प्रधानमन्त्री ज्यू अमर लामाको हत्यारा खोज्न कसले रोक्यो ?

आइतवार, जेष्ठ ४, २०७७



- मनाेज कँडेल-अधिवक्ता एवम् बाल अधिकारकर्मी

२७ वर्ष भयो नेपालको सर्वाधिक प्रख्यात र नेपाली जनताको मन मस्तिष्कमा गाडिएका नेता मदन भण्डारीको जिप दुर्घटनामा मृत्यु भएको । २०५० जेठ ३ गते दास ढुङ्गामा भएको त्यो घटना, दुर्घटना थियो की सुनियोजित आज पनि रहस्यको गर्भमै रहस्यमय रहेको छ ।

जिप दुर्घटना पश्चात् सिगों एमाले पंंङ्तीले यो घटना दुर्घटना नभई हत्या भएको घोषणा गर्‍यो, शोकलाई शक्तिमा बदल्ने प्रण पनि लियो, यता आम जनता पनि दुर्घटना मान्न तयार थिएन ।

सडक आन्दोलन भए, देशको धन सम्पत्तिको नास गरियो । गिरिजा प्रसाद कोइराला प्रधानमन्त्री थिए। उनलाई पनि आरोप लगाइयो। र, सिआईए सबका सब आरोपित भए । थुप्रै छानबिन समितिहरू बने, प्रतिवेदनहरू पेस गरियो । हत्यारा पत्ता लगाउने कसम खाइयो ।

सिङ्गो एमाले नेता देखी कार्यक्रर्ताहरुले त्यस जिप दुर्घटनामा बाँचेका अमर लामालाई औला ठडाए र उसलाई पार्टी सदस्यताबाट नै हटाउने निर्णय भयो । मुद्दा चलाइयो र ५ वर्ष जेल जीवन पनि बिताए । तर किन, कसरी, कसले गरेको थिए त्यो हत्या ? नत अनुसन्धानमा चाख दिए नत ती रहस्यहरू खोतल्न तदारुकता देखाए नेताहरूले ।

यदि त्यो हत्या नै थियो भने पनि अमर लामा त मात्र एक प्रयोग गरिएका खल पात्र मात्र थिए । योजनाकार त अरू नै थिए । हत्या पनि किन र के लागी गरिएको थियो त्यो पनि यस रहस्यसँगै रहस्यकै कोखमा रह्यो ।

तर त्यही दुर्घटनालाई पसल थापेर नेताहरूले आफ्नो दुनो सोझाउने बाहेक रत्तीभर सिन्को भाँच्ने काम आज सम्म गरेनन् । नत उनीहरूले यसको रहस्य नै खुलाउन चाहे नत यसलाई महत्त्व नै दिए । दिए त मात्र वक्तव्य बाजी र ठुला ठुला भाषण । सायद यो भन्दा बिक्ने कुनै नारा उनीहरूले देखेका थिएनन् राजनीतिमा ?

हुन पनि विधवा भेषमा आजकी सम्मानित राष्ट्रपतिले सन्त, कर्मठ र सत्यवादी नेता कृष्णप्रसाद भट्टराईलाई हराउन सफल हुनु भयो । नेपालकै सर्वाधिक लोकप्रिय नेता कृष्ण प्रसाद भट्टराईको हार मदन भण्डारीको अपराधी पत्ता लगाउनको लागिको जनमत थियो न की विधवा श्रीमती प्रतिको सहानुभूति ।

मदन भण्डारीको यही मृत्युलाई मुख्य नारा बनाएको एमालेले २०५१ सालको मध्यावधि चुनावमा ठुलो पाटी बन्ने मौका पायो । यो मत एमाले प्रति भन्दा पनि मदन भण्डारी प्रतिको सम्मान थियो । साथै आशा र भरोसा थियो सायद मदन भण्डारीको हत्यारालाई दण्ड दिलाउनेछन् उनका सहपाठीहरूले ।

हुन पनि छोटो अवधि कै किन नहोस्, नेपालमा पहिलो कम्युनिस्ट सरकार गठन पनि भयो, मनमोहन अधिकारी प्रधानमन्त्री हुनु भयो, रक्षा मन्त्री माधव नेपाल, गृहमन्त्री केपी ओली बन्नु भयो । कसले रोकेको थियो उहाँहरूलाई यसको छानबिन गर्न, दोषी पत्ता लगाउन ?

आज हेरौँ, राष्ट्रपति मदन भण्डारीकी श्रीमती, प्रधानमन्त्री देखी अत्यधिक बहुमतको सरकार । कार्यपालिका, व्यवस्थापिका अनि न्यायपालिका सबै कब्जामा छ । चाहँदा २ घण्टामा विधेयक पास हुन्छ र जारी हुन्छ । कसले रोकेको थियो उहाँहरूलाई यसको छानबिन गर्न, दोषी पत्ता लगाउन ?

यो २ चोटि मात्र होइन यो २७ वर्षमा झन्डै दर्जनौँ चोटि सत्ता सम्हालेको छ । नेपालका कम्युनिष्टहरुले, खै त छानबिन गरेको ? साँच्चै उहाँहरूको चाहाना थियो अपराधी पत्ता लगाउन भने कम्तीमा केही त गर्न सकिन्थ्यो नि । छ कै ? सिन्को भाँच्ने काम गरेका छैनन् ।

आज मदन भण्डारीकै सिद्धान्त, फोटो र आदर्श बेचेर डबल नेकपाको नाममा उहाँहरू राजनीति गरिरहेका छन् । जब जब प्रत्येक वर्ष त्यो दुर्घटनाको दिन आउँछ वक्तव्यहरू आउँछन् । मौन धारण हुन्छ, हत्यारा पत्ता लगाउने प्रण हुन्छ । उहाँहरूको कथा र गाथा गाइन्छ बस् ।

आज पनि एक होइन दुई, दुई अध्यक्षको नाममा ३ पृष्ठ लामो वक्तव्य जारी गरियो र भनियो हत्यारा पत्ता लगाउन निरन्तर लाग्नेछ । अनि ती कार्यक्रर्ताहरु नेताको वक्तव्यको कागजको अगाडि मौन धारण गर्ने र फुलका गुच्छा चढाउने बाहेक निरीह केही गर्न सक्दैनन् ।

अन्तमा,

दास ढुङ्गा दुर्घटनाको रहस्यकै बिच १० वर्षपछि उक्त घटनाका एक मात्र साक्षी अमर लामाको पनि गोली हानी हत्या गरियो । मदन–आश्रितको घटना त रहस्य मै रह्यो त्यो हत्या थियो की ? मात्र दुर्घटना त्यो कि अमर लामालाई थाहा थियो की भगवानलाई तर अमर लामाको त हत्या थियो ।

दिन दहाडै अपहरण शैलीमा कीर्तिपुरमा लगेर फिल्मी शैलीमा हत्या गरेका ती बिचरा अमर लामा, जो मदन–आश्रित रहस्यमय दुर्घटनाका एक मात्र साक्षी थिए ।

प्रधानमन्त्री ज्यू, महामहिम राष्ट्रपति ज्यू आज तपाइहरूसँग कार्यपालिका, व्यवस्थापिका अनि न्यायपालिका सबै कब्जामा छ, प्रचण्ड बहुमतको सरकार छ कृपया गरेर यस अमर लामा हत्या काण्डको अपराधीलाई मात्र जनताको कठघरामा उभ्याएर देखाउनुहोस् ।

नत्र यो गोहीको आशु चुहाउने राजनीति छोड्नुस् । इमानदारीका साथ आम जनता, कार्यकर्तासँग माफी माग्नुस् र यो रहस्यलाई कार्यकर्ता मनोभावनासँग खेल्ने र मागी खाने भाँडो नबनाउनुहोस् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments