एक्लो रुख एक्लो थिएन !

बुधबार, कार्तिक २०, २०७६

loading...

- राजु झल्लु प्रसाद



- राजु झल्लु प्रसाद

भन्न सकिन्छ- एक्लो हुनु सृजनशील हुनु हो, रचनात्मक हुनु हो ।

भनिरहेकै छौँ – एक्लो हुनु भनेको तपस्वी हुनु हो, ईश्वरको नजिक पुग्नु हो ।

स्विकार्दछु- धमिलो तलाउ एक्लिएर नै सङ्लिएको हो, नौलाख ताराबिच पनि एक्लिएकला चन्द्रमा प्रकाशमान देख्ने गर्छु ।

मानिरहेकै छु- एक्लै जन्मिएको हुँ, एक्लै मर्नुपर्छ ।

एकै त गन्ती हो सबै चीजको ! मेरो गन्ती पनि एक नै हो ! यो आकाशको गन्ती, यो पृथ्वीको गन्ती, यो पहाडको गन्ती…

एक-एक गरेरै दुई पाइला चाल्ने हो । एक-एक आँखा उघारेर एउटा सिङ्गो संसार देख्ने हो । एक-एक कान खोलेर एक-एक अक्षर, एक-एक शब्द, एक-एक वाक्य सुन्ने गर्छु ।

एक-एक दाना गरेर एक घान मकै बुत्ताउ कि एक-एक गाँस गरेर एक कसौँडी भात रित्ताऊ । एउटा भुँडी नै भर्ने हो ।

अझ यसो पनि त हो- करौडौं शुक्रकीटसँग प्रतिस्पर्धा गरेर एक्लै आई यो चैतन्य चोला धारणा गरेको हुँ ! यो चैतन्य चोला एउटा चिहानको चिर्पट माथि च्यात्नु पनि छँदै छ । गर्भभित्र पनि एक्लै थिए, चिहानमा पनि एक्लै हुन्छु ।

हृदय इनारमा डुब्दा,
आँखाको आँगनवरिपरी दौडिरहँदा,
सुदूर अतीतको पाखापखेरीहरूमा कुदिहिड्दा,
विगतका गोरेटाहरूमा लड्खडाउँदै गर्दा,
हिजोका सम्झनाहरूमा भौतारिरहँदा,
अनि आफैँलाई खोज्दा र फेरी आफैँलाई पाउँदा को पो साथमा हुन्छन् र ?

तिर्सनाहरूमा अल्झिदा,
विर्सनाहरूले बल्झाउँदा,
कल्पनातीत जगतमा रमाउँदा,
सपनाहरूसँग बाच्दा,
कसको पो अँगालो, सहायता वा प्रेम चाहिन्छ ?

दिलको धक धक महसुस गरिरहँदा,
श्वासको आरोह अवरोह सुनिरहँदा,
परेला चिम चिम गरेर रमाइरहँदा,
हातको रौँ हरू नियालिरहँदा, कता पो भिड थियो र ?

ढुंगेधारामा गई ढुङ्गामा खुट्टा घोट्दै पैताला चम्काउँदा,
बाथरुम छिरेर दाँत टल्काउँदै ऐना हेर्दा,
कपाल जुल्फी पार्दै सर्टको कल्दर मिलाउँदा,
आफ्ना हत्केला नियाल्दै हस्तरेखाहरूको गतिशीलता नापीरहँदा,
…ओह,,म आफूसँग हुँदा कति सुन्दर कुराहरू गर्छु ।

बिर्सन सकिन्छ र ?
गहुँ बारीमै एक्लै हुँदा डाँडा मुन्तिर ओर्लँदै गरेको घामलाई एक दानो गहुँ मानेको !
बिहानी पखको सुनौलो घामको कोमल औँलाहरू समाएर कुटमिरोको रुखमा चढेर हावासँग दोहोरी गएको !
पौवा बनको बाटो हिँड्दै गर्दा ‘सानो-सानो ताउलीमा दुई कुड्की भात,
बाहिरपट्टि बाक्ला काँडा घोच्ला तिम्रो हात, क्या हो ?’ भन्दै आफैँले गोरेटो छेउ झरेको कटुस फुटाएर ‘कुटुक्क कटुस’ भनेको ।

आफूसँग होइरह्नु भनेको एक्लो हुनु हो ? हुनुपर्छ ।
म एक्लो हुँदा आकाश बन्छु । जुनतारा बन्छु । इन्द्रेणी बन्छु । मेघ बन्छु । चट्याङ बन्छु । बादल बन्छु । वर्षा बन्छु । घाम बन्छु । क्षितिज बन्छु ।

मान्छे आफैसँग हुँदा कुवा बन्छ, इनार बन्छ, खोल्सा बन्छ, खोला बन्छ, किनार बन्छ, चट्टान बन्छ, सुनामी बन्छ । समुन्द्र बन्छ । मरुभूमि पनि बन्छ ।
आफैनेर हुँदा, आफैकहाँ हुँदा, आफै हुँदा मानिस प्रकृति बन्छ, ब्रह्माण्ड बन्छ, पूर्ण हुन्छ । आफैमा पुरा हुन्छ । जबजब मानिस आफूसँग हुन्छ- आफ्नै घर बनाउँछ । आफ्नै बाटो खन्छ । आफ्नै निद्रामा आफ्नै सपना देख्छ ।

यार.. एक्लोपनाको सङ्गीत !

.. एक्लोपनाको सुवास !
.. एक्लोपनाको मृदुलित झङ्कार !
.. एक्लोपनाको आह्व्लादकारी मुर्छना !
.. एक्लोपनाको कम्पन !
.. एक्लोपनाको स्वाभिमानता !
.. एक्लोपनाको सुन्दरता !

लोभमा फस्दा, वासनामा आकर्षित हुँदा पो मानिस एक्लो हुन् सक्दैन ? रिस, डाह, ईर्ष्या, मोहमा नै हो भिड हुने । भिडको स्वभाव सत्य भन्दा निकै पर छ !

फेरी पनि, एक्लो हुँदा ‘को त ? को म ?’ एक्लो हुँदा ‘को आफ्नो ? को पराइ ?’ एक्लो हुँदा ‘को नीच, को उँचो ?’
एक्लो हुनु एकात्मकता होइन ? एक्लो हुनु स्वतन्त्रता होइन ? एक्लो हुनु सत्यता होइन ?

यस ठाउँको नाम एलोन ट्री हुनु र मलाई एक्लोपन निको लाग्नु – र मैले यो सब सोचिबस्नु । कति आनन्दमयी छ । आनन्ददायी छ ।

तुवाँलै तुवाँलोको
चिसो सिरक ओढेर
शहरदेखि अलि माथि
एक्लो..एक्लो…
एक्लै..एक्लै..
उभिएको यो एक्लो रुख (एलोन ट्री)
अनि यहाँ आइपुगेर
एक मुस्लो तातो श्वास ओकलेका
म जस्तै म वरिपरिका
यी तमाम तमाम मर्निङ वाकरहरू
के साँच्चै खुसी छैनन् त ?
एक्लै एक्लै छैनन् त ?

म आफ्नो प्रश्नसँग एक्लिरहन्छु..एक्लिरहन्छु !।

– एलोन ट्री (नागार्जुन)

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata