इमानदार हुनु भनेको बोल्न नसक्नु हो ?

आइतवार, बैशाख २९, २०७६



- सीता ओझा

वैशाखको महिना नेपालीहरूको लागि नयाँ वर्षको शुभारम्भको महिना भनेर चिनिन्छ । हरेकले नयाँ वर्षको नामले आफ्ना काम या सम्बन्धलाई नजिक र क्रियाशील बनाउने गर्छन् । जीवनमा जटिलता नपरोस् भनेर वरपरका  देखिने र नदेखिने शक्ति केन्द्रबाट बल र शक्ति आर्जन गरि आफुलाई उनीहरूमा समर्पित गर्ने महिना पनि यै हो ।

यहि सन्दर्भमा एक जना साथीसगँ भेट भएको थियो । त्यो भेटको संवाद,” म त बा कहाँ गएर आएको, यसो भेट्दै गर्नु पर्यो नि । केही दिइ हाल्छन कि ? तिमी जादैनौ ? ए एता सुन त, त्यो श्यामसँग चाहिँ नजाउ है । उसलाई त सारै छुच्चो, कसैसगँ नमिल्ने भन्दा रैछन ।” श्यामले एक्कै स्वरमा यसो भन्यो । कुरा सुन्दा अचम्म लाग्यो । पुनः सोधे किन छुच्चो भनेका रहेछन नि ? श्यामले इसारामा नजिक आएर कानै टोकुला झै गरेर भन्यो, ” कसैलाई नभन्नु नि । ऊ जे हो त्यही भनी हाल्छ रे । एक पैसा कसैको खादैन रे। जिम्मा पाएको काम पूरा गर्छ रे । मानिससँग काम र मानवताको सम्बन्ध मात्रै हुनु पर्छ भन्छ रे । काम नगर्नेलाई ठुलाले उकासेको मन पराउदैन रे । नियम विपरीत कसैलाई केही गर्न दिदैन रे। ठुलाले भन्दैमा जे भन्यो त्यो हैन विवेकशील भएर न्याय र अन्याय छुट्याएर विवेकको प्रयोग गरेर चल्नु पर्छ भन्छ रे । त्यसैले छुच्चो र कसैसँग नमिल्ने भनेका रे ।” उसको कुरा सुनेर म वाल्ल परें ।

छुच्चो शब्दलाई नेपाली शव्दकोषले सानो चित्त भएको, छोटो मिजासको, दुच्छर, लोभी स्वभावको, किरन्टोकी, साथीभाइलाई नसहने, अमिल्दो, अरूका नचाहिँदा कुरा गर्ने, छुल्याहा, छुस्कर भनेर व्याख्या गरेको छ । माथी उल्लेख गरिएको संवादको कुरा र शब्दकोषको व्याख्याले कहिँकतै मेल खाएन । त्यो भन्दा फरक तरीकाले प्रयोग गर्ने प्रचलन पनि अहिले फेसन झै चलेको छ । त्यो प्रसङ्ग पनि यहाँ उद्धृत गर्दा सान्दर्भिक नै होला ।

अहिले हाम्रो समाजमा विकास भएको अवसरवादको मध्यमार्गीधारसगँ माथिका प्रसङ्गहरूको तुलना गर्दा चरित्र र सन्दर्भ यहाँ मिल्ला कि जस्तो लाग्यो । अहिले हामी सबै सम्बन्ध नबिगारि आफ्नो काम पट्याउने ‘मध्यधारे’ भएका छौ ।विचौलिया चरित्रका कारण हाम्रा कामहरू ( हाम्रा घर परिवार, संघ/ संस्था, राजनीतिक दल र दलका वाद र विचार ) प्रभावित भएका छन । मध्य या बीचको अथवा सबैसगँ राम्रो बन्ने नाममा यसरी नीति सिद्धान्त र व्यवहारमा गैर जिम्मेवार बन्दै जाँदा हामीले खोजेको गुणस्तर, रोजेको सक्षमता पाउन सक्छौ कि सक्दैनौं । बीचमा बस्नेहरूले सोच्नु पर्ने बेला आएको छ ।

यसरी शब्द को अर्थ बङ्याएर आफुले भनेको नमान्ने, आफ्नो स्वार्थ पूरा नहुने जस्तो लागे अर्को मानिस या साथीलाई यसरी आरोप लगाउनु पछौटे चिन्तन र अमानविय व्यवहार हो । विचारले स्पष्ट, दिर्घकालिन सोच राखेर बोल्ने, काममा लगनशीलता देखाउने , के, किन र कसरी आदि प्रश्न गर्ने र गुटहितोपोषणमा भन्दा सामाजिक न्याय र समानतामा रमाउन खोज्नेका विरूद्द प्रयोग गर्न खोजिएको  अहिलेको समावेशी फेसन  शब्दजालको रूपमा यो शब्द प्रयोग गरेको देखिन्छ ।

कम बोल्नु, भनेको स्वर विहिन, कुरा नबुझ्ने, बोधो हुनु होइन ।  संघ संस्थामा काम गर्दा के,  किन,कसरी, कहाँबाट आदि प्रश्न गर्नुको मतलव संस्था विरोधी हुनु पटक्कै होइन  । अन्यायपूर्ण र  नाचाहींदा प्रवृत्तिको विरोध नगर्नु, विचार नगरि बोल्नु, थप्नु, या विचार बिहिन भएर पिछलग्गु बन्नेको भन्ने मान्नु पनि होइन । अरूले बोलेको बेला ध्यानपूर्वक  सुन्दिनुको अर्थ  शिष्य भएर  दिक्षित् हुँदै गर्नु  पनि होइन भन्ने कुरा अहिले नेतृत्व गर्नेले बुझ्न जरूरी देखिन्छ ।

इमान्दार हुनुको मतलब बोल्न नसक्ने (लाटो) हुनु या कुरा नबुझ्ने बोधो या मस्तिष्क घात भएको  हुनु होइन । विचार र व्यवहारमा सरल र काम प्रति इमान्दार र लगनशील हुनुको मतलव दास हुनु या कसैसँग नमिल्ने, छुच्चो, एकलकाँटे वा एकलौटी गर्ने या गर्न खोजेको होइन । काम प्रतिको चासो, लगाव, सहभागिता, सकृयता, निर्णयमा एकरूपता र काममा अपनत्व सहित नेतृत्व लिनु र लिने भावना पैदा गर्नु चाहिँ इमानदारिता हो । यस्तो कार्य गर्न, गराउने वातावरण विषेश गरेर शिर्ष नेतृत्वमा  बस्नेको  नेतृत्व शिपमा देखिनु पर्ने व्यवहार हो । यस्तो सुझबुझ र विवेकपुर्ण तरीका नेतृत्वले लिएर समयमै विना आग्रह कामको विनियोजन गर्यो भने नेतृत्वले संस्थागत कामलाई व्यवस्थापन गर्न सक्छ । यसरी व्यवस्थापन गर्दा संघ संस्थाको काममा परिणाम देखिन्छ र नेतृत्व सफल भएको गुणस्तर मापन गर्ने सजिलो आधार बन्छ ।

काम गर्दा व्यवहारमा टाढा नजिक गर्नु, द्वन्द्व व्यवस्थापन गर्न नसक्नु या व्यवस्थापन गर्न नखोज्नु भनेको गुटबन्दी गर्नु हो । अप्रजातान्त्रिक परिपाटी र  दम्भ पाल्नु हो । यस्तो गर्दा आफ्नो कारण  संस्थागत क्षति हुन्छ । अन्तरविरोध बढ्छ र काममा बाधा हुन्छ ।  त्यस्तै सामाजिक रूपमा सहिष्णुता, सद्भावना, सदाचार र सह-अस्तित्व कायम गर्न सहयोग पुर्याउने सकारात्मक समायोजनको प्रयत्न हराउछ । मानिसले कम बोल्ने, विचार पुर्याउने या सुन्ने कुरालाई दुर्गुण/ छुच्चो या नमिल्ने बनाउदै हेप्नु, खेद्नु, अपमानजनक व्यवहार गर्नु, चाहिँ नेतृत्वको पुर्वाग्रहि आचरण हो । यस्तो पुर्वाग्रहि भावनाले संस्थालाई निष्कृय र कम्जोर पार्ने काम बाहेक अरू  फाइदा गर्दैन ।

त्यस्तै नसुन्नु भनेको श्रवण शक्ति नभएको/कम सुन्ने या थेत्तरो भनेको होइन । विधि, प्रकृया,क्रियाशीलता, विषय प्रतिको रुचि, क्षमताको हेक्का नराखी जिम्मेवारी प्रदान गर्दा या गरिरहँदा नेतृत्वले  हेपेको  या एकात्मक र  पुर्वाग्रह राखेर व्यवहार गरेको कारण नेतृत्व प्रति देखाएको विरोध  हो भनेर बुझ्दा राम्रो होला ।

यी र यस्ता गतिविधि या व्यवहार विभेदकारी या अन्यायपुर्ण व्यवहार हुन । यस्तो व्यवहार गरिरहदा व्यक्ति भएको देखिन्छ तर त्यो निष्कृयताले व्यक्तिलाई भन्दा संस्थालाई विशेष रूपमा हानी पुर्याउछ । यस्ता व्यवहार या कार्यशैलीमा नेतृत्व गर्नेको हेक्का नपुग्दा आफू त असफल हुन्छ नै, सँगै थाहै नपाई संस्थालाई पनि धारासाहि बनाउँछ । अन्तरविरोधमा खेलेर फाइदा लिन खोज्दा खोज्दा संस्थाको अस्तित्व मेटिन्छ र नेतृत्वले आफुलाई नै  आत्मघात गर्दछ ।

 यस्ता उपेक्षापुर्ण व्यवहार देखाउँदा  कहिलेकाही असल, इमानदार र क्षमतावान व्यक्तिको आत्मसम्मानमा चोट पुगि काम या संस्थाबाट अलग हुने र आत्महत्या गर्ने अवस्था पुर्याउन  सक्छ । चुपचाप बस्नु वा टसल गर्न नखोज्नु भनेको विचार विहिन, कामचोर अथवा अवसरवादी हुनु वा हुन खोज्नु पनि पटक्कै होइन ।

यस्ता विषयहरूको  पृष्ठभूमिमा धेरै कुरा हुने गर्दछ ।  मानिसका स्वाभावजन्य कारण र नेतृत्वको पक्षपाती व्यवहारले नै यस्ता स्वाभाव हाबी हुने गर्दछ । आन्तरिक र बाह्य कारणले हुने यस्ता कुराको खोजबिन गर्नु, हेलाहोचोको व्यवहार पर्गेल्नु, संस्था भित्रकाहरू बिच मेलमिलाप या मैत्री र अन्तरविरोध न्युनिकरण गर्दै भावनात्मक सम्बन्ध विकास गर्नु, सुखदुःख बुझ्दै सबैलाई समान व्यवहार गर्दै मुलधारमा ल्याउन खोज्नु चाहिँ असल नेतृत्वमा हुने गुण हो । भनिन्छ, यस्ता असल व्यवहारहरू नेतृत्व गरुन्जेल  मात्रै गरे पनि  संस्था माथि न्याय हुन्छ ।

त्यस्तै मुखमा समृद्धि शब्द मन्त्र झै जप्ने हामीहरूका लागि व्यवहार सुधार गर्न मध्यमार्गी धार त्याग गर्ने कुरा अग्रगमनको विषय हो । सरकारी, गैरसरकारी तथा वर्तमान राजनीति भित्र यहि ‘हस र हुन्छ’ बहादुर प्रवृत्ति शिर्ष देखि कनिष्ठ नेतृत्वसम्मले  अँगालेको देखिन्छ । यहि मध्यमार्गी चरित्रको कारण  निष्ठा र काम प्रति लगाव र क्षमता भएकाहरू विस्थापित र पलायन भइरहेका छन । यसको कारण पनि मध्यममार्गी धारको प्रवृत्ति हावी भएकै कारणले हो भन्दा अनुपयुक्त हुदैन होला । यस्ता समस्याको पहिचान गर्न नसक्दा, हेर्दा मसिना लाग्ने मुद्दाबाट नै ठुला समस्याहरू बल्झिने खतरा हुन्छ भन्ने कुराको हेक्का राख्नु पर्छ कि ? नत्र कामबाट विस्थापन हुने मात्रै होइन विस्तारै आफै अराजकतातिर गइन्छ कि ?  सोचौं है ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata