बाँकी थियो त केवल कोहीकसैसंग टुसाउँदै गरेको भरोसाविहिन माया

युवासंघको साडे सात वर्षः भाग दश

शनिबार, चैत्र २४, २०७४

loading...

- सरोजदिलु विश्वकर्मा



- सरोजदिलु विश्वकर्मा

हामी आफैं पनि संस्था खोलेर के गर्ने के नगर्ने भनेर एकातिर द्विाविधामा पर्नथालेका थियौं । एकातिर संस्था चलाएर युवासंघका लागि श्रोत जम्मा गरी कार्यक्रमहरु अगाडि बढाउनु थियो अर्कोेतिर साम्राज्यवादी एजेन्टका रुपमा रहेका संस्थाविरुद्ध लाग्न युवासंघलाई उद्धैलितसमेत गर्नु थियो । यसरी आक्रामकरुपमा काम गर्दै जाँदा एमाले आस्था बोकेका संस्थाहरुले नै हामीलाई प्रश्न गरिरहेका थिए भने अर्कोतिर संगठनभित्रैका साथीहरुले करोडौं कमाएर मोजमस्ती गरिरहेको आरोप लगाइरहेका थिए ।

तथापि, हामीले युवासंघको आड नलिइकन संस्थालाई अगाडि बढाउदै संघलाई सहयोग गर्ने कदम उठायौं । र, हामीले राजनीतिक युवालाई उद्यमशीलतासंग पनि जोड्नुपर्छ, यो उमेरका कार्यकर्ताहरु अर्काको कमाईमा चिया–खाजा खाने, मोजमस्ती गर्नेभन्दा आफैं उद्यमशील भएर बाँकी कार्यकर्तालाई प्रेरणा दिनुपर्दछ । त्यसले मात्र राजनीतिलाई अपराधबाट टाढा राख्छ भन्ने दर्शनका आधारमा युवा उद्यमशीलता अभियानहरु सञ्चालन गर्यौं । यसक्रममा हामीले अरु पार्टीका युवा संगठनहरुका नेता कार्यकर्ताहरु समेतलाई राखेर रुपन्देही, नेपालगञ्ज, काठमाडौं, चितवन, टिकापुर कैलाली, विराटनगरमा ३÷३ दिने प्रशिक्षण दियौं । ती कार्यक्रमहरुले तरुण दल, वाईसीलय र युवासंघ तथा अरु युवा जनवर्गीय संगठनवीचमा रहँदै आएको तिक्ततालाई तोड्न मद्दत पुग्यो, राजनीतिक आस्थाका आधारमा बाँडिएका मनहरुलाई जोड्यो । युवाका साझा सवालमा संगै काम गर्ने वातावरण समेत बनाउँदै लग्यो ।

यतिवेला हामीले नपत्याएको एक प्रतिभावान नेतालाई सम्झनै पर्छ । साच्चै त्यस्तै विचारको नेताले मात्र अवको युवासंघ हाक्नसक्थ्यो । अध्ययन, प्रशिक्षण कला र प्रशस्त सैद्धान्तिक ज्ञान भएका ती युवा नेता थिए– हिरा केसी, संगठनका उपाध्यक्ष । भैरहवामा हामीले जव उनको प्रशिक्षण सुन्यौ, उनीप्रति पालेका नकारात्मक सोचहरुलाई सम्झेर हामीलाई लाज लाग्यो । माक्र्सवाद, लेनिनवाद, अनि जनताको वहुदलीय जनवादभित्र युवाले पहिल्याउनु पर्ने पुँजीवादका विषयमा एमाले युवालाई मात्र होईन, विपिको समाजवाद र प्रचण्ड पथभित्र विभाजित युवा मनहरुलाई पनि उहाँको प्रशिक्षणले थप उर्जा दियो । त्यो प्रशिक्षण शंकर पोखरेल र घनश्याम भुषालभन्दा फरक सैद्धान्तिक दृष्टिकोण र उनीहरुभन्दा ब्यवाहारिक र गहकिलो थियो । सोही प्रशिक्षणपछि हामी उनका अनुयायी बन्यौं । ब्यक्तिगतरुपमा म त उनको स्वकीय कार्यकर्ता जस्तो बने ।

भैरहवामा हाम्रो कार्यक्रमलाई असफल पार्न केन्द्रबाटै साथीहरु परिचालित भए । महेश पक्षहरुले निरजको गुटको स्वार्थमा गरिएको कार्यक्रम भनेर टिकट खर्च गरी ल्याएका हाम्रा अध्यक्ष महेश बस्नेतलाई कार्यक्रममा नजान उक्साए भने निरज समुहका साथीहरुले महेशलाई प्रमुखअतिथी बनाएर लगेको कार्यक्रममा नजानु भनि ह््वीप जारी गरे । युथ मिशनको टीम भने अलमल्लमा पर्यो । विभिन्न राजनीतिक आस्थामा विभाजित भएर एकआपसमा लडिरहेका युवा मनहरुलाई जोड्दै राष्ट्रिय समृद्धिको मूलधार ल्याउने जमर्को गरिरहेका, अझ युवासंघ भित्रको गुटलाई परास्त गर्दै एकता कायम गराउन प्रयाश गरिरहेका हामीलाई हाम्रै साथीहरुले कहिले महेश त कहिले निरजको गुटका मानिस भनेर आरोप लगाए । युवाको साझा हितका लागि गरिरहेको अभियानलाई असफल पार्ने प्रयाश गरे ।

पार्टीको गुट र शंखे किरो उस्तैउस्तै चरित्रको हुँदोरहेछ, जति मार्दा पनि नमर्ने । मानिसको चाल पाउँदा लुक्ने, नपाउँदा चिप्लो परी सवै सखाप पार्ने । पार्टीका सवै कमिटी, संगठन र विभागहरुलाई चिप्लो कुरा गर्दै नदेखिने गरी गुटले सखाप पारेको छ । सवै एमाले छौं, जनताको वहुदलीय आस्थाभित्रैका छौ तर एकआर्कालाई वर्गशत्रुभन्दा ठूलो दुश्मन देखिरहेका हुन्छौं । नश्लवादी झै चिन्तन पालेर एकआर्कालाई जरैदेखि सिध्याउन लागिरहेका छौं । धुलिखेलको कार्याशाला गोष्ठीबाटै करिवकरिव विदा दिइसकिएको गुट युथ मिशनको अभियान अगाडि बढाउदै जाँदा हामीवीचमै फेरी फर्किएर आयो । बुटवल महाधिवेशनपछि पार्टीको गुटको जरोले संगठनलाई गाँज्यो, संगठनको गुटले केही नयाँ काम केही गरौं भनेर प्रयाश गर्ने हामीजस्ता कार्यकर्ताहरुको हातखुट्टालाई समेत बाँध्यो ।

तथापि, मिशनलाई अगाडि बढाउदै जाँदा हामी भुईंमा बिरलै हिड्न थालेको थियौं । हामी र हाम्रा नेताहरुलाई पनि हवाईजहाजमै उडाउन थालेका थियौं । युवासंघ भित्रसमेत पैदल हिड्नेभन्दा चिल्ला कारमा गुड्ने र भिआइपी रेष्टुरेन्टमै मनलाग्दो खानसक्ने साथीहरुको भीड् बढ्दै थियो । त्यो जमातकै बढी इज्जत र प्रतिष्ठा बढ्नथालेको थियो । हाम्रा नेताहरु अव अफिस तलको खनाल दाईको चिया पसलमा चिया खाने होईन, नयाँ साथीहरुसंग आराधना क्याफेमै जमघट हुनथालेका थिए । आराधनाको स्वादिला परिकारले वास्तवमा गुटलाई मलीलो मलजल गरिरहेको थियो । एकजना एमालेबाट काँग्रेस भएका नेताको भनाई सापटी लिएर भन्दा ‘कम्युनिष्ट नेताहरुको पेट जव भोको हुन्छ, उनीहरुमा अभाव हुन्छ, तव वर्गीय मुक्तिको गीत गाउछन् र सर्वहाराको कविता लेख्नथाल्छन् । तर पेट मुर्सार्दै जव दरवार छिर्छन्, तव उनीहरु श्रीपेजलाई कुलदेवता झैं पुज्छन् । जव दरवारका मिठामिठा स्वाद र सुखसयलको चरम आनन्द थाहा पाउँछन्, तव तिनै गीत र कविताहरुले सिँगान पुछेर सर्वहाराको टाउकोमा मिल्काउँछन् ।’ त्यसैगरी प्रायः हामी सवैलाई मीठामीठा स्वादहरुले सौखिन बनाउन थालेको थियो ।

अर्कोतिर अभिभावकत्वविनाको हुर्काइ निकै गाह्रो हुदोरहेछ, अरुले नपत्याउँदा पनि रहेछन् । युथमिशनको अभिभावक युवासंघ नै थियो । तर युवासंघले हामीले गरेका कामकारवाहीको जिम्मेवारी लिन नचाहेपछि हामी पनि निरुत्साहित भयौं । अर्कोतिर हाम्रो काम, हाम्रो शान, हाम्रो अभियानभन्दा पनि अहम् भनेको त युवा संघको राजनीति नै थियो । आउने आठौं महाधिवेशनमा आफूलाई सुरक्षित बनाउनु समेत थियो । यसोहुनाले चाहदाचाहँदै, समृद्धिको युवा अभियान राम्रै हुँदाहुदै, हामीले स्थगन गर्नैपर्यो र हामी पछाडि हट्यौं ।

युथ मिशनबाट जति गरियो, त्यो पनि संगठनका लागि मात्रै थियो । अव म युवासंघको पूर्णकालिन कार्यकर्ता भइसकेको थिएँ । अवको जीवन नै एमालेको राजनीति भनेर आफूलाई समर्पण गरिसकेको थिएँ । दिनको एकपटक संगठनमा नपुगेको दिन हुन्नथ्यो । यसरी म र मजस्ताहरुले पार्टी भन्यौं, संगठन भन्यौं, पार्टी–संगठनको जस–अपजस बोक्न तयार थियौं । तर प्रायजसो साथीहरु जस लिने समयमा एक कदम अगाडि पुगिसकेका हुन्थे भने अपजस पाउँदा २ कदम पछाडि हटिसक्थे । संगठनलाई सुरक्षा र अवसरको भर्याङ मात्र पनि बनाइरहेका थिए, तिनीहरुनै हामीभन्दा प्रीय बन्दै थिए । अर्कोतिर संगठनभित्र बसेर एन्जीओ चलाई करोडौं कमाइरहेको छ भनेर हचुवा बोल्ने कार्यकर्ताहरु पनि सँगसंगै थिए । ३६ वर्ष कटेको उमेरमा मेरो ब्यक्तिगत जीवन लथालिंग पनि भइरहेको थियो । युन्डिपीमा कमाएर जम्मा गरेको पैसा धेरै मात्रामा घटिसकेको थियो । अव कमाईंका लागि राजनीति छोडेर एन्जीओको जागिरतिर फर्कौ भने पनि आइन्जीओमाथि हमला बोल्ने यति ठूलो क्रान्तिकारी बनेको सार विपरित हुनेथियो । अव थियो त केवल पुराना स्मृतिहरु र यही युवासंघ नेपाल । अनि बाँकी थियो त केवल कोहीकसैसंग टुसाउँदै गरेको भरोसाविहिन माया ।

जसरी पनि माओवादीलाई कमजोर बनाउने हाम्रो रणनीति, युवासंघको दिनैपिच्छेको आन्दोलन । संविधान निर्माणक्रममा सवै नेता र सवै पार्टीको गल्ती नै गल्ती थियो । तर हामी माओवादी नै कारक हो भनेर दिनैपिच्छेजसो एउटा न एउटा वहानामा सडकमा पुग्थ्यौं । अझ राजनीतिमा प्रोपगान्डाको ठूलै महत्व हँुदोरहेछ । आफूलाई राजनीतिक सतहमा उभ्याइराख्न समेत एक न एक प्रोपगान्डालाई हतियारका रुपमा चलाइरहनु पर्दोरहेछ । हामीले आफूलाई राजनीतिक वजारमा अब्बल देखाउनका लागि नेकपा माओवादी र प्रचण्ड नै सवैको जड् कारण भनेर कुनै न कुनै प्रोपोगान्डा झिकी मिडियामा छाइरह्यौं । अनि युथमिशनको युवा सहकार्य र समृद्धिको अभियान हरायो, युवा–युवावीचको महत्वकाँक्षा, वैमनश्यता र आन्तरिक गुटको आन्दोलनले फेरी प्रोत्साहन पाइरह्यो ।

512 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank