प्रिय कोरोना तिमी गाउँ आएर के गर्छौ ?

आइतवार, चैत्र २३, २०७६

loading...

- मीनप्रसाद जैशी



प्रिय कोरोना
तिमीलाई शङ्कास्पद नमस्कार ।

तिमीलाई ‘प्रिय’ भनेर सम्बोधन गर्दा शब्दको मान या अपमान के हुन्छ । त्यो त मलाई थाहा छैन । तर किन किन सकारात्मकरुपमा तिम्रा केही गतिविधिहरू हेर्दा ‘प्रिय’ भन्न मन लाग्यो । विभिन्न सञ्चारमाध्यमका अनुसार तिमी चीनको वुहान सहरमा जन्मियौँ  रे ! दुनियाँमा जन्म र मृत्यु अवश्यम्भावी छ । तर जसले जन्मिन र मर्न पनि जान्दछ । त्यो नै यो दुनियाँको बादशाह हो । त्यसैले तिमीले एक हिसाबले भन्नुपर्दा आफ्नो जन्मको सार्थकता सिद्ध गरिसक्यौ । लाग्छ तिम्रो मृत्यु पनि सम्मानजनकरुपमा नै हुनेछ र तिमी एक्काइसौँ शताब्दीको बादशाह हुनेछौँ । तिम्रो जन्मको बारेमा पनि अनेक अड्कल काटिन थालेका छन् । कसैंले तिमी आफै जन्मेको हौँ भनेर भन्छन् । त कसैले तिमीलाई जानी जानी जन्माइएको हो भन्ने अनुमान पनि गरेका छन् । खासमा तिम्रो जन्म चीन वा अमेरिकामा नै हुनुपर्थ्यो किनकि यी दुई ठाउँ भन्दा अन्त तिमी जन्मेको भए तिम्रो यसरी चर्चा परिचर्चा नै कहाँ हुन्थ्यो र ? अनि यसरी यति छिट्टै संसार भरी फैलिने मौका पनि कहाँ प्राप्त हुन्थ्यो तिमीलाई ?

वास्तवमा तिमी चीन जस्तो उदाउँदो विश्वको उदाउँदो सहरमा जन्मियौ, ठिकै गर्‍यौ  । किनकि तिमी हाम्रो जस्तो गरिब देशको कुनै गाउँमा जन्मेको भए एउटा हाँसोको पात्र बाहेक केही बन्ने थिएनौँ र विश्वले तिम्रो चर्चा हैन तिमीलाई हेलाको पात्र बनाउने थियो किनकि गरिब देश र गाउँहरू अहिले पनि हेलाको पात्र नै छन् । विश्वभरिका मान्छेले देशको गरिबी र गाउँको पछौटेपनसँग दाँजेर तिम्रो र मानिसको हुर्मत लिने थिए । मानौँ कि गरिब हुनु र गाउँमा बस्नु भनेको दुनियाँको सबै भन्दा ठुलो अपराध गर्नु हो जस्तो त्यस अर्थमा तिमी सहरमा जन्मिएर सहरमा नै हुर्कँदै छौँ । त्यसैले तिमीलाई गरिब गाउँहरूले अहिले सम्म न त देख्न पाएका छन्।  न त सुन्न नै गाउँका लागी यो एक भाग्यमानी अवस्था हो ।

अझ भनौँ तिमी संसार भरी फैलिसक्दा पनि पल्ला घरका गोठाले काका अनि माथिल्लो घरकी घँसारी आमा जससँग आज पनि हातमा मोबाइल छैन।  घरमा रेडियो, टेलिभिजन छैन । अनि ‘बा म त घर फर्किए सहरमा कोरोना आयो’ भन्नलाई न त सहरमा उनीहरूका बालबच्चा नै छन् । उनीहरूलाई अहिले पनि तिम्रोबारेमा कुनै जानकारी छैन  । तिमी आफ्नै लागि बनेको काल हौ वा कुनै भगवान् हौ ? थाहा छ त उनीहरूलाई अहिले पनि बारीको घाँस, त्यही २ महिना खान पुग्ने खेतीपाती, अनि गोठको भैँसी, दुई छाक टार्नका लागि भए पनि नगरी नहुने ढिकी जाँतो । वस्, यत्ति हो उनीहरूको संसार । आजका दिन सम्म पनि आफ्नो मृत्यु बोकेर आएको तिमीसँग कुनै मतलब छैन र मतलब राख्न फुर्सद पनि छैन उनीहरूलाई । उनीहरूलाई मुखमा लगाउने मानो अर्थात् मास्क, सेनिटाईजर, साबुन, पिपिई, चारैतर्फ बन्द पर्खाल र फलामे गेट भएको घर अझ त्यसमा पनि गेटमै प्रवेश निषेध भनिएर लेखिएको सूचना पार्टी; यी केही कुराका बारेमा जानकारी पनि छैन र प्रयोग गर्न सक्ने सामर्थ्य पनि छैन । अहिले पनि बिचरा गाउँलेलाई सेनिटाईजर भनेको त्यही खोलामा बग्ने पानी हो । मास्क त बाटोमा गोरु र बाख्राहरू हिडाउँदा बालीनाली खाई दिन्छन् भनेर जोगाउनका लागि गोरु र बाख्राको मुखमा मानो लगाएको मात्रै थाहा छ । अनि साबुन भनेको धाराको छेउमा भएको एक मुठी माटो हो  । पिपिई भनेको २ वर्ष अघि किनेको त्यही एक जोर सुरुवाल र एउटा धोती हो भने क्वारेन्टाइन भनेको त्यही खुला आकाश र खुला आँगन हो ।  घरको मूल ढोकामा ताल्चा र चुकुल सम्म त छैन।  कहाँ फलामे गेटमा प्रवेश निषेध लेख्नु ?  घरको आँगनमा आएको कुनै बटुवाले एकैपटक बाहिरबाट पुरै घर भित्रको चामलका दाना गन्न सक्ने अवस्था छ । वस्, यही हो- गाउँको अवस्था अहिले पनि ।

यस्तो अवस्थामा यदि तिमी गाउँमा जन्मेको भए हामीले तिम्रो सम्मानका लागि मास्क, सेनिटाईजर, पिपिई, क्वारेन्टाइन, आईसोलेसन , भेन्टिलेटर लगायत तिम्रो लागी चाहिने अरू थुप्रै कुराको प्रबन्ध मिलाउने अवस्था र ‌औकात कहाँ छ र हामीसँग ? रहरले भनौँ वा बाध्यताले, खुसीले भनौँ वा दुःखले तिमीसँग अँगालो हाल्दै, मितेरी लाउँदै आफ्नो दु:ख सुख बाँडचुँड गर्दै तिमीलाई फकाउनु र भगवान् भरोसामा जीवनको माग्दै तिमीसँग प्रार्थना गर्नु बाहेक के नै विकल्प थियो हामीसँग ? यो भन्दा पहिले पनि त यस्तै महामारी आएर कैयौँ मानिस मरिरहँदा हामी गाउँलेले यो भन्दा बढी के नै गर्न सक्या थियौँ ?

प्रिय कोरोना, यस पटक गाउँको कुरा तिमीले राम्रोसँग बुझेका रहेछौँ किनकी सूर्य पनि अस्ताउन मात्रै आउने हाम्रो गाउँघरमा विकास गर्ने जिम्मेवारी लिएका नेता त्यही चुनावको वेला मात्रै आउने हुन् । स्कुल, कलेज, विश्वविद्यालय, अस्पताल, सडक, खाने पानीको धारा, टेलिफोन लगायत सबै थोक वाकेर सिंहदरबारबाट हिँडेको समाजवादको गाडी पनि खै अहिले सम्म पुगेको छैन । गाउँमा आउँदै छ भन्ने सुनेको छु सायद यतिवेला तिम्रै कारण देश लकडाउनमा भएकोले त्यही लकडाउनमा फसेको होला भन्ने आशा, विश्वास र अनुमान गर्नुबाहेक केही विकल्प नभएको गाउँमा तिमी एक्लै लुखुर लुखुर आएर के खान्थ्यौ।  कहाँ बस्थ्यौ । तिम्रो रेखदेख र हेरविचार कसले गर्थ्यो अनि महिनौँ दिनको पैदल यात्रा गरेर कसरी सहर पुग्थ्यौँ र यति छिट्टै संसार परिक्रमा गर्ने  लक्पुष्राय गर्थ्यौँ ? तिमी सहरमा जन्मिएकै कारण आज यो सब सम्भव भइरहेको छ ।

त्यसैले कृपया मैले भनेको मान्छौ भने तिमीले अब गाउँमा नआएकै जाती किनकि यहाँ तिम्रो लागी कुनै व्यवस्था छैन । पेटभरी दुई छाक खान नपाएर जसरी दुःख र अभावसँग जुध्दै भगवान् भरोसामा गाउँका मानिसहरूले सिङ्गो जिन्दगी बिताए । त्यसरी नै तिमीले पनि यही दुःख र अभावमा वर्षौँ बिताउनु पर्ने छ । न तिम्रा लागी कुनै डाक्टर नै आउनेछन् न त औषधि र सामग्री नै । त्यति मात्रै कहाँ हो र कोरोना, पेट भरी खान नपाएर कुपोषण लागेको त्यो गाउँले शरीरमा प्रवेश गरेर के तिमी पनि कुपोषणको सिकार बन्न चाहान्छौं ? के तिमी पनि यी गाउँले जस्तै दुःख, अभाव र सङ्कटको जीवन जिउन चाहान्छौं ? के तिमी पनि माथि आकाशमा उडेको हवाईजहाज हेर्दै त्यसमा चढेको सपना देखेर मर्न चाहान्छौं ? के तिमी पनि हाम्रा सारा सुखका सामग्री बिकेर आउँदै गरेको समाजवादको गाडी कुरेर वर्षौँ बिताउन सक्छौँ ? के तिमी पनि नुनबिनाको कोरा भातको गाँस र सधैको आधा पेटमा भोकसँग सम्झौता गर्न सक्छौँ ? के तिमी पनि गाउँलेले जस्तै वर्षमा एक जोर लुगा र ऋण काढेर किनेको एक किलो खसीको मासुको भरमा हामीजस्तै खुसी भएर बाँच्न सक्छौँ ? पक्कै पनि निकै गाह्रो छ । गाउँमा जिन्दगी बिताउन त्यसैले तिमी यति बेला गाउँमा नआएकै वेश हुन्थ्यो ।

यही गाउँमा जन्मेर गाउँकै छातीमा टेकेर हुर्केका र यही गाउँको थातथलोलाई आधार बनाएर सम्पन्न भएकाहरूले त गाउँ बिर्सी सके भने तिमीले गाउँ सम्झिनु भनेको तिम्रो मूर्खता बाहेक केही पनि हैन । यतिवेला तिमी देखि रिस पनि उत्तिकै उठिरहेको छ भने धन्यवाद दिन पनि मन लागिरहेको छ।  किनकि तिमीले हाम्रो नासिँदै गएको र आधुनिकताका नाममा बिर्सिँदै गएको पूर्वीय दर्शनसँग मानिसहरूलाई साक्षात्कार गराईदियौं ता कि मानिसले आज नमस्ते गर्नुको महत्त्व बुझे, आयुर्वेदको अर्थ बुझ्दै छन् । लुगा फेरेर खाएको कुरालाई बाहुनवादसँग जोड्नेहरूले आज पिपिईको खोजी गर्दैछन् भने हाम्रा आनीबानी र हाम्रो आहार-विहारका बारेमा पुरा विश्व यतिवेला सोच्न र समीक्षा गर्न बाध्य भएको छ।  जुन कुरा हजारौँ वर्ष पहिले देखि हाम्रो पूर्वीय दर्शनले मानिसलाई भन्दै आएको थियो । यसरी वर्षौँदेखि भन्दा पनि कसैले नसुनेको कुरा तिमीले करिब ४ महिनामा ‘घैँटोमा घाम लाग्ने’ गरी पुरा विश्वलाई सुनाउन सफल भयौँ । यति मात्रै कहाँ हो र पूँजीको भरमा संसार हातमा नचाउन सकिन्छ भन्ने पूँजीवादी अर्थ व्यवस्थाको जग हल्लाएर समाजवादी अर्थ व्यवस्थातर्फ उन्मुख हुने कि भन्ने कुरा पनि छलफल र बहसको विषय भएको छ यतिवेला । देशलाई यति ठुलो सङ्कट पर्दा बिरामीको उपचार गर्छौँ भन्ने निजी अस्पतालले ढोका बन्द गरिसके। पैसाले जीवन बचाउन सकिने भए धानिमानी देशहरूसँग पैसाको बिस्कुनमाथि मानिसहरूलाई सुताएर पैसाले नै ढाक्न सक्ने हिम्मत थियो तर के गर्नु तिम्रा अगाडी पैसा, अस्पताल र विज्ञानको केही सीप नलागेपछि हात खडा गरेर लुकेर बस्नु बाहेक अर्को कुनै विकल्प देखिएन । अझ रमाइलो कुरा त के छ भने लुकेर बस्नका लागि लागी एक पैसा पनि खर्च गर्नुपर्दैन वा भनौँ नि:शुल्करुपमा तिमीबाट बच्न सकिने यो कस्तो उपचार पद्धति सिकायौँ कोरोना तिमीले ।

आज भोलि मानिसले प्राय गाउँ सम्झिँदैनन् किनकि गाउँसँग दुःख, अभाव र गरिबी बाहेक के नै छ र ? सम्झिनलाई पनि । सम्झिन्छन् त केवल चलचित्रका दृश्य छायाङ्कन गर्न वा कुनै म्युजिक भिडियो सुटिङका लागि वा कुनै गीत, कविता र कथाको विषयवस्तुका लागि अथवा यहाँको दुःख गरिबी र अभाव बेचेर सहरमा ठुलो महल ठड्याउनका लागि वा चुनाव जित्न र नेता बन्नका लागि बस यत्ति नै कारण हो मानिसहरूले गाउँ सम्झिने भनेको । तर क्या वात ! तिमीले यी कुनै पनि कारणका लागि हैन आफ्नो ज्यान जोगाउनका लागि सुविधा सम्पन्न देश र सहरबाट कतिलाई गाउँ फर्कन बाध्य बनाएर साथै गाउँ फर्किन नसकेकाहरूलाई बन्द कोठामा बसेर भए पनि एक पटक फेरी गाउँ सम्झाईदियौं । विज्ञानको अनेकौँ चमत्कारको अगाडी गाउँको जीवनशैली र बाँच्ने तरिकालाई जीवन जिउने संसारको सर्वश्रेष्ठ तरिका साबित गरिदियौँ । साथै पुराका पुरा मानवताजीको अस्तित्वलाई नै सङ्कटको जनाउ घण्टी बजाउँदै प्रकृतिको नियमलाई बुझेर यसको अस्तित्वलाई स्विकार्न बाध्य पार्दै आधुनिकताका नाममा प्रकृतिमाथि भइरहेको अन्याय र अत्याचारलाई बन्द गर भने सन्देश पनि दिन सफल भयौ । आफ्नो अस्तित्वलाई बिर्सिएर अर्काको अस्तित्वमाथि धावा बोलिरहेको हाम्रो समाज र विज्ञानलाई जाबो ज्वरो र खोकीसँग लड्न नसक्ने बनाएर हावा खुवाईदियौं । पृथ्वी भन्दा परको दुनियाँमा बस्ती बसाउने सपना देखेको र अणुबमको शक्तिको भरमा आफूलाई संसारको सर्वाधिक शक्तिशाली मान्ने आधुनिक विश्वलाई जाबो ज्वरो र खोकीको सहायताले महिनौँ दिन थला पारिदियौँ । एक चोटि आफ्नो अस्तित्व जोगाउन पछाडि फर्केर हेर्न बाध्य बनायौँ ।

सायद मानव इतिहासमा पहिलो पटक पुरै विश्वलाई यो अलग गर्दै एउटा कोठामा बन्द गराएर आफू र आफ्ना क्रियाकलापमाथि समीक्षा गर्दै जीवनको आगामी यात्रा तय गर्न एउटा नयाँ बाटो दिने कोसिस गर्‍यौ र हाम्रा क्रियाकलापबाट प्रकृति कति दिक्दार भएको रहेछ भन्ने कुरा देखाउन सफल भयौँ ता कि हिजो आज संसारको कुनै पनि सहर स्वच्छ र सफा छ भने धर्ती मात्रै हैन आकाश र आकाशमा बग्ने हावा पनि स्वच्छ र सफा छ । यतिवेला मानौँ कि उ पनि कुनै लामो बिदामा रमाउन संसार घुम्न निस्किएको छ र यतिवेला कुनै चौतारोमा बसेर थकाई मार्दै लामो सास फेर्दै छ ।

यति भन्दै गर्दा अनि तिम्रो गुणगान गाउँदै गर्दा तिमीले धेरै पुलपुलिनु हुँदैन।  अब तिम्रा सम्पूर्ण क्रियाकलापहरू तत्काल बन्द गरिनुपर्छ । किनकि महाशक्ति राष्ट्र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले केही दिन अगाडी अमेरिका लकडाउनका लागि बनेको देश हो र ? भन्दै गर्दा हामीलाई पनि आस लागेको थियो कि अब केही हुन्छ । तर ती महासयले नै तिम्रो सामु हार खाएर आफ्नै देश १ महिनाका लागि बन्द गरिसकेपछि अब तिमीले पुरा विश्वमाथि नै एक हिसाबले विजय प्राप्त गरिसक्यौँ । युरोपले घुँडा टेकी सक्यो अव बाँकी भनेको यही गरिब एसिया र हाम्रो जस्ता गरिब देशहरू र गाउँहरू मात्रै छन् । त्यसैले यी गरिबहरूसँग तिमीसँग मुकाबिला गर्ने न त कुनै साधन स्रोत छ, न त हिम्मत नै, न त यी देशहरूमा आक्रमण गरेर तिम्रो इज्जत नै वढ्नेवाला छ । त्यसैले यो एउटा गाउँवासीको अनुरोधलाई स्विकार्दै अव तिमीले आफ्नो शक्ति र सामर्थ्य पुरा विश्वलाई देखाएर एउटा सन्देश दिई सकेपछि अब हामी जस्ता दुःखी र गरिबलाई निर्विकल्प मृत्युको मुखसम्म पुर्‍याएर अर्को ठुलो पाप गर्नुहुँदैन ।

प्रिय कोरोना, तिमी यतिवेला समस्याकोरुपमा मात्रै आएनौँ । संसारका लागि एउटा अवसर र सम्भावना अनि जीजीविषाको विकल्पहरू समेत वाकेर आयौँ । केही दर्शन र वादहरूको विषयमा समेत मानव जातीलाई घोत्लिन बाध्य बनायौँ । देशको गरिबी र गाउँको पछौटेपन देखेर फिरन्ते जीवनमा रमाइरहेकाहरूलाई समेत आफ्नै देश फर्केर केही गर्नुपर्छ।  आफ्नै देश र गाउँ सुरक्षित छ है भन्ने कुरा पनि बुझाइदियौँ, जुन कुरा हाम्रो शिक्षा, किताब अनि विश्वविद्यालयले आजसम्म सिकाउन, पढाउन र बुझाउन सकिरहेका थिएनन् । अनि रमाइलो भनौ या दुःखको कुरा सहरमा मेरो यति ठुलो घर, गाडी र सम्पत्ति छ । अनि छोराछोरी युरोप अमेरिकामा छन् भनेर फुर्ती लाउँदै अरूलाई कमिला जत्रै सम्झिने केही सामाजिक प्राणीलाई त राम्रै पड हानिदियौँ । ती आजभोलि चुँक्क सम्म गर्दैनन् बरु उल्टै तिनीहरूलाई गाउँ खोज्दै आउने बनायौँ र विजनपर्यन्तका लागि मानवताको पाठ सिकायौँ ।

धन्य छौँ कोरोना तिमी । गाउँमा भोक, गरिबी, अभाव र मृत्यु बाहेक केही छैन त्यसैले तिमी अव गाउँ नआऊ । तिम्रो सहरमा भएको उपस्थिति नै हाम्रा लागी काफि छ । सुविधा सम्पन्न भनिएका सहरमा त तिम्रो राम्रो व्यवस्था गर्न सकिएको छैन भने गाउँमा तिम्रा लागी गाँस, वास र कपासको व्यवस्था कसले पो गरिदिन्छ ?

उही तिमी देखी डराएको
गाउँको शुभचिन्तक,
मीनप्रसाद जैशी
बाजुरा 

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments