महिलासँग जोडिएका सामाजिक र सांस्कृतिक विभेदहरु

बुधबार, पुस २६, २०७४



नेपालमा महिला आन्दोलनको संगठित संरचनाको उदय भएको झण्डै एक सय वर्ष हुन लाग्यो । नागरिकस्तरबाट नागरिक कै अधिकार केन्द्रित महिला संगठनहरुको स्थापना भएको पनि ६५ वर्ष नाघ्यो । योगमायाको कालखण्डमा उठाएका धार्मिक सामाजिक सुधारका विषय भन्दा फरक विषय अहिले आमाको नामबाट नागरिकता, अंश र वंशको माग मात्रै भिन्न छ । त्यतिबेलाका ती विषय र आन्दोलनका सन्दर्भहरु तथा अहिलेका विषय र आन्दोलनका समग्र मुद्दाहरु तुलना गर्दा नेपालमा महिला अधिकारका मुद्दाहरु सामाजिक न्याय भन्दा बढी राजनीतिक अधिकार केन्द्रित देखिन्छन । त्यो पनि सहभागिताको पक्षबाट नै धेरै मागहरु अघि बढेको पाइन्छ । यी विषयहरुको चिरफार गर्दा नेपालका महिला आन्दोलनकर्मीहरुले महिलाको स्थान, मान र भूमिकाको विषयमा अझै गहिरिएर अध्ययन गरि लैंगिक रुपमा देखिएका विभेदहरुको पहिचान गरि त्यसको अन्त्यका लागि केहि प्रयत्नहरु गर्न वाँकी रहेको देखिन्छ । राजनीतिक अधिकार प्राप्तीले मात्र सामाजिक रुपान्तरण हुँदोरहेनछ भन्ने कुरा अहिले नेपाली समाजमा भएका महिला हिंसा, बलात्कार र अन्य अपराधिक घटनाहरुले देखाएको छ । अहिले पहिलेको तुलनामा महिलामा हुने अपराधिक घटना बढी नै भएको हो की भन्ने देखिन्छ । त्यस्ता अन्धविश्वासका अबशेषहरु अझै नेपाली समाजभित्र नजानिदो रुपमा जिउँदै रहेका छन् ।

प्राप्त अधिकारको चेतना र जागरण सबै भुगोलमा पुर्याउनु पर्ने राज्यको दायित्व हो तर यस्ता विषयहरुको प्रसारण गर्न राजनीतिक अधिकार प्राप्तीले सजिलो गर्ला भन्ने लाग्थ्यो, अहिले हेर्दा त्यस्तो देखिएन । राजनीतिक स्थायित्व नभएर हो की जे जस्तो रुपमा कानुनको कार्यान्वयन हुनुपर्ने थियो त्यो भएको छैन । दलीय व्यवस्थाभित्र त यस्ता सामाजिक सांस्कृतिक रुपान्तरणका मुद्दाहरुलाई दल र दलका नेता, कार्यकर्ताहरुले आफना कार्यक्रहरुमा समावेश गरेर अभियानकै रुपमा लैजानुपर्ने हो । त्यहाँ पनि कमि भएको देखिन्छ । यस्ता विषयमा दलहरु स्वतःस्फुर्त अघि देखिनु पर्ने थियो तर, सत्ताको होडबाजीले यसतर्फ सोच्ने मौका दलहरुले नपाएको हो या नखोजेको हो अझै बुझ्न गाह्रो छ । यस्ता मुद्दाहरुलाई राजनीतिक विषय बनाइ छलफल गर्दै सुधारका अभियान सञ्चालन गर्नैपर्छ । तर त्यसो हुन सकिरहेको छैन ।

विशेषगरि सामाजिक रुपान्तरणका यस्ता विषयहरुलाई समाज परिर्वतनका मुद्दा बनाएर जाँदा निकै सावधानीका साथ यात्रा तय गर्नुपर्ने हुन्छ । समाजको चेतनास्तर, सामाजिक कानुन, मुलुकको संविधान र संविधान अनुरुप व्यवस्था गरिएका कानुनहरुलाई आधार बनाएर कार्यक्रमहरु तय गर्नुपर्छ । यस्ता विषयमा हेक्का नपुर्याउदा कहिलेकाँहि रुपान्तण गर्न खोजिएका विषयहरु कार्यान्वयन हुन नसकेर ओझेलमा पर्न सक्छन । यस्ता मुद्दाहरु ओझेलमा परे भने मुलुकको विकास पछाडि पर्छ र विकास र प्राप्त गरेका अधिकारहरुलाई स्थायित्व दिन सकिन्न । यस्ता देख्दा साना तर सामाजिक रुपमा विभेदजन्य कुराहरु रहिरहे भने दिगो विकास हुन सक्दैन ।

महिलासँग जोडिएर हुने गरेका सामाजिक र सास्कृति पक्षका लैङ्गिक विभेद कतिपय रक्त नाता सम्बन्धभित्र लिङ्गका आधारमा छोरा र छोरीबीच स्विकारेर गरेका विभेद छन भने कतिपय फरक रक्तसम्बन्धको नाता र सम्बन्धका आधारमा विभेद गरिएको देखिन्छ । विभेदको केन्द्र विशेष गरेर पुरुषले आफनो भुमिकालाई गौण राखेका कारण भएका र हुने गरेका देखिन्छन । विभेदको केन्द्र शक्ति, पद या पारिवारिक दायित्व र नाता सम्बन्धको स्थान र मानको पहिचान र सो अनुरुपको कार्य विभाजन नभएकै कारण हो भन्न पनि सकिन्छ । घर, परिवार र समाजमा महिला आर्थिक, सामाजिक रुपमा हैसियतविहीन भएको कुरामा विचार नराखी नाता सम्बन्धमा गाँसिएर र हैसियत बुझिबुझि कतिपय कुराको अपेक्षा गर्ने हाम्रा आनीबानीहरुले गर्दा पनि सदियौँदेखि लागेका र हामीसगँ जड भएर रहेका व्यवहारहरु नै समस्या हुन भनेर भन्ने आधारहरु प्रसस्त छन । ती बानीको जडता सामाजिक रितिस्थिति, धर्म संस्कार, चाडपर्व, कर्मकाण्ड र व्यवहारमा पनि छन । त्यस्ता विभेदकारी कुराहरु हामीले प्राप्त गरेको चेतनाको आधारमा पहिचान गरि परिर्वतन गर्नुपर्ने हो तर हामीमा भएको पछौटे चिन्तनका कारण पुनः नाता, सम्बन्ध, पद र शक्तिको कुरा सम्झेर आफु सानो होइएला की भनि, सामाजिक प्रतिष्ठा र दम्बको रुपमा ग्रहण गरि रुपान्तरण हुन सकेका छैनौँ । यहाँ हामी दृष्टिकोणमा चुक्छाँै । अनि अरुले के भन्छ भनेर प्राप्त ज्ञान र चेतनाको संयोजन होइन की जवरजस्ती विभेद गर्न, विभेद सहन प्रेरित गराउँछौँ ।

हामीले पहिले त महिला शब्दको स्थान, मान, परिभाषा र व्याख्या नेपाली समाजले गरेको रहेछ भनेर बुझ्न जरुरी छ । त्यसपछि त्यसको प्रयोगलाई नेपाली वाङ्गमय या साहित्यले कसरी व्याख्या गरेको छ भनेर केलाउन जरुरी देखिन्छ । साहित्य समाजको जिवनको विम्व हो । सिङ्गो स्वरुपको तस्विर देखिने दर्पण र रक्तसञ्चारको माध्यम हो । त्यसैबाट बनेको कोपिला, फुल र फल हामी सबैले खाध्यान्न बनाएर खान्छौँ । खाद्यान्न कति स्वस्थ्यकर र पौष्टिक छ; हामीले हेक्का नै राख्दैनौ । त्यहि कारण हामीलाई जीवनभर विभेदको रोग लागिरहन्छ । रोगको निदानका लागि झारफुकको सट्टा परीक्षण र परे सर्जरी गनुपर्छ भन्न सक्दैनौ । यहीँ हामी चुकेका छौँ । यहि कारण हाम्रो दृष्टिकोण पनि बन्न सकेको छैन । दृष्टिकोणमा सुधार नआउदा बोल्ने र गर्ने व्यवहारबीच विभेद गरिन्छ । आफनो र अर्काको भनेर छुट्टाइन्छ । अहिलेसम्म नेपाली घर, परिवार, समाज र राजनीतिले यहि गरिरहेको छ । त्यसैले यति ठुला राजनीतिक फेरबदलले पनि रुपान्तरणलाई छुन र प्रभाव पार्न सकेन । यहाँ ठुला साना सबै रुपान्तरित हुनु जरुरी छ । त्यतिकै रुपान्तरण र सोचान्तरणको आवश्यकता पढे लेखेका हामीहरु जस्ता बौद्विक झुण्डहरुलाई पनि त्यति कै आवश्यक छ । तर यो प्रक्रिया निकै गाह्रो पनि देखिन्छ ।

नेपाली शव्द कोषले महिला शव्द र पुरुष शव्दबीच गरेको व्याख्यालाई एक पटक हामीले पढौँ, हेराैँ, बुझौँ र मनन गरौँ । महिला शव्दको अर्थ स्त्री, नारी, आईमाई, भद्रनारी, प्रियांका नामको लहरो, एक सुगन्धित वृक्षको नामले परिभाषा गरिएको छ । यसरी गरिएको व्याख्यामा महिला या स्त्री के र को हो ? उ मानिसको परिभाषामा पर्दछ की पर्दैन । यो पनि महिला अधिकारकर्मीको चासो र सरोकारको विषय हुनु र बन्नु पर्दछ । यो शव्दलाई अहिलेसम्म यौन उपयोग, प्रजननको माध्यम, प्रकृति, सृष्टि गर्ने क्षमता भएको तर भोग्य अथवा पुरुषको निजी सम्पती पिता÷पति÷पुत्रको अधिनमा रहनुपर्ने वस्तुको रुपमा व्याख्या गरिएको छ । यो धारणा नेपाली समाजका हरेक सानादेखि ठुला सबै संरचना र दृष्टिकोणमा जिवित भेटिन्छन । जव छोरी या श्रीमतीले सम्पतिमा स्वामित्व खोज्छन त्यसबेला निकै उदार भाव राख्ने अभिभावक, श्रीमान, छोरा, राजनेता या प्रशासक एकपटक सोच्न बाध्य हुन्छन । र अलि गमेर आलेटाले गर्दै पुनः मध्यमार्ग खोज्छ किन ? समानता होइन मिलेर गर्नुपर्छ भनेर दयाभाव र सहानुभुति देखाउदै गरेको प्रस्तुतिले प्रष्ट झल्किन्छ उनीहरु त्यस घडीमा समानताको विरुद्दमा नै अडिक हुनु विभेदपुर्ण भाव होइन र ?

पुरुष शव्दको व्याख्या (लोग्ने मान्छे, लोग्ने, मानवजाती, भालेजातीको प्राणी, सख्याशास्त्रका अनुसार प्रकृतिदेखि भिन्न, अपरिणामीकर्ता, आत्मा, विष्णु, जीव, भाले, विर, आँटी गरिएको भेटिन्छ । यसलाई विश्लेषण गर्रौ न शव्दको परिभाषामा भएको विभेदले समाजलाई कति विभेदपूर्ण बनाएर पढाएको रहेछ । अहिले पनि हाम्रा विद्यालय र विश्व विद्यालयमा यहि अनुरुपको अध्यापन गराइन्छ । यस्तो व्याख्या भएको नेपाली व्याकरणले कस्तो समानता बुझाउछ ? खोइ कसलाई प्रश्न गर्ने हो । यहि विधा बुझेका र घोकेका हामीहरुको मनोविज्ञानमा अब कसरी परिर्वतन गर्ने ? निकै समस्या देखिन्छ । रुपान्तरण होइन सामान्य भाषागत त्रुटि सच्याउन त हाम्रा संरचनाहरुमा महिनौँ बैठक र भेला गर्ने र लम्याएर हराउने परिपाटी भएका हामीहरुले यस्ता विषको हेक्का राख्न सक्छौ की सक्दैनौ उत्तर आउन कठिन छ । यसरी हेर्दा कुरा यहाँ पनि दृष्टिकोण बनाउने शिक्षाको आउछ ।

पढाउछौ एक पक्षीय साहित्य र खोज्छौँ समानताको भावना ! त्यसैले अबको वाङमय र साहित्यमा समान लैङ्गिक दृष्टिकोणको कुराको सन्देश शिक्षक, विद्यार्थीमा जानुपर्छ । अहिले पनि संसारभर राज्य सञ्चालनको विधि र प्रकृया मनुस्मृतिले पथप्रर्दशन गरेको देखिन्छ । मनुस्मृति मनुले ब्रम्हाबाट सुनेकै आधारमा बुझेर अरुलाई उनले पनि सुनाएको समाज सञ्चालनको एक उपनिषत् हो । तर हाम्रो त्यो दर्शन भन्दा महत्वपूर्ण छ । यही दर्शनले महिलाको मात्र होइन जात, धर्म, लिङ्ग र वर्णको आधारमा विभेदको विजारोपण गर्यो । त्यो त पुरानो कुरा भयो भनेर भन्ने हामीहरुले मान्ने र गर्ने दैनिकी चाहिँ कस्ता छन ? हाम्रा सामाजिक, सांस्कृतिक, रितिथिति, प्रथा र परम्परा कुन चाहिँ छन् त लिंगीय हिसावले समान ? खाजौँ त ।

छोरी सकेसम्म नजन्माउने, थाहा पाइहाले भु्रण हत्या गर्ने, त्योबाट पनि जोगिएर जन्मे खानपानमा नै आमा ठगिने, परिवारमा अशान्तिको विउ रोपिने, छैटौँदिन भावीले लेख्न नर्पने, न्वारनमा ११ दिन पुग्न नर्पने, छोरीको क्षवर गर्नै नर्पने, छोरीको पास्नीको महिना पाचौं, छोरालाई ६ महिना, छोरीको विवाह अघि जात हुँदैन, कर्म नचल्ले तर छोराको जात हुने कर्म पनि चल्ने, छोरीको रजस्वलामा अपवित्र मानि बारिन्छ भने छोराको विर्य स्खलन पुरुषार्थको प्रतिक मानिने, त्यहि फुलबाट बन्ने मानवजाती अपवित्र नहुने तर महिलालाई छोइछिटो गरि बाहिर्याउने, विवाहमा छोरीको गोत्र फेरिने, विवाह पश्चात थर नै लोप गराइदिने र वंशीय हकबाट नै बन्चित गराउने तर छोराले यस्ता सबै हक पाउने हाम्रो सामाजिक संस्कार छ ।

महिलाको कम्मर भाँचिएको, लजाल, सहनशील र सुन्दर हुनु पर्ने नभए विवाह मै संकट आउने । तर पुरुष जस्तो भए पनि केटीप्रति नजर चम्काउदा फरक नपर्ने हाम्रो मनोविज्ञान र दृष्टिकोण छ । हामीले पढ्ने पुस्तक बेद, चाणक्य, मनुस्मिृति, रामायण, महाभारत, स्वस्थानी आदिले सिकाएका उदाहरणीय कुराहरुमा पतिले जे जस्तो गरे पनि पत्नी चुपचाप वनवास जाने, सीता जस्ता छोरी, अधिकार खोज्ने द्रौपदी छुच्ची हुने, छ वर्षकी गोमा नाबालक बच्ची चुपचाप सत्तरी वर्षको बुढोसगँ विना सवाल माता पिताको इज्जतका लागि अन्मिनुपर्ने । आर्शिवाद पनि राम, कृष्ण र विदुर जस्तो छोरा, सीता, सावित्री जस्ता छोरी तर कर्ण, द्रौपदी जस्तो बन्न नसिकाउने । छोरीको न जात, न थर, न धर्म, न गोत्र, न अंश न वंश, अचम्मको छ हाम्रो सामाजिक कानुन, नमाने एक्लिनुपर्ने । छोरा कर्मविर, छोरी कर्म हरीत, काज क्रियामा छोरा नभए, बान्धव, त्यो नभए मितका छोरा त्यो पनि नभए ब्राम्हण खोजेर गरिदिनु पर्ने संस्कार छ । छोरीले काजक्रिया गर्न चाहँदा गराइदिने ब्राम्हण बहिस्कृत हुने खतरा देखिन्छ ।

घर, परिवारभित्रै पनि सम्बोधनमा बाबु पढ्न बस । नानी एक पटक पानी ल्याउ त । पढ्दा र सुन्दा त ठिक छ । व्याकरण पनि विग्रेको छैन तर लिंगीय दृष्किोणबाट हेर्दा विभेदपूर्ण छ । कार्यलयमा जाने सेवाग्राहीले सकेसम्म महिलालाई हाकिम भनेर ठान्दैठान्दैनन् । ठानीहाले भने हाकिम्नी भनिदिन्छन, त्यो पनि पढेलेखेकैले । व्याकरणले पदमा स्त्री लिङ्ग र पुलिङ्ग हँुदैन भनेर पढेको कुराको हेक्का राखिदैन र व्याकरण नै बिगारिदिन्छन । विद्यालयका महिला शिक्षकलाई शिक्षिका, डाक्टरलाई डाक्टर्नी, कला साहित्य र गीतमा संयोजन गरेका शव्द सबै महिलासगँको यौन आनन्दका लागि राखेर गाएका देखिन्छन । व्यापारिक क्षेत्रका मदिराजन्य विज्ञापनमा सबै महिलाका नग्न तस्विरहरु हुन्छन अनि खाने चाहिँ अधिकांश पुरुष । विवाहका लागि केटीले चिया, पानीसहित देखिनुपर्ने तर आफु जाने घर र केटा जस्तो भए पनि हेर्न नपर्ने ! यस्ता तथ्यहरुसहित विश्लेषण गर्दा सबै कुरा महिलाको काम र यौवनको प्रयोग र उपयोग केन्द्रित मात्र शिक्षा पढाएका छौँ की जस्तो देखिन्छन । न परिवारमा महिलाको स्थान छ, न मान र पहिचान । यसरी बनेको परिचय त मात्र नाता र सम्बन्धको हुने गर्छ । नाम र कामको हिसावले पहिचान बन्न अझै पनि महिलाले अंश, वंश र अर्थको अधिकार पाउनैपर्छ । नत्र त छोरी, आमा, बुहारी, बहिनी, दिदी, मान्जी, माइजु आदिमा नै सदियाैँ कुँजिने खतरा देखिन्छ । त्यसैले अब नागरिकको पहिचानको शिक्षाका लागि पनि बोलौँ है । नत्र शिक्षामा सुधार हुने सम्भावना कम देखिन्छन ।

हामीले समय अनुसार दुनियाँमा बेरवदल भएका कानुन र समय सापेक्ष नीति नियमको कार्यान्वयनका विषयमा कसरी सरकारीस्तरबाट लागु गराउने भन्नेबारे अझै सोचेका छैनौँ । गाँउघरतिर जाँदा न्याय सम्पादनमा देखिने विभेदपूर्ण कुराहरु कति छन कति । राज्यका साना निकायमा अहिले पनि सर्वदलीय संयन्त्रबाट नै महिलाका हत्या, अपहरण, बलात्कार र अन्य यौन जन्य अपराधको छिनोफानो गराइन्छ । यसरी गरिने छलफलमा महिलाको सहभागिता हुँदैहुँदैन । भइहाले पनि एक जना महिलाको आवाजले महत्व पाउँदैन । पाए पनि उसगँ लिंगीय समानताको दृष्टिकोण नभएको हुन सक्छ या उसलाई पनि सहभागी पुरुषले प्रभावित पार्न सक्छ । अथवा अपराधि उसकै नाता सम्बन्धको हुन सक्छ । त्यस्तो अवस्थामा महिलाले महिलालाई न्याय दिन सक्दैनन् । त्यो सानो त्रृटिले महिलाहरु विरोधको हंगामामा पर्न सक्छन । त्यस्ता घटनाले पुनः महिला त्यस्ता छलफलमा मात्रै होइन सामाजिक क्रियाशिलताबाटै पन्छन सक्छन । बल्लबल्ल निस्किएको महिला निस्कृय हुँदा महिलाको न्याय नै जोखिममा पर्न सक्ने खतरा त्यतिकै छ । त्यसैले यतातिर पनि हाम्रो ध्यान जान सके राम्रो हुने थियो ।

दलहरु आफैंले नसके पनि दलका महिलाहरुले यस्ता विषय अभियानका रुपमा सञ्चालन गरे भने महिला सगंठनका सदस्यहरु यस्ता विषयमा लाभान्वित हुने थिए । ती अभियानले गाउँगाँउबाट दृष्टिकोणीय समानताको विकास हुने थियो । यस्ता विषयमा महिला र पुरुष दुवैलाई चनाखो बनाउन सके महिलासँग जोडिएर हुने सामाजिक र सांस्कृतिक पक्षका लैंगिक विभेदको अन्त्य हुने थियो ।
(ओझा महिला अध्ययन केन्द्रकी अध्यक्ष हुन्)

800 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank