बज्दै छ खतराको घण्टी

मङ्लबार, बैशाख ९, २०७७

loading...

- राम विष्ट



आज लकडाउनको २८ दिन भयो । बाहिर पुरै बन्द छ ।  केही मान्छेहरू सेल्फ आईसोलेसनमा छन् भने कोही होम क्वारेन्टाइनमा । कतिपय मान्छे लकडाउनको समय थपिँदै जाँदा विभिन्न समस्याका बाबजुद काठमाडौँबाट हिँडेर लुकिछिपी आ-आफ्नो घरसम्म हिँडेका समाचार बाहिर आएका छन् । अस्ति मात्रै एकातिर, समस्यामा परेका ती मजदुर पैदल यात्रीहरूको जीवनस्तर लाई मध्यनजर गरी सकिन्छ सम्बन्धित ठाउँ वा घर सम्म पुराई दिने सकिन्न उचित खालको गाँस बासको व्यवस्था समेत राज्यले गरिनुपर्ने भन्ने फैसला सर्वोच्चबाट भयो । यता प्रधानमन्त्रीले जो जहाँ छ त्यही बस्ने, लुकीछिपी घर नजाने, आवश्यक गाँस बासको उचित बन्दोबस्त भने सम्बन्धित स्थानीय सरकारले गर्ने । र आवश्यक परे मात्र केन्द्र सरकारलाई माग गर्ने भन्ने आदेश जारी ग¥यो । लुकिछिपी पैदल यात्रा गरी घर जानु के ती नागरिकहरूको मूर्खता नै हो ? विद्यार्थी, गरिब तथा विपन्न परिवार, श्रमजीवी र मजदुर वर्गलाई सङ्कटको वेला राज्यले के गर्नु पर्दछ ? लकडाउनको पूर्ण पालना गर्नु सबै नागरिकको दायित्व हो कि होइन ? जस्ता यी विविध प्रश्नले के देखाउँछ भने खासमा हामी नागरिक कतातिर जादैछौं र हाम्रो राज्यले यो महासङ्कटका बेला के कस्तो खालको निर्णय लिँदै छ भन्ने कुरा मुख्य विषय हुन आउँछ यति बेला ।

आँखाको नानी सानो हुन्छ तर सिङ्गो संसार त्यसैले नै देखेको हुन्छ भनेझैँ विश्व महामारीका रूपमा देखा परेको कोरोना भाइरस आफैमा एउटा सूक्ष्म भाइरस वा जीवाणु हो । २०१९ को डिसेम्बरमा चीनको वुहान प्रान्त नजिकै पशुपक्षीको व्यापार हुने एउटा बजारमा पहिलो पटक यसको सङ्क्रमण देखिएको उक्त भाइरस केही महिनामै विश्वभरि फैलियो । कोरोना भाइरस एक नयाँ प्रजातिको भाइरस हो । यो भाइरस जनावर बाट मानिसमा सरेको भन्ने विश्वास गरिन्छ । चमेरो र पंगोलिन जातका जनावरहरूमा यो भाइरस देखिएको हो । मानिसको शरीरमा यो भाइरस श्वासप्रश्वासको माध्यमबाट प्रवेश गर्दछ । यस भाइरसको कुनै ठोस उपचार छैन तर यसको उपचार भनेकै एक अर्कोसँग सामाजिक दुरी कायम गरेर एकबाट अर्कोमा सर्न नदिनु नै हो ।

चीन पछि युरोप हुँदै अमेरिकामा कोरोना सङ्क्रमण फैलिन थालेपछि कतिपय मुलुककाहरूले लकडाउनको घोषणा ग¥यो । यो भाइरस दक्षिण एसियाका देशहरूमा पनि फैलिसकेको छ भन्ने सङ्केत देखा परिसकेपछि भारत सँग खुला बोर्डर रहेको हाम्रो नेपालले पनि अव सिमाना बन्द गरेर आवतजावत समेत रोक्नुपर्छ भनी गत चैत्र ९ गतेको मन्त्रीपरिषद्को बैठक बसी उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा उच्च स्तरीय कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समिति गठन गरेर चैत्र ११ गते वाट लकडाउनको सुरुवात गरी पटक पटक समय थप गरी वैशाख १५ सम्म नेपाल लकडाउनकै अवस्थामा छ । सरकारले अहिले देश पुरा लकडाउन गरेको छ । यो लकडाउन नै रोकथामको सबै भन्दा भर पर्दो र उत्तम उपाय मध्य एक हो । यति बेला प्राय थुप्रै देशहरू लकडाउनको अवस्थामा छन् । राज्यका दैनिक काम कार्वाहीहरु ठप्पै छन् । व्यक्तिका दिनचर्याहरू केवल घरभित्र कोठामै सीमित छन् । दिनप्रतिदिन सङ्क्रमितको सङ्ख्या दोब्बरका दरले बढिरहेको स्थिति छ । जसले गर्दा लकडाउनलाई खुकुलो भन्दा पनि पेचिलो बनाउनु पर्ने र अझ पर धकेल्नुपर्ने अवस्था दैनिक सङ्क्रमितको सङ्ख्याले देखाउँछ । जसको प्रत्यक्ष असर ती गरिब, विपन्न, मजदुर, ज्यालादारी, विद्यार्थी वर्ग र ग्रामीण किसान दाजुभाइ तथा आमाबुवामा परेकाे छ ।

अहिले कोरोना (कोभिड १९) को आतङ्कले संसार नै त्रसित र ग्रसित अवस्थामा छ । अमेरिका र युरोपमा त गर्मीको धूपमा परालमा लागेको आगो भन्दा पनि भयावह स्थिति छ । त्यसैले यस्तो बेला बढी संयमित भएर बुद्धिमानी पूर्वक
यस महामारी विरुद्ध लड्न सक्नुपर्दछ । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस चीन(वुहान) बाट सुरु भई सङ्क्रमणको दर युरोपियन मुलुक हुँदै पछिल्लो समय अमेरिकामा तीव्र देखिएको छ । भने यता दक्षिणको भारतमा पनि सङ्क्रमण दिनप्रतिदिन बढ्दो रूपमा छ । आजका दिनसम्म विश्व कोरोनाको मानवीय अवस्थालाई हेर्दा करिब १ लाख ६० हजार ५ सय १८ जना भन्दा बढिको मृत्यु भइसकेको छ भने २३ लाख २८ हजार १ सय २४ जना जति सङ्क्रमित भएको देखिन्छ । अमेरिकामा मृत्यु हुनेको सङ्ख्या सबै भन्दा बढी नै देखिन्छ । जहाँ ३९ हजार १४ जना । त्यस्तै सङ्क्रमित ७ लाख ३४ हजार ५ सय ५२ पुगेको छ । भने यता सार्क राष्ट्रको अवस्थालाई हेर्दा, सबै भन्दा बढी मानिस भारतमा सङ्क्रमित भएका छन् । भारतमा जम्मा सङ्क्रमितको सङ्ख्या १५ हजार ७ सय २२ पुगेको छ भने ५ सय २१ जनाको मृत्यु भैसकेको अवस्था छ । त्यस्तै पाकिस्तानमा ७ हजार ६ सय ३८ सङ्क्रमित र १ सय ४३ जनाको मृत्यु । बङ्गलादेशमा २ हजार १ सय ४४ जना सङ्क्रमित छन् भने ८४ जनाको मृत्यु । अफगानिस्तानमा ९ सय ३३ सङ्क्रमित र ३० जनाको मृत्यु । श्रीलङ्कामा २ सय ५४ जना सङ्क्रमित र ७ जनाको मृत्यु । मालदिभ्समा ३५ जना सङ्क्रमित छन् भने मृत्यु को सङ्ख्या ० । त्यस्तै नेपालमा सङ्क्रमितको सङ्ख्या ३१ पुग्यो । मृत्यु भने भएको छैन अहिलेसम्म । र भुटानमा ५ जना मात्र सङ्क्रमित रहेको तथ्याकंले देखाउँछ ।

खासमा विश्वको यो महाविपत्ति बाट बच्न थुप्रै कठिन चुनौतीहरू हाम्रा सामु छन् । जस्तो, नेपाल भारत खुला सिमाना हुनु, सरकारको आदेश पूर्ण रूपमा नागरिकले पालना नगर्नु, परीक्षणका लागी पूर्व तयारी वा पर्याप्त रूपमा आवश्यक औजार वा उपकरणको अभाव हुनु, परीक्षणको घुम्ती दायरालाई व्यापक बनाउन नसक्नु, स्वास्थ्य क्षेत्रको आवश्यक दक्ष जनशक्तिm नहुनु, राष्ट्रिय सहमति नभई एकले अर्कोलाई आरोप र प्रत्यारोप लगाइरहनु जस्ता यी समस्याले गर्दा विश्व महामारी बाट हामीले चुकाउनु परेको मूल्यको मुल्याकंन गरी यसका थप विकल्प बारे हामीले बुझ्न जरुरी छ र यसबाट बच्ने उत्तम विकल्पको खोजी गर्नु झनै महत्त्वको विषय हुन आउँछ । कुनै पनि प्रकोप वा महामारीको क्षतिलाई वास्तविक रूपमा आकलन गर्न धेरै कठिन कार्य हो । किनकि नेपाल आफैमा एउटा गरिब राष्ट्र । त्यसैले यति वेला कोरोना विरुद्धको यो लडाइमा सिङ्गो मानव जाति एक हुन आवश्यक देखिन्छ । यो कुनै व्यक्ति, समुदाय, जाति र भूगोल विशेष नभई यसले सिङ्गो मानव सभ्यतालाई नै सङ्कटमा पारेको छ ।

अन्त्यमा, उल्लेखित मानवीय क्षतिको तथ्याकंले के देखाउँछ भने यति वेला विश्व सङ्कटमा छ भने नेपाल समस्यामा छ । विश्वका अधिकांश देशमा मान्छेहरू घरभित्रै छन् । अत्यावश्यक काममा मात्रै सीमित छन् । कोरोना भाइरस नफैलियोस् भन्ने चाहन्छन् । लकडाउनको पूर्ण पालना गरिरहेका छन् । त्यसैले, लकडाउन रहर होइन बाध्यता हो, चाहाना हैन कठोर आवश्यकता हो । यदि यो विषम परिस्थितिलाई हामी आम देशवासी नागरिकहरूले समयमै ध्यान दिन सकेनौ भने विश्व स्वास्थ्य सङ्गठनले भनेझैँ हामी सारा नागरिकको लास बोरामा भर्न तयार हुनुपर्ने स्थिति नआउला भन्न सकिन्न । थुप्रै देशहरूमा यो भई पनि राखेको छ , जहाँ पहिले नै डोजरले लासको लागी खाडल बनाउँदै गरेको तस्बिर र भिडियोहरु प्रस्ट नै छन् । कहिलेकाहीँ भन्ने गरिन्छ, धैर्यता नै विजयको अन्तिम हतियार हो । आशा गरौँ लकडाउनको धैर्यताले नै कोरोनाको विजय हुनेछ । कोरोना विरुद्ध आत्मबल र आत्मविश्वास जगाऊ ! सुरक्षा र सावधानी अपनाऊ !! सबैले इमानदारी पूर्वक पालना गरौँ !!! र खतराको घण्टी बाट आफू बाचौँ र अरूलाई पनि बचाउनमा मदत गरौँ !!!

बाजुरा त्रिवेणी–९

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments