको पछि दौडिरहेका छन, मेनपावर कम्पनीहरुले युवाहरुलाई ठगीरहेको समाचार आएका आयै छन, नीतिगत रुपमा भ्रष्टाचार मौलाईरहेको छ । आज कर्णालीका महिलाहरु सुरक्षित सुत्केरी हुन नपाएर अकालमै ज्यान गुमाउनु परेको छ, हजारौ बालबालिकाहरु कुपोषित भईरहेका छन, तराई डुबान भईरहेको छ, असन्तुलित दौत्य सम्झौताहरु भईरहेका छन्, अर्बौका सुनका थैलाहरु फेला परिरहेका छन्, आज लाखौ नागरिकहरुले सर्वसुलभ स्वास्थ्य उपचार पाउँन सकेका छैनन्, सांसदहरु र भिआईपीहरुले आफ्नो विलासीताका लागि सेवा सुविधा र तलव बढाईरहेका छन् खै यस्ता कुरामा आवाज उठाएको ?

आज हरेक क्षेत्रमा घुसखोरी मात्रै मौलाएको छ, गरिब र दलितहरुलाई अँझै पनि छुवाछुतको व्यवहार कायमै देखिन्छ । खै यस्ता क्षेत्रमा आवाज उठाएको ? उठायौ यस्ता कुरामा ? वकालत गर्यौ ? अनि किन विद्यासुन्दरलाई मात्र ताक्ने ? समस्या काठमाण्डौ मात्र होईन नेपालको विकासे प्रणाली, गलत कर्मचारी प्रणाली, असमान विकासे वितरण प्रणालीमा छ । काठमाण्डौ देशकै मुटु हो, राजधानी हो, काठमाण्डौ सानो आय आर्जन गर्न सक्ने मान्छे बस्न सक्दैनन् । यस्तो महत्वपूर्ण ठाउँमा बस्नु त भाग्यमानी हो । काठमाण्डौबासीले त आफुलाई भाग्यमानी ठान्नु पर्दछ । एक पटक हुम्ला, डोल्पा, जुम्ला, दार्चुला, रोल्पा, रुकुमतिर या जलमग्न तराई फर्केर हेरौ त ? कस्तो कष्ठकर जीवन विताईरहेका छन त्यहाँका जनताहरुले ? कति पीडामय जीवन विताएका छन ? खाली काठमाण्डौ, काठमाण्डौ मात्रै भनेर हुन्छ ? देशका अन्य ठाउँमा विजुली, खानेपानी, स्वास्थ्य उपचार, सडक, भौतिक संरचना, विकास, रोजगारी चाहिन्न ? स्मार्ट सिटी, स्मार्ट सिटी रे, देशका नागरिकहरुले मिति नाघेको औषधि खानु परिरहेको छ, सिटामोल खान पाएका छैनन् ।

काठमाण्डौमा मात्र स्मार्ट सिटी बनाएर पुग्छ ? दुर्गम जिल्लाहरुमा सडक सञ्जालले समेत जोडिएको छैन । खाली काठमाण्डौलाई मात्र हेर्नु राम्रो होईन । तर देश विकास सँगसँगै काठमाण्डौलाई पनि बनाउँनै पर्दछ । देश विकास कसरी गर्ने भन्ने बारेमा नेपालका अन्य युवाहरुलाई पनि राम्ररी थाहा छ तर अवसर पाएका छैनन । समस्या काठमाण्डौको मात्र होईन देशको छ । लौ भन्नुहोस प्रधानमन्त्रीले के नयाँ काम गरे त ? देश लुटिरहेका ६०१ सभाषदहरु, वर्षवर्ष फेरीने सरकारले त भुकम्प गएको दुई वर्षसम्म भुकम्प पिडितलाई केही दिन सकीरहेका छनैनन् । वर्तमान यत्रो जम्बो मन्त्री मन्डलले तराईका बाढीपिडितलाई उचित राहत दिन सकेको छैन भने एउटा मेयरबाट सयौ उपलव्धी खोज्नु कहाँ सम्मको महत्वाकांक्षा हो ? आशा गर्नु, महत्वकांक्षा राख्नु राम्रो पक्ष हो तर गर्नै सकेन, गरेन भनेर अनाहकमै फतफताउनु चिसो पानीमा भात पकाएन भन्नु जस्तै हो । गर्नै सकेन भनेर एकतर्फ आरोपका शब्दहरुले लेखेट्नु आफैलाई पनि न्याय होईन । खै हामीले विद्यासुन्दरलाई योजना निर्माणमा, काममा सघाएको ? खै सल्लाह सुझाव दिएको ? खै हातमा हात , काँधमा काँध मिलाएको ? महानगर बनाउने जिम्मा के महानगरपालिका कार्यालय वा विद्यासुन्दरको मात्र हो ? अरुको भूमिका केही रहन्न ? एक छाक भात पकाउन त धेरै चिज चाहिन्छ भने लाखौ जनसंख्या बस्ने महानगर बनाउन चानचुने काम हैन ।

हामीलाई थाहा छ अहिले कानूनी नीति निर्देशनहरु कार्यान्वयनको चरणमा छन् । स्थानीय स्तरलाई प्रत्यायोजन गरिने केही ऐन कानूनहरु बनेका छैनन्, आएका छैनन । यस्तो अवस्थामा धेरै आशा राखियो जस्तो लाग्छ । तर आशा गरौ एकदिन अवश्य महानगर हराभरा, विद्यासुन्दर जस्तै सुन्दर शहर अवश्य हुने छ । सय दिनमै सय फलको खोजी गर्नु कहाँ सम्मको जिम्मेवारी हो ? सोचौ एक पटक । धेरैलाई थाहा छैन की काम गरेर देखाउने मान्छे मौन हुन्छ, चुपचाप गरिरहन्छ तर प्रतिफल ढिलो देखिन्छ । हो विद्यासुन्दरले एउटा काम गरेका छैनन, त्यो हो मिडियाबाजी । उनले कोही कतै मिडियालाई बोलाएर, पत्रकार सम्मेलन गरेर यसो गर्छु, यस्तो देखाउनेछु, यो योजना छ, यस्तो बनाईने छ, सबै सपना पुरा गर्छु भन्दै हिडेका छैनन् । अहिले उनी चुपचाप काम गरिरहेका छन् । काठमाण्डौका लाखौ घरधनीबाट घरबहाल कर उठाउनु, फोहोर व्यवस्थापन गर्नु, २४ सै घण्टा जाग्राम बस्नु चानचुने काम हैन । एक दिन विद्यासुन्दरले काठमाण्डौबासीलाई मेलम्चीको पानी खुवाउने नै छन् । उनकै कार्यकालमा काठमाण्डौमा मेट्रो रेल गुड्ने छ ।

उनकै कार्यकालमा काठमाण्डौका सडक फराकिला हुँदैछन् । अत्याधुनिक सवारीसाधन गुड्नेछन् । आकाशे भव्य पुलको निर्माण हुँदैछन् । ट्राफिक चिन्हहरु व्यवस्थित हुँदैछन् । विद्यासुन्दरको कार्यकाल पाँच वर्षको हो तर विकासका लागि पाँच वर्ष नै नकुरेपनि एक दुई वर्ष त पर्खिन सक्नु परो नी । दुई तिन वर्षमा परिवर्तन र विकास गर्न नसके त्यतिखेर नै काम गर्न सकेनन भनौला । विद्यासुन्दरको काम खोज्नेले अरु मेयरको खोज्नुपर्दैन ? काठमाण्डौसँग जोडिएको ललितपुर मेयरको खै ? भक्तपुर मेयरको खै ? अन्य जिल्लाका मेयरको खै त खोजेको ? काठमाण्डौको छिटै परिवर्तन खोज्नेले घरबहाल कर बुझाउनु भो ? सार्वजनिक सवारीमा चढ्नुहुन्छ ? प्रत्येक हप्ता बाग्मति सफाईमा लाग्नुहुन्छ ? प्रत्येक हप्ता महानगर सफाईमा लाग्नुहुन्छ ? चुनावताका भित्ते वाल सफा नगर्नेले छिटै परिवर्तन खोज्नु कहाँ सम्मको गैरजिम्मेवार हो ? मलाई याद छ कुनै समय विद्युतमा चमात्कारि देखाए भनेर कुलमानको ठुलै गुनगान गाए । भारतबाट सयौ मेगावट विद्युत खरिद नगरेको भए के नेपालमा लोडसेडिङ अन्त्य सम्भव छ ? के भारतको विजुली कटौटी गरे तत्काल नेपालको लोडसेडिङ अन्त्य हुन्छ ? एक पटक सोचौ त ?

के कुलमानले कुनै ठाउँमा विद्युत उत्पादन गरेर लोडसेडिङ अन्त्य गरेका थिए ? अवश्य होईन । कर्मचारीतन्त्र, मन्त्रालय, सरकार, भारतसँगको थप विद्युत विस्तार लगायतको संयोगले नै होईनर कुलमान चर्चामा आएको ? कुनै ठाउँमा कुनै व्यक्तिले गर्ने नगर्ने भन्दा पनि नेपालको विकासे सिस्टम गलत छ । यसलाई जरैदेखि सुधार गर्न जरुरत छ । यदि व्यक्ति विशेषले मात्र हुने भए त अब सबै कार्यालय कार्यालयमा कुलमान चाहिने भयो । कहाँबाट ल्याउनु सबै कार्यालयमा कुलमान ? त्यसैले हामीले व्यक्तिलाई होईन सिस्टमलाई रोजौ, सिस्टम निर्माण गरौ, सिस्टम बसालौ । सिस्टमलाई सही दिशामा ल्याऔ । तब मात्र काठमाण्डौ महानगर सुन्दर हुन्छ । काठमाण्डौ मात्र होईन नेपाल नै सुन्दर र समृद्ध हुन्छ । कि कसो ?

726 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Nic Asia
dashain suvakamana
Asia Pacific Trade Concern Janamat health right side janta bank saral flyer Below blog adv