सुनपानी र सुनार

आइतवार, माघ १९, २०७६

loading...


विद्यालयको गेटमा छिर्नासाथ लाग्थ्यो सबैभन्दा भेदभाव रहित समाज यही हो । सबैले बोक्ने किताब एउटै हुने । सबैले लगाउने पोसाक एकै हुने । डेक्सबेन्च पनि एउटै हुने । सबैभन्दा मज्जाको विषय त त्यो थियो । जसले किताबको अक्षरहरू र त्यसले दिने ज्ञान एकै हुनु । हत्तेरी कति सहज भाषामा विद्यालय भनिएको हो ।

म सोचिरहेको छु । जीवनको पाठशालामा पनि यति मैत्री वातावरण हुन्छ र ? मैले जीवन भोगाईका ज्ञानशालामा कहीँ पनि त्यति असहज होला भन्ने सोचेकै थिइन । सायद यो नसोच्नुले पनि निकै हण्डर खानुपर्ने रहेछ । यतिबेला मैले भेदभाव भनेर धनी गरिबबीचको उचाइको बारेमा कुरा गरेको छैन । मैले त वर्षौँ पुरानो समाजमा विद्यमान रहेको जातियता र सम्बन्धको कुरा उठान गर्न खोजिरहेको छु ।

जातियताको निकै कमजोर खाल्डोमा रुमलिएको कथित गैरदलित र दलितबीचको प्रेम सम्बन्धको कुरा थाती राखेर मैले दलित महिला र गैर दलितबीचको सम्बन्धको पर्खालको विषयमा उठान गर्न खाजिरहेको छु । कति ठाउँमा यो विषय उठान गर्दा जातिवादी भन्ने आरोप पनि आउँछ । तर मैले जातियता र यसको मारमा परेको दलित महिला पुरुषको बारेमा लेख्नै पर्छ भन्ने हेतुले पनि लेख्दै छु ।

केही वर्ष अगाडी देखि हामीले देखिरहेका छौ । पहिचानको मुद्दा जातियताको बारेमा सदन-सडकमा बहसको विषय बनेको छ । पहिचानकै आधारमा आरक्षणका कोटा पनि वितरण गरिएकै छ । तर वास्तविक दलितहरूले यो सेवा सुविधा पक्कै पाएको होला । या पाएता पनि कोटामा परेकै आधारमा तिनीहरूलाई हेरिने नजरिया उस्तै होला त ? अहँ छैन पक्कै पनि । क्याम्पसको लेक्चर जसले समाजशास्त्र र मानवशास्त्रको विषयमा अध्यापन गराउँछ । उसले उपाध्याय बाहुन भएकै कारण गर्व गरेर दलित समुदायलाई उपेक्षा गर्न सक्छ भने अन्य विषयमा कति उपेक्षित हुन्छ होला त भन्न सकिने अवस्था छैन ।

मास्टरकै क्लासमा कुनै शिक्षकले दलित स्टाफको बिहे भोजमा जाँदा दलितले पकाएको खाना खान पर्छ  भनेर खाममा पैसा हालेर निस्किएको कुराले हामीले  के बुझ्ने ? बौद्धिकताको सबै तह पार गरेकोहरुको अवस्था त यस्तो छ ।  अब सोच्नु अरूको हालत के होला ? यी दुवै बिचमा हुने अन्तर के हो ? बौद्धिकता हो या कुप्रथा ? प्रथाकै कुरा गर्ने हो भने पढेलेख्या मान्छेहरू यो मान्दैनन् । तर अचम्म त यति बेला लागिरहेको छ । गैरदलित र दलितबीचको सम्बन्ध जहिले पनि एक आकाश तालको फरक छ । मैले कुनै फेन्सी पसल गरेकी महिलाले आफ्नै पसलमा छोरीलाई फेसन डिजाइन पढ्न जीत गरेकी उसकी छोरीलाई यो त दलितले गर्ने काम भनेर बताउँदा अचम्म मान्न पर्ने कुनै कारण हुने छैन किन भने दलित भनिनु र तिनीहरूको पेसाको कामकाज हुने अन्तर भनेको उनीहरूको सोच हो ।

केही महिना अगाडी गायक प्रकाश सपुतको गलबन्दी च्यातियो तिमीले तानेर , बोलाउन नखोज सोझी ठानेर भन्ने गीत बजारमा आयो । त्यसले बजारमा रातारात तहल्का मच्चाएको त्यस्को चर्चा र परिचर्चा मात्र फैलिएको बेला लय चोरी भो भनेर दलितकै उपहास गरेको थिए । दलित भएर सानो सोच भएकै कारण लय चारी भएको भनेर पुरा दलितहरूलाई नै अपमानित गरेको थिए । के नेपाल सरकारले र नेपालको संविधानले दलितहरू नागरिक नै होइन भनेर उल्लेख गरेको छ । खोइ त कानुन खोइ दलितलाई कानुन ? जो त्यसरी बोलेको थिए । चुनावी नारा बनाएका थिए ।  तिनीहरूलाई कारबाही नि भएन । हो लय चोरी भएको भए कानुनी रूपमा कारवाहीको कदम चाल्नुपदैन थियो र ? गैर दलितहरूको अनुहार राम्रो भएन भने छि कस्ती …..जात जस्ती भनेर खिल्ली उडाउँछन् र दलितहरूको राम्रो अनुहार हुने हो भने तिनीहरू ठुला जात जस्ती भनेर भन्नु मानव माथि मानवको शोषण होइन र ? नेपालको कानुन पनि ऐनाको पैसा जस्तै हो । गन्दा हुने छाम्दा नहुने ।

चियापसलमा चिया खादै थिए । कुनै सुन्दर अनुहार परेकी एक जना किशोरी त्यही बाटो भएर गइन । निकै सुशील शालीन आँखा थियो उनको । मैले देखे उनी साच्चिकै राम्री थिइन । त्यही पसलमा चिया पिउँदै गरेको एक जना गैरदलित पुरुषले प्वाक्कै भन्यो “कामी भएर पनि बाहुनी जस्ती छ । यार त्यो केटी त ! ” अरे बाबा सुन्दर हुनु जातको के दोष ? त्यही अर्को केटाले भन्यो धत् यार तल्लो जात भएर हो नत्र उडाइदिन्थे । अर्को केटाले उत्ताउलिएर भन्यो एक रातको लागि मिलाई दे न यार । त्यहाँ लगातार हाँसोको लहर फैलिएको थियो । के त्यसो भए सुन्दर हुनु, सुशील हुनु र दलित हुनुमा उनको दोष हो र ?त्यसो भए दलितकी छोरीहरूले सुन्दरी हुँदा उनीहरूको गैरदलितको छोराहरू लागि सुन्दर भएका हुन र ? यी रहे फजुलमा दलित महिला माथिको मजाक । राम्रा र सुशील हुनुमा पाएको उपहार !

के त्यसो भए दलित महिलाहरू र गैरदलितहरुको बीचमा हुने अन्तर भनेको पानी र विवाहमा मात्र अलग हो कि शारीरिक सम्भोग मात्र सम्भव हुने हो । दलित समुदायको गैरदलितको बीचमा कम्मर भन्दा तल चल्ने त्यो भन्दा माथि नचल्ने हो । वर्षौसम्म प्रेम गरेर भागेका प्रेमीहरूको लागि दिसा खुवाइनुले नेपालको बौद्धिक स्तर कस्तो छ होला अच्चम मान्न पर्दैन होला । यति बेला हामीले बाँचेको समाजको बारेमा लेख्दा पनि लाज लाग्छ । जस्तो समाज छ ।  त्यस्तै भाषा लेख्दा शायद अनुशासनको कुरा उठ्लान् ? केही जातियवादीहरुले ठिकै भन्लान् तर जातियताको मारमा परेर सयौँ परिवारहरू बिग्रेका कुरा उठान गर्नु भने गल्ती होइन सायद । विज्ञानले प्राणीहरूको जगतमा सबै भन्दा श्रेष्ठ मान्छे हो भनेर विभाजन गरेको छ । मान्छेको यो वर्ग मुख्य र त्यो वर्ग फरक भनेर कहीँ पनि विभाजन गरेको छैन । विज्ञान पढ्ने एक जना शिक्षकले जात कै कारण विवाहमा पछि हट्न सक्छ। किनभने उसको भनेको यही सङ्कीर्ण समाजले थोपारेको भरिएको हुन्छ । विज्ञानले मान्छेलाई मान्छेको जात मान्छे नै हुन्छ भनेर भनेको छ न कि दलित र गैर दलित भनेर विभाजन गरेको छैन । धर्मशास्त्रको केही पानाहरूमा जातियताको बारेमा लेखिएको होला तर के धर्म भनेको सानो जातसँगको शारीरिक सम्बन्धलाई स्वीकार गर्ने तर विवाह जस्तो कुरालाई मात्र नकार्ने विषय हो त ?

दलित महिलाको रूप रङ्ग र उसको शरीरको भोग मात्र चल्ने समाज नै नेपाली समाज हो । कुलको कुरा, इज्जतको कुरा गर्नेहरूले दलितको कुलै नहुने कुरा गर्न भ्याउँछन् । त्यसो भए दलितहरू मान्छे नै होइन त ? गैरदलितहरु र दलितहरूको शरीर सम्भोगबाट अर्कै चिज जन्मन पर्ने होइन र? त्यसो भए के धर्मशास्त्रले गैरदलितहरुको मात्र कुल हुने कुरालाई मान्छ त ? केही मान्छेहरू वर्षौसम्म एक जना गैरदलितसँगको प्रेमलाई पवित्र मानेर उसको घर न बास गर्न सक्छन् त्यसलाई सुनपानी छरेर चोखो बनाउन मिल्ने तर दलितहरू सुनै सुन बनाएर त्यही सुन पगालेर नुहाए पनि दलितै रहने हो त ? के सुनारहरूले बनाएको सानो कलात्मक सामानले गैरदलित पुन: ब्राह्मण बन्न सक्छ भने त्यही सुनार किन चोखो बन्दैन  ? मन्दिरमा राखिएको सुनकै मूर्ति किन नहोस् ती पनि दलित नै बनाउँछ ।  त्यसले गैरदलितको मनोकाङ्क्षा पुरा हुने विश्वास छ भने दलित किन समान छैन त ?

नेपालमा ५८/५९ सालमा भएको कति विवाहहरू दलित र गैर दलित भएकै कारण सम्बन्ध विच्छेद भएको छ । त्यति बेलाको गतमा हुँदा मरिन्छ कि बाचिन्छ भनेर विवाह गर्थै तर पछि तिनीहरूले नै जातियताको समाजको डरले विवाह रद्ध गरेको छन् । पाटीले स्वीकृति दिएर गरेको विवाहलाई प्रगतिशील विवाह भनेर उपमा दिन्थे । खोइ त्यति बेलाको विवाहलाई सरकारमा गएर प्रचण्डले निरन्तरता दिएको । प्रोत्साहन भनेर पैसा दिँदैमा विवाह सम्भव हुँदैन । यहाँ प्रेम गरेकै आधारमा दलितहरूलाई गैरदलितहरुले मर्ने गरी पिट्छन । गैर दलितको छोरी दलितसँग  भागि भने ल्याएर पुन विवाह गर्ने र केटालाई मार्ने धम्की दिएर मानसिक रूपमा पागल जस्तै गराउँछन् । केही वर्ष पहिला कावासोती बजार भन्दा १ किलोमिटर पश्चिमको एक दलित राहुल ( नाम परिवर्तन ) ले कुनै गैर दलितको छोरी भाग्यो । एक महिना सम्म कतै लुकेर बसे त्यसपछि घरमा आए । आएको केही घण्टा मै उसलाई घरमै आएर पिटे । केटीलाई लिएर गए । तिनीहरू बीचको प्रेम र विवाहलाई स्वीकार गरेर तिनीहरूको के जान्थ्यो । अर्कै त्यस्तै घटना छ गैरदलितकी छोरी एक जना मुस्लिम धर्मावालम्वीसँग भागी भनेर मृत्यु संस्कार गरेको थिए । के मान्छेहरू यति सम्मको सोच्न सक्छन् । केही महिना अगाडि स्याङ्जामा एउटा नेवारको छोरीको विवाह एक जना दलितसँग गराएको थिए ।  त्यसलाई प्रशंसा गर्नेहरू भन्दा आलोचना गर्नेहरू बढी थिए । त्यस्तै राम्रो काम गर्नेहरूले सम्पत्ति माथिको कुरा उठान गरेको थिए । दलित भएकै कारण जागिरमा मुख्य पदमा राख्न नहुने बिकेको यो समाजको कुरा त गरी सक्नु छैन ।

अहिले पछिल्लो पटक वैदेशिक रोजगारमा गएको कति महिलाहरू घरायसी काममा जान्छन् । भाडा माझेर बचेको खाना खाएर दुख पाएर फक्रेकाहरुले अझै पनि मान्छेहरू को जात एउटै हो । संसारभरको मान्छेको हैसियत एउटै हो भन्ने स्विकार्न सक्दैनन् । भगवान् न जात छ न कुल तर त्यो भगवान् पनि दलितहरूको लागि साझा हुँदैन रे ? दलित घर भित्र जाँदा तिनीहरूको कुल रिसाएर वंश नासिन्छ रे ? त्यसो भए दलितहरूलाई छुट्टै जात हो यिनीहरू मानव नै होइन भनेर प्रमाण गर्नु पर्ने होइन र ?

मान्छेहरूले किन भेदभाव गर्छन् ? भेदभाव गर्नु मानवीय अपराध हो । दलितहरूको सोच सानो हुन्छ भन्ने गैरदलित नै होइन र विभेद समाज भन्नेहरू कहाँ छौ ? के तिमीहरू लाखौँ दलितहरूलाई समान गराउने व्यवहार गरेर सत्तामा गएका होइनाै । ती सत्ताधारीहरू बोल्दा विभार पुर्¥यायनु पर्दैन र ? समाज एउटै काटे रगत एउटै देश एउटै तर विभेद किन ? के दलित समुदाय सधै तपाइहरुको निर्वाचन जित्ने भोट बैंक मात्र हुन ? के दलित बिना कुनै आन्दोलन सम्पन्न भएका छन । ज्ञात रहोस  थुप्रै दलितहरुको साहदिले गर्दा यो मुलुक निर्माणमा इटा थपिएको ज्यूँदा इतिहास थुप्रै छन । कानून र कानूनी राज्यको स्थापना गर्नका लागि यी यस्ता सवालहरुमा राज्यको गम्भीर ध्यान जान जरुरी देखिन्छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments