सम्झनामा असार

मङ्लबार, असार २, २०७७

loading...

- यमुना थापा



जब जब असारको महिना सुरु हुन्छ।पानीका साना थोपाहरू झरीमा बदलिन्छन्। अनि झरी मुसलधारे वर्षामा। त्यसपछि सुरु हुन्छ । हामी सबैलाई मन पर्ने याम वर्षातको याम।किन किन यो यामसँगै म मा असारको चमक छाउन थाल्छ। असारको महिनाले मुहारमा छाउने आभासको जस्तो चमक अरू कहाँ पाउन सकिला र खाेइ ? वर्षौँ अघि रोपाइँको दिनमा हुने त्यो लोभलाग्दो चहलपहल यी दिनहरूमा कहाँ पाइन्छन् र ? अझ मुसलधारे वर्षाको चक्र सुरु भएपछि त, यी दिनको रुमानी सम्झना थामी नसक्नु हुन्छ।अनि म आफूलाई जगजित सिंहको हिन्दु उर्दू गजल वह कागज की कश्ती वह वारिस का पानी तिर आफूलाई अव्यस्त बनाउन थाल्छु।

ओहो ! रातभरको त्यो घनघोर वर्षापछि सुरु हुने रोपाइँको त्यो चहलपहल।बाँझो खेत खनेर धान रोप्न ठिक्क पारिएका खेतका गह्राहरु। पर्म लाउने र तिर्नेको त्यो चर्का चर्की रोपार र बाउसेको चटारो। नारिएका दुई चार हल गोरुहरू। रोप्ने ठाउँ तयार नहुँदै दिनभरलाई पुग्ने बीउ उखेली सक्ने हतारमा रहेका ब्याडेहरुको खैलाबैला। बिहानै खेतालालाई चिया खाजाको व्यवस्थापनमा भान्सा कोठा भित्र चिसा दाउरा झोसिरहेकी आमा। सारा खेतको जिम्मामा गोरु र हलोको पछि दौडिरहेका बाबा।कसलाई नै फुर्सद हुनुन्थ्यो र त्यति बेला ।

हामी केटाकेटीलाई त फुर्सद हुन्थ्यो। पानी पर्न सुरु गरेपछि असार १ देखि नै स्कुलको वर्खे बिदा सुरु हुन्थ्यो । अनि हामी पनि ठुलाको सिको गर्दै गह्राको वल्लो छेउबाटै रोपाई सुरु गर्थ्यौ ।  हाम्रा पनि आफ्नै रोपार बाउसे हुन्थे। धमिलो पानीमा भेल पसेर बौलाएको कुलोमा डुबुल्की मार्दाको मज्जा उफ् कहाँ बयान गर्न सकिन्छ र ती शब्दहरूमा । जब जब असारको महिना आउँछ म यसै गरी गाउँमा बितिएका असारे स्मृति चित्रहरूको भेलमा हेलिन पुग्छु।

वर्षाताको पानीमा रुझ्दा, वर्षातको पानीलाई हातमा राखी अन्जुलीमा भरेर आफूले मागेको सारा कुरा आकाशसम्म पुग्छन् र सारा संसारले सुन्छ । भगवानले पनि सुन्छन् । र सारा इच्छा चाहाना पूरा हुन्छन् भन्ने विश्वासका साथ आफ्ना सारा कुरा एकै सास भनिन्थ्यो र आकाशमा पुगेको अनि भगवानले सुनेकोमा गमक्क परिन्थ्यो। यो असारको महिना, यो झरी, यो वर्षातले फेरि तिनै दिनलाई आज ताजा बनाएर अगाडि ल्याएको छ। साँच्चै जब जब विगतका सुन्दर दिनहरू फेरि एक पटक आफ्नो अगाडि आउँछन् त्यो पलहरूलाई बाँच्न मन लाग्ने रहेछ।यादहरूलाई फेरि समेट्न मन लाग्ने रहेछ अङ्गालो भरेर ।

मलाई अझै याद छ रोप्न नजान्ने म आमासँग रोपाइँ जानलाई कति जिद्दी गर्थे।आमा घरबाट निस्केपछि आमासँग लुक्दै लुक्दै उहाँको पछिपछि खेतसम्मै पुग्थे।त्यो हिलाम्मे खेतमा आकाशबाट वर्षेको झरी तलदेखि माथिसम्म वल्लो खेत देखि पल्लो खेतसम्म हरियो बीउ छ्याप छ्याप गर्दै हिँडिरहेका रोपारा बाउसेहरू । यस्तो लाग्छ त्यही दृश्य होला संसारको सुन्दर दृश्य जसलाई देख्न पाउँदा आँखाले पनि गर्वको गर्छन् ।

कृषिप्रधान देशमा जन्मिएका हामी माटोको सुगन्धले हामीलाई यसै यसै आफूतिर तान्छ।  माटोसँग मन लागुन्जेल खेल्न पाउँदा हामीमा खुसीको नौलो रूप देखिन्छ।रोपाराले गाउने त्यो मागलका भाका, देउडा गितहरू आहा ! सुन्दा पनि कति आनन्द आउँथ्यो।मानो रोपेर मुरी भित्राउने सपना मान्छेका आँखाहरूमा सहजै नजर आउँछन् यो समयमा।

आज पनि झरीको सुगन्धले मलाई आफूतिर खिचिहाल्छ। झरी पर्दा  मलाई  मेरै खेत तिर बोलाइरहेको भान हुन्छ। राजधानीको सानो कोठाको झ्याल बाट उडेर मेरो मन कयौँ पटक मेरो त्यो हिलाम्मे खेतमा पुगेको छ। हिलोमा लतपतिएर एक हातमा धानको बीउ राखेर र अर्को हातले धान रोपेको छ धान रोप्दै गर्दा वल्लो पल्लो घरका काकीहरूले जिस्काएको अनि गाला रातो भएको अहिले जस्तै लाग्छ। अनि म अनायासै आफ्नै गाला छाम्न पुग्छु।

राजधानी लकडाउनले थलिएको छ।उता गाउँका खेतहरू वर्षाको झरीले उत्पात खुसी भइरहेका होलान्।मान्छेका ओठहरूमा मुस्कान छाएको होला।दिनहरू साँच्चै साह्रै छिट्टै बित्छन्।आमासँग जिद्दी गरेको हिजो जस्तो लाग्छ।  पानीको कुलोमा डुबुल्की मारेको हिजो जस्तो लाग्छ तर आज तिनै दिन सम्झेर म ती दिनलाई बाच्न खोज्दै छु।

घर छोडेसँगै धेरै धेरै कुरा छुट्दै जाने रहेछन्।अनि जिन्दगीले महसुस गराइदिने रहेछ । पाएको कुरा भन्दा कयौँ महत्त्वपूर्ण हुन्छन् छुटेका कुरा !  जसलाई फेरि कहिल्यै चाहेर पनि पाउन सकिँदैन।अनि रहरहरू रहरमा नै सीमित भइजान्छन् भनेर। यादहरूको कस्तीमा आज पनि हिलाम्मे खेत उसै गरी मुस्कुराइ रहेको छ।रोपार र बाउसेहरूको उत्साह उस्तै छ।उमङ्ग उस्तै छ। हिलोले रङ्गिएका गुन्यु चोली सुन्दर छन्।हरियो धानको बिउले सजिएका हात जो बिछट्टै सुन्दर लाग्थे ती सब उस्तै छन्।हिलो खेल्ने साथी उस्तै छन्।

कहिलेकाहीँ राजधानीले कति कुरा दियो भन्दा पनि कति कुरा लुट्यो त्यो हिसाबकिताब गर्न मन लाग्छ।कति सुन्दर यादलाई कुरूप बनाइ दियो त्यतातिर मन जान्छ।भन्छन् “बितेका कुरा धेरै याद गर्‍यो भने यसले खुसी भन्दा बढी पीडा दिन्छ रे” त्यसैले ती याद देखि मुख मोड्नै पर्छ र बर्तमानसँग सम्झौता गर्नै पर्छ। मान्छे बाच्ने भनेकै वर्तमानमा त हो नि विगत र भविष्य त कहाँ मान्छेका हातमा छन् र ।

होला राजधानीले दिएको ठुला ठुला कुरा तर ती यादमा बसेका दिनले यी ठुला कुराको यादले डेरा जमाएर राखेका छ। जुन चाहेर पनि बदल्न सकिँदैन । न बिर्सिन नै सकिन्छन्।यादहरू नै यस्ता कुरा हुन जो सम्झना र बिर्सन दुबैका सुन्दर हिस्सेदार हुन्छन्।भन्ने हो भने मान्छेलाई उसका यादले जिउँदो राखेको हुन्छ।दुखले बाँच्न सिकाएको हुन्छ।

हिजो देखि राजधानीको आकाश वर्षीरहेको छ । अनि मन आफैलाई पत्तो नदिई उकालिएको खेततिर भागिसकेको छ।त्यही उत्साहका साथ त्यही उमङ्गका साथ गुनगुनाउँदै…
“छुपूँ र छुपूँ हिलोमा धान रोपेरै छोडौँला
बनाई कुलो लगाई पानी आएर गोडौला”… उहि बालापान अनि मातृभूमीकाे वर्षे झरी सँगैका ती दिनहरू ताजा बनिदिन्छन । एक पटक कल्पनामै भए पनि ती दिन तर्फ उन्मुख हुँदा लाग्छ । याे संसारमा सबै भन्दा खुसी त्यहि पवित्र मातृभूमीमा छ । अनि मेहनत र पसीनाकाे मुल्य त्यहि माटाेमा छ । मानाे खाएर मुरी अार्जेन बेलामा त्यहि यादहरू खिल बनिदिन्छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments