काेराेना र विश्व बजार

शनिबार, बैशाख ६, २०७७

loading...

- आरूश रावल



विश्वव्यापी रूपमा कोरोनाको बज्रपात भएको यस कठिन परिस्थितिमा विश्वको आधा जनसङ्ख्या आन्तरिक नजरबन्दमा रहेको अवस्था छ । अहिलेको समकालीन समाजलाई विगत र भविष्यसँग जोडी विभिन्न बौद्धिक बहस तथा टीकाटिप्पणी गर्ने होडबाजी नै चलेको छ । कतिपयले कोरोना भाइरसलाई विश्व व्यवस्थाको चक्र रूपान्तरणको घटकको रूपमा लिएका छन् भने कसैले पुँजीवादी व्यवस्थाको पतन तथा समाजवादी व्यवस्थाको सुरुवातसँग जोडी हेर्ने गरेको छन् ।

जसका कारणले विश्वव्यापीकरण तथा खुल्ला अर्थतन्त्रलाई चुनौती दिँदै फेरि एक चोटि समाजवादी धारणालाई आत्मसात् गर्न बाध्य पारेको हो कि भन्ने भान हुन्छ। त्यसैले पनि आज यस बारेमा व्याख्या तथा विश्लेषण गरिनु आधारभूत आवश्यकता जस्तै बनिसकेको छ । वादको सर्वोच्च साम्राज्य आज नतमस्तक भई लाचार रूपमा खडा भएको छ । जसलाई नजरअन्दाज गरेर बस्न सकिने अवस्था पनि देखिँदैन । भने समाजवादको रूपमा उदार पुँजीवादी चरित्र बोकेर पर्दामा देखा परेको राष्ट्र चीन आज विश्व रङ्गमञ्चमा सफल र सक्षम देखिन्छ । आजको यस विषम परिस्थितिमा सिर्जना भएको कोरोना भाइरस विरुद्धको लडाइलाई कोरोना र विश्व व्यवस्था बीचको लडाइ वा कोरोना र पुँजीवाद बिचको लडाइ वा कोरोना र मानव अस्तित्वबीच कसको लडाइ हो भनेर ठाेकुवा गर्न सकिने अवस्था देखिँदैन ।

कोरोनाको आडमा विभिन्न व्यवस्था बीच भइरहेको टकराबलाई बिर्सन पनि सकिन्न । जसको पछिल्लो उदाहरण अमेरिकी अनुसन्धान एजेन्सीले चीन निकट अनुसन्धान निकायमा कार्यरत वैज्ञानिकको पक्राउले प्रस्ट पार्दछ । यसरी यी विभिन्न राष्ट्रहरुबीचको होडबाजीले नेपाल र नेपालजस्ता कयौँ अल्पविकसित राष्ट्रलाई साढेको जुधाइमा पाडाे जस्तै बनाउने हुन की भन्ने कुरा बुझ्नलाई कुनै आइतबार कुर्नुपर्छ जस्तो लाग्दैन ।

 कोरोना र विश्व व्यवस्था
विभिन्न कालखण्डमा फरक फरक राष्ट्रहरूले आ-आफ्नो प्रभुत्व जमाएर बसेको इतिहासलाई वर्तमान विश्व समुदायले राम्ररी बुझेको छ । इतिहासमा आजको चीन, भारत तथा पूर्वी एसिया समृद्ध तथा सम्पन्न रहेको तथ्य पाइन्छ भने त्यसपछि वर्तमानको आयरल्यान्ड (हल्यान्ड), पोर्चुगल, बेल्जियम, जापान र बेलायत जस्ता राष्ट्रले आफ्नो प्रभुत्व जमाएको इतिहास रहेको छ । दोस्रो विश्वयुद्धको समाप्तिपछि मात्रै आजको विश्व साम्राज्यको उत्पत्ति भएको हो । यसरी विभिन्न कालखण्डमा विश्व व्यवस्थामा आएको परिवर्तनलाई मनन गर्दा विश्व व्यवस्थाको स्थानान्तरणलाई सहज रूपमा स्वीकार गर्न सकिन्छ । तर विगतका जस्तो वर्तमान साम्राज्यवादको इतिहास नरहेकोले आजको साम्राज्यवादको रूपान्तरण तथा स्थानान्तरण त्यति सहज देखिँदैन । त्यसैले यसलाई कोरोना भाइरसको हार र जीतसँग जोडेर मात्रै विकल्पको पूर्वानुमान गर्न सकिँदैन । तर ढिलो चाँडो हुने गरी परिवर्तनको प्रक्रियालाई असम्भाव्य भने मान्न सकिँदैन । विश्व पुँजीवादको साम्राज्य आज कोरोना भाइरसको कहरसँग कसरत गरिरहेको छ । आफ्नो विश्व साम्राज्यको ताज जोगाइ राख्न हर किसिमको कसरत गर्नुपर्ने बाध्यता रहेको छ । खास गरी पछिल्लो दशकमा आफ्नो प्रतिद्वन्द्वी रूपमा चीन अगाडि उभिएर आएको सत्यतालाई आत्मसात् गर्न नचाहने वा नचाहेको प्रतिफल आज व्यहोर्न पर्ने परेको हो भन्ने विश्व समुदायको बुझाइ रहेको छ । कोरोना भाइरससँग सुरुवाती दिनहरूमा एक्लै लडाइँ लडेको राष्ट्र तथा नजिकको प्रतिद्वन्द्वीसँगको हात अगाडि बढाउनुले पनि विश्व साम्राज्यको ताज जोखिममा परेको हो कि भनेर अडकल लाउन सकिने देखिन्छ ।
कोरोना र पुँजीवाद

पुँजीवादी व्यवस्थाको सघनिकरण वा सघनताले आजको काेराेनालाई विश्वव्यापी बनाउनमा भरपुर साथ र सहयोग प्रदान गरेको पाइन्छ । अफ्रिकाको इबोला भाइरस जति सशक्त तथा खतरापूर्ण भाइरसको रूपमा विश्वव्यापी चुनौती बन्न सकेको थिएन । जति अहिलेको कोरोना भाइरसको कहर बन्दै गइरहेको छ । पुँजीवादी व्यवस्थाको विश्वव्यापी प्रभावका कारण नै काेराेना आज संसारमा आतङ्ककारी रूप धारण गर्न सफल भएको मा कुनै शङ्का छैन । आर्थिक वृद्धि तथा मुनाफा कमाउने चक्रलाई यसले रोक्दै सीमित दायरामा खुम्च्याउन सफल भएको छ । तर यतिकैमा पुँजीवादी व्यवस्थाको समीकरण समाप्त भइहाल्ने व्याख्या गरिदा हतार गरेको जस्तो हुने देखिन्छ ।

जसरी सन् १९३० मा भएको विश्वव्यापी आर्थिक मन्दीभन्दा पहिलेको समयसम्म नव शास्त्रीय अर्थशास्त्रीहरुको सूक्ष्म आर्थिक विश्लेषण सम्बन्धी धारणा प्रचलनमा थियो । तर सो दृष्टिकोणले तत्कालीन आर्थिक मन्दीले गरिबी, बेरोजगारी आदि समस्याहरूको समाधान गर्न सकेन । त्यसैले प्रा .डा. किन्सले तत्कालीन समस्याको समाधानको निम्ति एउटा भिन्नै नयाँ अवधारणाको विकास गरे । त्यसरी नै आजका शक्तिशाली राष्ट्रहरू कोरोना संक्रमणकालको समाप्तिसँगै नयाँ व्यवस्थाको खोजीमा लाग्ने छन् भनेर आसाको किरण बढ्न सकिन्छ ।

कोरोना भाइरसको उच्च जोखिममा मुख्य गरी नेपालजस्ता अपरिपक्व तथा कम विकसित देशहरूमा तुलनात्मक रूपमा बढि असर पार्ने देखिन्छ ।  जहाँको कमजोर अर्थतन्त्र, विज्ञान, प्रविधि तथा स्रोत-साधनको अभावजस्ता विविध कारणहरूले बहुसङ्ख्यक जनसङ्ख्याले मृत्युवरण गर्दछन् । जसमध्येको एक कोरोना पनि विशेष भएर देखा परेको छ । पुँजीवादले स्वच्छ बजार प्रतिस्पर्धा, छिटोछरितो सेवा सुविधा तथा कमसल मूल्यमा उच्च गुणस्तरको बस्तु तथा सेवाको सुनिश्चितता गर्ने मान्यतालाई धारण गरेको हुन्छ ।

तर हाम्रो जस्तो कमजोर तथा दोहोरो चरित्रको आर्थिक, राजनीतिक नीति तथा प्रणालीलाई आत्मसात् गरेका वा परनिर्भर अर्थतन्त्र भएका देशहरूको लागि नव सामन्तहरू जन्माउने उद्योगको रूपमा काम गरेको छ । आर्थिक वृद्धिको नाममा केही सीमित व्यक्तिको कल्याणको लागि राज्यका स्रोत साधनको भागबन्डा गर्नमा ठुलो महत्त्वपूर्ण भूमिका खेलेको छ । जसको प्रसिद्ध उदाहरणको रूपमा यति काण्ड तथा ओम्नि  काण्डलाई लिन सकिन्छ । त्यसै गरी काेराेना  सङ्क्रमण पछि नीजी क्षेत्रले देखाएको समर्पणवादी चरित्रले ठुलो पाठ सिकाएको छ । उदार अर्थनीति तथा हरेक क्षेत्रमा निजी क्षेत्रलाई खुल्ला छोड्ने प्रवृत्तिका कारण आज स्वास्थ्य चौकी तथा अस्पतालहरूको ठाउँमा स्कुल, कलेज तथा सार्वजनिक स्थललाई क्वारेन्टाइन तथा उपचार क्षेत्र बनाउन बाध्य हुनुपरेको छ ।

राज्यले जनहितका निम्ति काम गरिदिनुहुन भनी निजी क्षेत्रलाई विनम्रताका साथ अनुरोध गर्दछु जस्ता सस्ता र बनावटी शब्दको प्रयोग गर्नु परेको छ । के जनहित र सार्वभौमसत्ताको निम्ति कठोर कदम चाल्न सक्ने राज्यसत्तासँग कुनै शक्ति छैन ? के आर्थिक वृद्धिको नाममा मुनाफा आर्जन गर्नु मात्रै निजी क्षेत्रको काम र कर्तव्य हो ? यदि होइन भने यस्तो विषम परिस्थितिमा आत्मसमर्पण होइन हातमा हात र काँधमा काँध जुधाएर हिँड्न सक्नु पर्छ । नाफा कमाउने क्रिडा स्थलको रूपमा मात्रै निजी अस्पताल तथा अनुसन्धान केन्द्र बनाइने हो भने निकट भविष्यमा यसको विकल्प खोजिनु पर्नेमा कुनै दुई मत देखिँदैन ।
कोरोनाबाट सिक्न पर्ने पाठ
उल्लेखित व्याख्या र विश्लेषणले फरक फरक अवधारणा तथा मूल्य र मान्यताको प्रतिनिधित्व गरेता पनि एक कुराको के निश्चित गर्छ भने रूपान्तरण वा परिवर्तन निश्चित छ जसलाई नकार्न पनि सकिँदैन । जुन आजको आवश्यकता तथा समयको माग पनि हो । नेपाल जस्ता साना कम विकसित राष्ट्रको लागि त कोरोना भाइरसको कारण आफू र आफ्नो राज्यको भूराजनीति, आर्थिक चरित्रलाई बुझ्न ठुलो अवसर नै भएको छ । जसले आफ्नो आत्मनिर्भर अर्थराजनितिको विकास गर्नमा बल पुर्‍याउन सक्नेछ । जनताहरूमा राज्यप्रतिको आकर्षण तथा विकर्षणले व्यवस्था परिवर्तन गर्नमा धेरै मलजल गर्नेछ । नेतृत्वले परिस्थितिलाई समयानुकूल हुने गरी सम्बोधन गर्न नसकेको खण्डमा निकट भविष्यमै ठुलो जोखिमको सामना गर्नु पर्नेछ ।

तर सही रूपमा सदुपयोग गर्न सकेको खण्डमा आफ्नो राजनीतिक, वैचारिक विचारधाराले जनमानसमा सकारात्मक स्वरूप धारण गर्दै थप सशक्त हुँदै जानेमा पनि कुनै दुई मत रहेको देखिँदैन । राज्यको भूमिकाको महत्त्वलाई नेपाल जस्ता अर्ध पुँजीवादी चरित्र भएका राष्ट्रहरूमा के कस्तो रहेको हुन्छ भन्ने कुरालाई राम्रोसँग बुझ्ने अवसर प्राप्त भएको छ । शिक्षा, स्वास्थ्य तथा आधारभूत संस्थानमा राज्यको नियन्त्रणको अभावको महसुस राम्रोसँग गराएको छ । जसले निकट भविष्यमा सामाजिक, आर्थिक र राजनीतिक मूलभूत चरित्रमा परिवर्तन गर्ने कि नगर्ने भन्ने सम्बन्धमा प्रश्नको सिर्जना अवश्य गर्ने छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments