सी र मोदीको नेपाल भ्रमणको सम्भावना कति?

शनिबार, भदौ २८, २०७६



- ई. द्वारिका अधिकारी

गत महिना भारतीय विदेशमन्त्री डा. जयशंकर र हालैमात्र चिनिया विदेशमन्त्री ह्वांगको नेपाल भ्रमणले नेपालको राजनीति झन् पेचिलो हुने देखाएको छ। भन्नको लागि भारतीय प्रधानमन्त्री श्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति श्री सी जिन पिंगको नेपाल भ्रमणको पूर्वतयारीको रूपमा लिइएको भनिए तापनि यी दुई भ्रमण नेपालका छिमेकीहरूको आक्रोशपूर्ण खबरदारी भ्रमणको रूपमा बुझ्नु जरुरी छ।

पृष्ठभूमि

विश्वका दुई छिमेकी शक्तिराष्ट्र चिन र भारतबिच रहेको नेपाल रणनीतिक, राजनीतिक एवम् भौगोलिक कारण यी दुई देशको भविष्य, राजनीति अनि शान्तिको लागि प्राण हो। लगभग १ अर्ब भन्दा धेरै मध्यम वर्गीय बजार रहेको अनि वैज्ञानिक र राजनीतिक छलाङ मारिसकेका यी दुई देश अहिले पश्चिमाहरूको लागि टाउको दुखाइ भनिसकेका छन्। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको नेतृत्वमा अमेरिकी साम्राज्यवाद र आर्थिक दबदबा हटाउन डलर डम्पिंगको प्रयास र अमेरिकी संलग्नताबिना विश्व राजनीतिका सिरिया जस्ता महत्त्वपूर्ण विषयको निर्णय गर्न सहयोगी सिद्ध भइरहेका यी दुई राष्ट्रलाई ठेगान लगाउन आन्तरिक कलह र विरोधले मात्र नपुग्ने र यसको लागि भूराजनीतिक रूपमा नियन्त्रण गर्न नेपाल हट स्पट हुने हुँदा पश्चिमाले खेल्ने ठाउँको रूपमा नेपाल छान्नु कुनै नौलो नै हैन। रुसी हतियार, चिनियाँ पैसा र भारतीय दिमाग र भूमिको सदुपयोग भएमा मात्र अमेरिकी दबदबा हट्न सक्ने कुरा स्वयम् अमेरिकीहरूलाई थाहा छ।

घटनाक्रम

हिजोको दिनमा पश्चिमाहरूको बैसाखी टेकेर सत्ताभोग गर्न सौभाग्य पाएका नेपाली नेताहरूले त्यही गुन तिर्नका लागि जनताको अभिमत अनि जनआन्दोलनमा उच्चारण समेत नगरेका धर्म निरपेक्षता र सङ्घीयता संविधानमै छिराएर शान्त रहेको देश नेपालमा कलह बीजारोपण गरेर पश्चिमाहरूको उपस्थितिको लागि मार्ग प्रशस्त गरिदिन खोजे, तर आंशिक रूपमा मात्र सफलता प्राप्त गरे। जातीय अनि धार्मिक द्वन्द्व भड्काएर नेपाल प्रवेश गर्न असम्भव भएपछि indo-pacific strategy को पार्टनर बनाएर अनि MCC को कबोलिएको सहयोग रकममा चीनलाई आघात पर्न सक्ने सर्तहरू तेर्स्याएर छिमेकी छिमेकी बिचको सम्बन्धमा प्ले गर्न सहज वातावरण सृजना गर्न खोजियो, जसलाई अदुर्दर्शी नेपाली नेताहरूले नुनको सोझो गर्न समर्थन गरे भने कोहीले अन्तर्राष्ट्रिय कानुन र अदालतको डरमा स्वीकार गरे। रोटी बेटीको सम्बन्ध भारतसँग, राष्ट्रियता चिन सँग अनि देशको नीति नियम सबै पश्चिमाको पोल्टामा हालिदिएको नेपाली नेतृत्वले आफू नाङ्गो भइसक्दा पनि लाज नमानेपछि चिन र भारतले यसरी आफ्नो स्ट्यान्ड सम्झाउन नेपाल भ्रमण गरेका हुन्।

चिनिया विदेशमन्त्रिको भ्रमणलाई भारतीय विदेशमन्त्रीको भ्रमणसँग छुट्ट्याएर हेर्न मिल्दैन किनकि बाहिर जस्तो हल्ला गरिएतापनि यी दुई भ्रमण नेपालसँगको आपसी हितको विषयमा भन्दा पनि नेपाली सरकारको क्रियाकलापले छिमेकीहरूमा पर्न गएको दूरगामी प्रतिकुल असर विरुद्धको खबरदारी भ्रमण हो। गत वैशाखमा नेपालको राष्ट्रपतिले BRI मा जनाएको सहभागिता एवम् सोही समयको आसपासमा भियतनाममा नेपाली प्रधानमन्त्रीले indo pacific strategy मा समाहित हुने सम्झौता र त्यही समयमा अमेरिकीहरूको प्रतिक्रियात्मक सर्तहरू आउनुले नेपालको ढलिमिली र अविश्वासनिय विदेश नीतिबाट भारत र चिन दुवै सशंकित रहेको पुष्टि हुन्छ।

भ्रमण होला त?

शक्तिराराष्ट्रका राष्ट्रप्रमुखहरू हाम्रो देशका प्रमुखहरू झैँ मुख फेर्न र देश हेर्न मात्र विदेश भ्रमण गर्दैनन्। विश्व राजनीतिमा प्रभाव पार्न सक्ने ठोस राजनीतिक एजेन्डा, आर्थिक रूपमा हितकर एवम् रणनीतिक रूपमा आफ्नो आवश्यकता अनुसार नै उनीहरूको विदेश भ्रमण तय हुने गर्दछ। नेपालको संविधानलाई स्वीकार गर्नेगरि हुने भनेर हल्ला गरिएको मोदीको नेपाल भ्रमण आफैमा हास्यास्पद र अविश्वासनीय यथार्थता हो किनकि मोदीले यही अवस्थाको संविधान स्वीकार गर्न आउँदै आउदैनन। हो, यदि धार्मिक स्वतन्त्रसहितको हिन्दु राज्य संविधानमा उल्लेख गरिएमा तुरुन्तै मोदी नेपाल आएर पशुपतिमा विशेष पूजा गरेर टुँडिखेल सारा नेपालीको सामु यो संविधान स्वीकार गर्नेछन्। जयशंकरको भ्रमण पनि यही विषयमा केन्द्रित भएर भएकै हो।

अर्कोतर्फ सी जिन्ग्पिंगको नेपाल भ्रमण पनि यथास्थितिमा हुने देखिँदैन किनकि नेपालको एक चिन नीतिप्रति चिन विश्वास नै गर्दैन। indo pacific मा संलग्नता जनाइसकेको नेपालसँग चीनको राजनैतिक सम्बन्ध सुमधुर हुन सक्छ भनेर अगाडी बढ्नु चीनको लागि आत्महत्या भन्दा कम हुनेछैन भन्ने चीनले बुझेको छ। हुन त नेकपाका अध्यक्ष प्रचण्डले indo pacific strategy मा सहभागी हुँदैनौ भनेर विदेश मन्त्रीलाई आश्वासन दिएको कुरा चिनिया विदेश मन्त्रालयको website मा आएको रहेछ तर अमेरिकी कित्तामा उभिएका प्रचण्डको सो भनाइलाई चीनले विश्वास गर्दै गर्दैन किनकि यो सरकारको आधिकारिक धारणा हैन र प्रचण्ड चीनका विश्वासपात्र पनि हैनन्।

अर्को पाटोमा हेर्ने हो भने नेपाल चिन र भारत दुवैको लागि खासै ठुलो र महत्त्वपूर्ण बजार हैन। यस कारण पनि एक अर्काको करिब १ अर्व माथिको व्यापार बजारलाई तोरी लाहुरे विदेशनीति रहेको देशको लागि दाउमा लगाउन दुवै देश अनिच्छुक हुनेनै भए। विश्वासको सङ्कट रहेको नेपालमा चीनले कुनै ठुला आयोजना निर्माण गर्न इच्छा देखाउने छैन जसको प्रमाण विदेश मन्त्रीको भ्रमणबाट प्राप्त उपलब्धि छन्।

एक महिनाभित्रै दुवै शक्तिराष्ट्रको सरकारको प्रतिनिधिको नेपाल भ्रमण हुनु आफैमा सामान्य मान्न सकिँदैन। यदि नेपालको कुटिल एवम् देशहित मुखरित विदेशनीति हुँदो हो त यी दुई भ्रमणले नेपालको आफ्नो छिमेकीहरूसँगको सम्बन्ध अझ उचाइमा पुर्‍याएर आर्थिक र रणनीतिक रूपमा समेत विश्वशक्ति राष्ट्रहरूसँग सौदा बाजी गर्न सक्ने हैसियत भएको राष्ट्रको रूपमा उभ्याइदिने थियो। तर विश्वासको सङ्कट हुँदा दुवै राष्ट्रप्रमुखहरूको भ्रमणको औचित्य पुष्टि भइ नसकेको हुँदा यथास्थितिमा दुवै राष्ट्रप्रमुखहरूको भ्रमण केवल कपोलकल्पित दिवा सपना मात्र हो।

(ई. द्वारिका अधिकारी कानुन र राजनीतिशास्त्रका समेत विद्यार्थी हुन्।)

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata