अब म गर्भपतन गर्दिन !

सन्दर्भः अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस

बुधबार, फाल्गुन २५, २०७३

loading...


इन्दिरा तिमी त जिल्लाको प्रमुख भएकी रहिछौ । हर्षले मन थाम्न सकिन । आँखाबाट हर्षका आँशु बगे । बुटवलबाट प्रकाशित एक पत्रिकामा हिजो एउटा समाचार पढेँ । खुसिले म गद्दगद भएँ ।

गुल्मीको दुर्गम गाउँमा हामीले सँगै बिताएका बाल अनुभवहरु एकाएक गर्दै आँखा वरिपरी घुम्न थाले । भर्खर भर्खर बल्लबल्ल छोरीलाई स्कुल पठाउन थालेका अभिभावकका छोरीहरु हामी अलिकती डर, धेरै उत्साह र मनभरी हिम्मत बोकेर स्कुल जाने गथ्र्यौँ । छोरीले असल बुहारी हुनका लगि गर्नुपर्ने सम्पूर्ण दैनिक अभ्यासहरु समय मिलाएर सिक्ने गर्दथ्यौ । स्कुलका गृहकार्य जस्तै महत्वपूर्ण थिए हाम्रा लागि । दैलो कुचो, टपरी गास्ने, बत्ती काट्ने जस्ता सिपहरु सिक्न । तिम्रो प्रशासनिक काममा तिनको प्रयोग कत्तिकोे भएको छ म जान्दिन तर मेरो दैनिकी तिनैको वरीपरी बितेका छ ।

एसएलसी सम्मको पढाई कक्षामा पहिलो दोस्रो भएर तिमीले र मैले सगैँ ग¥यौँ । नजिक कलेज नभएकाले उच्च शिक्षा अध्ययनको लागि दाजु बिनयसँगै तिमी राजधानी गयौँ भने मेरो १६ वर्षमै विवाह भयो । अचेल सुन्दै छु त्यो त बाल विवाह पो रहेछ । बुबाको रोजाइँमा घरका अन्य पुँजा जस्तै गरेर गरिएको विवाहको विषयमा मलाई धेरै थाहानै थिएन । विवाह र जीवनसाथीको महत्व बल्ल पो बुझदै छुँ । विवाह पश्चात असल बुहारी हुने अभ्यासमा मेरा दैनिकीहरु यति व्यस्त भएकी तिम्रो र सिंगो समाजको विषयमा सोँच्ने मलाई फूर्सदै मिलेन ।

हाम्रो भेट नभएको पनि वर्षौ भएछ । हिजो फेसबुकका भित्ताहरुमा भाइरल बनेको तिम्रो फोटो छोरी अपेक्षाले देखाउँदा पो म दंग परे । तिमी त उस्तै पो रहिछौ । तर मलाई चिन्न तिमिलाई पक्कै गाह्रो पर्नेछ । १७ वर्षमा पहिलो पटक म छोरीको आमा बने । त्यसपछि त मेरो दिनचर्या असल आमा, असल पत्नी र असल बुहारी हुँदैमा व्यस्त भयो । म र मेरो नीजि जीवन भन्ने नै मैले बिर्सिए । अझ लगातार ३ वटी छोरीको आमा बन्दा त म भर्खर ३५ वर्ष पुग्दा पनि बुढ्यौलीको अनुभव गर्न थालेकी छु ।

तीनैवटी छोरीकी आमा भइसक्दा पनि एउटा छोरा जन्माउने इच्छा राखेर तडपिरहेकी छु । आफनो शरीरलाई छियाछिया पारीसकेकी छु । एक छोरा जसले भविश्यमा मेरो कुलको इज्जत राखोस् भन्ने चाहना मनमा अझै अधुरै छ । त्यसैले त मैले मंगलबारको ब्रत पनि राखेकी छु । जुन ब्रत गर्दा छोरा नै जन्मिन्छ भन्ने विश्वास मेरो मनभित्र ज्यूँदैछ । के गरु म बाध्य छु । एउटा कुल धान्ने छोरा नजन्माउने हो भने मेरो वंश नास हुने भो भनेर श्रीमानको ‘कचकच’ सुन्दा म दिक्क छु । छोरी जन्माउनेको सन्तान भनेर दिनहुँजसो झगडा गर्ने सासुको वचन सुन्न बाध्य छु । टोल छरछिमेकको कानेखुशी सुन्दा र देउरानी जेठानीहरुले छोराको ‘धाकधक्कु’ लगाउँदा मेरो मन पनि यति दुखेको छैन ।

दुखेको मनमा मलमपट्टी लगाउने ठाउँ कतै भेटेकी छैन । तीनवटी छोरीकी आमा हुँदा र लगातारको गर्भपतनले गर्दा म पँचास वर्ष नाघेकी महिलाहरु भन्दा पनि बुढि देखिन्छु । छोरी जन्माउने बुहारीले मिठोचोखो खाँन हुँदैन भनेर सुत्केरीमा पनि मैले मीठो खाने र आराम गर्ने प्रशस्त अवसर पाएकी हैन । त्यसैले होला आजभोली म अनेक स्वास्थ्य समस्याबाट पीडित छु ।

छाला चाउँरी परिसकेको छ । बिहान चार बजेदेखि साँझ दशबजेसम्म सजिलैसँग श्वास फेर्ने समेत फुर्सद छैन मलाई । यही बेफुर्सदीले मलाई समाजको परिवर्तनलाई जान्ने र बुझने अवसर पो कहाँ मिलेको छ र ? घरको काम सकेर फुर्सद पो कहिले छ र ? देश दुनियाँको यात्रा मेरो गोरखपुरसम्म मात्र सिमित छ । त्यही पनि हरेकपटक आस बोकेर जान्छु , पिडा र निराश बोकेर फर्कन्छु । प्रत्येक पटकको यात्रामा मेरो मुटुको गति बढेको हुन्छ । कानहरु लालायीत हुन्छन् शुभ समाचार सुन्नलाई । तर म विवश छु मेरो कमजोरी स्विकार्न ।

मेरो गिर्दो स्वास्थ्य देखेर डाक्टरहरु भन्ने गर्छन, धेरै पटक गर्भपतन स्वास्थ्यका लागि हानिकारका हुन्छ भनेर । तर मलाई त्यसको कुनै प्रवाह छैन किनकी मलाई वंश धान्ने छोरा जन्माउनु नै छ । ती–तीनवटी छोरीमाथी सौँता बेर्होनु पनि कम पिडादायक क्षण होला त मेरा लागि ? म आफैसँग प्रश्न गर्नेगर्छु । उत्तरमा मेरो मन अत्तालिन्छ र भन्ने गर्छ सौँताको जिन्दगीभरको पीडा खेप्नुभन्दा केहि क्षणको शारीरिक पीडा खेपेर भएपनि छोरा जन्माउनु नै ठीक छ ।

त्यसैले म हारेकी छैन । हार्नु त हुँदै भएननी । माइतमा बाबु आमाको इज्जतको सवाल पनि छ । फलानाको नाति छैन भनेर गाँउलेहरुले गफ गर्दा मेरा माइती गाँउमा पनि इज्जत जाने भयो । के गरु म दोधारमा छु । बाबु आमा, सासुससुरा, श्रीमान र आफन्तहरुको दबाबले मलाई पनि छोरा भनेको त ‘कुल धान्ने व्यक्ति हो’ भन्ने अनुभूति गराएको हो वा ती सबैको खुसीका लागि मेरो स्वास्थ्य बिगारेर केवल छोरा जन्माउने कोशिस गर्दैछु ।

छोराकी आमा हुन नसकेकाले घर माइत जताकतैबाट आउने दवाव झेल्न नसकेर अचेल म मानसिक रोगी बन्दै गएकी छु । श्रीमान् सासुससुराको कचकचले म भित्रको आत्मविश्वास बिस्तारै घटदै गएको छ । तिमिलाई के थाहा वंश धान्ने छोराको आसमा ४ पटक त मैले लुकिछिपि गर्भपतन गरीसकेकी छु । म ठुलो आशा बोकेर डक्टर कहा पुग्छु तर प्रत्येक पटक निराश छु मेरो गर्भको भु्रण छोरी हुँदा । हुनत गर्भपतन मेरो रुचिको विषय कहाँ हो र ? प्रकृतिको कस्तो अनुपम उपहार । गर्भको बच्चासँग कति छिटो आमाको सामिप्यता जोडिएको हो । प्रत्येक पटक गर्भपतन गर्नुपर्दा एकपटक मृत्युको अनुभुति गर्नुपर्ने मानसिक रुपमा । सायद सबै आमाहरुलाई त्यस्तै अनुभुति हुन्छ की वा मलाई मात्रै हो ? आमा हुनुको अनुभव बिल्कुल फरक हुँदोरहेछ । नियम कानुन भन्दा पनि माथिको भिन्न सम्बन्ध हुँदोरहेछ सन्तानसँग ।

मन पनि कस्तो अचम्मलाग्दो गर्भमा बच्चा आउने बित्तिकै एकै पटक कति धेरै कल्पना मनभित्र आउने । मनलाई तुरुन्त संवेदनशिल बनाउने । यही फरक होला आमा र बाबुको बीचमा । प्रकृतिको बिडम्वना नै भन्नुपर्छ त्यस्तो अनुभुति कहिल्यै बाबु बन्नेले गरेको भेटिन । उनका आँखामा त्यो पीडा कहिल्यै देखिन । उनका आँखामा सँधै एउटा दम्भ र छोराप्रतिको अभिलाषा मात्र देखिरहेँ । जबरजस्त हाँस्न खोज्दा रसाएका मेरा आँखाको भाषा उनले बुझ्नै सकेनन् । यही त फरक होला महिला र पुरुषको भोगाइ, फरक वरदान प्रकृतिको हामी छोरीहरुलाई ।

आजभोली त म रेडियोबाट सुन्ने गरेकी छु । छोरा वा छोरी जसलाई जन्माउन पनि महिलाको(मेरो)हात हुँदैन । त्यसपछि त धेरै ढुक्क भएकी छु । छोरीहरुको मात्र आमा हुनुमा मेरो कुनै दोष रहेनछ । यी सबै महिलाहरुलाई दबाउन बनाईएका झुट्ठा विवरण मात्र रहेछन् । गर्भपतनले कानुनी मान्यता पायो भनेर संचारमाध्यममा सुन्दा÷पढ्दा म धेरै खुसी भएकी थिए । धेरै आमाहरुले समाजले “नाजायज” नाम दिएको बच्चा बोकेर अव हिड्नुपर्ने भएन भनेर ।

हरेक सम्बन्धहरुलाई परिभाषा गर्ने जिम्मा आखिर समाजलाई त दिएको छ । सम्बन्धको सामाजिक परिभाषा खोज्दा त महिलाहरु ज्यूँदै जलाईएका छन् । बैवाहिक बलत्कार भोगिरहेका छन । आत्महत्या गर्न विवश छन् । महिला र पुरुषको समान सहभागीतामा रहने सम्बन्धहरुमा पनि दोष महिलाको टाउकोमा जाने नियति हामीले भोगेकै त छौँ है ? समाजले सभ्य भनेको तर २१ औँ शताब्दीमा पटक्कै नसुहाउने असभ्य अभ्यास ।

इन्दिरा तिमीलाई थाहा छैन । मत आठौँपटक फेरी गर्भवती भएकी छु । मन डराएको छ । मुटुको धडकन फेरी बढेको छ । विश्वास छ यसपटक मेरो गर्भमा पक्कै छोरा होला भनेर । म पूनः जाँदैछु गोरखपुरसम्मको यात्रामा । मसँग मेरा श्रीमान् पनि निकै उत्साही हुनुहुन्छ छोराको बाबु बन्ने अभिलाशा बोकेर । थाहा छैन मेरो यात्रा कस्तो हुने हो ?

तर, विडम्वना गोरखपुरमा चेकअपपछि थाहा लाग्यो आठौँपटक पनि मेरो पेटमा छोरी रहेछ । यो सुनेर मेरा श्रीमान् छागाबाट खसेजस्तै भए र मलाई गाली गर्न थाले । छोरा जन्माउन नसक्नेको सन्तानमा परिएछ भनेर । मसँग रिसपोख्न थाले । तर म यसपटक पटक्कै निराश छैन । उहाँको गालीलाई प्रतिवाद गर्ने क्षमता ममा जागेको छ । मेरो मन दरिलो भएको छ । विश्वास बढेको छ । तिमीलाई देखेर तिम्रो सफलता र विश्वासलाई आत्मसात गरेर । मैले सुनेकी छु धेरै महिलाहरु पुरुष सरह अगाडि बढेका छन रे हाम्रो देशमा पनि । तर ती सबै भन्दा भिन्न तरीकाले आफ्नै सर्घषशील यात्राबाट अगाडि बढेकी मेरै उमेरकी तिमीलाई देखेर ममा धेरै हिम्मत पलाएको छ । यसवर्ष सायद मैले पनि तिमीजस्तै हिम्मत र आत्मविश्वास भएकी छोरी जन्माउने प्रवल इच्छा राखेकी छु ।

हाम्रा गाउँघरका थुप्रै नालायक छोराहरु भन्दा योग्य छोरी जसले घरको मात्र होइन देशको वंश थामोस् । त्यही छोरीको सिघ्र प्रतिक्षामा छु । त्यसैले मलाई मेरा श्रीमान, सासु—ससुरा, छरछिमेक कसैको पनि गाली ग्लोजले प्रभाव पारेको छैन । म खुसीसाथ योग्य छोरी जन्माउने तयारीमा छु । नालायक छोराको के काम जसले देश र जनताको लागि केहि गर्न सक्दैन । कुलतमा फसेर हिड्छ । बाबु आमाको साहारा बन्नु त कता हो कता बुढेसकालमा पीडा थपिदिन्छ । त्यस्तो नालायक छोरो जन्माउने तयारीमा म छैन । अन्तिम पटक मेरो गर्भवाट योग्य, लायक छोरी जन्माउने विश्वासका साथ तयारीमा जुटेकी छु । जसले म, मेरो परिवार र देशको इज्जत थामोस् । महिला सशसक्तिकरणको अभियानमा एउटा इट्टा थप्ने प्रयासको सानो थालनी होस् । (लेखकः गुल्मी तम्घास निवासी हुन् ।)

3021 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank