नेपाली समाजमा जातीय विभेद

बिहिबार, जेष्ठ २२, २०७७

loading...

- प्रकाश श्रेष्ठ



समाजमा उत्पन्न हुने मानिस-मानिस बिचको असमझदारी, हेपाहा प्रवृत्ति, द्वन्द्व, उचनिचको भावना, सामाजिक-सांस्कृतिक कलह लगायतको समष्टिगत रूप हो ।  जातीय विभेद । जातीय विभेदलाई विभिन्न आधारहरूमा व्याख्या गरेको पाइन्छ । एक, जन्मको आधारमा । दुई, वंशको आधारमा । तीन, वर्णको आधारमा, छालाको आधारमा, आँखाको आधारमा पनि हेर्ने गरिन्छ । यससँगै संस्कृति, पहिचान, भाषा, धर्म आदिको आधारमा पनि जातीय विभेदलाई स्थान दिएको पाइन्छ ।

नेपाली समाज हिन्दु वर्ण व्यवस्था अनुसार चार जात छत्तिस वर्णको साझा फूलबारीका रूपमा विश्लेषण हुँदै आएको समाज हो । मानव समाज, ज्ञान र विज्ञान, जीवनका कर्तव्य, व्यक्तित्व विकास आदि सबै कुराहरूलाई चार-चार वर्गमा विभाजन गर्ने परम्परा जताततै देख्न पाइन्छ । नेपालले सबै प्रकारको जातीय विभेद उन्मुलन गर्ने महासन्धि १९६९ लाई सन् १९७१ मा नै अनुमोदन गरे तापनि हिन्दुत्ववादी व्यवस्थाले आदिवासी जनजाति, दलित, मधेसी, मुस्लिम लगायतका धेरै समुदायलाई निरन्तर ऐतिहासिक विभेद र बहिष्करणमा पारिरहेको अवस्था छ ।

आज हामी २१औँ शताब्दीसम्म आइपुग्दा पनि जातजातिबीच पक्ष विपक्षका रूपमा बहस चलिरहेको अवस्था छ । सडकदेखि सदनसम्म जातीय विभेदका मुद्दाहरूलाई तर्क वितर्क सहित प्रस्तुत गर्ने कार्य वर्तमान अवस्थामा पनि समस्याका रूपमा विद्यमान छ । जसरी हाम्रो समाजमा उच्च र तल्लो जातको सीमारेखा जातीय व्यवस्था अन्तर्गत कायम भयो त्यसले मानिसलाई सामाजिक समानता भन्दा टाढा राखेर मूल्याङ्कन गर्न सुरु गर्‍यो । त्यस अनुरूप नै उच्च जात हुनुको मतलब उच्च किसिमको अवसर प्राप्त गर्नु, उच्च ओहदामा बस्नु, उच्च सुविधाहरू उपभोग गर्नु, तल्लो जातलाई हेप्न र आफ्नो हैकममा ल्याउनको लागि स्वाभाविक रूपमा अधिकार पाउनु भन्ने मनोभाव वृद्धि भयो त्यस्तै, तल्लो जाति हुनुको मतलब तल्लो स्तरको काम गर्नु, कम सम्मान पाउनु र माथिल्लो जातिबाट हेपिएर बस्नु, उनीहरूको सेवामा तल्लीन हुनु भन्ने भयो ।

नेपालमा जातीय विभेदलाई एक स्वाभाविक रूप मान्दै आएको भए तापनि २०६२/0६३ को जनआन्दोलन पश्चात् प्राप्त भएको लोकतान्त्रिक व्यवस्थाले त्यस्ता प्रवृत्तिलाई निरुत्साहित गर्दै उचनिचको भावनालाई लोकतन्त्र र मानव अधिकार विरुद्ध भएको भन्ने आवाजहरू बुलन्द हुँदै आएको पाइन्छ । तर अहिले पनि कतिपय समाजमा जाति र जन्मको आधारले अरूलाई हेप्नु स्वाभाविक रूप मानिँदै आएको अवस्था पनि छ ।

विशेषतः जातीय विभेदको कुरा जब अन्तरजातीय प्रेम र विवाहसम्म पुग्दछ तब जातीय द्वन्दले स्थान पाउँछ । त्यसपछि समाजमा उश्रृखल क्रियाकलापहरू सुरु हुन जान्छ । जब त्यस्ता क्रियाकलापहरू सृजना हुने अवस्था आउँछ । त्यसलाई संवाद र समझदारीको माध्यमबाट समस्याको समाधान गर्नुको सट्टा हिंसात्मक गतिविधिलाई बढी प्राथमिकताका साथ प्रोत्साहन दिई समाजमा झैझगडा बनाउनुको साथै मानवीय दुर्घटना पैदा हुन जान्छ ।

हाम्रो समाज कतातर्फ जाँदै छ भन्ने प्रश्न हालै भएको जाजरकोट र रुकुम पश्चिमको घटनालाई दृष्टिगत गर्न सकिन्छ । यो त केवल समाजको प्रतिनिधि मूलक घटना मात्र हो । यस किसिमको प्रतिनिधि मूलक घटनासँग जोडेर जसरी अन्तरजातीय प्रेम सम्बन्ध सुरु हुन्छ।  त्यो जातसँग जोडिएर गरिएको प्रेम होइन।  प्रेम त केवल भावना, विश्वास र आत्मसन्तुष्टिसँग जोडिएको हुन्छ । प्रेम मानव जीवनको भावनात्मक शब्द भएकोले यसलाई परिभाषित गर्न असम्भव छ ।  तर महसुस भने पक्कै गर्न सकिन्छ । प्रेम, जब जातीय व्यवहारसँग जोड घटाउ गर्न सुरु गरिन्छ । तब त्यस अटुट प्रेममा उतारचढाव आउनुको साथै प्रेम नै भङ्ग हुने अवस्था सृजना हुन्छ । र, अन्त्यमा प्रेम सम्बन्ध मात्र होइन मानिसको भौतिक जीवन नै समाप्त हुन पुग्दछ ।

नेपालको संविधान २०७२ ले सामाजिक न्याय र समावेशीकरण सम्बन्धी नीति अवलम्बन गरे तापनि त्यस नीति व्यवहारिक रूपमा लागु भएको महसुस गर्न सकिएको छैन । हाम्रो समाजमा पेसा अनुसार जातिको वर्गीकरण गरेको पाइन्छ । पेसा भन्ने विषय कुनै पनि नागरिकले गर्न पाउने संविधानमा प्रदत्त मौलिक हक भए तापनि जातिगत मान्यता दिइँदै आएको छ । हामी पेसालाई सम्मान गर्छौ । तर जातिबाट टाढा हुन खोज्छौ । हो यस्तो प्रवृत्तिले नै समतामूलक समाज निर्माण हुन नसकेको कुरा प्रस्ट हुन आउँछ । जातीय समस्यालाई राजनीतिकरण गर्ने परम्परा हाम्रो समाजको लागि कुनै नौलो कुरा होइन । तर, कुनै पनि जातिको भविष्य माथि खेलबाड गरेर सत्ता र शक्तिको पछाडि दौडिनु भनेको जनप्रतिनिधिहरूले नै जातीय विभेदलाई स्थापित र विस्तारित गर्दै आएको आङ्कलन गर्न सकिन्छ ।

जनताको लागि, समाजको लागि र राष्ट्रको लागि काम गर्ने, जनतालाई सेवा सुविधा उपलब्ध गराउन प्रयत्नशील हुने, विकास निर्माणको कार्य समान रूपमा अगाडि बढाउने, कुशल कार्यक्षमता भएको, भविष्यको बारेमा चिन्तन गर्ने दूर दृष्टि भएको व्यक्तिलाई जनप्रतिनिधिको रूपमा निर्वाचित गरिनुको सट्टा समाजमा जातिगत, पार्टीगत र क्षेत्रीय आधारमा प्रतिनिधिहरू निर्वाचित हुनु नै समाजको लागि असमानता सृजना गर्ने पहिलो विन्दु मान्न सकिन्छ ।

जसरी देशको संविधान, नीति नियम, कानुन अनुसार समाजमा जातीय विभेदको अन्त्य भयो भनेर सोच्छौँ । त्यस्तो स्थिति सबै ठाउँमा रहेको छैन । अझै पनि समाजमा जातीय विभेद कायम छ । समाजलाई देखाउन तल्लो जात भनिएको समुदायलाई बाहिरी रूपमा अर्कै व्यवहार र भित्री रूपमा अर्कै व्यवहार गरिन्छ । उनीहरू समाजलाई देखाउनको लागि मात्र ती सबै कुराहरू गर्ने गर्छन् ।

यदि नेपाली समाज विकास हुन्थ्यो र सबै जात समान हो भन्ने शिक्षाको विकास हुन्थ्यो भने कोही पनि कसैबाट अपहेलित हुन पर्दैनथ्यो । हाम्रो समाजमा अझै पनि जातीय विभेदले जरा गाडेको हुँदा विभिन्न समुदायमा जनचेतनामूलक कार्यक्रमहरू गर्नुपर्ने अवस्था कायम नै रहेको पाउन सकिन्छ । र जातीय समुदायभित्रको असमानता परिवारबीचको कलहले पनि नेपाली समाज माथि उठ्नबाट सकेको छैन ।
समाजमा जो गरिब, असहाय, अपाङ्ग, एकल महिला छ त्यस्ता व्यक्तिलाई न त राज्यबाट विशेष सहयोग हुन्छ । न त समाजले नै उनीहरूको समस्या बुझ्ने प्रयास गर्छ । अझ उनीहरूको मन मस्तिष्कलाई चोट पुग्ने व्यवहार गरेर उनीहरूलाई नै समाजमा दबाएर राखिन्छ । यस किसिमको हेपाहा र मिचाहा प्रवृत्तिको अन्त्यका लागि सरोकारवाला निकाय, नागरिक समाज, बुद्धिजीवीहरूको भूमिका अत्यन्त महत्त्वपूर्ण रहने गर्दछ । उनीहरूको पहल कदमीबाट नै समतामूलक देश निर्माण गर्न सकिनेछ ।

कुनै पनि एक जाति वा समुदायलाई पछाडि छोडेर हामीले समृद्ध नेपाल, सुखी नेपालीको परिकल्पनालाई साकार गर्न सक्दैनौँ । त्यसैले पनि समाजमा भएका सबै जातजाति एउटै हुन भन्ने भावनालाई आत्मसात् गर्दै देश विकासमा अगाडि बढ्नुको विकल्प छैन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments