छाउपडी र भुगाचौरले पाएको चर्चा !

बुधबार, माघ २, २०७५

loading...

- लक्ष्मण जोशी-



- लक्ष्मण जोशी-

बाजुरामा जीप भाडाका बारेमा लेख्दा जीप चढ्न नपाइने,जैतुन खेतीको जालझेल र खाद्य संस्थानद्वारा वितरण गरिने चामलको अनियमितताका बारेमा लेख्दा दरिद्र मानसिकताको उपाधि पाइयो । छाउपडीका प्रथाका बारेमा लेख्दा अर्को उपाधि थपिने होला । सामाजिक सवालका बिषयमा मेरो लेखन कार्य जारी रहि रहनेछ । साथ र सहयोग आम पाठक वर्गको जिम्मामा रहनेछ ।

बि.स.१९१० मा मुलुकी ऐन लागु भए पश्चात कानूनी रुपमा जातिय छुवाछुत लगायत सामाजिक कुप्रथाहरुको अन्त भएपनि ब्यवहारीक रुपमा लागु नभएका कारण पश्चिम नेपालका हजारौ आमा र दिदि,बहिनीहरु यौन हिंसा,बलात्कार,दुब्यबहार र अकालमा ज्यान गुमाइ रहेका छन । जातिय छुवाछुतका कारण कैंयौ समुदाय अपहेलित हुनुका साथै आत्म सम्मानमा चोट पुगेको छ ।

प्रयोगमा आएन भने “किताबको बिद्या र बाकसको धन” उपयोग बिहिन हुन्छ । देशमा नियम कानून नबनेका होइनन् तर तिनिहरुको प्रभावकारी कार्यान्वयन नहुँदा समाजमा गलत प्रबृतिले प्रशय पाइरहेका छन ।

हाम्रो देशको जति पुर्व गयो त्यति आर्थिक, सामाजिक, राजनीतिक, शैक्षिक र मानविय विकासमा अगाडी छ ,भने बाजुरा जिल्लाको जति पुर्व गयो त्यति अशिक्षा,रोग,भोक,गरिबी,भ्रष्टाचार र सामाजिक कुसंस्कारले जरा गाढेको पाइन्छ । त्यसैको परिणाम २०७५ पौष २४ गते बुढीनन्दा नगरपालिकाको वडा नं ९ भुगाचौरमा छाउपडी गोठमा आगलागि भएर ३५ वर्षीया आमा अम्बा बोहरा,१२ बर्षका छोरा सुरेश बोहरा र ९ बर्षका रमित बोहराले अकालमा ज्यान गुमाउनु प¥यो ।

परिवारको लालनपालन,छोराको पढाइ र घर खर्चको जोहो गर्नका लागि भारतमा मजदुरी गरिरहेका काँशीचन्द्र बोहराका अहिले परिवार बिहिन अवस्थामा पुगेका छन । उक्त घटनाको बिषयमा स्थानिय,राष्ट्रिय तथा अन्तराष्ट्रिय संञ्चार जगतमा समाचार,सम्पादकीय छापिनुका साथै छाउपडी प्रथाका बारेमा बहसहरु शुरु हुन थालेका छन ।

छाउपडीका बिषयमा जब सम्म हामीले नाकबाट निस्केको रगत र योनीबाट निस्कने रगत एकै किसिमको हो भनेर बुझाउन सक्दैनौ (स्वास्थ्यको दृष्ट्रिकोण बाहेक) तब सम्म हाम्रो समाजमा छाउपडी प्रथा कायम रहि रहन्छ । धार्मिक ग्रन्थहरुमा रजस्वला हुँदा महिलाहरुलाई अलग राख्नु पर्छ भनेर कहि कतै लेखिएको भेटिदैन । धर्मको नाममा ब्यापार गर्नेहरुले त्यसलाई अपभ्रंश गरेर अनाहकमा महिलाले दुःख भोगिरहेका छन ।

पश्चिम नेपालका गाँउका अधिकाँश महिला औषत आफ्नो प्रजनन अबधि (१५बर्ष देखि ४५ बर्ष सम्म) भरमा प्रत्येक महिना ४ दिनका दरले ३० बर्षको अबधिमा ३ बर्ष १० महिना परिवार भन्दा अलग घर बाहिर बिताइ रहेका छन । रजस्वलाको समयमा कुपोषणको शिकार हुनुका साथै बिभिन्न खालका जोखिम खेप्दै आएका छन । तर जनजाती समुदायमा धार्मिक र आर्थिक स्वतन्त्रताका कारण जातिय छुवाछुत र सामाजिक कुप्रथाहरु अन्य समुदायको तुलनामा कम देखिन्छ । जातिय छुवाछुतका नाममा छाइछिटो हाल्ने चलन अहिले पनि कायम छ । अशिक्षाका कारण पशुलाई (कुखुरा,कुकुर,बिरालो र बाख्राका पाटापाठी ) आफुु संगै राखेर खुवाउने तर दलित र रजस्वला महिलालाई घरबाहिर राख्नु कत्तिको अपमान हो । यसको बारेमा स्थानिय प्रशासनले कडा कदम चाल्न जरुरी देखिन्छ ।

प्रत्येक वर्ष स्थानिय तहले बार्षिक नीति तथा कार्यक्रम ल्याँउदा शिर्षक अनुसारका नारा तय गरेपनि ब्यवहारमा त्यो लागु गरेको देखिदैन । सरकारले लिएको नारा “जनताको आर्थिक समृद्धि”भएपनि अधिकांश स्थानिय तहका जनप्रतिनिधिहरुले बिर्सेर ब्यक्तिको समृद्धिमा जोड दिएको देखिन्छ । शिक्षा,स्वास्थ्य,आर्थिक अवस्थामा सुधार,सामाजिक न्याय र स्वतन्त्रता नै मानव विकासको जग हो । तर बि.स. २०६८ सालको जनगणना र विभिन्न समयमा गरिएको अध्ययनका आधारमा बाजुराको तथ्याँकगत आँकडा अनुसार साक्षरता ५५.६८ प्रतिशत (पु.६८.८४ प्रतिशत महिला ४३.३३ प्रतिशत ) मानव विकास सुचङ्काक ०.३१०(७४औं स्थान),लैङगिक विकास सुचङ्काक ०.२७७ (७३ औं स्थान),आर्थिक सशक्तिकरण सुचक अनुसार ०.१४२ (७२ औं) मानव स्रोत विकास सुचकांक अनुसार ७० औं स्थान,लैंगिक सशक्तिकरण सुचङ्काक ७३ औं स्थान र गरिवी मापन सुचङ्काक ७५ औ स्थानमा रहेको छ ।

माथिका आंकडाले बाजुरालाई जिस्काई रहँदा बुढीनन्दा नगरपालिकाले आ.व.२०७४÷०७५ ले पर्यटन प्रर्बद्धन तर्फ २० लाख,संस्कृति प्रर्बद्धन (मन्दिर निमार्ण,माणु निर्माण, मर्मत र घेरवार ) ८३ लाख ८३ हजार बजेट विनियोजन गरिएको थियो । जसमा ५७ वटा माणु,मन्दिर र चौतारा निमार्ण गरिएका थिए । आ.व.२०७५/०७६ का लागि पर्यटन विकासका लागि १८ लाख र संस्कृति प्रर्बद्धनका लागि २१ लाख ५० हजार विनियोजन गरेकोछ । १८ वटा माणु,शिवालय,चर्च,मस्जिद र गुम्बा निमार्ण गर्ने लक्ष्य रहेकोछ । मानव विकासको मुख्य क्षेत्र लैकिङ्ग समानता तथा सामाजिक समावेशि करणका (महिला,दलित,वालवालिका,अपाङ्ग, एकल महिला,हलिया र खलिया सशक्तिकरणका) लागि आ.व.२०७४/०७५ मा ४० लाख रकम विनियोजन गरेको थियो भने, आ.व.२०७५/०७६ का लागि ३० रकम लाख विनियोजन गरेको देखिन्छ । बिगत २ बर्षको बजेट विनियोजनको अवस्था हेर्दा हामीले जिताएका जनप्रतिनिधिको सोच,ब्यवहार र कार्यशैलीका कारण जनताको जीवनस्तरमा सुधार आउने देखिदैन ।

बाजुराका प्रदेश “क” का चारवटा स्थानिय तहले आ.व.२०७४/०७५ मा पर्यटन प्रर्बद्धनमा मात्र तिन करोड खर्च गरेको देखिन्छ तर कति जना आन्तरिक तथा बाह्य पर्यटक भित्रिए कतिले रोजगारी प्राप्त गरे,कति आम्दानी भयो कुनै आंकडा राखेको देखिदैन । स्थानिय तहले प्रत्येक बर्ष पर्यटन प्रर्बद्धनका नामा धार्मिक संरचना निमार्ण गरिरहने यता गाँऊघरमा जातिय छुवाछुत तथा सामाजिक कुसंस्कारका घट्ना घटिरहने देखिन्छन ।

समस्या कहाँ कहाँ छन ?

१.पहिलो कुरा औपचारिक शिक्षा प्रभावकारी भएन कुनैपनि पाठयक्रममा रजस्वला भएको बेला घरबाहिर राख्नुपर्छ भनेर उल्लेख नगरिएको हुनाले विद्यालयमा शिक्षक,शिक्षिकाले वालबालिकाहरुलाई प्रभावकारी रुपमा रजस्वलाका बिषयमा सकारात्मक बिषयबस्तु सम्पे्रषण गर्न नसक्नु र शिक्षित समाजले त्यो संस्कारको जालो तोड्न नसक्नु ।

२.धर्मको अगुवाई गर्ने सन्त,महन्त,महाराज,पुजारी,धामी झाक्रीहरुले सरसफाइमा ध्यान दिनु पर्ने कुराको वकालत गर्नुको साटो रजस्वला भएको समयमा अलग राख्नु पर्ने कुराको वकालत गर्दा सामाजिक कुप्रथाको रुपमा समाजमा मनोबैज्ञानिक रुपमा जरा गाडेको देखिन्छ ।

३.सरकारी तथा गैह् सरकारी निकायद्धारा समुदायमा संचालित विभिन्न समुह र संस्थाहरुमा अनौपचारिक शिक्षाका कक्षा र बैठक संचालन गर्दा अक्षर चिनाउने काम भएको तर सामाजिक कुप्रथा र कुसंस्कारका बारेमा छलफल नचलाएका कारण निरक्षर ब्यक्तिहरुमा धार्मिक बिश्वास कायम रहिरहनु ।

४.बहुदलको स्थापना संगै राष्ट्रिय तथा अन्तराष्ट्रिय गैर सरकारी संघसंस्थाको आगमन पश्चात समुदायमा सचेतना मुलक कार्यक्रम संचालन गरेपनि अपेक्षाकृत उपलब्धि भएको पाईदैन । घोषणा गरिएका अधिकांश गाउँ,टोल,वडा र गाविसहरुमा महिला स्वयमसेविका,शिक्षिका,केहि अन्य महिला र बाहिरबाट आएका महिला कर्मचारीहरु घरमा बसेको आधारमा छाउपडी गोठमुक्त घोषणा गरिए पनि उक्त स्थानहरुमा दुखद घटनाहरु घटिरहनु ।

५.प्रत्येक बर्ष जिल्लामा धार्मिक शिक्षा बाड्ने,पुण्य कमाउने र दान गर्ने मनसायले संचालन गरिएका रुद्रि,चण्डी,यज्ञ र सप्ताह संचालन गरेपनि धर्म संग जोडिएका कुसंस्कारको बारेमा समुदायलाई सचेतना फैलाउन नसक्नु ।

६.राज्यका हरेक निकायमा महिला र दलितको (समुह,सहकारी,बि.व्य.स.,उपभोक्ता समिति,राजनीतिक पार्टी र स्थानिय निकायहरुमा) प्रतिनिधित्व सुनिश्चित गरेपनि सामाजिक अन्धबिश्वासका बारेमा खुलेर वकालत गर्न नसक्नु ।

७.गरिवीका कारण न्युन आर्थिक भएका समुदायमा उपयुक्त बासस्थानको अभावका कारण अलग बस्नु पर्ने बाध्यता ।

अब के गर्ने त ?

१.समाजले बिश्वास गरेका धामी,झाक्री,पुजारी,प्रहरी,वकिल,शिक्षक,राजनीतिक ब्यक्ति र सामाजिक अभियन्ता र गैह् सरकारी संघसस्थाहरुले संयुक्त रुपमा आ–आफ्नो क्षेत्र संग सम्बन्धित बिषय बस्तुका बारेमा साझा धारणा बनाएर (बैठक,गोष्ठी,रेडियो बाट सन्देश मुलक कार्यक्रम) भोलेन्टियर रुपमा सचेतना मुलक कार्यक्रम अभियानको रुपमा संचालन गर्ने ।

२.आ.व.२०७५÷२०७६ का लागि पर्यटन प्रर्बद्धनका नाममा बिनियोजन गरेको रकमलाई हिउदे अधिबेशनमा अनुमोदन गराएर अहिले गाँऊघरमा रहेका धामी,झाक्री,पुजारीहरुलाई स्रोतले भ्याए सम्म बाह्य जिल्लाको भ्रमण गराउने ।

३.जसरी पृथ्वीनारायण शाहले बाइसे चौबिसे राज्यहरुलाई एकिकरण गरेर नेपालको निमार्ण गरे त्यसरी नै जाति र समुदाय बिषेशमा रहेका देबिदेवताका माणु,मन्दिर र घरघरमा रहेका देवताका थानमा बर्षको एक पटक पुजा गर्नुकोे सट्टा बस्ती भन्दा टाढा पवित्र स्थानमा एक स्थानिय निकाय एक धार्मिक स्थल निमार्ण गरेर दैनिक पुजापाठ गर्ने ब्यवस्था गर्ने र रजस्वलाको समयमा घर बाहिर रहेका महिलाहरुलाई घरभित्र ल्याउन पहल गर्ने ।

४.फलाम तातेको समयमा हिर्काउदा त्यसले सहि आकार लिन सक्छ,त्यसैले स्थानिय तहले भएका नीति नियमको पुर्ण रुपमा पालना गर्ने ।

५.धार्मिक ग्रन्थ अनुसार चार वटै युगमा भगवान र देविदेवता रहेको कुरा धार्मिक ग्रन्थ्रहरुमा पढ्न पाइन्छ । तर कुनै पनि देविदेवता अभावमा बाँचेको देखिदैनन् । अहिले हजारौ समुदाय अभाव,रोग,भोक र गरिवीमा बाँचीरहेकाछन । धर्म र पर्यटन प्रर्बद्धनका नाममा बजेट विनियोजन गर्नुको सट्टा समुदायको जनजीविका संग जोडिएका आधारभुत आवश्यकता गाँस,बास,कपास,शिक्षा र स्वास्थ्यको व्यवस्था गरेर जनताको जीवन स्तर सुधार्ने खालका कार्यक्रमलाई प्राथमिकता दिदा मानव अधिकारको सुनिश्चितता हुने देखिन्छ ।

बुढीनन्दा नगरपालिकाले भुगाचौरमा निधन भएका परिवारलाई राहत स्वरुप एकलाख दिने घोषणा पश्चात मिति २०७५ पौष ३० गते नगरपालिकाका १० बटै वडामा छाऊगोठ भत्काउनका लागि परिपत्र गर्नुका साथै नभत्काउने घरधुरीलाई नगरपालिका बाट दिने सेवासुविधा रोक्ने निर्णय नगर कार्यपालिकाको बैठकले गरेछ । भुगाचौरमा घटना भए लगत्तै वडा कार्यपालिकाले निकालेको बिज्ञप्तीमा “रजस्वला सामाजिक सम्मान” भन्ने नारा दिएर तिन लाखको सचेतना मुलक कार्यक्रम वडा कार्यपालिकाले आ.व.२०७५÷२०७६ को नीति तथा कार्यक्रम र बजेट पेश गर्दा नगरसभाले अस्वीकृत गरेको उल्लेखछ । यसले के देखाँउछ भने समुदायको मागमा आधारित योजनाले नगरसभामा प्राथमिकता नपाउनु बिडम्बना हो ।

अन्त्यमा नगरपालिकाले गरेको निर्णय स्वागत योग्य हुँदाहुदै अघिल्लो पुस्ताका मन मस्तिष्कमा रहेका छाऊपडी गोठ नभत्काए सम्म भौतिक रुपमा बनाइएका गोठ भत्काइनुको औचित्यछैन । यसका लागि माथि उल्लेखित बिषय बस्तुलाई संगसंगै लिदा उपयुक्त होला । छाउपडीका बिषयमा धार्मिक आस्था र बिश्वासका आधारमा प्रत्येक ब्यक्तिमा शैक्षिक ज्ञान र आर्थिक समृद्धि आँउदैन तब सम्म समाजमा कुप्रथाहरु कायम रहिरहनेछन् । यसमा सबैको सहयोग र सकारात्मक पहल हुन जरुरीछ । अस्तु

लेखक: नागरिक अगुवा तथा समाजसेवीकाे रुपमा परिचित हुनुहुन्छ।  

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank