कोरोना संकट: सकारात्मक परिकल्पना

शुक्रबार, चैत्र १४, २०७६



- ई. द्वारिका अधिकारी

भूमण्डलीकरण र विश्वव्यापीकरणबाट स्वार्थ र एक्लोपनतर्फ गइरहेको मान्छेलाइ विपत्तिले नै समाज र घरपरिवारको महत्व बुझाउने रहेछ भन्ने कुराको प्रमाण भूकम्प, सुनामी, ज्वालामुखीजस्ता प्राकृतिक विपत्ति र अहिले कोरोना नामक भाइरसको कहरले प्रमाणित गरिरहेको छ । अमेरिकाजस्तो शक्ति राष्ट्रलाई सन् २००१ को आतंककारी हमला र २००८ को वित्तीय संकटभन्दा पनि अहिलेको यो संकट गाह्रो र प्रतिष्ठाको लडाई भइरहेको छ भने अर्कोतर्फ अनेक उपायले पनि चीन आफुलाई अगाडी देखाउन उद्वेलित छ । विश्वको अर्थतन्त्र, पूँजी बजार, प्रविधि, सांसारिक ध्रुविकरण, पूर्वीय दर्शनको गाम्भीर्यता र सामाजिक जीवनको महत्व यो संकटले उजागर गरिदिएको छ भने भविष्यमा यहि संकटका कारण कति सत्ता उलटपलट हुनेवाला छन् भने उत्कृष्ट भन्ने गरिएका स्वास्थ्य व्यवस्था, अर्थतन्त्र र जीवनशैलीका थुप्रै पद्धति परिवर्तित हुनेवाला छन् । यहाँ कोरोना भाइरस पछाडीको छोटो राजनीतिक खेल र यो संकटले भविष्यमा पार्न सक्ने केहि सकारात्मक पाटोहरुको परिकल्पना गरिएको छ ।

शक्तिको होडबाजीको दुस्परिणाम 

कोरोना भाइरसको प्रवेशपछी जति मानव जातिमा तापक्रम बद्छ, त्यो भन्दा बढी तापक्रम अहिले संसारका महाशक्तिहरुबीचको सम्बन्धमा छ । यो जैविक हतियारको रुपमा अमेरिकाले चीनमाथि अक्टोबरमा वुहानमा भएको सैनिक खेलकुदमा सैनिकमार्फत फैलाएको दोष चिनियाँ पक्ष लगाउदै छ भने अमेरिकाले वुहान इन्स्टिच्युट अफ भाइरोलोजीको प्रयोगशालामा अमेरिकी विज्ञहरुलाई साथ लिएर अमेरिकी अनुसन्धानका उपलब्धिहरुलाई प्रयोग गरेर निर्माण गर्दागर्दै लिक भएर फैलिएको भन्ने आरोप अमेरिका पक्षले चीनमाथि लगाएको छ । बजारमा यो जीवाणु उत्पति र प्रयोग सम्बन्धि थुप्रै कन्स्पिरेसी थिओरी आएका छन् । सत्यता जे भएपनि यो संकट ठुला शक्तिरास्ट्रको होडबाजीकै कारण उत्पन्न भएकोमा कुनै शंका छैन किनकि यदि मानवविरुद्धको यो लडाईमा सबै देशहरु एक भएर यसको समाधानतर्फ जान कुनै पक्ष पनि मन्जुर छैन, केवल शक्तिको मोहार्थ प्रतिस्पर्धा बरकरार देखिन्छ । यो संकटको अन्त्य भयावह र दुखद देखिन्छ तर संकट अन्त्य पछी संसार यदि विवेकशील भएर निस्केमा थुप्रै सकारात्मक परिवर्तन यो पृथ्वीले देख्नेछ ।

नविनतम रास्ट्रवाद :

अमेरिका र रुसजस्तो विकसित र शक्तिशाली देशहरुको रास्ट्रवाद भनेको सैन्यशक्ति हो जुन सैनिक, बम, गोला, बारुद, अन्तर्महादेशीय ब्यालेस्टिक मिसाइलको ताकतमा निर्भर गर्छ । तर विडम्बनाको कुरो यी अस्त्र सस्त्रहरुले भाइरसजस्ता आतंक फैलाउन सक्ने सानो जीव परास्त गर्न सक्ने क्षमता राख्न सक्दैन । यो जटिल अवस्थामा मानव जाती रक्षार्थ कुनै धनि, शक्तिशाली, पुरुषार्थी व्यक्तिको केहि लागेन । मानव जाती विरुद्धको यो युद्धमा चिकित्सक, नर्स, कृषक, स्वयंसेवक रातदिन जिवन मरण, घरबार केहि नभनी ढाल बनेर उभिए, यस्ता सम्मानित पेसाहरु नै अब नव राष्ट्रवादका रुपमा उदाउनेछ । अझ नेपालजस्तो प्रविधि र विकासमा कमजोर र राजनैतिक रुपमा आसेपासे र भरौटे कार्यकर्ताको कुविवेकमा परेर विज्ञान प्रविधिलाइ अपमान गर्ने, होच्याउने, दुत्कार्ने र सौतेनी व्यवहार गर्ने नेता, कार्यकर्ता र प्रशासन सबै अहिले विज्ञान प्रविधिको महत्व बाध्य भएर पनि प्राविधिक शक्ति नै नौलो राष्ट्रवाद र प्राविधिकहरु नवराष्ट्रवादका तत्व हुन् भनेर स्वीकार गर्नु पर्ने अवस्था आउन सक्नेछ । राष्ट्रवादी त्यो हो जसले आफ्नो देश बचाउँछ र प्रगतितर्फ डोर्याउछ, न की जो अर्काको देश बर्बाद गर्छ । यसरि संसारभरि सैन्यशक्तिको घटावा र कल्याणकारी राष्ट्र निर्माणको तरङ्ग पैदा हुन सक्ने देख्निछ । राजनीतिको नाममा हावादारी राष्ट्रियताको गफ र बेफ्वाकका व्यक्तिहरुको मादलको सुरमा मान्छेहरु नलागी विषयको विशेषज्ञको कुरा सुन्न खोज्ने प्रवृत्ति बढ्ने संकेत देखिदैछ । उदाहरण: कोरोना संक्रमणको बारेमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पभन्दा पनि चिकित्साशास्त्री एन्थोनी फाउसीको कुरा सुन्न अमेरिकीहरु चाहिरहेका छन् ।

विविध व्यक्तिगत र सामाजिक आचरणमा परिवर्तन :

सेप्टेम्बर ११ को घटनाले संसारले आफ्नै आँगनमा मात्र भएका घटनाहरुबाट मात्र आफुलाई असर पार्छ भन्ने सोचबाट बाहिर आई संसारको कुनै कुनामा भएका घटना आफ्नै देशका घटना बराबर असर गर्न सक्छ भनि मानव जातीलाई सन्देश दियो । सन् २००८ को आर्थिक मन्दीले मानिसले पहिला पार गरिसकेको संकट पुन दोहोराएर मानव जगतलाइ पिर्न सक्छ भनेर झक्झकायो र यो कुरालाई थप  पुष्टि गर्न १९१८ को स्पेनिस फ्लु जस्तै कोरोना भाइरस अहिले संसारमा तहल्का मचाउदै छ । अहिलेको यो परिस्थितिबाट हाम्रो दैनिक चर्यामा आमुल परिवर्तन गर्नु पर्ने सन्देश हामीले पाइरहेका छौ । सामान्य ह्यान्डसेक, अरुले छोएको सामान, अरुसँगको सामिप्यता कतिसम्म घातक हुन सक्छ भन्ने प्रमाण दिईसकेको कारण हात धुने जस्तो सामान्य बानी देखि बिनाकाम अर्को व्यक्तिसँगको संसर्गमा नपर्ने, दुरी कायम राख्दै संचार गर्नेजस्ता व्यक्तिगत आचरण सुधार हुन सक्छन । साथिभाई भएकै हिसाबमा जुठो खाने, बिनाकारण सामिप्यता बढाउने, एकै सामानको प्रयोग गर्ने र ‘सेयरिंग इस केयारिंग’ भन्ने जस्ता नवआधुनिकवादी घातक सोचहरुमा सुधार आउनेछ । सम्भव भएसम्मका सम्बन्ध र क्रियाकलापहरु भर्चुअल हुनेछन । संसारभरि निर्वाचन अनलाइन हुनेछ, इमेलबाट भोट खसाल्ने प्रबन्ध हुनेछ, कारोबार डिजिटल हुनेछ, संसारभरि टेलिमेडिसिनको व्यापक प्रयोग हुनेछ । प्रत्येक सरकारहरुले समन्वयात्मक तवरले विज्ञान र प्रविधिको अन्वेषण र अनुसन्धानमा लाग्नेछन ।

एकलकाटे उपभोक्तावादी जिवनशैली अपनाएर परिवारवादबाट अलग भएको संसारले फेरी परिवारको महत्व बुझ्ने छ र असल परिवार कायम गर्न लागिपर्ने छ, जहाँ सबैजना फरक पुस्ताका ज्ञान, सिप, अविभावकत्व र अनुभवद्वारा लाभान्वित हुनेछन । विद्धमान बजार ब्यबसथा र चरम व्यक्तिवादी प्रवृत्तिको अन्त्य हुन गइ हामी अधिनायकवादतर्फ उन्मुख पनि हुन सक्नेछौ किनकी यी बजार व्यवस्था असफल प्रमाणित हुन थालिसकेका छन् । अब यो संकटको अन्त्य भएसँगै सार्वजनिक स्वास्थ्य र सामाजिक कल्याणका क्रियाकलापतर्फ भारि लगानी हुनेछन । संसारभरि स्वास्थ्य र शिक्षा सरकारको र बाकि क्षेत्र प्रतिष्पर्धात्मक निजि क्षेत्रको हुने मोडालिटीमा जाने छ । तेल, मदिरा र सूर्तीजन्य पदार्थ र हतियार उद्योगको चपेटामा परेको विज्ञानलाइ राजनीतिक चस्माबाट हेर्ने प्रवृति हटेर मानवको हितमात्र गर्ने सर्तमा विज्ञानलाइ स्वतन्त्र छोडिनेछ । अझ विभिन्न तहका सरकार भएकै कारण आपतको बेलामा जिम्मेवारीबाट पन्छिने हुदा संसारभरि देशरुले एकात्मक, विवेकशील बलियो राज्य खोज्नेछन ।

हिजोको दिनमा साम्राज्यवादी  शक्तिहरुको ओझेलमा परेर दबाइएका र भौतिवादको नाममा अपव्याख्या गरेर अन्धबिस्वास र पुरातनवादी सोच भनेर पाखा लगाइएका वैज्ञानिक पूर्वीय संस्कारहरुको व्यापक स्तरमा पुनर्जागरण हुनेछ र यो पुनर्जागरणलाइ पूर्वीय भन्दा पश्चिमी जगतले बढी अंगाल्ने छ । वेद र विज्ञानको सहमतिमा संसारमा नयाँ कानुन लेखिनेछ जसले मानवजातिको हित र कल्याणको लागि सम्पूर्ण मानवजातिलाई एकजुट गराउने छ ।

ई. द्वारिका अधिकारी जलस्रोतविज्ञ हुनुका साथै कानुन र राजनीतिशास्त्रका विद्यार्थी  पनि हुन्  ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments