एउटा फोटोको बिम्ब

आइतवार, फाल्गुन २०, २०७४

loading...

- अनिल थापा



- अनिल थापा

एमालेसँग पार्टी एकता गर्न लागेको एकीकृत नेकपा माओवादीका महासिचव रामबहादुर थापा ‘बादल’ले गृहमन्त्राल सम्हाले लगत्तै माओवादीको ‘पुरानै’ आन्दोलनलाई निरन्तरता दिन प्रयासरत नेपाल माओवादीबाट नाम परिवर्तन गरी नेपाल कम्युनिष्ट पार्टीको नामबाट गतिविधि गरिरहेको संगठनका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’को नाममा पक्राउ पूर्जी जारी भयो । विप्लवको नाममा पक्राउ पूर्जी जारी भएपछि युद्धकालको एउटा फोटो ‘भाइरल’ बन्यो विप्लव र बादलको ।

सामाजिक सञ्जालमा उक्त फोटो देखेपछि त्यो फोटो रमाइलो लाग्यो र मोवाइलमा ‘सेभ’ गरेँ । कुरा यत्ति हो ।

अर्कोदिन मोबाइल चलाउँदै गर्दा त्यो फोटो देखियो । हेरेँ । आज अलि फरक लग्यो यो फोटो । फोटोमा एउटा बिम्ब देखियो । सँगै हिँडेका दुई सहयात्री । सम्भवत: एउटै बिन्दुबाट एकै समय हिँड्न शुरु गरेका होलान् ।

उकालो चढ्दै गर्दा एकजना थाक्छन् । र बस्छन् बाटोमा भेटिएको ढुङ्गामा अथवा सिंहदरवारको कुर्सीमा, ‘लठ्ठी’ बिसाएर ! अर्काको अनुहारमा अदम्य साहस देखिन्छ ‘हिँडाइप्रति’ । पूर्वतिर फर्किएको चम्किलो हँसिलो र आशावादी अनुहार, थकाइको कुनै गुञ्जायस छैन । साथमा लठ्ठीको सहारा पनि छँदैछ । फोटो यस्तै देखिन्छ ।

माओवादी आन्दोलन छिन्नभिन्न हुन लाग्दा पनि केही पछिसम्म साथमै रहे यी सहयोद्धा । बौद्धमा रहेको एक गुम्बा परिसर । युद्धबाट आएका नेताहरुको बाहुल्य । एमाओवादीसँग सम्बन्ध विच्छेद घोषणासभा थियो । मोहन वैद्य, सीपी गजुरेल, बादल, विप्लव लगायत नेताहरु मञ्चमा आसिन थिए । उपस्थित कार्यकर्ता अधिकांश युद्धबाट आएका थिए । टेलिभिजन रिपोर्टिङका लागि पुगेकाले क्यामरापर्सनलाई केही अनुहारहरुको क्लोजअप लिन भनें र म उनीहरुका कुरा सुन्न केन्द्रित भएँ । मोहन वैद्य ‘किरण’प्रति सबैको श्रद्धा र सम्मान थियो । तर सबैको भरोसा भने विप्लवप्रति देखिन्थ्यो ।

मञ्चमा विप्लवलाई बोलाउँदा सबैभन्दा धेरै मुठी उठे समर्थनका । एमाओवादी औपचारिक रुपमा फुटेपछि नयाँ पार्टीको नामका विषयमा बहस भयो । प्रस्तावित नाम भयो – नेकपा, माओवादी । बादलले ठट्टा गरे – भाषण गर्दा नेकपा ‘..’ माओवादी ‘पज’ दिँदै भन्ने । त्यसपछि अल्पविराम हटाएर ड्यास राखियो र पार्टी भयो नेकपा-माओवादी । ड्यास माओवादीमा किरण सर्वमान्य नेता थिए, शंका थिएन तर युवा पुस्ताले विप्लवलाई नेतृत्वमा देख्न चाहेका थिए । महासचिव चयन भए बादल । पार्टीले फाट्टफुट्ट विरोधका कार्यक्रम गर्दै आफ्नो उपस्थिति देखाउँथ्यो । तर राष्ट्रिय राजनीतिमा यो समूहको आकार एमाओवादीमा हुँदाभन्दा धेरै खुम्चियो । वैद्य समूहको मिडिया कभरेज पनि एमाओवादीमा हुँदाभन्दा स्वत: कम भयो ।

  • **        * * * **********            ********************           *************

एमाओवादीका उपाध्य बाबुराम भट्टराई प्रधानमन्त्री थिए । संविधानसभाको अवसान भएपछि चुनावको घोषणा गरेको थियो सरकारले । काँग्रेस-एमाले चुनावको विपक्षमा थिए, सरकार परिवर्तन हुनुपर्ने उनीहरुको पहिलो माग थियो । बैद्य नेतृत्वको माओवादी त विरोधमा हुने भै हाल्यो । नेपाली काँग्रेसका केही नेताहरुले ‘गोप्य रुपमा’ बादललाई भेटे । ‘हामीले खुलेर गर्न मिल्दैन, चुनाव विरुद्ध तपाईँहरुले आन्दोलन चर्काउनुपर्यो । भित्री आवश्यक सहयोग हामी गर्छौँ ।’ यो प्रसंग अहिलेलाई यत्ति ।

  • **        * * * **********            ********************           *************

विप्लव धेरै समय बुद्धनगरमा रहन सकेनन् । प्रचण्डसँग सम्बन्ध विच्छेद गरेका बैद्धसँग पनि विप्लवले सम्बन्ध तोडे । तर उनी प्रचण्डका लागि पनि आकर्षण थिए । गृहमन्त्री पदमा समेत रुचि नदेखाएका विप्लप ‘क्रान्ति’ मात्र सोच्थे । चाबेलस्थित उनको निवासमा एकदिन ३ जना पत्रकार अनौपचारिक भेटघाटका लागि गयौँ । विप्लवलाई पार्टीमा फर्काउने प्रयास गरिरहेका थिए प्रचण्डले । उनका एकजना भरपर्दा नेताको संयोजकत्वमा एक समूह नै गठन गरेर विप्लवलाई मनाउने कोशिस भएको थियो । तर उक्त समूहको निचोड थियो –‘बरु आत्महत्या गर्छ कि दुई/चार ठाउँ पड्काएर लड्दै मारिन्छ तर एमाओवादीमा फर्किन्न ।’

‘उहाँहरु समस्या देख्नुहुन्न किनकी आरामले सत्ता दुरुपयोग गर्न पाइरहनुभएको छ । तर समस्या त छ नि । हिजो त्यत्रो बलिदान गरेर आइयो । कैयौ बेपत्ता छन्, कैयौँ मारिए, घाइते अपाङ्ग छन् । परिवार, समाज गुमाएका छन् । तिनका मनमा के होला ? त्यो कहिल्यै हेर्नुभयो उहाँहरुले ?’ प्लाष्टिकको सेतो कुर्सीमा बसेका विप्लवले हामीसामू भन्दै थिए । तीन कोठाको फ्ल्याट । गेष्टरुममा सोफा थिएन, प्लाष्टिकका कुर्सी थिए । कलर फाटेको, अलिअलि मैलो पनि सेतो सर्ट माथि हल्का हरिलो रंगको हाफ ज्याकेट । कलम र डायरी देखिन्थ्यो गोजीमा । कपडाको सामान्य पाइन्ट । ‘उहाँहरुले हामीबाट थ्रेट महशुस गर्नुभएको छ बरु सत्य के हो भने हामीले गर्दा मुलुकमा शान्ति छ ।’

‘कसरी ?’

‘जनताका मनमा धेरै आक्रोश छ । उहाँहरुले धोका दिनुभयो । क्यान्टोनमेन्टबाट निकालिएका पूर्वजनमुक्ति सेनाका कामरेडहरु आक्रोशित छन् । शहीद, बेपत्ता परिवार सबैमा दिक्दारी छ । त्यो मात्र नभएर तराईमा हेर्नुस । सबैतिर आन्दोलन छन् अलग अलग स्वरुपमा । हामीले नेतृत्व गर्योँ भने त्यो संगठित र व्यवस्थित हुन्छ, राजनीतिक चरित्रको हुन्छ । नत्र आपराधिक समूहजस्ता धेरै समूह बने राष्ट्रलाई धेरै घाटा हुन्छ । त्यसैले यी सबै आक्रोशहरुलाई राजनीतिक क्रान्तिमा जोड्नु पर्छ ।’ विप्लवको भनाइ थियो ।

  • **        * * * **********            ********************           *************

अवश्य विप्लव समूहसँग केही अत्याधुनिक हतियार पनि छ । शान्ति प्रकृयामा आएपछि माओवादीले राम्राजति हतियार लुकायो । थोत्रा हतियार बुझायो । यो कुरा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई थाहा थियो । राजाको भर नभएकाले राजा रहँदासम्म ‘ठिकै छ’ भन्ने उनको आशय थियो । क्यान्टोनमेन्टबाट केही सय मिटरको दूरीमा लुकाइएका ति हतियार मध्ये केही पार्टी फुटेपछि विप्लव समूहले नियन्त्रणमा लियो । तर धेरै हतियार तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले तत्कालीन प्रधानसेनापति छत्रमानसिंह गुरुङ्लाई सूचना र निर्देशन दिए र नेपाली सेनाले गोप्य रुपमै ति हतियार लिएर छाउनीमा राख्यो ।

  • **        * * * **********            ********************           *************

तर विप्लवले सोचेजस्तो अब हतियार उठाएर आन्दोलन (केही दशकका लागि ?) विल्कुलै सम्भव देखिँदैन । गत महिना मलेशियामा कार्यरत एक जना पूर्वछापामारले म्यासेन्जरमा ‘कल’ गरेका थिए । ‘गल्ती गरियो दाइ, उबेला बैंक लुट्दा एउटा बोरा मात्र भएपनि लुकाएको भए ? क्रान्ति सबैथोक हो भन्ने थ्यो, लाष्टमा फिस्स ।’ तर अहिले आर्थिक रुपमा यति भ्रष्टीकरण भएको छ कि अब क्रान्तिका नाममा उठ्ने पैसा नेतृत्वसमक्ष पुग्ने मै शंका छ । अनि हिजोको युद्ध बारे उठ्ने प्रश्नको जवाफ विप्लवको थाप्लोमा ठोक्किनेछन् । केही वर्षअघिको एउटा घटना, लेख्दै गर्दा आँखामा आयो । माओवादीका मन्त्री थिए । तीन जना कार्यकर्ता जागिर माग्न गए । उनले पढाइको सर्टिफिकेट मागे । ‘दाइ तपाइँकै आग्रहमा सर्टीफिकेट च्यातेका हौँ ।’ मन्त्रीले भने – ‘अब कुरा बुझ्नुस् न । तपाइँहरुले सहयोग गर्नुपर्छ ।’

  • **        * * * **********            ********************           *************

मोहन बैद्यले भनेका थिए – २००७ सालदेखिका सबै आन्दोलन सम्झौतामा टुंगाइयो । माओवादी आन्दोलन पनि त्यस्तै भयो अब ।’ पार्टी फुटे लगत्तै बीबीसी नेपाली सेवासँग कुरा गर्दै ‘पार्टी फुटेर छिन्नभिन्न भएपछि अब तपाइँहरुको उदेश्य पनि पूरा नहुने भयो नि’ भन्ने अर्थ लाग्ने प्रश्नको उत्तरमा उनले भनेका थिए – ‘अहिलेलाई यस्तै भयो भनेर भन्नुस् ।’

  • **        * * * **********            ********************           *************

जेहोस् न सरकारले  विप्लवलाई थुनेर समस्या समाधान हुनेछ न विप्लवले हतियार उठाएर । एउटै कम्युनिष्ट केन्द्रका लागि अघि बढिरहेका प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली, प्रचण्ड र बादलहरुले मुलुकमा विप्लवले देखेका समस्या देख्नुपर्छ भने विप्लवले अहिलेको राष्ट्रिय/अन्तर्राष्ट्रिय स्थितिका साथै नेपाली जनताको विकासको चाहनालाई बुझ्नुपर्छ । थापाको ब्लगबाट

  • **        * * * **********            ********************           *************

फोटोमा आराम गरिरहेका बादलले विप्लवलाई खोज्न सुरक्षाकर्मोको सहयोग लिनु आवश्यक छैन ।

613 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank