नेपालको राजधानी कहाँ ?

सोमवार, भदौ ४, २०७५



- दीपेन्द्र पाण्डे

अल्पकालिन शान्ती र स्थिरताको निम्ती दिर्घकालिन रोग संघीयता रोजेसँगै नयाँ नयाँ राजधानी खोज्ने र रोज्ने अभियान जोड तोडसँग चल्दै छ । अरुले चर्काएको घर झगडा मिलाउने नाममा मुल ढोका एउटै राखेर सात वटा कोठामा नयाँ ढोका जडान गरिएको छ । हरेक कोठा मालिकले आन्तरिक डेकोरेसन गर्न घर मालिकसँग रोई कराई गर्ने र कोठाबासीलाई निचोर्ने नीति अनेक रुपमा देखिदैं छन ।

बुहारीलाई सके सम्म अंश नदिने दिनै परे नातीलाई दिने नीति अन्तर्गत बनाइएको संघ , प्रदेश र स्थानिय सरकारको बीच काम गर्ने ढंग नपुग्दा जनप्रतीनीधी , स्थानिय सरकार र संघीयता अचानक अस्तित्व रक्षाको भुमरीमा फस्दैछ । पङ्तीकार सानो छँदा स्कुलमा सोधिने नेपालको राजधानी कहाँ हो ? भन्ने एउटा महत्वपुर्ण सवाल संघीयता सहितको संबिधान बनेसँगै तमाम बिद्धार्थी र आम जनताको निम्ती टाउको दुखाई बन्दैछ । संबिधान कार्यान्बयन गर्न अनिबार्य मानिएको प्रदेश राजधानी र संघको राजधानी कतै स्थायी राजधानी बनाउँन नसकेर हैरान छ भने बनाइएको राजधानी काठमाडौं अस्तित्व हराएको पिंडामा रुँदै छ ।

राजतन्त्रको उपस्थिती मुलुकमा रहुञ्जेल सार्बभौम सत्ताको प्रयोग नारायणहिटीमा बस्दै तात्कालिन राजतन्त्रको प्रतीनिधी राजाले गर्दथे । तत्कालिन समयमा  दक्षिण , पश्चिम र उत्तरको स्वार्थलाई मिहिन ढंगले अध्ययन अनुसन्धान गर्दै सन्तुलन राख्ने कोसिसका साथ सिंहदरबार सुम्पने परम्परा राजतन्त्रको औपचारिक बिदाई सँगै टुटेको छ ।

१२ बुँदेको जगमा ०६२ र ०६३ को जन आन्दोलन सँगै बसाँई सरेको सार्बभौम सत्ताको साइड इफेक्ट नेपाली राजनीतिले डाईजेस्ट गर्न नसक्दा नयाँ ढंगको राजनैतिक असन्तुलन देखा पर्दैछ । सात प्रदेशले बनाउँनै पर्ने राजधानी र भएको राजधानीले आफ्नो अस्तित्व फिर्ता ल्याउन गर्नै पर्ने शक्ती संघर्षमा मुलुक फसेको महशुस राजनीतिको क ख बुझ्नेले समेत गर्दैछ्न ।

अत्यन्तै भरोसाको साथ वाम गठबन्धनलाई सुम्पिएको सिंहदरबार कुर्सी आफ्नै सपनामा बेरिएर हिड्नै नसक्ने अवस्थामा छ । जनताको अभिमत , मतादेश वा जनादेशलाई सडकले च्यालेञ्ज गर्ने , सिंहदरबारको निर्णय प्रकृयामा दक्षिण पश्चिमको प्रभाब असिमित रुपमा बढदै छ । शान्ती , स्थीरता र समृद्धिको जन चाहानामा फेरी पनि अबरोध सिर्जना गर्दै सडक बाट नयाँ ढंगको अस्थिरतालाई जन्म दिने खेल रणनीतिक रुपमा सुरु भइसकेको छ ।

अत्यन्त छिटो नयाँ बर्ग जन्मिएको मुलुकमा मुलुक छोडेर जान नसक्ने र राज्यलाई दोहन गर्न नसक्नेलाई मात्र देशको मायाँ लाग्ने बिचित्रको अवस्था सिर्जना गरिएको छ । सर्बसाधारण जनताको जीवनशैली दिन प्रती दिन कठिन बन्दै गइरहेको बर्तमान अवस्थामा मुलुक र मुलुकबासी अकल्पनिय अनिष्टको कल्पना गर्दैछ्न ।

टिपिकल भाषामा वा पहाडे भाषामा पहिला काठमाडौं जानेलाई नेपाल जाने भनिन्थ्यो । ससुरालीको झगडा बाट चन्द्रागिरी आइपुगेका पृथ्बी नारायण साहलाई कान्तीपुरको रुपले लोभ्याउँदा जुनसुकै मुल्यमा आफ्नो बनाउँने चाहानालाई सार्थक बनाउँन तात्कालिन समयमा युद्ध भन्दा अर्को बिकल्प देखेनन । कठिन संघर्ष बाट प्राप्त जीत पछी गोर्खालाई गुल्जार बनाउँनुको सट्टा मुलुकको सबैखाले अस्तित्व , शक्ती र परिचय काठमाडौंबाट सुरु गर्ने निर्णय स्वरुप काठमाडौंलाई राजधानी घोषणा गरे ।

०४५ साल माघमा गणेशमानको चाक्सीबारी बाट काठमाडौं छिरेको दक्षिण , प्रजातन्त्रको सहयोगी बन्दै जवाहरलाल नेहरु र इन्दिरा गान्धीले देखेको हिमालयको फेदी सम्मको भारतीय सिमानालाई परिमार्जित गर्दै सार्बभौम सत्ता काठमाडौंबाट दिल्ली सार्न अनेक ढंगले चाल चली रहयो । केवल पाँच बर्षको प्रजातान्त्रीक अभ्यासको बीच तात्कालिन दरबार र माओबादी कुण्ठालाई राजनैतिक उर्जा भर्दै दक्षिणले हुर्काएको माओबादी ध्वसं मार्फत मुलुकलाई आर्थिक , सामाजिक , साँस्कृतिक र राजनैतिक रुपले अपाङ्ग बनाउँन सफलता प्राप्त गर्‍यो । दिन दुई गुणा रात चौ गुणा चर्काइएको माओबादी ध्वसंलाई समाधान गर्ने बहानामा १२ बुँदे मार्फत नेपालको हुर्मत लिन रणनीतिक रुपमा सफल भयो ।

मुलुकमा राजनैतिक अस्थिरता चर्काउँदै समाप्त पारिएका नेपालको उद्धोग , शिक्षा , स्वास्थ्य , संगठन , संस्था , ब्यक्ती , सोचको बिभत्स रुप हेर्न काठमाडौंमा चल्ने सवारी साधन , सुन्ने गीत , खाने सामान देखी सर्वचिज दक्षिण कै भरपर्ने स्थीतीले दक्षिणको सिमाना आर्थिक रुपले हिमालयको फेदी सम्म आइपुगेको मान्न सकिन्छ । अपबादमा बाहेक पेट पाल्नकै निम्ती लाखौं नेपाली भारतिय श्रम बजारमा दरबान , कुल्लीको रुपमा खपत भइरहेको कहाली लाग्दो अवस्था प्रजातन्त्रको आगमन पश्चात कमी आउन सकेन । सुनियोजित रुपमा फैलाईएको राजनैतिक अस्थिरता मार्फत खाली गराइएको नेपालको गाँउ पाखा बाँजो राख्दै मलेसिया , साउदी , कतार , बहराइन मात्र हैन विश्वभर फैलिएका लाखौं लाख नेपालीको रेमिट्यान्स भारतिय सामान खरिद गर्न प्रयोग भइरहेको ुब्यापार घाटाु हेरे मुलुकको अस्तित्व कहाँ पुगी सक्यो सजिलै बुझ्न सकिन्छ ।

दक्षिणको सुरक्षाको निम्ती गोर्खा रेजिमेण्ट चाहिने तर नेपाली सेनामा समुहगत , क्षेत्रगत अनि जातीगत  भर्ती गरिनु पर्ने , नेपालको संबिधान जारी गर्दा नाकाबन्दीको सामना गर्दै मुलुकले अकल्पनिय आर्थिक क्षति बेहोर्नु पर्ने । , आफ्नो देशमा छिमेक कै राष्ट्रपती बोलाउन उनीहरुको ग्रीन सिग्नल कुर्नु पर्ने साथै सिंहदरबारको कुर्सी प्राप्त गर्न र टिक्न पहाड देखी तराई सम्मको राजनैतिक शक्तीले दिल्लीकै आशिर्बाद प्राप्त गर्न दिल्ली दौडधुप गर्नु पर्ने बिचित्रको स्थीति पछी नेपालको अघोषित राजधानी कता बनाँइदै छ ? भनी रहनु परेन ।

गन्तब्य दिल्ली अन्तर्गतको मिशनमा नराम्रो सँग चुकेको नेपाली राजनीति हरेक क्षेत्रमा दिल्लीको भर पर्ने बर्तमान अवस्था सार्बभौम सत्ता सम्पन्न मुलुकको निम्ती सुहाउँदो बिषय हुँदै हैन । मुलुक भित्रका सबै निकायलाई निकम्मा बनाउँदै गन्तब्य दिल्ली बनाइएको सानो नमुना राजीब गान्धी , एम्स र एपोलो हस्पिटलमा लाईन लागेका नेपालीको संख्या हेरे थाहा लाग्छ । मुलुक भित्र नयाँ संस्था जन्मनै नदिने , भएका संस्थालाई अनुपयुक्त जालझेलको प्रयोग गर्दै निकम्मा बनाउने खेलमा नेपाली नै प्रयोग गरिने बिचित्रको स्थीती पछी नेपाली राजनीति दक्षिणको चक्रब्युह तोडने र आफ्नै खुट्टामा उभिने बारेमा सोच्न छोडेको महशुस हुँदैछ ।

हामीले अनेकौं नामको आन्दोलन गर्यौ । हरेक आन्दोलनमा मुलुकबासी पराजीत भएको प्रमाण असंख्य छन । रुपमा नेपालीले , सारमा बिदेशीले जित्ने राजनीतिको पछिल्लो प्रमाण २४० बर्षको राजतन्त्र हामीले हटाउन सफलता पायौं तर पशुपतीनाथको पुजारी हटाउन सकेनौं । मतपत्रबाट कुर्सी पायौं तर निर्णय गर्ने क्षमता गुमायौ । रगत हामीले बगायौं । उपलब्धी उनीहरुले पाए । समुन्द्र मन्थन हामीले गर्यौ । अमृत उनीहरुले लिए । बिडम्बना भन्नु पर्छ । बिभिन्न नामको उपलब्धी भन्दै कालकुट बिष हाम्रो हातमा राखी दिए ।

अन्तमा , मुलुकको आन्तरिक राजनीतिलाई खल्बल्याने अनेकौं झगडाको बिउ आफै रोप्ने ,समस्या समाधान र सहयोगको बहानामा आफ्नो अर्थपुर्ण उपस्थीती खोज्ने नेपालका मित्र , छिमेकी र दाताहरुको आशिर्बाद लिनुको सट्टा आफ्नै मुलुक भित्रका तमाम राजनैतिक शक्ती , राजनैतिक दल र नेताहरुले आन्तरिक सहकार्यलाई अनिबार्य र मजबुत बनाउँनुको बिकल्प छँदै छैन । अझै पनि फगत कुर्शी स्वार्थमा रुमल्लिए आम जनताले सिंहदरबार र राजनैतिक दलहरुलाई सोध्ने कटु सवाल नेपालको राजधानी कहाँ ? मुलुक र लोकतन्त्रले सयौं बर्ष सुनी रहनु पर्नेछ ।

671 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank