उत्तरगया र ‘पितृ श्रद्धा’का पौराणिक मौलिकताहरू !

शुक्रबार, भदौ १३, २०७६



- सीता ओझा

उत्तरगयाकाबारे हिमवत् खण्डमा उल्लेख भएअनुसार सत्ययुगमा देव र दानव मिलेर समुद्र मन्थन गर्दा निस्केको कालकुट विष शिवले सेवन गरेपछि त्यसको डाह नमन गर्न उत्तराखण्ड हिमालयतर्फ लाग्दा वेत्रावतीको त्रिशूली, फलाखु र सलाखु खोलाको त्रिवेणीबीचमा बेतको लौरीले खोस्रेर तप्त नदीको पानीले घाँटीको डाह कम गरी गोसाईंकुण्डतर्फ लागेको विश्वास गरिन्छ । सनातन हिन्दुधर्मबाट लाभ उठाउन शिरविन्दुमा रहेको उत्तरगयाको दर्शन गर्नका लागि भारत लगायत अन्य देशबाट आउने हिन्दुधर्मावलम्बीको सङ्ख्या निकै ठुलो छ । रसुवाको वेत्रावती र नुवाकोटको त्रिशूली नदी, फलाकु र सलाखु खोलाको त्रिवेणीमा रहेको उत्तरगयाको दर्शन नगरीकन भारतमा रहेका तीन धाम गर्दा पाइने पुण्य प्राप्ति नहुने कुरा शिव पुराणले उल्लेख गरेको कारण नै अहिलेसम्म यी ठाउँहरूमा टाढा-टाढाबाट भक्तजन पौषेहरूमाको अवसर पारेर पितृ श्रद्धा,तर्पण,दान र स्नान गर्न आउने गर्छन् । त्यस्तै हरिबोधिनी एकादशी मा ( ठुलो एकादशी) वैतरणी पुल तार्न भनेर ठुलै मेला लाग्ने गर्दछ ।

श्रदालु भक्तजनहरू उत्तरगयामा तर्पण, श्राद्ध जस्ता अनुष्ठान गरी पितृगणप्रति सम्मान जनाउँछन् । त्यसमा पनि प्रेतशिला, निरविन्द पर्वत र क्रौञ्चपदीलाई गयाका प्रमुख तीर्थ स्थल मान्दछन् । वैदिक पौराणिक ग्रन्थहरूमा गयाको निकै ठुलो धार्मिक सांस्कृतिक महत्त्व दर्साइएको छ । वायु पुराण, वामनपुराण, मत्स्य पुराण, कूर्मपुराण, स्कन्द पुराण, महाभारत, विष्णुधर्मसूत्र, अत्रिस्मृति, बुद्ध चरित्र लगायतका अनेकौँ ग्रन्थमा गयाको बयान गरिएको छ । यस नगरलाई श्राद्ध भूमि पनि भनिन्छ । पुरै गया नगर तीर्थ स्थल मानिन्छ तापनि फल्गुनदीका किनारमा रहेको विष्णुपादुका,अक्षयवट तथा केही अन्य ठाउँलाई प्रमुख तीर्थ मानिन्छ । नेपाली समाजमा पौष अमावस्याका दिन गयामा गएर श्राद्ध गरेमा पितृहरूको ऋणको तारण हुन्छन् भन्ने मान्यता प्रचलित छ । हिन्दु सनातन समाजमा गया अदृश्य आत्मालाई विश्वासगरि एक्काइसौँ पुस्तासम्मको पितृऋर्णबाट मुक्तिको पौराणिक मान्यता जोडेको पितृ श्रद्धा स्थलका रूपमा मानिएको भेटिन्छ । त्यस्तै त्यस ठाउँमा पुगेर श्राद्ध गर्नेले अपार सुख, शान्ति, सह, समृद्धि र आनन्द प्राप्त गर्ने प्रसङ्ग जोडेर पुस्तागत सम्बन्ध देखाउन खोजेको भेटिन्छ ।

बद्रीनाथको ब्रह्मकपालीमा श्राद्ध गर्नु, पौखे औँसीमा श्राद्ध गर्नु आदि पितृसँग जोडेर व्याख्या गर्न खोजिएको कारण तर्पणादि क्रियालाई निरन्तरता दिने, पिण्ड दान गरेर मुक्ति खोज्ने मान्यताले जीवित हुँदा या मर्दा मातापितालाई सन्तानले गर्नु पर्ने कर्तव्यबोधका मान्यताहरू पहिलेको पारिवारिक संरचनाले संरक्षण गरेको तर अहिलेको समाज र परिवारले त्यस आवश्यकता बिर्सेको त होइन ? यस्ता संस्कारगत विषयको वैज्ञानिक सत्य र तथ्यका बारेमा अबको सामाजिक धारण बनाउनुपर्छ कि पर्दैन ?

गयाको महात्मा बताउने अर्को महत्त्वपूर्ण कथा गयासुर राक्षसलाई विष्णुले गरेको उद्धार, धर्मकी छोरी धर्मावतीले गरेको महर्षि मरीचिको सेवा, बुद्धले त्यही नगरमा रहेको महर्षि काश्यपको उरुबिल्व नामक आश्रममा समाधी प्राप्त गरेको कथा जस्ता अनेकौँ कथाहरूले यस क्षेत्रको धार्मिक सांस्कृतिक महत्त्वको चर्चा गरेको प्रसङ्गहरू जोडेर मृत्युपछि पनि आफ्ना अग्रजहरू प्रतिको सम्बन्ध जोड्न खोजिएको छ । त्यस्तै गयाश्राद्धसगँ ब्रह्महत्या र गौहत्या जस्ता कार्यहरूबाट हुने पर्यावरणीय क्षतिको प्रायश्चित गर्ने प्रचलन शुरू गरेको प्रसङ्गलाई हामीले प्राणी र मानवको सम्बन्ध र आवश्यकतालाई अहिले कति जोड्न सकेका छौ भनेर विश्लेषण गर्नु आवश्यक ठहर्छ ।

परशुराम, बलराम लगायत अनेकौँ प्रसिद्ध व्यक्तिले पितृ तारणका लागि गयामा श्राद्ध गरेका पौराणिक कथा जोडेर पितृ भक्ति र दाम्पत्य जीवन अथवा निजी स्वामित्व परिवारको आवश्यकता र महत्त्व बुझाउनेतिर नयाँ पुस्तालाई कसरी जोड्ने / समर्पित गराउन खोज्ने भन्ने विषय पनि अहिलेको चासो बन्नुपर्छ  । रोग, वृद्धावस्था,अशक्तता, कार्य व्यस्तता जस्ता अनेक कारणवश गया जान असमर्थ हुने व्यक्तिका लागि सजलैसित जान सकिने स्थानीय कुनै पवित्र ठाउँलाई वैकल्पिक तीर्थको रूपमा मान्ने प्रचलन बनाइ दिएर धर्म, संस्कार र पितृ सम्झनालाई जीवन र जगतसगँ जोड्न बाध्य पारेको कुरा पनि सन्तानको दायित्वसँग जोडिदिएको जस्तो देखिन्छ ।

बराहा पुराण अनुसार नेपाल भूमिको काठमाडौको गोकर्ण लगायत कैलाशदेखि शिवपुरीसम्मलाई विषेशगरि पाशुपत क्षेत्र र पशुपतिनाथ  शिवको शिरको रूपमा धारण गर्ने मान्यताको कारण काठमाडौको गोकर्णेश्वरलाई उत्तर गयाको महत्त्वपूर्ण क्षेत्र मानिएको प्रसङ्ग पनि यहाँ जोडिएको देखिन्छ । त्यस्तै यो क्षेत्र क्लेश नभएको भएर नै कैलाशका रूपमा मानिएको हो भन्ने मान्यता पनि भेटिन्छ । गोकर्णेश्वरको उत्पत्ति गोकर्णेश्वर महादेवको उद्भवसम्बन्धी अनेक लोकोक्ति, जनधारणा र विश्वास नेपाली जनजीवनमा व्याप्त छन्। नेपाल महात्म्यमा शिव रूपी मृगको सिङलाई पितामह ब्रहृमाले महालिङ्गका रूपमा गोकर्ण बाग्मती तटमा गोकर्णेश्वरको नामले स्थापना गरेको कुरा पनि कतैकतै उल्लेख छ। देवमाला वंशावली,भाषा वंशावली, पशुपति पुराण आदिमा पनि गोकर्णेश्वरको उत्पत्तिबारे चर्चा गरिएको छ।

चार्वाक दर्शन लगायतका कतिपय दर्शनले यस्ता कार्यलाई धार्मिक अन्धविश्वास मानेको देखिन्छ । तर हिन्दु दर्शनले यस्ता विषयलाई पितृलाई मान्नु, सम्झनु, तर्पण दिनु, श्राद्ध गर्नु र तिनका प्रति कृतज्ञ हुनु भनेको प्रत्यक्ष वा अप्रत्यक्ष रूपले स्नेह, आत्मीयता, वात्सल्य र संरक्षण दिने व्यक्ति अथवा शक्तिप्रति श्रद्धा जगाउने कुरा जोडेर सम्बन्धलाई पुस्तान्तरण गर्न खोजेको हो भन्ने मान्यता रहँदै आएको छ । साथै सामाजिक यथार्थका रूपमा हरेक अभिभावकहरू आफ्नो यथार्थबाट धेरै टाढाको उज्यालो भविष्यका लागि आफ्ना बालबच्चाहरूको जीवनको पुल बनेका हुन्छन् । बालबालिकाहरूले आफ्ना अभिभावकको ढाडमा बसेर बिस्तारै पुल पार गर्छन् | धेरै अभिभावकहरूले जसो तसो आफ्नो बच्चाहरूलाई तार्छन् । अनि पुल भएर रहँदाको अनगिन्ती पीडाले पेलिएर त्यही खाडलमा बाँधिएर आफ्नो सारा खुसी र जीवन सक्छन्, कतिका बालबालिकाले चाहिँ बालबालिकालाई पारिको किनारा सम्मै तार्न सक्छन् । यसरी सहारा भएका आफ्ना अभिभावकलाई तिनै सन्तानले पहिलेका सबै कुरा बिर्सेर अभिभावकलाई हुर्याईदिन्छन | एकदम थोरै सन्तानले मात्रै आफूले त्यो अप्ठ्यारो पार गरे पछि फेरी आफ्ना अभिभावकको हात समाएर अभिभावकलाई पनि पारिको उज्यालोमा तान्नुपर्छ भन्ने बुझ्छन्  भन्ने अनुभूति गराउन सकियो भने मात्रै पितृ श्रद्धाको पौराणिक मान्यतालाई जोगाउन सकिन्छ  ।

समग्रमा नेपाल प्राचीन कालदेखि नै धार्मिक स्थलका रूपमा प्रख्यात छ। यी विभिन्न धार्मिक स्थलहरूमध्ये गोकर्णेश्वर क्षेत्र पनि एक हो। यो क्षेत्र धार्मिक, सांस्कृतिक स्थलका रूपमा मात्र नभएर कला, वास्तुकला, पुरातात्त्विक र ऐतिहासिक स्थलका रूपमा समेत प्रसिद्ध छ। नेपालको धार्मिक, सांस्कृतिक, राजनीतिक इतिहासबारे प्रकाश पार्ने केही अभिलेखहरू पनि यहाँ अझै भेटिन्छन् । हिन्दुका साथै बौद्ध अनुयायीको पनि महìवपूर्ण पवित्र धार्मिक तीर्थस्थल तथा सांस्कृतिक पुरातात्त्विक दृष्टिले खुला सङ्ग्रहालयको रूपमा शताब्दीऔंदेखि महत्त्वपूर्ण स्थानको रूपमा रहेको क्षेत्र हो- नेपाल । कला र संस्कृति भनेको राष्ट्रको ढृकढुकी हो। यस्ता धार्मिक, सांस्कृतिक महत्त्वका वस्तुहरू राष्ट्रका अमूल्य निधि र राष्ट्रको मौलिक एवम् संस्कृतिका मूर्त रूपहरू हुन्। तसर्थ यो गोकर्ण क्षेत्रका सांस्कृतिक सम्पदाहरूको योजनाबद्ध स्याहार, सम्भार, संरक्षण, सुरक्षा, संवर्द्धनमा अनुकूल वातावरणको तयारी, योजनाहरूको तर्जुमा र कार्यान्वयन आवश्यक देखिन्छ । तब मात्र हाम्रा पुर्खाहरूले नासोका रूपमा सुम्पेका यी अमूल्य सम्पदाहरू भोलिका पुस्तामा हस्तान्तरण गर्न सकिनेछ। साथै लिच्छविकालीन राजा मानदेव, मानदेवले बनाएको मानगृह र कैलाश कुट दरबारको अवशेषहरू भेटिन सक्ने पुरातात्त्विक कुराहरू पनि यसक्षेत्रसगँ जोडिएर बारम्बार आउने गरेका छन् । यी सबै प्रसङ्गहरूको निष्कर्षका रूपमा हामीले उत्तरगया र पितृ श्रद्धासँगै जोडेर हाम्रा धार्मिक र सांस्कृतिक विषयलाई परिवार, समाज र राष्ट्रसँग नजिक बनाएर अन्तर्राष्ट्रियकरण गर्न किन सकिरहेका छैनौ ? सोच्ने बेला भएन र ?

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata