नेपाल भ्रमण वर्ष २०२० र निजगढ विमानस्थल बारे मा. मन्त्री योगेश भट्टराईलाई खुल्ला पत्र

बुधबार, पुस २३, २०७६



- डा. रामकुमार अधिकारी

भारतका पूर्व राष्ट्रपति स्व. डा. अब्दुल कलाम आजाद्ले भन्नु भएको थियो – “सपना त्यो होइन जो निदाएको बेलामा देखिन्छ । तर त्यो हो जो देखेर निन्द्रा लाग्दैन ।”

माननीय योगेश कुमार भट्टराई ज्यू, तपाईँको एउटै सपना छ “नेपाललाई संसारकै एक विकसित मध्यको एक स्वाधीन, अग्रगामी, समृद्ध मुलुक बनाउनु र नेपाली जनतालाई संसारकै विकसित मुलुकका नागरिक सरह भएको देख्ने इच्छा हुनु” जसले तपाईँलाई निद्रा लाग्न दिँदैन ।  तपाईँ नेपाल भ्रमणको पूर्व सन्ध्यामा प्रचार प्रसारको क्रममा अस्ट्रेलियामा हुनुहुन्छ  ।  हिजोको कार्यक्रममा केही विवाद पनि आएका छन्। “विवाद” जीवन्तताको पर्याय हो र संसारका कोही पनि राजनेताहरू विवाद मुक्त छैनन् र हुंदैनन पनि किनकि निरन्तरतामा क्रमभंगता गर्दा विवाद हुन्छ नै। तपाईँको आत्मा पवित्र छ । तसर्थ यी साना कुराबाट प्रभावित नहुनुहोस्। डडेलोले ग्रस्त अस्ट्रेलियामा तापक्रम बढेको छ ।  किनकि अस्ट्रेलिया ठुलो मात्रामा कार्बनडाइअक्साइड उत्सर्जन गर्ने देश मध्य एक हो। तपाईँलाई म २०४२ साल देखि चिन्दछु। नेपालको कायापलट गर्ने कृषि र जलश्रोत पछि पर्यटन उद्योग नै हो । यसकारणले तपाईँ मुलुकको कायापलट गर्न सक्ने पदमा हुनुहुन्छ। नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भ भएको आज एक हप्ता भएको छ । यस भ्रमण वर्षको मुख्य उद्देश्य यस वर्ष हाम्रो देशमा २० लाख पर्यटक भित्र्याउनु हो। पर्यटन सम्बन्धमा दुई वटा उदाहरण हेरौँ।

करिब ७२१ वर्ग किलोमिटर क्षेत्रफल र ५७ लाख जनसङ्ख्या भएको सिंगापुरमा सन् २०१८ मा करिब एक करोड ८५ लाख अन्तर्राष्ट्रिय पर्यटकहरूले भ्रमण गरे र करिब २३ खर्ब नेपाली रुपैयाँ त्यहाँ पर्यटकले खर्च गरे । क्षेत्रफलको हिसाबले सिंगापुर भन्दा करिब २०४ गुणा ठुलो र ३ करोड जनसङ्ख्या भएको हाम्रो देशमा सन् २०१८ मा  १२ लाख अन्तर्राष्ट्रिय पर्यटकहरूले भ्रमण गरे। त्यस्तै नेपाल भन्दा  ४ गुणा केही ठुलो र करिब २ गुणा भन्दा बढी जनसङ्ख्या भएको फ्रान्समा सन् २०१८ मा नौ करोड विदेशी पर्यटकले भ्रमण गरे र ७० खर्ब नेपाली रुपैयाँ फ्रान्समा पर्यटकबाट राज्यले आर्जन गर्न सफल भयो।

आखिर ती देशहरूमा गौतम बुद्ध जन्मेका पनि होइनन् ।  संसारको सबैभन्दा अग्लो चुचुरो नि छैन। तर उत्तरमा करिब १ अर्ब ६० करोड र दक्षिणमा  १ अर्ब ४० करोड जनसङ्ख्या भएका हाम्रा छिमेकी देशहरू छन् । तर किन २० लाख पर्यटक देशमा भित्र्याउन हामीलाई समस्या परीरहेको छ ? उत्तर तपाईँलाई कण्ठै छ। बुद्धिजीवीहरू, पर्यटन क्षेत्रका विशेषज्ञहरू, पत्रकारहरु र आम जनसमुदायमा यो प्रश्न गरेमा उत्तर सजिलै छ ।  पर्यटन पूर्वधारको अभाव र प्रचार प्रसार को कमी वा अन्य कारणहरू ।

स्व. रबिन्द्र अधिकारी र तपाईँको पहलले नागरिक उड्डयनका सूचकहरू सकारात्मक, हवाई सेवा र पर्यटन पूर्वाधारमा उल्लेखनीय परिवर्तन, त्रिभुवन बिमान्स्थल २४ सै घण्टा सञ्चालनमा, अधिकांश पाँचतारे होटेल सञ्चालनमा, पर्यटक वृद्धि दरमा नेपाल एसियाको पहिलो, लगातार २ वर्ष २५ प्रतिशत को वृद्धि दर, विश्वमा हवाई यात्रा गर्ने सङ्ख्याको वृद्धि दर ७% मात्र भएकोमा नेपालमा हवाई यात्रा गर्ने सङ्ख्याको वृद्धि दर १३%, गौतम बुद्ध र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्यमा उल्लेखनीय प्रगति, छिट्टै सिधै अन्तर्राष्ट्रिय उडान सुरु हुने, जापान सिधा उडान, यी सकारात्मक सङ्केतहरू नभएका होइनन्।

स्व. रबिन्द्र अधिकारी भन्नुहुन्थ्यो “केरुङ-रसुवागढी-काठमाडाै रेलमार्ग, काठमाडाै-पोखरा-लुम्बिनी रेलमार्ग, निजगढ विमानस्थल, बुढीगण्डकी जलासययुक्त बहुउद्देश्यीय परियोजना, निजगढ–काठमाडौँ फास्ट ट्रयाकको निर्माण, सुरुङ मार्गहरू निर्माण, पश्चिम सेती, अपर कर्णाली, तमोर जस्ता राष्ट्रिय गौरवका आयोजनाहरू गेम चेन्जर र मुलुककै आर्थिक विकासको बिग पुस हुने आयोजनाहरू र मुख्यगरी निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण नै नेपालको पर्यटन विकासको आधारभूत माइल्स्टोन हो।”

स्व. रबिन्द्र अधिकारी चाहनुहुन्थ्यो नेपालमै Aeronautical science को लागि संस्था निर्माण गर्ने, नेपालमा अन्तर्राष्ट्रिय स्तरका ठुला, वृहत् क्षमताका सभागृहहरूका निर्माण गर्ने, जसअनुसार भर्खरै केही शिलान्यासका कामहरू, डिजाइनका कामहरू भएका छन्।  तपाईँले नेतृत्व समालेपछि पहिले स्व. रविन्द्र अधिकारीले जसरी नै नागरिक उड्डयन क्षेत्रका शताब्दी शताब्दी देखिको विग्रेको संयन्त्र, थिती, परम्परागत अभ्यास र आचरणहरूलाई परिवर्तन गर्दै लानु भएको छ।

आज औपचारिक र अनौपचारिक गरी ८० लाख भन्दा धेरै नेपाली रोजगारीका लागि बिदेशीएका छन्। प्रति वर्ष करिब ५ लाख को सङ्ख्यामा बेरोजगार युवा आउँछन्। पर्यटनलाई नेपालको आर्थिक विकासको मेरुदण्ड मानेर योजना बनाएर लगानी गर्ने हो भने यी सबै सामान्य समस्या मात्र हुनेछन्। ५ वर्षपछि प्रत्येक वर्ष ३५ लाख पर्यटक भित्र्याउने, २०२० देखि २०३० लाई पर्यटन दशकका रूपमा सञ्चालन गर्ने, नेपालको कुल गार्हस्थ्य उत्पादनमा रहेको करिब ३ प्रतिशतबाट २०२५ सालसम्ममा १० प्रतिशत योगदान गर्ने लक्ष्य राखिएको छ। यसलाई राष्ट्रिय अभियानको रूपमा लैजाने जुन लक्ष्य राख्नु भएको छ ।  त्यसको निम्ति कति बजेट आगामी वर्ष छुट्ट्याउने, तीनै तहका ७६१ वटा सरकारहरूलाई पर्यटन क्षेत्रमा निश्चित प्रतिशत खर्च गर्नै पर्ने प्रावधान बनाउने उचित समय आएको छ। नेपाल पर्यटन क्षेत्रमा कम लगानी गर्ने राष्ट्रमा पर्दछ। प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक हिसाबले धनी र संसारमा बुद्ध धर्म र हिन्दु धर्म मान्ने ठुला देशहरूको बिचमा रहेको यो सुन्दर देशमा प्रति वर्ष ३ करोड पर्यटक भित्र्याउन के गर्नु पर्ला ? तपाईँ मुलुक निर्माणको महाअभियान सञ्चालन गर्न सक्ने नेता भएको कारणले संसारभर रहेका नेपाली मिलेर अभियान सञ्चालन गर्नुपर्छ।  मुलुक भित्रका नेपालीलाई मात्र अभियानमा लगाउने होइन।

निजगढ विमानस्थल बारे
२४ वर्षदेखि चर्चा मात्र भएको, काम नगरिएको विमानस्थल निजगढ विमानस्थल हो । रुख काटेर र चराचुरुङ्गीको बास मासेर विमानस्थल बनाउन नहुने भन्दै दायर भएको रिटमा सर्वोच्चले प्रारम्भिक सुनुवाइ गर्दै तत्काललाई काम अघि नबढाउन आदेश दिएको छ । ‘सर्वोच्चले काम अघि नबढाउनु भनेपछि केही मान्छेहरू अब त काम अघि बढ्दैन भनेर मक्ख परेको देखिएको छ । सर्वोच्च अदालतले जुन फैसला गरेको छ त्यसलाई सम्मान गर्दै माननीय न्यायमुर्तिहहरुलाई यसबारे स्पष्ट हुन अनुरोध गर्दछु।

सजीव, निर्जीव सबैको बनावटको सबभन्दा साना ‘कण’लाई Atom भनिन्छ। Atom को बिचमा न्युक्लिअस हुन्छ । जो धनात्मक हुन्छ  ।  न्युक्लियसको बाहिर ऋणात्मक चरित्र भएको इलेक्ट्रोन घुमिरहेको हुन्छ  ।  त्यो चक्रको वा अर्बिट्को पनि अल्फा, बेटा, गामा जस्ता अर्बैटलहरु र सबअर्बैटलहरु हुन्छन् । तिनीहरू परिवर्तन भइरहन्छन्। तसर्थ सजीवको मात्रै होइन।  निर्जीव वस्तुको पनि जीवन चक्र हुन्छ। तसर्थ रुखको पनि आयु हुन्छ ।  एक समय आएपछि रुख पनि बुढो हुन्छ र सानो हुँदै या कमजोर हुँदै या धोद्रो हुँदै जान्छ । तसर्थ निश्चित समयमा रुख काट्ने, रोप्ने काम गर्नु पर्छ । आयु पुगेर धोद्रो हुँदै जाने रुख काट्न पनि नहुने ? नेपालमा प्रति वर्ष १०० मिलियन डलरका काठका सामान विदेशबाट भित्रन्छ । ती काठ नकाटी विदेशबाट आएका हुन त ? रुख, बिरुवा नवीकरणीय ऊर्जाका श्रोत भनेर विश्वले मानेका छन्। २२ लाख नै रुख काट्न परे पनि ५ करोड छिटो बढ्ने रुख रोपेमा झन् वातावरण राम्रो हुन्छ।

रुखको विषयलाई लिएर फेरि भुमरीमा परेको सो विमानस्थल बनेमा नेपालको मुहार फेरिनेमा विज्ञहरू समेत सहमत छन् । अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठनको ७५ औँ स्थापना दिवसको अवसरमा नेपालको हवाई नीतिबारे भएको छलफलमा धेरैजसोले निजगढमा केही रुख काटिने वहानामा विमानस्थल बनाउने काम नरोक्न र हवाई पूर्वाधारमार्फत देश संवृद्ध बनाउने आधार भएकाले यसलाई सरकारले अघि बढाउनै पर्ने सुझाव दिएका छन् ।

माननीय मन्त्री ज्यू, तपाईँ ठुलो इच्छाशक्ति भएको मान्छे हुनुहुन्छ । प्राविधिक रूपमा हेर्दा निजगढ क्षेत्रलाई भौगोलिक, प्राविधिक, तथा वातावरणिय र आर्थिक हिसाबले उपयुक्त ठहर भइसकेपछि किन विवाद गर्ने ? संसारमा दुई तीन तले ठुला विमानहरू नेपालमा कहिल्यै देख्न नपाइने भइयो त ? संसारका ठुला विमानस्थलबाट मुख्य शहरमा पुग्न केही समय लाग्छ। निजगढबाट काठमाडाै आउन करिब १ घण्टा लाग्छ  । फास्टट्रयाक बनेपछिको अवस्थामा  यहाँ वायुयान संचालनका लागि आवश्यक पर्ने सबै सुविधाहरू सञ्चालनमा ल्याएर यस विमानस्थललाई एसिया प्यासिफिक क्षेत्रकै सबैभन्दा राम्रो र छिमेक सहित २२ देशको ट्रान्जिट विमानस्थलको  रूपमा पनि विकास गर्ने योजना छ ।  जसले गर्दा नेपालको हरेक क्षेत्रमा प्रगति हुने देखिन्छ। नेपालको सामाजिक, आर्थिक विकासलाई गति दिन यो विमानस्थल सकेसम्म छिटो बनाउनु पर्छ । राज्यको गेम चेंजर को रूपमा यो विकास गर्नै पर्छ। अबको संसार भनेको आफूसँग भएको अरूसँग नभएको कुराले जित्ने हो। नेपालमा अन्तर्राष्ट्रिय स्तरका पर्यटनका पूर्वाधारहरू अपर्याप्त छन् तसर्थ निजगढ विमानस्थलको साथमा अति सुन्दर पर्यटकीय सहर बनाउनु पर्छ। यो विमानस्थल एसियाको मात्र हब होइन विश्वकै अनौठो हबको रूपमा विकास गर्नु पर्छ । प्रतिपक्ष, नेपाली मिडिया, नागरिक समाज र संरक्षणविद् निजगढ विमानस्थल बारे अनेक कुरा गरी रहेका छन् । यो विमानस्थल र सुन्दर सहरलाई विश्वकै सबैभन्दा अत्याधुनिक, सुन्दर, कुनै एक कुरा संसार मै नभएको बनाउने र संसारमा प्रसिद्ध हुने बनाएर पर्यटनको केन्द्र बनाउनु पर्छ । विश्वका करिब ७ अर्ब ६० करोड मानिसले एक चोटि नेपालको यो विमानस्थल र नजिकका संरचना हेर्नै पर्छ भनेर भन्ने छन् र पर्यटन उद्योग फस्टाउने छ र नेपालीको संब्रिधीको आकाङ्क्षा पुरा हुने छ। टर्कीको विमानस्थल संसारकै ठुलो छ । हामी किन त्यो भन्दा ठुलो, राम्रो बनाउन सक्दैनौँ ? जङ्गल अन्य ठाउँमा रोप्न सकिन्छ, बस्ती अन्तै सार्न सकिन्छ ।एकदमै अल्पकालिन सोचमा नअल्मीलिऔ । चिनियाहरुले १००-२०० वर्ष पछिको कुरा सोच्छन् । हामी नजिकाका कुरा मात्र देख्छौ, टाढाको देख्दैनौ । अबको १०० वर्ष पछि नेपालमा अर्को एयरपोर्ट कहाँ बनाउने होला ? अनेक निहुँ प्रायोजन गरेर यो आयोजना सम्पन्न गर्न नदिने षडयन्त्र गर्ने ? नेपालीको धर्म यही हो ? अधिकांश पूर्वाधार निर्माण गर्दा वातावरणमा केही न केही प्रतिकूल असर पर्छ । जमिन खनिन्छ, रुख काटिन्छ, घरबस्ती विस्तारित गर्नु पर्ने हुन्छ । रुख पनि काट्न नै रोपिन्छ ।

तपाईँ हृदय फराकिलो भएको मान्छे हुनुहुन्छ यो पनि मलाई थाहा छ । यो विमानस्थलकाे नाम कि त माउन्ट एभरेस्ट कि त नेपाल निर्माता पृथ्वीनारायण शाहकाे  नाममा राख्दा उपर्युक्त हुन्छ। यो कुरा गरिरहँदा कतिले भावनामा बगेको भन्न सक्छन् तर दम भएका कुरा हुन भन्नेमा तपाईँ जानकार हुनुहुन्छ।

नेपाललाई सधैँ आफ्नो बजार बनाउन चाहनेहरू राम्रा देखिने नाराको आडमा राष्ट्रघाती काम गरिरहेका हुन्छन् र जनता झुक्क्याइरहेका हुन्छन् । दलाल पूँजीवादी प्रवृत्तिले आफ्नो कुरा सोझो भाषामा भन्दैन । त्यसैले उनीहरूले केही असम्भव तर सुन्दा-पढ्दा राम्रा लाग्ने नारा र भनाइ तयार गर्छन् र जनताको मनोविज्ञानको शोषण गर्छन् । झट्ट हेर्दा त वातावरणको कुरा राम्रा छन् त किन निजगढ विमानस्थल बनाउने ? भन्न सकिन्छ तर यस भित्र लुकेको दुनियाँको स्वार्थ, खतरनाक उद्देश्य देख्न सक्नु पर्दछ। अत्यन्त उज्यालो सम्भावना बोकेको हाम्रो देशलाई हर तरहबाट माफियाहरू कमजोर पार्न चाहन्छन् । दलालहरू मौकाको चौका हान्न कोसिस गरिरहेका छन्।  हामीसँग भएका कमजोर गुणस्तरका विमानस्थलका सेवाले पर्यटन उद्योग प्रगतिमा जाला ? विमानस्थल निर्माणका निम्ति कटान गर्नु पर्ने रुखका विषयलाई लिएर जुन फैसला आएको छ । त्यसमा कुनै  दम छैन। ३ करोड नेपाली मिलेर २-३ दशकमा युरोपको सबैभन्दा विकसित मुलुकलाई हामी उछिन्ने कसम खाएर हामीले नेपाललाई स्वाधीन, अग्रगामी, समृद्ध मुलुक बनाएर नेपाली जनतालाई विश्वका विकसित मुलुकका नागरिक सरह बनाएर संसारलाई देखाइदिन समृद्धिको युद्ध लड्नु पर्ने बेलामा नेपालीको आस्थाको धरोहर सर्वोच्च अदालतका निर्णयहरू बाधक बन्नु हुँदैन। देशकै भाग्य कोर्ने यस आयोजनालाई आगामी ५ वर्ष भित्र सम्पन्न गर्न जनता सबै तहका सरकारहरू, सर्वोच्च अदालत, व्यवस्थापिकाले ठुलो भूमिका खेल्नु पर्दछ ।

अन्तमा,
दिगो विकास लक्ष्यहरू २०३० सम्ममा पुरा गर्नुपर्छ । सन् २०३० सम्ममा नेपालीको प्रतिव्यक्ति आय १०३४ डलरबाट ४०००-४५०० डलरमा पु¥याउनु हाम्रो सम्वृद्धिको आर्थिक लक्ष्य हो । ११ वर्षमा मानव जातिको श्रापको रूपमा रहेको गरिबी समाप्त पार्नु पर्छ । हरेक क्षेत्रमा “व्यवस्थापन” समृद्धिको चुनौतीको रूपमा रहेको छ । नेपाललाई युरोपियन युनियन को कालो सूचिबाट हटाउन यो विमानस्थल बनाउनै पर्दछ।

पर्यटकहरुको लागि सुरक्षाको विश्वास, ठग्ने प्रवृत्तिको अन्त्य, पर्यटकहरू प्रति मुस्कान सहितको नमस्कार, घर, टोल, चोक सडकलाई आकर्षक बनाउने, सहरलाई कुनै पनि हालतमा प्रदूषित हुनबाट जोगाउने, पुराना सवारी साधनलाई हटाउने, शौचालय सहितको पार्क र हरियाली स्वच्छ खानेपानीको व्यवस्थापनमा जोड दिने, निजी क्षेत्रलाई प्राथमिकता दिने, मेडिकल टुरिजमको विकासमा ध्यान दिने, पर्यटन क्षेत्रमा लगानी बढाउने, पर्यटकलाई सर्वसुलभ, गुणस्तरीय सेवा दिने व्यवस्था गर्नु पर्दछ। विश्व आर्थिक महाशक्ति चीनका शक्तिशाली राष्ट्रपति सी जिन पिङको नेपाल भ्रमणले विश्वमा नेपालको गौरव बढेको, जर्मनी, भारत, रुस, फ्रान्स, बेलायत, युएसए, जापान लगायतका राष्ट्रका राष्ट्रपति, प्रधानमन्त्रीलाई नेपाल भ्रमण गराउन प्रयत्न गर्नु पर्दछ। युरोपले नेपाली आकाशलाई असुरक्षित भनेर भनेको छ त्यो हटाउन प्रयत्न गर्नु पर्दछ।

धार्मिक स्थलहरू को प्रचार, प्रसारमा जोड दिनु पर्दछ। बन, वातावरण संरक्षण र जलवायु परीपर्तनको सवाललाई जोड तोडले उठाउनु पर्दछ। शान्ति सुरक्षामा उल्लेखनीय सुधार गर्नु पर्दछ। खेलकुदका पूर्वधारमा उल्लेखनीय प्रगति गर्नु पर्दछ विशेष गरेर फुटबल र क्रिकेटका मैदानहरू निर्माण गरेर अन्तर्राष्ट्रिय प्रतियोगिताहरू आयोजना गर्नु पर्दछ। सरकारी सेवा चुस्त, दुरुस्त, छिटो, छरितो, सस्तो र गुणस्तरीय बनाउनु पर्दछ। अमूल्य जडीबुटीको जानकारी लिन,रूख बिरुवाको अध्ययन गर्न, लेकाली चराचुरुङ्गीका बारेमा खोज खबर गर्न प्रोत्साहन गर्नु पर्दछ। हिमालयन भियाग्राको नामले परिचित यार्चागुम्बाको प्रचार, प्रसार, अनुसन्धान र उत्पादनमा जोड दिनु पर्दछ। पर्यटकलाई औषधोपचारको व्यवस्थापन गर्ने, स्थानीय पेसा अपनाएका व्यक्तिलाई सम्मान गर्दै तिनबाट निर्मित काठ र माटाका सामग्रीको उचित बजार व्यवस्थापनको वातावरण सिर्जना गर्दिनुका साथै पर्यटकलाई ती उत्पादित वस्तु नै उपहार स्वरूप दिने गर्नुपर्छ ।

माननीय मन्त्री ज्यू,
तपाईँको पछाडी अत्यन्त सुसंगठित , समाजको जरासम्म भिजेको कम्युनिस्ट पार्टीका लाखौँ कार्यकर्ता र जनता छन्। त्यति मात्र होइन, संसारमै कम्युनिस्ट पार्टीलाई एकीकरण गर्न सक्ने, विश्वमै नेपालको नाम ऐतिहासिक रूपमा राख्न सक्ने, असिम इच्छा शक्ति भएका सम्माननीय प्रधानमन्त्री के. पी. ओलीको प्रेरणा छ। साहस गर्नुस्, अघि बढ्नुस्, यो महाशक्तिले प्रतिकृयावादिहरुको सबै षड्यन्त्र विफल पारिदिने छ ।  घेराबन्दी सजलै तोड्ने छ ।

यो वर्षमा निजगढ विमानस्थलको शिलान्यास गर्न सक्नु भयो भने मात्र नेपाल भ्रमण वर्ष सफल भएको मानिने छ। यसबाट तपाईँ विश्वमा हरेक ठाउँमा रहेका नेपालीको शिर इतिहासमै पहिलो चोटि ठाडो बनाउने महान् नेताको रूपमा दर्ज हुनुहुने छ। यी काम युगिन महत्त्वका शताब्दी शताब्दी महत्त्व राख्ने काम हुने छ। प्रति वर्ष ३ करोड पर्यटक कसरी भित्र्याउने भन्ने योजना बनाउने हो भने प्रति वर्ष ५ लाख को सङ्ख्यामा नयाँ रोजगारीमा आउने सङ्ख्याको सम्बोधन हुने छ  ।  विदेशमा रहेका नेपाली सबै नेपाल फर्कने छन्। नेपाल rising star of world को रूपमा उदाउने छ। स्व. रबिन्द्र अधिकारीको सपना साकार हुनेछ र उहाँ जस्ता नेताको सम्मान हुने छ।

डा.  रामकुमार अधिकारी धादिङ २ (१) बाट निर्वाचित नेकपाका सांसद हुन् । महाराजगन्ज मेडिकल क्याम्पसबाट PhD गर्ने पहिलो व्यक्ति र NAST बाट वैज्ञानिकको रूपमा पुरस्कार प्राप्त गर्ने व्यक्ति हुन।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments