‘मृत्यु या सहादत ?’ मा अल्झिएको प्रगतिशील लेखन

बुधबार, फाल्गुन १५, २०७५



केही समय अघि फेसबूक चलाउदै गर्दा एउटा कविता देखें । पढें । कविता के कस्तो थियो तर्फ म लाग्दिन । त्यसैको एउटा कमेन्टमा आँखा गयो । कवितामा प्रयोग भएको शब्द “मृत्यु” नराखिएको भए बडो सुन्दर प्रगतिशील कविता हुने थियो भन्ने आशयको कमेन्ट थियो त्यो । उनका अनुसार मृत्युको सट्टा सहादत प्रयोग गर्नु पर्ने थियो सायद प्रगतिशील हुनलाई ।

एक त म साहित्य कहिल्यै अप्रगतिशील हुदैन भन्ने वकालत गर्ने मान्छे । त्यसै माथी एउटै शब्दको कारणले लेखनको प्रगतिशीलता छाँयामा पर्यो भन्ने कुरा मलाई हजम हुन सकेन । त्यसपछि मलाई लाग्यो प्रगतिशील लेखनलाई अहिले लेख्दै गरेका लेखकहरुले नै गलत अर्थमा बुझेका छन ।

सबै भन्दा पहिले प्रगतिशीलता या प्रगतिशील हुनु भनेको के हो बुझ्नुपर्छ । प्रगतिशील हुनु भनेको ठुला ठुला शब्दको प्रयोग गर्नु होईन । सत्तासिन व्यक्तित्वलाई खोईरो खन्नु मात्रै पनि होइन । प्रगतिशील हुनु कुनै पार्टिगत एजेन्डालाई फलाक्नु पनि होईन । प्रगतिशील हुनु क्रान्तिको रातो तातो शब्द प्रयोग गर्नु मात्रै होईन।

प्रगतिशीलको शाब्दिक अर्थ केलाउदा सकारात्मक सामाजिक परिवर्तन भन्ने हुन्छ । यस हिसाबमा हेर्दा सकारात्मक सामाजिक परिवर्तन गराउन सक्षम सबै लेखहरु प्रगतिशील लेखहरु हुन । तपाईंले प्रेमकथा लेखेर लेखेर सामाजिक सचेतना बढाउन सक्नुहुन्छ भने त्यो प्रेमकथा नै प्रगतिशील लेखन हुन आउँछ । पहिले एक समय थियो जतिबेला जातीय रुपमा या वर्गिय रुपमा हेलामा परेका या दवाइएकाहरुको आवाज उठाउनु पर्छ, यसको लागि क्रान्ति गर्नुपर्छ भनेर माओ, लेलिनले लेखे । त्यतिबेला वर्ग मुक्तिको या अधिकारको निम्ति लडाई गर्नु पर्छ भनेर भन्नू प्रगतिशील हुने  थियो । अब प्रगतिशीलता यतिमा मात्रै सिमित छैन ।

अबको प्रगतिशीलताले अधिकारको निम्ति बन्दुक बोक्नु भन्दैन। तपाईं सामाजिक संजालमा लेखेर सचेतना फैलाउन सक्नुहुन्छ । तपाईं समानताको लागि आह्वान गर्न सक्नुहुन्छ । तपाईं हिंसाको बिरुद्ध लेख्न सक्नुहुन्छ । तपाईं स्वास्थ्य शिक्षाको बारेमा लेख्न सक्नुहुन्छ । यी सबै पनि प्रगतिशीलता नै हो ।

बन्दुक बोकेर हिड, युद्धबाट सत्ता कब्जा लेखिनु/भनिनुलाई कुनै समय प्रगतिशील भनिन्थ्यो । तर अबको समयमा प्रगतिशील लेखनलाई संकुचित रुपमा सोच्न नमिल्ने अवस्था छ । आफूलाई प्रगतिशील भन्नेहरुले सबैभन्दा पहिले आफ्नै सोचलाई फैलाउन जरुरी छ । र एकपटक गम्भीर भएर सोच्न जरुरी छ, आखिर के हो त प्रगतिशील  लेखन ?

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata