साउने संक्रान्तिको बाल स्मरण !

बुधबार, साउन १, २०७६

loading...

- निरज आचार्य



- निरज आचार्य

रोपाई करिब सकिएको, कोदो र धान गोड्मेल गर्ने एक चरणको काम सकिएको !
निरन्तरको वर्षा, हिलाम्य बाटोघाटो, त्यो जमानामा जुत्ता चप्पल थोरै मानिसले लगाउँथे धेरैजसो खाली खुट्टा !

हिलो फल्दै हिड्डुल गर्ने हुनाले खुट्टाको कापभरी हिलो पाकेर हैरान । यहि परिवेशमा आज आईपुग्थ्यो साउने संक्रान्ति ।  दिउँसैदेखि हामी केटाकेटीहरुको काम हुन्थ्यो बन देउता पुजा गर्न थान बनाउने कुरिल्लो र भलायोको पात खोज्ने ।  हातका हत्केलामा रातो मेहन्दी हामी (मेदि) भन्थ्याै लगाउने लालसाले मेहन्दीका पात खोज्न कहिले बुरुङ्गे कहिले छिप्रेना त कहिले कराँगाउ पुगिन्थ्यो । मेहन्दी नपाएर कहिलेकाहिँ त तिउरीका पात लिएर आउने गर्थ्यौँ । साँझमा पातलाई सिलौटामा मसिनोगरि पिध्ने र नङ र हत्केलामा लगाउँथ्याै‌ ।

अलि जान्ने र उमेर पुगेकाहरु यहि तिउरी वा मेदीले हातमा राम्रो फूल बुट्टा बनाएर लगाउँथे ।
यो संक्रान्तिको मुख्य काम लुतो फाल्ने हुन्थो । दिउँसै देखि बनाइएको बन देउताको थानमा बाले पुजा गरे पछि दियालो सल्काएर  लुतो पुतो खाईन्या खुईन्या रोग ब्याद लैजाउ अ ऽऽऽऽऽऽऽऽऽई पौट्यालउ भनेर जोरले चिच्याउदै फालिन्थ्यो ।

भुवा (भोश्व) फाल्ने चलन पनि थियो । हाम्रो गाउँ जगतिपुरमा सबै आचार्य परिवार मात्रै बसाेबास थियो । लुतो फाली सकेपछि गाउँका युवा र केही बुढाहरु डाँडामा पीपलका बोटनेर राति जम्मा हुने ठुलठूलाे दियालोको राँको बाल्ने र निकै फोहर शब्द र अश्लिल भाषामा भट्याउने र अरुले भोश्व भन्ने चलन थियो । रामे नायकले भट्याउँथे । म निकै सानो हुदा घरको धुरीमा चढेर सुनेको थिए ।

करिब २०४५/०४६ साल पछि गाउँमा पढेका र प्रगतिशिल चेत भएका युवाहरु माया प्रसाद शर्मा लगायतहरुले गाउँमा छलफल चलाए । यो आफ्नै गाउँमा यस्तो गर्नु अश्लिल गलत संस्कार भयो भनेर यो प्रचलन बन्द भयो । म पछिको पुस्ताले सुन्नु परेन । लुतो फाल्ने, मेहन्दी लगाउने र भुव फाल्ने यी प्रचलनहरु गाउँमा जीवन्त छैनन् । लुतो फाल्ने र मेहन्दी लगाउने चलन अझैपनि गाउँमा छिटफुट छ ।
आज साउन १ गते । सम्झिएको छु बाल्यकालका तीनै दिनहरु । भलायो र कुरिल्लो खोज्न गएका वनहरु । हिलाम्ये बाटाहरु । साथीसंगीहरु !

लेखक: सत्तारुढ दल नेकपाका केन्द्रिय सदस्य तथा यूवा नेता हुनुहुन्छ । 

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata