सम्मान,श्रद्धाञ्जली र शुभकामना !

शुक्रबार, फाल्गुन २३, २०७६

loading...

- सीता ओझा



प्यारी बहिनी विद्या

तिमी भित्र म पस्दा जति प्रकाश थियो । त्यति नै थपेर जीवन, जगत् र वर्तमानलाई तेजस्वी बनायौ । ” तिमी,तिम्रो परिवार,देश र दुनियाँ सहित,तिम्रो राजनीति र रविन्द्र अधिकारसँगको सहयात्रा दुनियाँका धेरैको भन्दा चम्किलो,भरोसायुक्त र अपनत्वको विश्वासिलो आधार थियो  ।” भन्ने कुरा आज दुनियाँको अघि प्रमाणित गरिदियौ ।

स्तब्ध भएका हजारौँ हैन लाखौँलाख सर्वसाधारणको भावनामा आफ्नो र परिवारको भावनालाई घोलेर मिश्रणमा बदलिदियौ । रविन्द्रलाई चिन्ने र नचिन्ने सबैहरूको भावनाको सम्मान गर्दै एउटै परिवारको माला उनेर भावनाको मन मन्दिरमा पनि सजाइ दियौँ ।

वि स २०७५/११/१५मा अकस्मात् ताप्लेजुङको सिस्ने भिरमा भएको हेलिकप्टर दुर्घटनामा परेका आफ्ना पति/सहयात्री /साथी नेपाल सरकारका पर्यटन तथा संस्कृति मन्त्री रवीन्द्र अधिकारी लगायतका छ जनाको अकल्पनीय निधनले बिछिप्त भएकी तिमीले आफू समालिएर स्तब्ध भएका आम जनसमुदायलाई समाल्यौ । साथै जनताको चाहानाको सम्मान गर्दै आफ्नो स्थायी सेवा ( त्रि वि को उप प्राध्यापक जस्तो प्राज्ञिक पद ) बाट राजीनामा दिएर रविन्द्रका अधुरो प्रतिबद्धता पूरा गर्न भोलिको राजनीतिक उतारचढावको प्रवाह नगरी निर्वाचनमा होमियौ । । तिम्रो साहसिलो कदमले रविन्द्रको विचार ,योजना र भावनालाई जीवित त गरायो नै साथै शक्तिमा बदल्न सबैका लागि प्रेरणा बनेको छ ।

हामीलाई अझै पनि यो घटना विश्वास लाग्दैन । तर त्यो सत्य घटना हो । यस्तो अकल्पनीय पीडा सहनु परेको र शोकाकुल भएकोले होला रविन्द्रले छोडेको एक वर्ष पुगी सकेको छ । तर हामी विक्षिप्त नै छौ । मेरो मनभरि हेलिकप्टर दुर्घटना भएको दिन( एक वर्ष पुगेको दिन ) फाल्गुन १५ गते हो र सम्झनामा केही लेख्नु पर्छ भनेर सम्झिरहेको थियो । तर लेख्न खोज्दा मन भक्कानियो र आँखा रसाएको कारण मन बाँधेर लेख्नै सकिन । उनको हिजोको मुलुकप्रतिको समर्पण र सम्वृद्धिको समर्पणको भाव सम्झेर दुखी भएको मन समालेर हृदयबाट सम्मान गरेँ ।

यसरी रविन्द्रलाई सम्झिरहँदा — रविन्द्रले हरेक मानिसलाई भन्ने र अरूप्रति चाहाना राख्ने गरेको अभिव्यक्तिलाई यहाँ सापटी लिएर प्रस्तुत गर्दै छु । ” हरेक व्यक्तिले आफ्नाे जीवनमा केही न केही गर्नु पर्छ । सदासर्वदा योग्य,कर्मशील र सक्रिय भएर दुनियाँको अघि क्षमता र योग्यताले अब्बल बनेर तेर्स्याउनु पर्छ र मात्रै सधैँ सबैको नेतृत्व गर्न सकिन्छ  ।  त्यो गर्न सकिएन भने हामी रछ्यानतिर फालिन्छौ । ” -भनेको कुरा सम्झिएँ ।

रविन्द्रले त हामीलाई छोडेर गई सके तर उनको भावानुभुतिलाई विशेषलाई मित्रहरू,परिवार र शुभचिन्तकहरूले रोएर या बिलौना इत्यादि गरेर होइन उनले देखाएको बाटो,विचार र कामले रविन्द्रलाई स्थापित गर्नेतिर साहसका साथ जानुपर्छ ।यस्तो पवित्र कार्यमा लाग्न सबैमा प्रेरणा मिलोस् । शुभकामना !

विद्या हामीले तिमीलाई उत्प्रेरित गर्नु पर्ने, तिमी आफैँले शोकलाई शक्तिमा बदल्न सक्ने क्षमता विकास गर्‍यौ । त्यो तिमी भित्र विकास भएको विचार र सिद्धान्तको जग बलियो ऊर्जा र शक्ति भएर जीवनभर रहिरहोस् । पुन शुभकामना !!

तिमी एक्लै भएको अवस्थामा आफ्नै मन, सन्तान,घरपरिवार ,आफन्तजन ,साथीभाइ,राजनीति/ राजनीतिज्ञ या अन्यत्र कहीँ कतैबाट असहयोग ,असहमति,हेलाँ,होचो अर्गेलो,निषेध इत्यादि पर्ने या हुने अवस्था पर्न सक्छ । तिमीमा त्यस्ता चुनौतीपूर्ण अवस्था सामना गर्ने साहस छ तैपनि अझै उच्च व्यवस्थापन गर्ने बल्ल मिल्दै जाओस् शुभकामना !!!

त्यो दुखद घटना सम्झेर ,तिमी सहित परिवार र अन्य सम्पूर्ण हितैषीलाई यो भन्दा बढी भन्ने साहस म मा छैन । प्यारी साहसिक बहिनी विद्या तिमी र स- परिवारलाई नमन !! रविन्द्र अधिकारी प्रति भावपूर्ण श्रद्धा र सम्मान 🌹🌹🌹🌹🌹🌹
दिदी
सीता ओझा

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments