प्लीज ! फोटो देखाएर मलाई नफसाउ

बुधबार, फाल्गुन ४, २०७३

loading...

- – मुरारी ढुंगेल



- – मुरारी ढुंगेल

ती विकसित देशका कृतिम ठुल-ठुला भवनको अगाडि खिचिएका सुन्दर तस्विरले धेरैलाई नलोभ्याएको कहाँ होला र ? विकासमा नरमाउने को होला ? हाम्रो अपेक्षा अनुसार देश विकास हुन सकेन ।


हाम्रो देशको गाउँ–सहर आज युवा बिहिन अवस्थामा पुग्न लागेको छ भन्दा पनि अतिश्योक्ती नहोला । युवाहरूको बिदेश पलायनले गाउँ नै रित्तो हुँदै जादै छ । पत्र–पत्रिकामा मलामी जाने लोग्ने मानिसको अभाव शिर्षकले प्राथमिकता पाउनुले यसको पुष्टि गर्दछ । दिनहुँजसो अन्तराष्ट्रिय विमानस्थलको प्रवेशद्वार आउने भन्दा बिदेश जाने यात्रुले खचा खच हुन्छ । यसरी नै हाम्रो देशका युवामा बिदेशी आकर्षक बढ्दै जाने हो भने एक दिन हाम्रो समाज युवा बिहिन अवस्थामा पुग्न सक्छ ।

प्रायः आजकालका युवाहरु बिदेशी मोहमा आकर्षीत देखिन्छन् । के गर्दै छौ आज भोलि ? भनेर सोध्ने हो भने उत्तर लगभग एउटै पाइन्छ । ‘अब्रोड् स्टडिको तयारीमा छु वा फलानो देश जाने तरखरमा छु ।’ जेनतेन पल्स्टु वा ब्याच्लर सिध्यायो अनि पढ्न भन्दै विदेश तिर लाग्यो । गाउँ घर, सहर बजार जहाँ सुकैका युवाको बर्तमानको उदेश्यनै स्टडि भिजामा विदेश जाने र विकसित सहरमा श्रम गरि पैसा कमाउने महत्वकांक्षा देखिन्छ । अलि -अलि पढे लेखेकाहरु स्टडी भिजामा बिदेश जाने, पढ्न नसक्ने अथवा नपाएका वा आर्थिक हिसाबले खर्च जुटाउन नसक्ने लेवर भिजामा खाडी मुलुक नै भएपनि गएकै छन् । प्रशासन कार्यालय अगाडिको पासपोर्ट बनाउनेको लर्कोले यसको पुष्टि गर्छ । सरकारले राजस्व मात्र होइन रेमिट्यान्स पनि राम्रै संकलन गरेको छ । के यसैमा सन्तुष्ट हुनेकि सावधान तिर पहल गर्ने ? सम्बन्धित निकाय मौन देखिन्छ ।

बिदेशी भुमिमा काम र जागीर जे जस्तो होस्, हप्ता वा महिनाको एक दिन युवाले छुट्टीको सदुपयोग राम्रै संग गरेको देखिन्छ । त्यो हो आलिसान भवनको अघिल्तिरको फोटो सुट । लाग्दछ बिदेशमा सुखै सुख छ । त्यो फोटोले त्यस्तै प्रतिबिम्बित गर्छ ।अरु बेला जे जस्तो काम वा जागिर किन नहोस । जतिसुकै दुखकष्ट किन नहोस् । १६ घन्टा डिउटी खट्नु किन नपरोस् । तर पनि एउटा राम्रो फोटो खिचेर फेस बूकमा राख्नै पर्ने, शेयर गर्नै पर्ने आदत प्राय सबै नेपाली युवामा छ । भलै हुनु पनि पर्छ । घरमा बृद्धा अबस्थाका बाबु आमा र जवान श्रीमती त्यही फोटोको प्रतीक्षामा बसिरहेका हुन्छन् । बाबु बिदेसिँदा आमाको गर्भमा रहेको बच्चालाई जन्मे पश्चात् बाबु चिनाउन सजिलो पनि त्यही फोटोले बनाएको होला ।

हुन त हो नि रहरले को बिदेश गएको होला र ? देश भित्रको दर्दनाक अवस्था, गरिवीको पराकाष्ठा, कोहि ऋणको भारी थाम्न नसकी कोहि आर्थिक अवस्थाको दयनीय पीडा खेप्दै, जति गरेनी जीवन जिउन धौ धौ भएर लालाबालाको पेट पाल्न बिदेशीएका छन् । महँगिले आकास छोएको छ । मजबुरीले बिदेशीनुको भन्दा रहरै रहरमा बिदेश गएकाहरुको कथा अलि बेग्लै हुन्छ । चाहना अलि फरक हुन्छ । तर तपाईंहरुको वाध्यता जस्तै हालसम्म पनि देशमै बसेका हामीले पनि बिदेशीनु पर्ने बाध्यता ती अपलोड भएका फोटोहरुले नगरोस् कामना यहि गर्दछौं । बिदेशमा भएका युवाको कारण स्वदेशमै रहेका युवामा बिचलन आउनु पक्कै पनि राम्रो होइन ।

प्रिय परदेशी मित्रहरू, त्यो ठुलो आलिसान भवन अघिको वा समुन्द्र र तलाउमा सुइमिङ गर्दै गरेको मात्र होइन, छोटाछोटा लुगा पहिरिएका अर्धनग्न फोटो मात्र पनि होइन कहिलेकाही त काम गर्दै गरेको कार्यालयको फोटो पनि अपलोड गरिदिए आभारी हुने थियौ । परदेशको मिठो मसिनो र स्पाइसि खानाले पुक्क फुलेका गाला मात्र होइन, अफिसमा इँटा बोक्दै गरेको वा भाँडावर्तन माझ्दै गरेको फोटो पनि अपलोड गरिदिए हामीले श्रीमतीको दिनहुुँको कचकच र गनगनबाट छुटकारा पाउँ थियौ ।

बिदेशी काल्पनिक सुन्दर संसारको प्रलोभनमा बिदेश जान्छु भन्ने लोग्नेको घुक्याँइमा कमी आउथ्यो होला भन्ने स्वदेशमै रहेका युवाको अपेक्षा छ । हुन त हो काम ठुलो सानो हुन्न तर पनि कहिलेकाही यथार्थ पोखिने, त्यहाँ धेरै पैसा कमाउन गर्नु पर्ने काम सहितको फोटो पनि अपलोड गरिदिनु भए राम्रो हुन्थ्यो । रहर गर्ने हामीलाइ फाइदा मिल्थ्यो ।

हामीलाई विदेशको विकासले आकर्षक गरेन । गगनचुम्बी महलले लोभ्याएन । त्यहाँको तारे होटेलको डाइनिङ टेबुलमा सजिएको चौबीस ब्यञ्जनले जिब्रो रसाएन हामी त यहाँ दस नङ्ग्रा खियाएर जम्मा गरेको शिलो अन्नमै रमाउदै छौ । त्यही जिलो गरेको अन्न खाइ जीवन धान्दै छौ । देशमै बसि आफुले जाने–सकेको सीपले देशमै केही गरौं भन्ने हाम्रो चाहानामा ती फोटो सुटले कहिलेकाहीं समस्या खडा गरिदिन्छ । बृद्धाअबस्थाका बाबुआमालाई छोडेर पलायन हुन नचाहने इच्छामा भुइँचालो ल्याइदिन्छ,मन पनि धर्मराउछ पुग्छ ।

ती विकसित देशका कृतिम ठुल ठुला भवनको अगाडि खिचिएका सुन्दर तस्विरले धेरैलाई नलोभ्याएको कहाँ होला र ? विकासमा नरमाउने को होला ? हाम्रो अपेक्षा अनुसार देश विकास हुन सकेन । यो सबै कुराको अपजश सरकारलाई थुपारेर तपाईंहरु जस्तै हामी पनि पलायन भयौं भने यहाँ खवरदारी कसले गर्ने ? देशको रक्षा कसले गर्ने ? हामी त यहाँ देशको साँध सीमानाको पहरेदारीमा चौकिदारी गरिरहेका छाँै । समग्र विकासको पुर्वधार मानिने शिक्षा, तपाईको नानी बाबुलाइ कसले पढाउने ? बृद्ध बुवा–आमाको औषधी उपचार कसले गरिदिने ? हामीहरुको अझै खाँचो छ देशलाई कृपया फोटो देखाइ नलोभ्याउनुस् ।

देशमै बसेर स्वदेशमा रहेका मनहरुलाइ सक्नु हुन्छ, प्रोत्साहित गरिदिनुस् । सक्नु हुन्न, ठेस पनि नपुर्याउनुस् । हामी आफ्नै देशको माटोमा रमाउँदै छौ । आफ्नै घरको करेसावारीमा नङ्रग्रा खियाउदै बितिरहेका छन् हाम्रा दैनिकीहरु । खल्ती खाली भएपनि हामीलाई बाबु आमाकै प्यारो काखले छोडेन, यसैमा लूटपुटी रहेका छौ । यहि ममता प्यारो छ हामीलाई । त्यो पनि थाहा छ, हामी आधा पेट खाएर रात काटी रहेका छौ, त्यहाँ तपाईहरु तारे होटलमा सुतेर मिठो सपना देख्दै हुनुहुन्छ होला । तर हामीलाई यहीँ पराले सीरानी प्यारो छ त यसमा हाम्रो के दोष ? यदी सक्नु हुन्छ स्वदेशमै फर्कनुहोस । हामी सबै मिलेर देशको विकास गर्न सके मात्र देश विकासको गतिमा अघी बढ्ला । अन्यथा विदेशीको विकासमा लोभिदै चुक्चुकाउनु शिवाय अरु के नै होला र ?

1148 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Nic Asia
dashain suvakamana
Asia Pacific Trade Concern Janamat health right side janta bank saral flyer Below blog adv