समाजशास्त्रीय दृष्टिकोणमा कोरोना सङ्क्रमण

आइतवार, बैशाख १४, २०७७

loading...

- आरुश रावल



समाज भनेको विभिन्न वर्ग र चेतना भएका मानिसहरूको समूह हो । समूहहरू बिचको अन्तरक्रिया तथा अन्तर सम्बन्धलाई खास- खास परिस्थिति तथा वातावरणले निश्चित ढाँचा तथा स्वरूप प्रदान गर्दछ । हरेक कुराको लामो वा छोटो इतिहास रहेको हुन्छ । जस्तै, मानव सभ्यताको इतिहास, राजनीतिक इतिहास, धार्मिक तथा सांस्कृतिक इतिहास र आर्थिक इतिहास आदि । आजको हरेक वर्तमानलाई सफल वा असफल बनाउनमा विगतको उत्तिकै महत्त्वपूर्ण भूमिका रहने गर्दछ । जस्तो विकास, रोजगारी, समृद्धि गरिबी, भोकमरी, महामारी आदि इत्यादि ।

परिवर्तन प्रकृतिको शाश्वत नियम हो, जसलाई नकार्न वा नजरअन्दाज गर्न सकिँदैन । परिवर्तनको वेगलाई हेर्दा कहिले छिटो छिटो उतारचढाव भएको र कहिले एकदम स्थिर सलल गतिमा बगेको जस्तो देखिन्छ । तर त्यस बहावलाई तात्कालिक घटना वा परिस्थिति तथा वातावरणले निर्धारण गर्ने गर्दछन्। यस्ता विभिन्न निर्धारक वा कारक तत्त्वहरू मध्ये गरिबी, भोकमरी, बेरोजगारी,भ्रष्टाचार, महामारी तथा प्रकोपजस्ता कारक तत्त्वहरू महत्त्वपूर्ण मानिन्छन् । जसले परिवर्तनको सिलसिलामा अहम् भूमिका खेल्ने गरेका हुन्छन् ।

संक्रमणकालमा परिवर्तनको नेतृत्व गर्ने कर्ता माथि उल्लेखित कारकबाट प्रताडित जो कसैले पनि गर्न सक्छन् । जस्तो राजनीतिक सङ्क्रमणमा शीर्ष नेतृत्वहरूले त्यसको जिम्मेवारी बहन गर्न गर्दछन् । तर राजनीतिक नेतृत्वले त्यसको अवज्ञा गरेको खण्डमा व्यक्ति, नागरिक समाज, अन्य सङ्घ, संस्था, वा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायले त्यसको प्रतिवाद गर्न सक्दछन्। अहिलेको समकालीन परिवेशमा कोरोनाको महामारी विश्वव्यापी सङ्क्रमणकालीन कहर बन्दै गएको छ । यसको प्रभाव विश्व समाजमा देख्न सकिन्छ । तर त्यसको परिमाण सबै प्रकारको समाजमा भने समान नहुन पनि सक्छ । जसलाई समकालीन परिस्थितिजन्य घटना लगायत विगतको लामो इतिहासले पनि निर्धारण गर्ने गर्दछ । जस्तो कोरोनाको प्रकोपसँग प्रतिरोध गर्नका लागि आवश्यक स्रोत, साधन, प्रविधिको विकास, पहुँच तथा तत्कालीन परिस्थितिमा चालिएका पहल कदमि आदि कुराहरूलाई लिन सकिन्छ ।

खास गरी विचलित वा अस्थिर समाजमा यस्तो सङ्क्रमण वा सङ्कटले समाजमा छोटो समयमा पनि ठुलो परिवर्तन वा बदलाव ल्याउने गर्दछ । जस्तो आर्थिक चरित्रमा परिवर्तन, राजनीतिक आचरणमा परिवर्तन, सामाजिक संरचनामा परिवर्तन आदि । कुनै निश्चित समयमा खास स्वरूपमा देखा पर्ने कारकले संक्रमणकालमा कस्तो परिवर्तन वा बदलाव ल्याउने हो भनेर भन्न सकिने अवस्था रहँदैन । जस कारण त्यसको प्रतिफल वा परिणाम यस्तो नै हुन्छ भनेर पूर्वानुमान गर्दा समय सान्दर्भिक नहुन सक्छ । आजको यस बहसको मुख्य विषयवस्तु भनेको कोरोनाको सङ्क्रमणले नेपाली समाजमा आर्थिक, सामाजिक तथा राजनीतिक प्रभाव कस्तो रह्यो वा रहन सक्छ ? भन्ने भएकोले त्यसैमा प्रवेश गर्न चाहन्छु ।

(१) कोरोनाको राजनीतिक प्रभाव
नेपालमा खास गरी लामो समयपछि प्राप्त भएको राजनीतिक स्थिरताले राम्रोसँग जरा पनि हाली नसकेको विद्यमान अवस्था छ । यस्तो विषम परिस्थितिमा राजनीतिक चक्लावन्दीले कस्तो भुमरीमा पार्ने हो भनेर भन्न सकिने अवस्था छैन । सङ्क्रमणको बेला सबैको नजर कुनै खास क्षेत्रमा केन्द्रित हुने गर्दछ । जसमध्येको राज्य संयन्त्र पनि एक हो । राज्यको तर्फबाट तात्कालिक परिस्थितिलाई मध्यनजर गरी उपयुक्त कदम चालिएको खण्डमा मात्रै त्यस्तो सङ्कटको समाधान गर्न सकिन्छ । नत्र विभिन्न पक्ष बिचको अन्तरबिरोधले भयावह रुमलिन सक्ने सम्भावना पनि उत्तिकै रहने गर्दछ ।

राजनीतिक रूपमा चालिने पहलहरूले राज्यको जनताहरू प्रतिको भावलाई प्रतिबिम्बित गर्ने भएकोले सङ्क्रमणकालीन परिस्थितिमा राज्य पक्षको महत्त्वपूर्ण भूमिका रहने गर्दछ । जसलाई स्वभावतः प्राकृतिक ठान्न सकिन्छ । कोरोनाको यस सङ्क्रमणकालीन अवस्थामा सरकारले देखाउने परिपक्वता वा अपरिपक्वताले जनभावनाको निर्धारण गर्ने गर्दछ । त्यसतर्फ उचित ध्यान दिन नसक्दा जनमानसमा नकारात्मक सूचनाको सम्प्रेषण हुन सक्ने सम्भावना प्रबल रहने भएकोले यसको गम्भीरतालाई मनन गरी उपयुक्त पहल कदमी चालिनु आवश्यक हुन्छ ।

नेपालमा कोरोना भाइरसको सङ्क्रमणसँगै राजनीतिक रूपमा देखा परेको उतारचढावलाई सरकारको सफलता वा असफलतासँग जोडी हेर्ने गरिन्छ । जसलाई स्वाभाविक मान्न सकिन्छ । इतिहासले धेरै चोटि विभिन्न खालका सङ्क्रमणलाई खेप्दै अगाडी बढेको तथ्यलाई सबैले ज्ञात गर्नुपर्छ । जस्तो २००७ सालको राजनीतिक सङ्क्रमण, २०४६ को राजनीतिक सङ्क्रमण र २०६२/६३ को राजनीतिक सङ्क्रमण र पछिल्लो नेपाल भारत बिचको राजनीतिक संक्रमणकाल २०७२ सँगै नेपालको राजनीतिक चरित्रमा बदलाव आएको देखिन्छ । विगत जस्तो जनताको जनआदेशले प्राप्त बहुमतलाई अहिलेको परिस्थितिसँग समानान्तर रूपमा बुझ् नसक्ने हेक्का राख्नुपर्छ । तर त्यसको प्रभावकारिताको अभावसँगै राज्यले व्यहोर्नु परेको अस्थिरतालाई पनि वर्तमानमा ज्ञात गर्न सक्नुपर्छ ।

विशेष गरी पछिल्लो दशकमा संविधान निर्माणको लागि कुर्नुपरेको असहज परिस्थितिलाई सहज बनाउने वा राजनीतिक दलहरूलाई एकबद्ध गर्न भूकम्पले खेलेको भूमिकालाई पनि सकारात्मक पाटोको रूपमा लिन सकिन्छ । हरेक खालको सङ्क्रमणकालीन परिवेशले दुःख, पिडा र असहजतासँगै विभिन्न अवसरहरू पनि सिर्जना गर्दछ । भन्ने कुरालाई पनि आत्मसात् गर्नु पर्दछ । यस्तो विपत्तिमा राज्यले निर्वाह गर्नु पर्ने भूमिका पुरा गर्न नसकेको खण्डमा राजनीतिक अस्थिरता तर्फ धकेल्नमा सङ्क्रमणकालीन परिस्थितिले भरपुर साथ र सहयोग प्रदान गर्ने गर्दछ । साथै त्यसको प्रतिवादमा नयाँ शक्तिको रूपमा अन्य राजनीतिक, वैचारिक विचारधारा बोकेका समूहको विकास हुने सम्भावना पनि उत्तिकै प्रबल रहने गर्दछ ।

नेपालको समकालीन परिवेशमा समाजवादलाई आफ्नो राजनीतिक चरित्रको मूलभूत आधार मान्ने कम्युनिस्ट सरकारको लागी समाजवादी घोषणापत्र कार्यान्वयनको उर्वर भूमिको रूपमा अहिलेको परिस्थिति रहेको छ । राजनीतिक परिपक्वता तथा संम्यमता कायम गरी जनहितको निम्ति आवश्यक सहकार्य र समन्वयको प्रक्रिया अगाडि बढाइनु पर्छ । वर्तमान कम्युनिस्ट सरकारलाई कोरोना भाइरसले चुनौती मात्रै होइन विभिन्न अवसर पनि ल्याएको छ भनेर बुझ्न सकिन्छ । हरेक सङ्क्रमण पछिको जना आदेशसँग अहिलेको बर्बरतापूर्ण परिवेशलाई जोडेर हेर्न हो भने कोरोना पछिको नेपालको पुनर्निर्माणको कार्यको जिम्मेवारी वर्तमान सरकारलाई जानसक्ने प्रबल सम्भावना देखिन्छ । तर संक्रमणकालमा विभिन्न प्रकारका भ्रष्टाचारजन्य अपराधहरूले मौलाउने अवसर पाउने भएकोले त्यसको बारेमा नेतृत्वले संम्यमता पूर्वक नेतृत्वदायी भूमिका निर्वाह गर्नु सक्नु पर्दछ । केही सीमित राजनैतिक संरक्षणमा रहेका व्यक्तिहरूले मात्रै आवश्यक सेवा सुविधाको उपभोग गर्ने वातावरणको निर्माणले जनमानसमा राज्यप्रतिको आस्था तथा भरोसा गुम्न गई कालान्तरमा ठुलो सङ्कटको सामना गर्नु पर्ने हुनसक्छ । जसले राजनैतिक अस्थिरताको माहौल सिर्जना हुनसक्छ । जुन देश र जनता दुवैको लागि दुर्भाग्यपूर्ण अवस्था हो ।

नेपालमा रहेको उच्च बेरोजगारी, गरिबी, भोकमरी, महामारी जस्ता यावत समस्याले ग्रस्त जनतालाई दुःखको बेला राज्यले जनताको खातिर जस्तोसुकै मूल्य चुकाउन सक्छ भन्ने कुराको प्रत्याभूति दिलाइ जनसमुदायको मन, मस्तिष्कमा बस्न सक्ने अवसरको रूपमा कम्युनिस्ट सरकारले यस दुःखद घडीलाई उपयोग गर्न सक्नु पर्छ । जसको सही सदुपयोग गर्न सक्नु वर्तमान सरकारको लागि आफैँमा चुनौती बन्न सक्ने देखिन्छ ।
(२) कोरोनाको आर्थिक प्रभाव
विश्वव्यापी रूपमा कोरोनाको कहरले जनमानसमा पारेको आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक प्रभावलाई सबैले राम्रोसँग बुझेका छन् भन्ने हेक्का राखिएको छ । विशेष गरी यस्तो विषम परिस्थितिले आर्थिक रूपमा असक्षम वा कमजोर राष्ट्रहरूलाई ठुलो सङ्कटमा पार्ने गर्दछ । नेपालजस्ता कमजोर, अल्पविकसित देशहरूले बेरोजगारी गरिबी भ्रष्टाचार भोकमरी महामारीजस्ता समस्याबाट ग्रसित हुनु प्रायः सामान्य मानिन्छ । तर वर्तमान समयमा विश्वका विकसित तथा शक्तिशाली राष्ट्रहरूले यस विपत्तिको सामना गरिरहेको अवस्थामा नेपाल र नेपालजस्ता देशको अवस्था के कस्तो रहन्छ भनेर बुझ्नलाई धेरै समय लाग्छ जस्तो लाग्दैन ।

आजको विश्वव्यापीकरण तथा पुँजीवादी विश्व व्यवस्थाले खास गरी नेपालजस्ता कमजोर देशहरू बाट आवश्यक कच्चापदार्थ, स्रोत साधन तथा सस्तो जनशक्ति आपूर्ति गर्ने र महँगो परिष्कृत समान निर्यात गर्ने गर्दछन् । नेपालको अर्थतन्त्रको मुख्य मेरुदण्डको रूपमा विप्रेषण, वैदेशिक ऋण तथा सहयोग, पर्यटन, कृषि, जडीबुटी, हस्तकला ( मूर्ति, पोसाक ) आदि रहेका छन् । खास गरी परनिर्भर अर्थतन्त्र भएका कम विकसित देशहरूमा रहेको उच्च जनसङ्ख्या वृद्धि, गरिबी, भोकमरी, युवा जनशक्ति पलायन भ्रष्टाचारजस्ता समस्याहरूले ग्रस्त अर्थतन्त्रले लामो समयसम्म देशलाई धान्ने तथा समृद्धिको बाटोमा डाेर्याउने कल्पना गर्न सकिँदैन ।

विश्वव्यापी रूपमा सन् १९३० पछिको सबैभन्दा ठुलो आर्थिक महामन्दीको रूपमा अहिलेको परिस्थिति लाई लिन सकिन्छ । सबै क्षेत्रमा एकसाथ देखा परेको यस विकराल परिस्थितिले नेपालजस्ता कमजोर तथा परनिर्भर अर्थतन्त्र भएका राष्ट्रहरूलाई गरिबी तिर धकेल्ने निश्चित छ । विशेष गरी दोहोरो चरित्रको आर्थिक नीतिका कारण भ्रष्टाचारजन्य गम्भीर अपराधले जरा गाडी राज्यको स्रोत साधनको दोहन गर्ने गरेको पाइन्छ । निजी क्षेत्रलाई सबै क्षेत्रमा खुल्ला छोडेन वा निजीकरणको होडबाजी नै चलाएका पुँजीवादीहरूको कारण यस्तो विषम परिस्थितिमा पनि भ्रष्टाचार, नाफा खोज्ने प्रवृत्तिका प्रशस्त उदाहरण देख्न सकिन्छ । जुन आफैँमा निन्दनीय कार्य हो ।

नेपाल पनि विश्व व्यवस्थाको एक अभिन्न भाग भएकोले आर्थिक सङ्कटको मारबाट सजिलै जोगिने वा उन्मुक्ति पाउने देखिँदैन । अन्तर्राष्ट्रिय बजारमा देखा परेको बेरोजगारीको प्रत्यक्ष मार नेपाल तथा नेपालजस्ता कमजोर राष्ट्रले व्यहोर्नुपर्ने देखिन्छ । नेपालमा उच्च स्तरमा बाहिरिएका तथा आन्तरिक जनशक्तिलाई नेपाल भित्रै रोजगारीका अवसर दिलाउन सक्नु राज्य संयन्त्रलाई चुनौतीपूर्ण हुने देखिन्छ । तर स्थानीय स्तरमा कामको सिर्जना गर्न सकेको खण्डमा युवा जनशक्ति विदेश पालन हुनबाट रोकी आत्मनिर्भर अर्थतन्त्रको विकास गर्नमा अहिलेको असहज परिस्थितिले ठुलो अवसर सिर्जना गरेको देखिन्छ । यस असहज परिस्थितिलाई अवसरको रूपमा उपयोग गर्न सक्नु पर्छ । पुँजीवादी व्यवस्थाको सघनिकरणलाई अहिले नै बिर्सिहाल्न सकिने अवस्था देखिँदैन । त्यसैले अबको नेपालको आर्थिक विकासको बाटो भनेको नै निजी सरकारी तथा सहकारी बिचको उत्कृष्ट समन्वय तथा सहकार्य हो । आत्मनिर्भर अर्थतन्त्रको विकाससरि लोक कल्याणकारी राज्यको निर्माण कार्यमा प्रतिबद्ध हुनु आजको आवश्यकता हो ।
(३) कोरोनाको सामाजिक प्रभाव
विश्व समुदाय आज कोरोना सन्त्रासले प्रताडित छ । विश्वको आधा भन्दा धेरै जनसङ्ख्याले लक डाउन व्यहोर्नु बाध्य हुनु परेको छ । लाखौँ मान्छेहरूले अकालमै मृत्यु वरण गर्नु परेको छ भने दसौँ लाख मान्छेहरू जीवन र मृत्युको दोसाँधमा रहेका छन् । कोरोनाको सङ्क्रमणबाट जोगिनको लागि सामाजिक दुरीलाई घटाउनु पर्ने परिस्थितिले पनि आजको समाजमा परेको कोरोनाको प्रभावलाई प्रस्ट पार्दछ । समाजमा हुने सामाजिक सम्बन्ध, सामाजिक अन्तरक्रिया जस्ता कुराबाट विश्व समुदाय विमुख भएको छ । जल थल तथा हवाई मार्ग बाट हुने आवागमन पूर्ण रूपमा ठप्प छ । मानिसहरू आफ्नो घर परिवारको घेरा भित्र सीमित रहेका छन् । सामाजिक सम्बन्ध वा संरचनाहरू खलबलिएका तथा एका घर भित्र पनि पनि लक्ष्मण रेखा कोरिएका छन् ।

सामाजिक रूपमा कमजोर अल्पसङ्ख्यक, गरिब, बेरोजगार, श्रमजीवी वर्ग, विद्यार्थी, अनाथ, अपाङ्ग तथा अशक्त समुदायले यसको प्रत्यक्ष मार खेप्नु परेको छ । कुनै खास क्षेत्रमा रोजगार तथा पेसामा आश्रित परिवार, रोजगारी को लागि पलायन भएका तथा वैदेशिक रोजगारीमा आश्रित परिवार, किसानहरू तथा गरिखाने श्रमजीवी वर्गhगलाई कोरोनाले गरिबीको खाडल तिर धकेली दिएको राम्रो अनुभव गरेका छन् । जसरी (२०७२) को भूकम्पको कारण तीन प्रतिशत नेपाली जनसङ्ख्या गरिबीको खाडलमा भासिएका तथ्याङ्क बाहिरिएको थियो । त्यो भन्दा हजारौँ गुणा जटिल र सशक्त रूपमा यस भाइरसको प्रभाव विश्व व्यापी रहेको कारण नेपाली समाजमा यसको परिणाम यही र यति नै होला भन्न सकिने देखिँदैन ।

संक्रमणकालको दोसाँधमा रहेको यस समकालीन परिवेशलाई कस्तो गति तथा स्वरूप प्रदान गर्ने भन्ने कुरालाई राज्य तथा जनताहरूले राम्रोसँग ज्ञात गर्नुपर्छ । सामाजिक रूपमा यसको प्रभाव कम तथा प्रतिरोध गर्न आ आफ्नो क्षेत्रबाट लाग्नुपर्छ । संम्यमता र धैर्यताको बाधलाई कस्नु पर्छ । भोलिको सुनौलो बिहानी को कल्पनामा रमाउन सक्नुपर्छ । एक दिन कोरोनाको हारसङै विश्व समुदायले नयाँ दिनको सुरुवात गर्नेछन् । फेरि विश्व समाज जुरमुराउनेछ र नयाँ सुन्दर समाजको निर्माणको थालनी हुनेछ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments