कोरोना विरुद्ध लडाइ मानव अस्तित्वकाे लागि अनिवार्य छ

आइतवार, चैत्र २३, २०७६

loading...

- निरज आचार्य



गत डिसेम्बरको अन्ततिर चीनको वुहान प्रान्तबाट फैलिएको कोरोना नामको भाइरसले विश्व आक्रान्त भइरहेको छ ।  कोभिड–१९ को नाम दिइएको उक्त भाइरसले महामारीको रूप लिइसकेको छ । विश्वमा शस्त्र,अस्त्रको होडबाजी भइरहेका अवस्थामा विज्ञानलाई समेत चुनौती दिँदै कोरोना कहरको साम्राज्य विस्तार भइसकेको छ । विश्वका हामी शक्तिशाली राज्य हौँ भन्नेहरू नै यसको बढी सिकार भइरहेका छन् ।

विश्वमा हालसम्म काेराेना भाइरसकाे औषधी पत्ता लाग्न सकिरहेको छैन । तर पनि यसबाट सुरक्षित रहन चिकित्सकहरूले दिएका सुझावको पालना गर्नु पर्ने देखिन्छ । यस महामारीका कारण मानव जातिको रक्षाका लागि कहालीलाग्दो सङ्कट सिङ्गो विश्वले सामना गरिरहेको छ । हामी पनि त्यही लडाई लडिरहेका छौँ । जुन लडाइ हामीले जित्नु पर्नेछ । यो लडाइ कुनै व्यक्ति र राज्यबीचको हैन । सरकार, मन्त्री वा व्यक्तिले एक्ला एक्लै लडेर पार लाग्दैन । त्यो त खाली लडाइको अभिनय मात्र हुन्छ । यो लडाइमा सिङ्गो मुलुक एकताबद्ध भएर लड्नु पर्छ सरकार, पार्टी र नागरिक सबै एकीकृत र समन्वयात्मक रूपमा अघि बढ्नु, यो लडाइ जित्नु र मानव जातिको रक्षा गर्नुको हामीसँग अर्को विकल्प छैन ।

यो समयमा सम्बन्धित अधिकारीहरूले हृदय विशाल, छाती चौडा र दिल खुल्ला बनाऔँ तर, हात लामो र मन सानो नबनाऔँ । राष्ट्रलाई एकताबद्ध बनाऔँ। नागरिकलाई आश्वस्त बनाऔँ । निरन्तर अघि बढौँ । नेपालमा पनि यसको प्रभाव बढ्दै गइरहेको छ । हाल सम्म नौ जनामा कोरोना सङ्क्रमण भएको पुष्टि भइसकेको छ । देश बन्दा बन्दीको अवस्थामा छ । यसबाट सिङ्गो राज्यले नै विचित्रको समस्याबाट गुज्रिन परेको छ ।

बन्दा बन्दीका कारण कयौँ नेपालीहरू विदेशमा अलपत्र परेका छन्। त कयौँ सिमानामा । नेपाल सरकारसँग जे जति प्रविधि छ । त्यसको भरपुर उपयोग गर्न सरकार पनि अहोरात्र खटिरहेको छ ।दैनिक गुजारा गरेर खाने मजदुर वर्ग यसको मारमा बढी मात्रामा रहेका देखिन्छन् । सरकारले जनताकै स्वास्थ्य र सुरक्षाको ख्याल गर्दै लिएको कदम र पहल कदमी राम्रो छ ।

थोरै कुरा सकारात्मक देखिने बित्तिकै हौसिँदै बार र सीमा नाघिहाल्ने वा थोरै कमजोरी र नागरिक आलोचना बढ्ने बित्तिकै आत्तिइहाल्ने रुन्चे स्वर पारिहाल्नु पर्ने हाम्रो प्रकृति र संस्कार होइन । एक पटक पछाडि फर्केर हेरौँ । हामी कति लामो यात्रा पार गरेर, कति जँघार तरेर, कति ठुला सङ्घर्षका दिवार पार गरेर आयौँ । के हामीलाई पुग्ने गन्तव्यको हेक्का छ रु जमिनमा टेकेर मनन गरौँ । महामारी विरुद्धको लडाइँ जित्ने कुरा सानो तयारीले हुँदैन, अगाडि बढौँ। नागरिक समर्थन र भरोसा अझै जीवित छ । यो लडाई सत्तारुढ दल नेकपाको मात्र नभएर सिङ्गो नेपाली दाजु भाइ तथा दिदी बहिनीहरूको हो ।  यी सबै कुरा भुलेर पार्टीको आन्तरिक एकता र नेकपाको एकतालाई कमजोर पार्ने र धमिलो पानीमा माछा मार्ने कुकृत्य मनसाय कसैले नराखौँ । दुषित आत्मा सामाजिक सञ्जालमा नछरौँ । जहाँ कमजोरी देखिन्छ निर्ममतापूर्वक सच्याऔँ  । यात्रा अगाडी बढाऔँ । यसैमा देश, जनता र पार्टीको भविष्य छ।

लेखक: आचार्य नेकपा केन्द्रिय सदस्य हुन् । 

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments