जुम्ला चन्द्रनाथ भन्दा जेठो मानिने कोल्टी चन्द्रनाथ ओझेलमा !

शनिबार, चैत्र २, २०७५

loading...

- यमराज तिमिल्सिना (उपाध्याय )



सुदूरपश्चिम प्रदेश बाजुरा जिल्ला कुण्डा क्षेत्र स्थित बुढिनन्दा नगरपालिका वडा नं.२ कोल्टी गाउँमा अवस्थित श्री गुरू चन्द्रनाथको मन्दिर ऐतिहासिक पुरातात्त्विक एवम् धार्मिक दृष्टिकोणले महत्त्वपूर्ण मानिन्छ । यस क्षेत्रका तत्कालीन एघार गाविस हाल हिमाली गाउँपालिका, स्वामिकार्तिक खापर गाउँपालिका, जगन्नाथ गाउँपालिका र बुढिनन्दा नगरपालिकाको ऐतिहासिक धार्मिक स्थल र साँस्कृतिक सम्पदाका रूपमा मानिदै आएको छ । यो बाजुरा जिल्लाको कोल्टी विमानस्थल बाट करिब ६ सय मिटरको दूरीमा र राष्ट्रिय गौरवका आयोजना मध्यको एक उत्तर दक्षिण लोकमार्ग (कर्णाली करिडोर ) पादूका त्रिवेणीधाम बाट झन्डै चार कि.मि.मात्र टाढा रहेको पावन स्थल हो । शिवको अवतार मानिने गुरू चन्द्रनाथ बाबाको मन्दिर गाउँको दक्षिण पट्टी ठूलो चउरको छेउमा स्थापना गरिएको छ । मन्दिर स्थानीयबासीले आफ्नै ढङ्गले निर्माण गरेका भए तापनि मन्दिर भित्र ठूलो शिलामा द्वय पादाङ्कित (दुई खुट्टा अंकित ) चिह्न रहेका छन् । मन्दिरको बिच भागमा ठूलो शिला रहेको छ भने चार कुनामा १.२५ मिटर उचाई र ५० सेन्टी मिटर चौडाइ पाटा भएका चारपाटे शिलाहरू छन्  । उक्त शिलामा सिँह,नाग, मयुर,हाँस तथा देविदेवताका चित्रहरू कुँदिएका छन् । मन्दिरमा ठूलाठूला ढुङ्गाका मुर्तिहरू, शिवलिङ्ग स्तुप आकारका शिलाहरू  र बुट्टा कुँदिएका अन्य ठूलाठूला शिलाहरू पनि वरिपरि स्थापना गरिएका छन् ।

जुनसुकै स्थानमा पनि शिबको बास/मन्दिर खोलाको छेउछाउ या मसानघाट नजिकै स्थापना गरिएका हुन्छन् तसर्थ यो मन्दिर पनि बड्डिगाण नामक खोलाकै किनारमा छ । जुन बुढिनन्दा मन्दिरको निजार ताल बाट बगेको पवित्र जल हो । सो खोला दुई सय मिटर तल भासिएकोछ । आजभन्दा हजार/बाह्र सय वर्ष अगाडी खोलो माथिबाटै बगेको थियो भन्ने सहजै अनुमान गर्न सकिन्छ । मन्दिर भित्रका पाद चिह्न कति पुराना हुन् भन्ने बलियो प्रमाण भेटाउन नसके पनि यस भेगका स्थानीय बुढा पाकाहरूका अनुसार बाबा गुरू चन्द्रनाथ शिद्ध बाबाको भेष धारण गरेर मानासरोवर (हाल तिब्बत ) तिर्थयात्रामा आउँदा यहि बाटो भएर आउनु भयो, केही दिन यतै बसि जाने बेलामा आफ्ना दुई पाउ छोडेर यात्रामा निस्किनु भयो पछि मानासरोवर तिर्थाटन गरि फर्केर जुम्ला राज्यमा गई एक पाउ छोडेर त्यही बाट अलप हुनु भएको हो ।” भन्ने किंवदन्ती कथन रहदैँ आएको छ । पुरातात्त्वविद शिरोमणि योगी नरहरी नाथले पनि मन्दिर भित्रका द्वयपादाङ्कित चिह्न हजार / बाह्र सय वर्ष जति पुरानो हुन सक्ने कुरा गर्नुभएको चन्द्रनाथ धार्मिक तथा साँस्कृतिक प्रतिष्ठानका अध्यक्ष नन्दराम विष्ट बताउनु हुन्छ । प्रतिष्ठानकै अध्यक्ष बिष्टका अनुसार राजा बलिराजका छोरा मध्येका भान शाही कर उठाउने क्रममा यस कुण्डा क्षेत्रमा आएको बेला गुरू चन्द्रनाथको पाद चिह्नलाई संरक्षण गर्न सानो मन्दिर बनाइ पूजाआजाको चलन चलाएर स्थानीय बासीको जिम्मामा छोडी गएका थिए र उक्त परम्परालाई स्थानीयबासीले आजसम्म निरन्तरता दिदैँ आएका छन् ।

प्राध्यापक डाक्टर सूर्यमणि अधिकारीको “बाइसे राज्यको इतिहाँस”नामक पुस्तकमा लेखिएको एक अनुच्छेद यस प्रकारको छ ; भारतको काँस्मिर स्थित तत्कालीन सिसौँदिया रघुवंशी राजपूत जातकी (रवि गोत्र ) चितौगडका राजा उत्तमराजकी गर्भवती रानी हाल तिब्बतमा पर्ने मानासरोवरमा तिर्थाटन गरि फर्कदा बाटोमा पर्ने हाल मुगु जिल्लाको कालैँ गाउँमा मेखमल रावलको घरमा सुत्केरी हुँदा बलिराज (कल्याल) को जन्म भएको भन्ने व्यहोरा जुम्लेश्वर वंशावलीमा लेखिएको छ । र उत्तमराज नरभूपाल शाहका पूर्वज पनि भनिएको छ । वि.स.१४५० तिर बलिराजा सिसौँगडकका राजा भइसकेपछी तिर्थयात्रा गर्नका लागि मानासरोवर पुगि फर्कदा संयोगवश राजा मलयाबर्माको सहयोगले जुम्लाको राजा भएको व्यहोरा उल्लेख छ । सिसौँगडका राजाका इष्टदेवता भई बसेका बाबा गुरू चन्द्रनाथ पनि सोही समय सिद्ध बाबाको भेष धारण गरेर मानासरोवरको तिर्थ यात्रामा निस्केका थिए । तिर्थाटान पछि फर्कने क्रममा जुम्ला पुगि त्यहाँका राजा बलिराज लाई वि.स. १४६१ मार्ग सुदि १४ आइतबारको दिन शुभ मुहुर्त पारेर राज्यभिषेक गरी आफ्नो एउटा पाद चिह्न छोडी अन्तर्ध्यान भए ।” त्यस पछि राजा बलिराजले आफ्ना इष्टदेव गुरू चन्द्रनाथको पाद चिह्नलाई निश्चित रूपमा स्थापित गरि सरकारी स्तरबाटै भब्य पूजाआजाको थालनी गरे । यस्तो पूजाआजा निरन्तर जारि रह्यो पछि वि.सं. १८४६ मा जुम्ला राज्य नेपालमा गाभिए पछि त्यँहाका स्थानीय समुदायको सक्रियतामा परम्परालाई कायम राखिरहने उद्देश्यले सरकार समक्ष माग राखे पछि वि.सं. १८५२ देखि तत्कालीन नेपाल सरकारले राज्यस्तरबाटै गुठी स्थापना गरि भव्य मन्दिर बनाई दैनिक पूजाआजाको बन्दोबस्त गर्‍यो र आजसम्म पनि सरकारी स्तर बाटै निरन्तर पूजाआजा हुँदै आएको छ ।” जुम्ला चन्द्रनाथको पूजाआजा हुने कुराको वर्णन ।

यो अनुच्छेदबाट पनि के कुराको अनुमान गर्न सकिन्छ भने कोल्टी गाउँ/क्षेत्रका बुढापाकाहरूले भने जस्तै बाबा चन्द्रनाथ मानासरोवर तिर्थाटन गर्न जाँदा कोल्टीकै बाटो भएर आउनु भयो । त्यहाँ केही दिन या समय बसेर पाद चिह्न छोडी त्यहाँबाट तिर्थाटन गर्न मानसरोवर निस्कनु भएको हो । त्यसैले जुम्लामा चन्द्रनाथ बाबाले पाद चिह्न छोड्नु भन्दा अगाडी कोल्टीमा द्वयपाद चिह्न छोडिसक्नु भएको हो भन्ने कुरा सहजै अनुमान लगाउन सकिन्छ । योगी नरहरि नाथले बताउनु भएको कुरालाई पनि आधार मान्दा मन्दिर भित्रका पादचिह्न हजार/ बाह्र वर्ष जति पुराना भएको ठहर गर्न पनि सकिन्छ ।

त्यस्तै अर्को किंवदन्ती अनुसार कोल्टिको पूरानो नाम समुन्द्रपालगढि हो । राजा समुन्द्रपाल र रानी रत्नमालाबाट यो मन्दिर संरक्षण गरिएको थियो भनिन्छ । राजा समुन्द्रपालकै शिलालेख हुन् भन्न ठहर गर्न त सकिदैन तर ॐ मणि पद्द्मे हुँम् …! अन्य अक्षर बुझ्न नसकिने शिलालेख छन्  । अन्य राजा नहुँदा समुन्द्रपालकै हुनुपर्छ भन्ने स्थानीय मत रहदै आएको छ । त्यस्तै कुण्डा क्षेत्रमा चार ओटा कुण्डहरू थिए तिनी कुण्डहरूको नामबाटै “कुण्डा” नाम रहन गएको मानिन्छ । चार कुण्ड मध्ये एक “कालकुण्ड” कोल्टिमै अवस्थित थियो, अहिले बजार व्यवस्था भएको स्थानमा । त्यस कुण्डमा “कालीनाग” नामक नाग बस्दथ्यो रे, अहिले पनि जुठोपिठो भएमा/गरेमा नाग लाग्छ भन्ने मान्यता रहदै आएको छ । तत्कालीन गाउँ पनि सोही स्थान केही मिटर पर थियो । अहिले गाउँ र मन्दिर भएको स्थान पुरै घना जङ्गल थियो । असारको महिना रोपाइँको समय थियो खेतमा रोपाराहरू धान रोपिरहेका थिए भने माथी “ठिन्कोटी कैलाश” नामका देवता र अन्य तिनका साथीसँगाति डण्डीबियो खेलिरहेका थिए । डण्डी चाँदीको र बियो सुनको थियो । पटक पटक बियो रोपिरहेका  खेतमा पर्थ्यो, रोपाराहरू बियो खेलाडीहरू लाई दिन्थे ।  यसरी पटक पटक धान रोपिएको खेतमा फालेर हैरान पारेपछि  रोपाराले बियो यता परेकै छैन भनेर लुकाए, दिएनछन्, त्यसपछि ठिन्कोटी कैलाशले आफ्नो अपमान गरेको र आफूलाई नटेरेको ठहर गरि रिसाएर गाउँको माथि डाँडामा रहेको सुगुरखाल नामको ताल फूटाएर गाउँवस्तीको नामो निसाना नै नरहने गरि पहिरोले पुरिदिए ।” भन्ने जनश्रुति रहदै आएको छ ।

यो पनि बलियो प्रमाण मान्न सकिन्छ किनभने सुगुरखालको पानी देउता रिसाएर या धार्मिक दृष्टिमा मात्र विश्वास नगरी वैज्ञानिक दृष्टिले पनि भौगोलिक बनावटबाट हेर्दा कोल्टी गाउँतिर नै खोल्सो परेको छ र सो तिरको भाग कमजोर भएकोले पानीको भार थाम्न नसकी ताल फुट्न पुग्यो र गाउँ छोपियो । राजा समुन्द्रपाल,रानी रत्नमाला तिनका सन्तान र प्रजाहरू त्यसै पहिरोमा पुरिए, मरे । संरक्षण गरिएको मन्दिर पनि जिर्ण बन्दै गयो । तसर्थ समुन्द्रपाल राजा बलिराज भन्दा अगाडीका राजा हुन सक्ने बुझिन्छ ।

स्थानीय बुढा पाकाहरूको कथन अधिकारीको आलेख सँग मिल्नु, बलिराजका छोरा मध्ये भान साही कर उठाउन आएर चन्द्रनाथको संरक्षण गर्नु,भन्ने जस्ता कुरा बलिया प्रमाण हुन आउँछन्  जब कि प्रा.डा. सूर्यमणि अधिकारीले लेखे जस्तै र स्थानिय बुढापाकाले भने जस्तै कुरालाई आधार मान्दा बलिराज राजालाई राज्यभिषेक गरेर अलप हुनु भन्दा अगाडी नै कोल्टिमा आएको तथ्य प्रष्ट हुन आउँछ । साथै नरहरि नाथले दर्शायका कुरा बाट पनि झन् प्रष्ट बुझ्न सकिन्छ हजार / बाह्र सय वर्ष अगाडि नै हो भनेर । त्यसैले यिनै कुराहरूलाई मध्यनजर राख्दै वि.सं.२०६५ सालमा यसै क्षेत्रका तत्कालीन एघार गाविसकै बासिन्दाहरूको आमभेलाले “चन्द्रनाथ धार्मिक तथा साँस्कृतिक प्रतिष्ठान कोल्टी” नामक प्रतिष्ठान गठन गरेको थियो । प्रतिष्ठानले यस क्षेत्रमा धार्मिक आस्था जगाइ राख्न विभिन्न आध्यात्मिक कार्यक्रम संञ्चालन गर्ने ,परम्परा देखि चल्दै र मनाउँदै आएका जात्रा, मेला, पर्वहरूलाई समय अनुकूल संरक्षण गर्दै जाने , गुरूकुल संञ्चालन गर्ने, वृद्धाश्राम, अनाथालय र वैदिक पुस्तकालय तथा वाचनालय व्यवस्था गर्ने लक्ष्य उद्देश्य राखेको छ । वि.सं.२०६६ सालमा जिल्ला प्रशासन कार्यालय बाजुरामा दर्ता भएको प्रतिष्ठानले कर कार्यालयबाट पान नं. समेत लिइसकेको छ । आफ्नो उद्देश्य र लक्ष्य अनुरूप वि.सं.२०६५ र ६६ साल मङ्सिरमा श्रीमद्भागवत ज्ञान महायज्ञ तथा २०६७ को बडादशैँमा देवि भागवत सप्ताह ज्ञान महायज्ञ आयोजना गरिसकेको छ । महायज्ञबाट उठेको रकमले दैनिक पूजाआजा गर्नुका साथै मन्दिर परिसर निर्माण, बडा दशैँ / चैते दशैँ जात्रा तथा मेला, पर्वको संरक्षण,संवर्धन गरि मन्दिर व्यबस्थापनमा सुदृढ गरेको छ । शान्ति तथा पुन:निर्माण मन्त्रालयको अनुदानबाट पुस्तकालय भवन निर्माण भैसकेका छ भने अन्य संस्थागत रूपमा कुनै सरकारी र गैरसरकारी तवर बाट सहयोग प्राप्त भएको देखिदैन त्यसैले उद्देश्य अनुरूप कार्य गरि सफलता प्राप्त गर्न प्रतिष्ठानलाई अनेकौं चुनौतीहरूको सामना गर्नु परेको छ । सबै भन्दा पहिले आधुनिक ढङ्गबाट मन्दिरको निर्माण गर्न र आवस्यक व्यवस्थापन गर्न  आर्थिक श्रोतको ठूलो अभाव रहेको छ । त्यस्तै उद्देश्यहरूलाई मुर्तरूप दिन प्रतिष्ठान मात्रै एक्लैले केही गर्न सकिने अवस्था देखिदैन सबैले चासो राख्नु पर्ने र राज्यलाई गुहार गर्नु पर्ने तत्काल टट्कारो देखिन्छ।

राज्यको सम्बन्धित निकायमा स्थानियहरूको पहुँच नपुग्नुले एक पाउ भएको जुम्ला चन्द्रनाथलाई सरकारी तवरबाट गुठी स्थापना गरि पूजाआजा गरिनु दुई पाउ चिह्न भएको कोल्टी चन्द्रनाथको मन्दिर जिर्ण हुँदा सम्म पनि राज्यको सम्बन्धित निकायले ध्यान नदिनु, राज्यबाट सौतेनी व्यवहार भएको प्रष्टै देखिन्छ । संघ, प्रदेश र स्थानीय निकायका पदाधिकारीहरूको समेत प्राचीन, ऐतिहासिक,धार्मिक र पुरातात्त्विक सम्पदाका वस्तुहरूमा नजर नपर्नु विडम्बना नै मान्नु पर्छ । पहुँच हुनेहरूका सानातिना मठमन्दिर,देवालय र निजि व्यवसाय गर्ने प्रयोजनका लागि बनाइएका स्थानको प्रचार प्रसार हुन्छ भने प्राचीन तथ्य लुकेका इतिहास राष्ट्रिय सम्पदाका रूपमा गणना हुने स्थलको कुनै गणना नहुनू ज्यादै दु:खको कुरा हो । यस्ता कुराहरूमा स्थानीय निकाय/ सरकार, स्थानीय बुद्धिजीवी,अगुवाई गर्ने पदाधिकारी संबन्धित सरोकारवालाहरू र सम्पूर्ण जिल्ला बासी सचेत नागरिकहरूले आफ्ना गौरव गर्न लायक प्राचीन ऐतिहासिक पावन स्थलहरूको बारेमा चासो राख्न र ध्यान दिन अत्यन्तै आवश्यक छ । जय श्री चन्द्रनाथ बाबा !!!

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank