देवीको पुजा गर्ने पर्वमा महिलालाई उपेक्षा किन ?

बुधबार, अशोज ११, २०७४

loading...

- विमला पौडेल



- विमला पौडेल

देवीको पुजा गर्ने पर्व दशैँमा महिलाले तीनै देवीको पुजा गर्न नपाउने परम्परालाई अन्त गर्नुपर्छ । एकातिर महिलाको पुजा गर्ने र अर्कोतर्फ अपमान गर्ने असभ्य मान्यताको अन्त गर्नुपर्छ । 

हिन्दु नेपालीहरुको महान चाड बडा दशैले सबैलाई ढपक्कै ढाकि सकेको छ । शहरबाट गाउँ फर्कनेहरु दशैका लागि लुगाफाटो, मिठाई, मरमसला आदी किनमेल गर्न व्यस्त देखिन्छन् । मानिसहरुमा हतारो छ, दशैको लागि । दशै हिन्दुहरुका लागि महत्वुर्ण हुनुमा धार्मिक, सांस्कृतिक र सामाजिक कारणहरु छन् । दशै हरेकको घर आगँनमा आएको दशैँलाई आ–आफ्नो घरमा भित्राइ रहेका छन् । ग्रामीण भेगमा दशैका लागि कमेरोले घर लिपपोत, कुटान पिसान भैसकेको छ भने शहरतिर सपिङ चलिरहेको छ । यि समपुर्ण कार्यहरमा महिलाहरु नै अघि सरेको देखिन्छ । यसका पछाडि केही तथ्यहरु पक्कै छन् । यसलाई समाज शास्त्रीय रुपले विश्लेषण गर्न आवश्यक छ ।

भनिन्छ, नेपाली समाज मातृ सतात्मक नभएर पितृ सतात्मक समाज हो । जहाँ महिलाको निर्णाक भूमिका हुदैन । महिलाहरु संधै घरायसी काममा मात्रै अल्झिन्छन् वा अल्झाइन्छन् । तर यसको ठिक विपरित चाड पर्वहरुमा भने महिलाहरुकै सक्रियता र खटनपटन मुख्य रुपमा रहन्छ । चाडपर्व मनाउन आवश्यक सरसामानको जोहो गर्ने देखि धार्मिक कार्यमा समेत महिला नै अघि सर्छन । महिलाहरुले नै जमरा उमार्ने काम गर्छन । मिठो मसिनो बनाउँछन् ।

आफन्त र छिमेकीहरुको मन राख्छन् । समग्रमा भन्दा सामाजिक सहकार्य र सहअस्तीत्वको बाटोमा अघि बढ्न उत्साहित बनाउने काम गर्छन । महिलाहरुको यो भूमिकाले विजया दशमी र नेपाली महिलाहरुको सम्बन्ध थोरै नजिक बनाउने प्रयत्न गरेको छ । सत्य युगमा भगवान रामले त्यतिबेलाको मिथिला र हालको जनकपुरकी राजकुमारी सीताको शक्तीका आधारमा नै रावणमाथी विजय हाँसिल गरेका थिए । महाभारतमा उल्लेख भए अनुसार यदी त्यतिबेला सीताले असत्यको बाटो लिएको भए वा आफ्नो साहास प्रदर्शन नगरेको भए भगवान रामले रावणलाई समाप्त गर्ने सम्भावना नै रहन्नथ्यो ।

अर्को कुरा परापुर्वकालमा नेपाल भन्ने देश अस्तीत्वमा नभएपनि अहिलेको भूगोल र धर्मशास्त्रहरुलाई आधार मान्ने हो भने सीता नेपाली चेली थिइन । उनैका कारणले नै असत्यमाथी सत्यको जीत सम्भव भयो । यस किसिमको आत्मीयताका कारणले पनि हामी सबै सीतालाई देवीका रुपमा लिन्छौँ । उनको पुजाआजा गर्न तम्सिन्छौँ । यो एक किसिमले भन्दा महिलाहरुको धार्मिक रुपले सम्मान हो । महिला माथी थिचोमिचो गर्ने, हिंसा, बलात्कार जस्ता कुकार्य गर्न प्रोत्साहित गर्ने समाजका लागि सिकाईको माध्याम हो । यदी एउटा महिला सहि र साँचो भएको खण्डमा भगवान रामले बाह्र वर्ष लामो निकै कठिन वनवास व्यति तगदैृ रावण जस्तो सर्वशक्तीमान राक्षलाई पराजित गरे । एक किसिमले भन्दा राक्षशी युग नै समाप्त भयो ।

दशैको धार्मिक महत्वको कुरा गरिरहँदा यसको आर्थिक तथा समाजिक महत्वलाई कम आँक्न मिल्दैन । दशैँ एक किसिमले भन्दा सामुहिक पर्व हो । सद्भाव र भाइचाराको पर्व हो । यसले आफन्त र छरछिमेकलाई एक आपसमा बाँध्ने कार्य गर्दछ । जस्तो दशैँका अवसरमा धेरै ठाउँहरुमा स्वयम्सेवी रुपले सार्वजनिक बाटो, चौतारो, विद्यालय आदी सफा गर्ने, सामुहिक रुपले मन्दीरमा पुजा गर्ने, भजन किर्तन गर्ने काम गरिन्छ । यसले गर्दा समाजमा एकरुपता आउनुका साथै प्रत्येक नागरिकलाई उत्तरदायी बनाउने काम गर्छ ।

अर्को दशैँले महिलाहरु बीच पनि आपसी सम्बन्ध बिस्तारमा सघाउ पुग्छ । मिठामसिनो चिज बाँडेर खाने, रमाईलो गर्ने, सामुहिक रुपमा टिका लगाउने कार्यले महिलाहरुलाई सामाजिकीकरणमा सहयोग गर्छ । एकले अर्कोलाई सहयोग गर्नुपर्छ भन्ने मान्यताको विकासमा समेत सहयोग गर्छ ।

तर पछिल्लो समय दशैँ पनि वर्गका आधारमा फरक फरक हुन पुगेको छ । गरिब र असहायहरुले दशैँलाई दशाका रुपमा बुझ्न थालेका छन् भने हुनेखानेहरुले आफ्नो हैसियत प्रदशैन गर्ने अवसरका रुपमा यसको दुरुपयोग गर्न थालेका छन् । समाज बिस्तारै तडकभडक तर्फ उन्मुख हुँदै गएको छ । आफ्नो क्षमता भन्दा बढी देखाउन खोज्ने प्रवृतिले गर्दा समाज बिभाजन र असमानतामा रुमल्लिन खोज्दैछ । यसले गर्दा हाम्रो समाजिक विभेदको पारो उकाले लाग्दै गएको छ । यस्तो अवस्थाले दशैँको बहुआयामिक महत्वलाई अवश्य नै नाश गर्नेछ । यदी नेपाली समाज सभ्य र सौम्य बन्दै जाने हो भने पुरातन धार्मिक मान्यतालाई नयाँ शिराबाट सुरु गर्नुपर्छ । देवीको पुजा गर्ने पर्व दशैँमा महिलाले तीनै देवीको पुजा गर्न नपाउने परम्परालाई अन्त गर्नुपर्छ । एकातिर महिलाको पुजा गर्ने र अर्कोतर्फ अपमान गर्ने असभ्य मान्यताको अन्त गर्नुपर्छ ।

295 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Nic Asia
dashain suvakamana
Asia Pacific Trade Concern Janamat health right side janta bank saral flyer Below blog adv