मुलुकका युवा जाग्ने कहिले ?

बुधबार, भदौ १८, २०७६



- यमराज उपाध्याय तिमिल्सेना

शान्ति प्रक्रिया शुरु भएदेखि वर्तमान अवस्थासम्म नेताहरूको आचरण र समकालीन राजनीतिक, चारित्रिक विकृति देख्दा समाजवादका नारा लिएर सत्ता सम्हाल्न पुगेका राजनीतिक दलहरूप्रति जताततै असन्तुष्टिका स्वरहरू बढ्दै गइरहेका छन् । कुनै दलहरू प्रति विश्वास गर्न सकिने वातावरण सिर्जना भएको छैन । सूक्ष्म रूपमा केलाएर हेर्ने हो भने जब राज्य सङ्कटमा फस्छ, त्यसबाट निकास निकाल्नको लागि विशेष गरी प्रजातान्त्रिक अभ्यास भएका मुलुकहरूमा बौद्धिक क्षमता भएका र साझा व्यक्तित्वहरूको सहयोग लिने गरिन्छ । तिनले राज्यलाई सङ्कटबाट उकास्ने कार्य गर्दछन् । धर्मगुरु, ख्याति प्राप्त प्रोफेसरहरू, वकिल, लेखक र विभिन्न कलाकारहरू अनि उच्च तहका सैनिक अधिकृत आदि हुन्छन् । यस्तो अवस्था हाम्रो देशमा नआओस् भन्ने कामना छ ।

वर्तमान विकृति र विसङ्गतिको जिम्मेवार नेता नभएर हामी नागरिक नै हौँ । नेताहरूले गणतन्त्रका लागि जीवन नै समर्पित गर्‍यौँ भन्दैमा उनीहरूका हरेक निर्णय चुपचाप सहिदिनु पर्ने हो भने बेग्लै कुरा हो । होइन भने नागरिक स्वयम् जिम्मेवार हुनुपर्छ किनभने स्वयम् हामी नै दण्डित हुँदैछौँ । असल ठानिएका आम जनताका पीडा र व्यथासँग साक्षात्कार भएका नेतृत्व आफै शासकको चरित्रमा देखा पर्न थाले परिणाम दिन सक्दैन। फेरि पनि असल नागरिकको तर्फबाट असल नेतृत्व चयन गरेनौँ भने भोग्नु पर्ने दूषित वातावरण नै हो । झुटा आश्वासन, गैरजिम्मेवार आपराधिक पृष्ठभूमि, गफाडी, भ्रष्टहरूको “मनि र मसला” मा प्रभावित नभई मिसन, भिजन र प्रतिबद्धतालाई विश्वास गर्ने नेतृत्वको खोजी गर्नुपर्छ । जब सम्म राष्ट्रप्रति जिम्मेवारी बोध गर्ने, कर्तव्यपरायण पार्टी र आफूभन्दा माथि राष्ट्र राख्ने नेतृत्व देशले पाउँदैन तब सम्म अदूरदर्शी र सिद्धान्त विहीन नेतृत्वले राज गरिरहनेछन् । आज देशको आवश्यकता भनेको विचार भएको नेतृत्व खोज्ने र सचेत नागरिक निर्माण गर्ने हो ।

सङ्घीय लोकतान्त्रिक देश बन्दैमा मात्र सबै कुरा लोकतान्त्रिक पद्धतिका हुँदैनन् । नेतृत्व लोकतान्त्रिक चरित्रको भयो भने मात्रै जनतातर्फ फर्केर निर्णय गर्दछ र जनतालाई शक्तिशाली बनाउने चेष्टा राख्दछ । केन्द्रीकृत मानसिकता, भ्रष्ट, गतिछाडा र तानाशाह प्रवृत्ति भएको नेतृत्व भएमा न पार्टीले न देशले कसैले निकास पाउँदैनन् । त्यस्ता प्रवृत्तिले आफैलाई मात्रै शक्तिशाली बनाओस् भन्ने धारणा राख्दछन् ।

विश्व राजनीति इतिहासले के देखाउँछ भने तानासाही प्रवृत्ति भएकाहरू जनताका प्रतिनिधिमूलक बन्न त सक्दछन् तर जनताको प्रतिनिधित्व बोकेर तिनले नेतृत्व भने कहिल्यै लिन सक्दैनन् । दलहरू कमजोर भए पनि नेताहरू शक्तिशाली भइरहनुको कारण यो पनि हो । कुनै पनि सरकार सत्तामा आइपुग्दा के कस्तो जगमा आएको थियो ? ती जग के कसरी ठडिएका छन् ? वा कहीँ कतै धरमराएका छन् कि ? पत्रपत्र भएर भत्किँदै गएका छन्, सचेत नागरिकले नियालिरहेका हुन्छन् । सरकारमा जानु अघि र सरकारमा रहेका बेला के कस्ता अन्तर देखा परे त्यसैबाट नेतृत्वको असली पहिचान गर्न सकिन्छ । मुखले बोलेर मात्रै हुँदैन शासकले गरेको शासन र जनप्रतिनिधिले गरेको शासन व्यवस्था व्यवहारमा फरक देखिनु पर्छ । जनताले बोल्न पाउनु नै लोकतन्त्र हो भनी दुहाइ दिन मिल्दैन । मुलुकका सबै नागरिक समान हुनुपर्छ ।

मुलुक रेमिटेन्सले चलेको कुरासँग सबै सहमत हुँदाहुँदै पनि ऋणात्मक विन्दुमा पुगेको अर्थतन्त्रलाई यति या उति प्रतिशत नाफा भयो भन्नू आफैमा हास्यास्पद कुरा हुन जान्छ । २०७३ साल सम्म प्रत्येक नेपालीको टाउकोमा १९ हजारको ऋण थियो । २०७४ मा २४ हजार पुग्यो र २०७६ वैशाख सम्म प्रत्येक नेपालीको टाउकोमा ३१ हजार ऋण अहिले साउन अन्तिममा आइपुग्दा लगभग ४० हजार ऋण पुग्यो भन्ने विभिन्न आर्थिक सर्वेक्षण प्रतिवेदनले बताइरहेका छन् । विकास गर्नका लागि हाम्रो आफ्नै आम्दानी एक सुक्को पनि छैन । विकासका लागी ऋण लिने समयमै काम नगर्ने बिसौँ तीसौँ वर्ष अल्झाई रहने ऋणको ब्याज तिर्न फेरि ऋण लिने हाम्रो देशका नेताहरूको यथार्थ यही हो ।

नेपाली नागरिक भ्रूण अवस्थाबाटै ऋणको भारी बोकेर जन्मनु पर्छ । तितो यथार्थ देश सङ्घीय गणतन्त्रमा गएपछि आर्थिक सूचकहरू घटे पनि महँगी र बजेट घाटा भने बढेको बढ्यै छन् । कुल राजश्वभन्दा चालू खर्च बढी देखिन्छन् । हाम्रा सरकार आफैले बनाएको र संसदबाट पारित गरेका बजेटलाई समेत मध्यावधि संशोधन गरेर घटाउन पुग्छन् । दुःखको कुरो, त्यही घटाइएको बजेट पनि पूर्ण रूपमा कार्यान्वयन गर्न सक्दैनन् । न त लक्ष्य अनुरूप राजस्व उठाउन सक्छन् न त विकासका लागि छुट्ट्याइएको रकम खर्च गर्न सक्छन् । भाषण भने चमत्कार भएको, विश्व नै छक्क परेको या अभूतपूर्व विकास भएको भनेर गर्छन् । अर्थतन्त्र खुम्चिएको कुरो थाहै पाउँदैनन् । सत्ता प्राप्त गर्न सजिलो जस्तो विधिको शासन चलाउन गाह्रो भएको कुरा ठाडै अस्वीकार गरिदिन्छन् । नेताहरू विज्ञको सुझाव र तथ्यहरूको विश्लेषण दुवै मन पराउँदैनन् ।

वर्तमान विश्व राजनीतिलाई हेर्दा र हाम्रो देशलाई नियाल्दा राजनीति क्षेत्रमा थुप्रै आस लाग्दा पढेलेखेका युवाहरूको जमात देखिन्छ तर हाम्रा युवाहरूले किन नेतृत्वमा हस्तक्षेपकारी भूमिका खेल्न सकेनन् भन्ने लागिरहन्छ । ती युवाहरू ३२ वर्षका किम जोङ उत्तर कोरियाका राष्ट्रपतिले विश्व हल्लाउँदै छन् । ३९ वर्षका फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले औद्योगिक क्रान्ति गरेर देशलाई माथि उठाउँदै छन् । ३६ वर्षका शेख तमिमले कतारलाई युरोपियन मुलुकको हाराहारीमा पुर्‍याएर विश्वलाई अचम्मित पारिदिएका छन् । विकासमा पछाडि परेको अस्ट्रियालाई ३१ वर्षीय सेवास्टिन क्रुज प्रधानमन्त्री बनेर देशलाई अशिक्षा, भोकमरी र सामाजिक विभेदको पर्खालबाट बाहिर ल्याए । एमिल दिमित्रीभ ३८ वर्षमै म्यासेडोनाका प्रधानमन्त्री बनेर देशमा हजारौँ रोजगारीका अवसर सिर्जना गरी गरिब जनतालाई सामन्तवादको चङ्गुलबाट बाहिर निकाले । भोलोडायमर ग्रोएजमेनले ३३ वर्षको उमेरमा युक्रेनलाई विकासको मार्गमा डोर्‍याए, २५ वर्षका मलेसियाका सइद सिद्दिक रहमान युवा तथा खेलकुद मन्त्रालय सम्हालिरहेका छन् । त्यस्तै ३८ वर्षका जुरि रेक्टस होउची मिलिटेन्सका राजनीतिक रूपले विख्यात बने । अवसर पाए भने युवाले नगर्न सक्ने केही छैन ।

नेपालको राष्ट्रिय युवा नीति २०७२ ले पनि १६ देखि ४० वर्ष उमेरलाई युवा भनी परिभाषित गरेको छ । तसर्थ राजनीति गर्नलाई युद्ध लडेकै हुनुपर्छ, जेलनेल भोगेकै हुनुपर्छ, यातना पाएकै हुनुपर्छ र लामो राजनीति अनुभव भएकै हुनुपर्छ भन्ने भनाई मात्रै सही होइन भन्ने कुरा माथिका निम्न व्यक्तिहरूबाट बुझ्न सकिन्छ । हाम्रो देशमा अब राजनीति व्यवस्था परिवर्तन गर्नु छैन अघिल्लो पुस्ताले गरेको सङ्घर्षलाई हृदय गम गर्दै युवाहरूमा देशलाई कसरी समृद्ध बनाउन सकिन्छ भन्ने मिसन र भिजनको चिन्तन हुन आवश्यक छ । युवाहरूले नेतृत्व लिँदै गर्दा इमानदारिता, लगनशीलता, समझदारी, धैर्यता, पारदर्शिता, जवाफदेहिता, कर्तव्यनिष्ठता र दायित्वबोध सँगै पठनियता भने अनिवार्य चाहिन्छ । समाजप्रति इमानदार, उदार भावना, शिक्षित सिपयुक्त, अनुशासित, उद्यमशीलता र सशक्तीकरण भूमिका खेल्नका लागि अब युवा सहभागिता बिना राष्ट्रको विकास असम्भव जस्तै देखिन्छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata