सस्कृति र मानिस बीचको सम्बन्ध

बिहिबार, कार्तिक २५, २०७३

loading...
मानिसका दैनिक जीवन निर्वाहका चालचलन, रीतिरिवाज आ–आफनै जातीय, धार्मिक, वर्गीय एवम् वातावरणीय हिसाबले निर्धारण भएका हुन्छन् । एक खालको क्रियाकलाप कुनै एक समाजमा वर्जित हुनसक्छ भने अर्को समाजमा त्यही क्रियाकलाप सर्वस्वीकार्य पनि हुनसक्छ ।
संस्कृति प्राकृतिक वातावरणको प्रभावको कारण विशिष्ट रूपमा उत्पन्न हुने प्रक्रिया हो । यसको उत्पत्ति र विकासको प्रक्रियामा हाम्रो समाजमा आएका र आउने परिवर्तनहरुले प्रत्यक्ष एवं परोक्ष प्रभाव पारेको हुन्छ ।
संस्कृति आफैँमा स्वतन्त्र अस्तित्वको सामाजिक यथार्थ हुनसक्दैन । यो आफैँमा न शक्तिशाली हुन्छ, न त परिवर्तनशील नै । यो त प्राकृतिक वातावरणसँग आश्रित भई प्राकृतिक वातावरणले निर्धारण गर्ने समाजमा विकसित हुने सामाजिक यथार्थता हो । प्रत्यक्ष रूपमा संस्कृतिले मानिसको व्यक्तित्व निर्माणमा सघाउ पुर्याउँछ भने अर्कोतिर यसले मानव व्यक्तित्वसहितको संस्कृतिको निर्माण, परिवर्तन र विकासमा पनि प्रत्यक्ष प्रभाव पार्दछ ।
संस्कृति र मानव व्यक्तित्व एकअर्काको एकल अस्तित्व र प्रभावभन्दा पनि पारस्परिक अस्तित्वको रुपमा निर्माण भएका हुन्छन् । मानिसले प्रकृतिलाई आफ्नो अनुकूल बनाउन सक्दैन । बरु ऊ आफैं प्रकृतिअनुरुपको चालचलन बानी व्यवहारको अनुशरण गरी संस्कृतिको विकास गर्दछ । हिजोको जंगली युगीन संस्कृतिदेखि आजको आधुनिक युगको समाजभित्रको संस्कृतिका आफ्ना आफ्नै विशेषता भए पनि मानव र संस्कृति एक अर्काका परिपूरक हुन् । आधुनिक समाज र संस्कृतिको विकास पनि यस्तै र यसै सिलसिलाको क्रमिक रुप हो ।
जो आज आफ्नो आफ्नो सांस्कृतिक सम्पत्ति बनेर समाजभित्र बाँचिरहेका छ्न । समाज विकासको पहिलो खुड्किलो भनेकै संस्कृतिको विकास हो । समाजमा बस्ने मानिसको चालचलन, खानपान उसले मान्दै आएको धर्म र संस्कृतिले उसको जीवनस्तरको मापन गर्छ, जो वातावरणीय प्रभावको कारण संस्कृति बनेको हुन्छ । मानव विकासको चरणमा उसले अंगीकार गर्ने सांस्कृतिक प्रभावले त्यो समाजमा बसोबास गर्ने मानिसको सामाजिक विकास निर्धारण हुन्छ ।
संस्कृतिलाई कुन सम्प्रदायको राम्रो कुन सम्प्रदायको नराम्रो भनी छुट्ट्याइनु बुद्धिमानी मान्न सकिन्न । आफ्नो संस्कृति अरुको भन्दा राम्रो तथा उत्कृष्ट छ भनी जाँच्ने कुनै इकाइ छैन ।
नेपाली समाजमा यस्ता उदाहरण धेरै देख्न सकिन्छ । एकथरि समाज विश्लेषकहरु संस्कृतिलाई धर्मले मार्ग निर्देशन गर्छ भन्न रुचाउँछन् भने अर्काथरि विश्लेषकहरु हावापानी र वातावरणलाई बढी महत्व दिने गर्छन् । समाज विकासलाई संस्कृतिसँग जोडिने गरिन्छ । अत्याधुनिक विज्ञानको विकासलाई हिजोदेखि त्यसभित्रको समाजले अवलम्बन गर्दै आएको संस्कृतिको उपलब्धि मानिन्छ ।
अविकसित तथा विकासोन्मुख मुलुकहरुको समाजलाई नियाल्ने हो भने त्यो समाजका संस्कृति तथा परम्पराको नाउँमा देखिने गरेका कुरीतिको वर्चस्वले गर्दा समाज विकास पछि परेको पाइन्छ । संस्कृतिभित्रको रुढीवादी परम्परा, कुरीति अन्धविश्वासले समाजलाई गतिहीन, कार्यहीन तथा उपलब्धिविहीन बनाउनुका साथै समाजलाई अन्य प्रतिस्पर्धी सम्प्रदायबाट उपेक्षित बनाउँछ । समाज विकासको मेरुदण्ड भनेकै त्यहाँ बसोबास गर्ने मानिसले अंगीकार गर्ने संस्कृतिको विकास हो ।
संस्कृतिले स्थानीय मानिसले आफ्ना पूर्वजदेखि अंगीकार गर्दै आएको भाषा, धर्म र रीतिरिवाजसँग सम्बन्ध राख्दछ । आफ्नो संस्कृतिप्रतिको माया तथा आदर सम्मान हरेक व्यक्तिबाट हुनु कुनै नौलो कुरा होइन । राज्यबाट पनि यसको सम्मान हुनुपर्दछ । सम्प्रदाय तथा स्थानीय समुदायको उच्च सम्मानमा राज्य पक्ष चुक्नुहुँदैन । वर्गीय र क्षेत्रीय रुपमा त्यहाँका बासिन्दाले उठाएका कतिपय आवाजहरुलाई राज्यले बेवास्ता गर्नु भूल हुनसक्छ । राज्यबाट त्यहाँ अवस्थित समाजको आवश्यकतालाई ख्याल राखी नीतिनियम निर्माण गरिनुपर्छ ।
सांस्कृतिक मूल्य मान्यतालाई मुख्य प्राथमिकता दिनु अनिवार्य हुन्छ । स्थानीय परम्परा तथा संस्कृतिलाई बेवास्ता गरी थालिएका जतिसुकै लोकप्रिय तथा महत्वाकांक्षी योजना भए पनि सफल हुनसक्दैन । राज्यले योजना तर्जुमा गर्दा योजनामा परेको भूगोलभित्रको सामाजिक तथा सांस्कृतिक अवस्थाको हेक्का राखिनुपर्दछ । अन्यथा बालुवामा पानी खन्याएझैँ बजेट निष्प्रभावी हुनजान्छ ।
502 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank