सभ्यताको उषाकाल हुन् बच्चाहरू !
आइतवार, भदौ २९, २०७६
- राजु झल्लु प्रसाद


- राजु झल्लु प्रसाद
निश्छलता, स्वतन्त्रता, निर्दोषपना, अबोधपना, चंचलता- शब्दकोषकै सुन्दर शब्दहरू हुन् । र, यी शब्दहरू भन्दा निकै सुन्दर हुन्छन्- बच्चाहरू । सभ्यताको उषाकाल हुन् बच्चाहरू । बच्चाहरू युगको गोधुली साँझहरू हुन् । बर्बर समयको उर्वर कालखण्ड हुन्- बच्चाहरू । एउटा अबोध हर्कत । एउटा शान्त लहडीपन । एक पागलपन । एक अनुशासन । साँच्चै के-के मात्रै होइनन् यी बच्चाहरू ?
झ्याल नेर बसेर कफी पिउँदै वर्षाको आवाज सुन्नु भन्दा कति हो कति आनन्ददायी हुन्छ- बच्चाको साथ समय बिताउनु । उनीहरूको तोते बोली । थोते हाँसो । उनीहरूको रुवाइ । उनीहरूको अटेरीपन । उनीहरूको जिद्दीपन ।
तपाईँ बच्चाहरूसँग आफ्नो समय बिताउनुहोस्, तपाइले आफूलाई बिर्सनुहुन्छ । जब कुनै वेगवान् नदी समुन्द्रसम्म पुग्छ । उसले आफ्नो गति बिर्सिन्छ । आफ्नो स्वभाव बिर्सिन्छ । यस्तो लाग्दैन यी बच्चाहरू यो उराठ समय किनारको शान्त समुन्द्र हुन् ?
भनिन्छ- संसारमा सात वटा अचम्मलाग्दा चिजहरू छन् । सेभेन वन्डर अफ दि वर्ल्ड । तपाईँले कहिल्यै बच्चाको आँखामा हेर्नुभएको छ ? बच्चाको आँखाहरू कति रहस्यमय छन् । उनीहरूको आँखामा कति कौतुहलता छ ।
बच्चाहरू हरबखत केही केही जान्न खोजिरहेका हुन्छन् । बुझ्न खोजिरहेका हुन्छन् । सकभर आफैँ खोज्छन् उनीहरू आफ्ना प्रश्नका उत्तरहरू पनि । आफै रमाउँछन् त्यसमा । यो बौद्धिक समाज पनि भन्छ-‘उत्तर भन्दा प्रश्न महत्त्वपूर्ण हो ।’ तपाईँले कहिल्यै बच्चाको प्रश्नहरू सुन्नु भएको छ ? ती प्रश्नहरूको उत्तर दिने प्रयास गर्नुभएको छ ? सायद तपाईँ ती प्रश्नहरूको उत्तर दिँदा दिँदा हैरान हुने गर्नु भएको छ ।
कति सुन्दर प्रश्नहरू गर्छन् उनीहरू । र, कति कुरूप उत्तर दिन्छौँ हामी ।
आकाश किन निलो छ ? – किनकि भगवान् विष्णु आकाशमा बस्नुहुन्छ ।
भगवान् विष्णु को हुनुहुन्छ ? – उहाँ भगवान् हो । ठुलो भगवान् ।
ठुलो भनेको के हो ? – राम्रो पढ्नु । ज्ञानी बन्नु । बुद्धिमानी हुनु ।
बुद्धिमानी भएसी के हुन्छ ? – राम्रो हुन्छ । तिमीलाई सबैले माया गर्छन् ।
आकाशलाई पनि सबैले माया गर्छन् ? – हँ ? (हामी अकमक्कीन्छौँ )
भन्नु न आकाशलाई सबैले माया गर्छन् ? – गर्छन् ! (हामी यहाँ आइपुगेर थाक्छौँ )
अग्ला-अग्ला घरहरू बनाएर आकाश घटाइरहेका हामीहरूले कहिले पो आकाशलाई माया गर्यौ ? ठुल-ठुला फ्याक्ट्री खोल्यौँ । सवारी साधन चलाइरहेका छौँ । मिसाइल, क्षेप्यास्त्र उडाएर आकाश प्वाल पारिरहेका छौँ । हामीले कहिल्यै सोचेनौ कि आकाशलाई माया गर्न सकिन्छ । हामीलाई थाहै पनि छैन कि आकाशलाई माया गर्नुपर्छ । हेर्नुहोस् त बच्चाहरू ! बच्चाहरू बाच्न सिकाउँछन् यार ।
कुनै पनि घरमा बच्चा छ भने त्यो घर सधैँ हाँस्छ । भन्न सकिन्छ- बच्चा घरको हाँसो हो ।
कुनै पनि समाजमा बच्चाहरू छन् भने त्यो समाज सधैँ मगमगाउँछ । भन्न सकिन्छ – बच्चाहरू समाजको लागि एक सुन्दर बगैँचा हुन् ।
बच्चाहरू हामीलाई प्रश्न गर्छन् । तर उत्तर आफै दिन्छन् । उनीहरूले हामीलाई सिकाउँछन् – बाच्नु भनेको के हो ? जीवन के हो ? सत्य के हो ? जीवनको रहस्य के हो ? जीवनको सार के हो ?
जस्तै केही प्रश्नहरू अझ हेरौँ:
चराहरू किन उड्छन् ?
खोला किन बग्छ ?
फुल राम्रो किन भएको ?
रातको किन आफ्नो छाया हुँदैन ?
बत्ती किन उज्यालो बल्छ ?
भात किन खानुपर्छ ?
यो कुकुर कसको हो ? त्यो गाई कसले छोडेको नि ?
यो परेवा किन उडेको ?
अहँ, हामीसँग यी कुनै प्रश्नको जवाफ छैन ।
बच्चाहरू जब धुलोमा खेल्छन् । धुलोको घर बनाउँछन् । धुलैको संसार निर्माण गर्छन् । तर उनीहरू किञ्चित डराउँदैनन् कि हावा चल्छ, हुरी आउँछ, अनि उनीहरूको घर लड्छ । कति निडर छन् यी बच्चाहरू ।
बच्चाहरू जब पत्कर सोहोर्छन् । त्यसैमाथि पल्टिन्छन् । न उनीहरूलाई टोक्न बिच्छी आउँछ । न उनीहरूलाई डस्न सर्प आयो ।.. कुन हदसम्म आत्मविश्वासी छन् बच्चाहरू ।
हामी नाङ्गै जन्मिएका हौँ । नाङ्गो भएरै मर्नु छ । तर अहिले ? अहिले हामी छोपिएका छौँ । लुकाइरहेका छौँ- आफूलाई आफैद्वारा । यसैकारण च्यातिएका छौँ । उध्रिएका छौँ । तर बच्चाहरू ? कति नाङ्गो छन् उनीहरू । न लाज छ । न इर्ष्या । न कुनै उत्कण्ठा । न कुनै नैराश्यता ।
के हामीलाई थाहा छ ? पृथ्वी पनि नाङ्गो छ । आकाश नाङ्गो छ । प्रकृति नाङ्गो छ । हिमाल नाङ्गो भएरै त्यति सुन्दर छ । नदी नाङ्गो हुँदा नै वेगवान् हुन्छ । फुल लाज नमानी फुल्छ – यसैले सुन्दर छ । रुखबिरुवा, किटपतंग, पशुपन्छी, सबै नाङ्गा छन् । यसैले मधुरसयुक्त छन् ती । सुन्दर छन् ती ।
र, यी सबैसबै भन्दा पनि सुन्दर र नाङ्गा छन्-बच्चाहरू ।
एकअर्कासँग कति रुष्ट छौँ हामी यहाँ । एकअर्कालाई देखि सक्देनौं । जिन्दगीसँग पनि कम्ता गुनासाहरू छैनन् हाम्रा। हामी यी बच्चाहरू हासेको देख्न सक्देनौं । उनीहरू रमाएको हामीलाई पाच्य छैन । उनीहरूको अबोधपनालाई हामी अज्ञानता भनिदिन्छौँ । उनीहरूको निश्छलता प्रति हाम्रो कुनै सम्मान छैन ।..साँच्चै ! हामीलाई के भएको छ ? के जिन्दगी यति अप्ठ्यारो छ ? दुनियाँ यति कुरूप छ ? जहाँ दुई ओठहरूले मन देखि खित्का छाड्न सक्दैनन् ?
हो, कहिलेकाहीँ पाउमा ठेस लाग्छ । खोच्चाउदै हिँड्न पर्छ । कहिलेकाहीँ टाउकोमा ठेस लाग्छ(टुटिलो उठ्छ) । टाउको मुसार्दै हिँड्नुपर्छ । कहिलेकाहीँ दिलमा ठेस लाग्छ । तर बाच्न त पर्छ नै यार ।
यो दुनियाँ हो । धेरै सुन्दर – दुनियाँ । दिस इज दि लक्की प्लानेट यार । यहाँ बाहेक कहाँ मानिस छन् ? यहाँ बाहेक कहाँ जीवन सम्भव छ ? होलान्, जटिल हुनुपर्ने कारणहरू धेरै होलान्- जिन्दगीमा । तर सरल हुनुपर्ने कारणहरू पनि त प्रशस्तै छन् यहाँ ।
कारणहरू भेटिएन ? आफू वरपरका बच्चालाई हेरौँ । बच्चाहरू हासीरहेका होलान् । बच्चाहरू खेलिरहेका होलान् । बच्चाहरू रमाइरहेका होलान् । उनीहरू माटोको घर बनाउँदै होलान् । रुखका पातहरूको ओछ्यान लगाउँदै होलान् । बादलहरूलाई औँलाले मिलाएर यताबाट उटा, उताबाट यता गर्दै होलान् । जाऔँ, उनीहरूसँगै हासौं । उनीहरूसँगै बाचौँ ।…सबै थोक बिर्सेर केही समय त बच्चा बनौँ यार । एउटा लामो सास ढुक्कले निलौँ । एउटा गहिरो रूहाई रोयौँ । एउटा लामो हाँसो जोडसँग हासौं ।
कहाँसम्म नै पो पुग्नु छ र ? यही रोकिउ केही क्षण । थकाई मारौँ एक छिन । टुसुक्क बिसाऊ मन । अनि सरर चिसो हावा चलोस् । हृदय कामोस् न एक राउण्ड । लुग..लुग्..!
“ए ! अबोध अनुहारहरू ! तिमीहरूले बाच्न जानेका छौँ यार । सधैँ यसै गरी बाची रह्यो ।”
अ, यार । यी बाटोहरू खुब हतारिएका छन् । हतारमा यी बाटोहरू होलान् । जाउन् यार । हामी त फुर्सदमा छौँ नि है ?”
( ती अबोध अनुहारहरू फेरी एक फेर हासीदिन्छन् ।)
प्रतिक्रिया दिनुहोस
Powered by Facebook Comments