सुर्यमा मतदान किन गर्ने ?

बुधबार, मंसिर ११, २०७६



- डा. रामकुमार अधिकारी

उप-निर्वाचन नजिक आउँदै छ। यसै सन्दर्भमा नेपाली काँग्रेस र अरू प्रतिपक्षले नेकपा र सरकारलाई लगाएका विभिन्न आलोचना, भ्रम र आरोपहरू बारे आदरणीय मतदाताहरूमा केही कुरा राख्न अनुमति चाहन्छु। प्रधानमन्त्री के.पी. शर्मा ओली नेतृत्वको वर्तमान सरकारले इतिहासमै राम्रा कामहरू गरेका छन्। ती मध्ये केही यहाँ उल्लेख गरिएका छन् ।

संविधान कार्यान्वयन र राजनैतिक स्थायित्व

लामो सङ्घर्ष र हजारौँको बलिदानबाट हामीले संसारकै उत्कृष्ट संविधान बनायौँ । केपी ओलीले नेतृत्व गरेको वर्तमान सरकारले देशलाई संविधान कार्यान्वयनको पूर्णता तिर लगिरहेको छ। मानव अधिकार सहित धेरै कानुनहरूको निर्माण भएका छन्। विधिको शासन, कानुनको शासनको आधार तयार भएको छ। सङ्घीय, प्रादेशिक र स्थानीय गरी ७६१ वटै सरकारहरू संस्थागत भएका छन्। सरकारले लोकतन्त्रका मानकहरूलाई सुदृढ गर्दै लगेको छ। लोकतन्त्रको चौथो अङ्ग प्रेसलाई सरकारले उच्च प्राथमिकता दिएको छ। देश पूर्णरुपमा प्रणाली, विधि र संस्थागत अवस्थातिर गइरहेको छ। केपी ओलीले नेतृत्व गरेको वर्तमान सरकारले विगत लामो समयदेखि बिग्रेको संयन्त्र, थिति, परम्परागत अभ्यास र आचरणहरूलाई परिवर्तन गर्दै लगेको छ। देशको संवृद्धिको आधार तयार भएको छ। युगान्तकारी परिवर्तन, संविधानको सफल कार्यान्वयन सँगै राजनैतिक स्थिरता, शान्ति सुव्यवस्था, कानुन्-विधिको शासन, गुणस्तरीय पूर्वाधार, डिजिटल अर्थतन्त्रमा मुलुक अगाडि बढेको छ। राजनैतिक स्थायित्वको कारणले आगामी वर्षहरू आशाका वर्षहरू हुने निश्चित छ। यो स्थितिमा पौने शताब्दीमा तीन पटक पूर्ण बहुमत ल्याएर सरकार बनाउँदा एक चोटि पनि पूर्ण कार्यकाल शासन गरेर राजनैतिक स्थायित्व प्रदान गर्न नसक्ने नेपाली काँग्रेसलाई किन मतदान गर्नु पर्ने ?

परराष्ट्र सम्बन्ध

नेपालको कूटनीतिक इतिहासमा ठुला युगिन महत्वका उपलब्धिहरू भएका छन्। यस अवधिमा विश्व आर्थिक महाशक्ति चीनका शक्तिशाली राष्ट्रपति सी’को नेपाल भ्रमणले विश्वमा नेपालको गौरव बढेको, संसारभर नेपालको शिर उँचो भएको, नेपालको बहुपक्षीय कूटनीति नयाँ उचाइमा पुगेको छ। नेपाललाई यो सरकारले ‘ल्यान्ड लक्ड देशबाट ल्यान्ड लिङ्क’ देशमा परिवर्तन गर्न राष्ट्रपति सी मार्फत प्रतिबद्धता प्राप्त गर्न सफल भएको छ । १० वर्ष अघि देखि विराटनगरमा रहँदै आएको भारतीय विशेष सुरक्षा क्याम्प सरकारको पहलमा हटेको छ। वैदेशिक सहायता – प्रतिबद्धता, उपयोग र परिचालनमा सुधार भएको छ। छिमेक–सम्बन्ध नयाँ उचाइमा पुगेको छ। युरोपियन युनियन, मेन्मार, युएसए लगायतका देशहरूसँग नेपालको सम्बन्ध नयाँ उचाइमा पुगेको छ।

चीनसँग केरुङ–रसुवागढी–काठमाडौं रेल्वे कनेक्टिभिटी सहयोग सम्बन्धी समझदारी, प्रसारण लाइनको सम्भाव्यता अध्ययन गर्ने सम्बन्धी सम्झौतामा हस्ताक्षर, नेपालमा तेल तथा ग्याँसको अन्वेषणको सम्भाव्यता अध्ययनका लागि सहयोग उपलब्ध गराउने सम्बन्धी सम्झौतामा हस्ताक्षर, ऊर्जा सहयोग, लगानी तथा उत्पादन क्षमता र मानव संसाधन सहयोग सम्बन्धी छुट्टाछुट्टै समझदारी सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको, व्यापार तथा पारवहन सन्धिको प्रोटोकलमा हस्ताक्षर, यस घटनालाई विदेशका ठुला ठुला सञ्चार माध्यमहरूले ब्यानर न्युज बनाए । भारतसँग कृषि, जलमार्ग एवं रेलमार्गका क्षेत्रमा सहयोग विस्तार गर्ने समझदारी, ऊर्जाको क्षेत्रमा दुई मुलुकबिच सम्पन्न ऊर्जा व्यापार सम्झौताको प्रभावकारी कार्यान्वयन एवं ऊर्जा व्यापारमा सरलीकरण गर्ने समझदारी भएको छ। संयुक्त राष्ट्रसङ्घको ७३औं महासभामा सम्माननीय प्रधानमन्त्री ओलीबाट भएको सारगर्भित सम्बोधन र उक्त महासभामा उपस्थित १९६ राष्ट्रका राष्ट्राध्यक्षहरू र पर्यब्यक्षकहरुले निर्वाचनको माध्यमबाट झन्डै दुई तिहाइ बहुमत ल्याएको कम्युनिष्ट सरकारको प्रधानमन्त्री, कम्युनिष्ट पार्टीलाई एकीकरण गर्न सक्ने, चीनसँग ऐतिहासिक सम्झौता गर्न सक्ने, स्वतन्त्र निर्णय गर्न सक्ने राजनेता भनी पुटिन, ट्रम्प, सी, मोदी, मोर्केलहरूले बोल्दा जसरी महत्त्व दिएर सुने । यसबाट विश्वमा हरेक ठाउँमा रहेका नेपालीको शिर इतिहासमै पहिलो चोटि ठाडो बनाउने महान् नेताको रूपमा प्रधानमन्त्री ओली दर्ज भएका छन् । नेपालको परराष्ट्र सम्बन्धको इतिहासमा यो समय इतिहासको स्वर्ण युग भनी लेखिने छ।

कालापानी र देउवाको झुठको खेती

भारतीय सरकारले नयाँ नक्सा सार्वजनिक गरेर नेपालको लिपुलेक, कालापानी एवं लिम्पियाधुरा माथि धावा बोलेको वर्तमान सन्दर्भमा प्रधानमन्त्री केपी ओलीले बोलाएका सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षका नेता एवं भूतपूर्व प्रधानमन्त्री शेर बहादुर देउवाले हामी सबै मिलेर यो समस्या समाधान गर्नु पर्छ, नेपाली काँग्रेसले यस्तो संवेदनशील विषयमा सरकारको समर्थन गर्छ भनेर भनेको अवस्थालाई उल्ट्याउँदै देउवाले नजिक आइरहेको उपनिर्वाचनमा काँग्रेसलाई फाइदा पुग्छ भनी प्रधानमन्त्री केपी ओलीले भारतसँग भित्री रूपमा सल्लाह गरेर नक्सा छाप्न लगाएको गम्भीर एवं अपरिपक्वको अभिव्यक्ति दिएर सिङ्गो नेपाली काँग्रेस र आफ्नै कद होचो गराएका छन् भने नेपालले आफ्नो एक इन्च भूमि पनि कसैलाई कुनै हालतमा दिन सक्दैन भनी प्रधानमन्त्री केपी ओलीको स्पष्ट, दृढ र दूरदर्शी अडानले राजनेताको रूपमा उनी स्थापित भएका छन् ।

शेर बहादुर देउवा प्रधानमन्त्री भएको बखत पनि भारतको यो नक्सा त कायमै थियो, त्यतिखेर किन पहल गर्नु भएन ? आज संसारभरका नेपाली मातृभूमिको अस्मिता जोगाउन एक भएको बेलामा पूर्व प्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षका नेताले यस्ता गैर-जिम्मेवार अभिव्यक्ति दिनु भनेको अपरिपक्वताको पराकाष्ठा पुग्नु हो। राष्ट्रघाती कोसी, गण्डक सम्झौता कसको पालामा भएको थियो ? पौने शताब्दी देखि विधिको लागि लडेको दावा गर्ने काँग्रेस आफैँ अराजकता तिर गएको देखिएन र यस्ता अभिव्यक्तिले ? कुण्ठा, डाह, ईर्ष्याले प्रगति हुँदैन । लेख्न, बोल्न, आलोचना गर्न धेरै सजिलो छ, कुरा काट्नमा आनन्द आउँछ । तर आलोचनाको पनि निश्चित विधि, सीमा हुन्छन्, होइन र ? मानिससँग तर्कको अन्त्य भएपछि र विवेक गुम्न थालेपछि गाली आरम्भ हुन्छ । देउवा गोयबल्स शैलीमा सत्यको दुरुपयोग गर्दै झुठको खेती गर्दै छन् । इतिहासमै नेपालको विदेश नीति दुई ढुङ्गा बिचको तरुलको कूटनीतिबाट दुई तरुल बिचको नयाँ सृजनात्मक अवस्थामा पुगेको अवस्थामा देउवाको दोहोरो चरित्रको वक्तव्यमा लुकेको अत्यन्त खतरनाक षड्यन्त्र बुझ्नु पर्दछ।

आर्थिक अवस्थामा प्रगति

भूकम्प र नाकाबन्दीले शिथिल अर्थतन्त्रका धेरै सूचकहरू- सकारात्मक दिशामा अगाडि बढी रहेका छन्। विश्व बैङ्क, नेपाल राष्ट्र बैङ्क र अन्य श्रोतहरूका अनुसार आर्थिक वृद्धि ७ भन्दा बढी लगातार ३ वर्ष देखि भएको छ। यो ऐतिहासिक उपलब्धि हो। डुइङ विजनेश इन्डेक्स ११० बाट ९४ स्थानमा आएको छ। विश्व बैङ्कले हरेक वर्ष व्यवसायिक वातावरण सम्बन्धमा प्रतिवेदन दिएको छ, जसलाई डुइङ् विजनेश इन्डेक्स भनिन्छ। अब नेपालमा व्यावसायिक वातावरणमा व्यापक सुधार भएको र स्वदेशी एवम् विदेशी उत्पादकलाई आकर्षित गराएको छ भन्ने दरिलो प्रमाण भएको छ। यस आर्थिक वर्षको पहिलो त्रैमासिकमा १०.३४ % ले आयात घटेको छ। १४.४१ % ले निर्यात बढेको छ। व्यापार घाटा १२.०२ % कम भएको छ। तसर्थ, व्यापार घाटा, भुक्तानी सन्तुलन, शोधान्तर घाटा, चालु खाता घाटामा गत वर्ष भन्दा सुधार देखिएको छ। गरिबी निवारण प्रतिशतमा उल्लेखनीय उपलब्धि- ग्लोबल हंगर इन्डेक्स- ७३ औ स्थान र ग्लोबल कम्पेटिटिब्नेस इन्डेक्समा सुधार देखिएको छ। अर्थतन्त्रका ४ तत्वरूमा- उत्पादन वृद्धि, उपभोगमा कमी, बचतमा वृद्धि, लगानीमा वृद्धि र बैङ्कहरूमा २०.५ % संचिती वृद्धि संचिती देखिएको छ र यो राष्ट्रिय पुँजी निर्माण र आत्मनिर्भर अर्थतन्त्र तिर देश अगाडि बढेको सङ्केत हो। कर्जाको उपलब्धतामा नेपाल ३७ औ स्थानमा रहन सफल भएको छ। सिमापार व्यापारमा पनि नेपालले उल्लेख्य प्रगति गरेको छ। प्रतिव्यक्ति आयमा १२.४ % ले वृद्धि, प्रतिव्यक्ति कुल ग्राहास्थ उत्पादनमा ५.६ % ले वृद्धि, वैदेशिक रोजगारीमा जानेको सङ्ख्यामा उल्लेखनीय कमी तर रेमिट्यान्सको मात्रा वृद्धि, औद्योगिक क्षेत्रको उत्पादनमा वृद्धि, 98% स्थानीय तहमा बैङ्कको पहुँच, सम्पत्तिमा आधारित जिनी कफिसेन्ट- गरिब र धनी बिचको खाडल साँघुरिदै, समाजवादमा प्रवेश गर्ने हाम्रो मार्गमा प्रगति, उद्योगको दर्ता सङ्ख्या प्रतिशतमा वृद्धि, देशमै बेरोजगारी दरमा कमी, बिमा प्रतिशत वृद्धि, मुद्रा स्फिती- ६ % बाट ४.८ % मा पुगेको सबै देशमा आर्थिक स्थायित्वको सङ्केत होइन र ?

पर्यटन र नागरिक उड्डयनमा प्रगति

नागरिक उड्डयनका सूचकहरू सकारात्मक, हवाई सेवा र पर्यटन पूर्वाधारमा उल्लेखनीय परिवर्तन, त्रिभुवन विमानस्थल २४ सै घण्टा सञ्चालनमा, अधिकांश पाँचतारे होटेल सञ्चालनमा, पर्यटक वृद्धि दरमा नेपाल एसियाको पहिलो, लगातार २ वर्ष २५ प्रतिशत को वृद्धि दर, विश्वमा हवाई यात्रा गर्ने सङ्ख्याको वृद्धि दर ७% मात्र भएकोमा नेपालमा हवाई यात्रा गर्ने सङ्ख्याको वृद्धि दर १३%, गौतम बुद्ध र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्यमा उल्लेखनीय प्रगति, छिट्टै सिधै अन्तर्राष्ट्रिय उडान शुरु हुने, नेपाल अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठनको असुरक्षित हवाई सूचीबाट हट्न सफल, जापान सिधा उडान, यी सकारात्मक सङ्केत होइन र ?

वाइडबडी विमान खरिद बारे

वाइडवडी खरिदको प्रक्रिया नेपाली काँग्रेसको तत्कालीन सरकारको पालामै भएको हो। सबै स्पेसिफिकेशन सहित कस्तो ल्याउने, कसरी किन्ने, भुक्तानी कसरी गर्ने, ती सबै ४ वर्ष अगाडिका प्रक्रिया हुन । यसमा यो सरकारलाई चार्ज लगाउनु त सरासर झुट बोल्नु हो । यो सरकार यो वाइडवडी खरिद प्रक्रियामा जिरो प्रतिशत पनि संलग्न छैन । विगतका सरकारले गरेका निर्णय र कामको बारेमा यो सरकारले अनियमितता गर्‍यो भन्न मिल्छ ? ती प्रक्रियामा कमजोरी भएका छन् भने, रहेछन् भने छानबिनमा कठोर हुन पर्छ । स्व. रवीन्द्र अधिकारीलाई एस मामिलामा मुछ्नु भनेको अपराध कर्म गर्नु हो। स्व. रवीन्द्र अधिकारीको सपना साकार पार्नु हामी तमाम मतदाताको कर्तव्य हो।

पूर्वाधार निर्माण एवं अन्य कार्यको तीव्रता र प्रगति

१०० प्रतिशत विधुतिकरण तर्फ देश पुगेको, स्थानीय सडक सञ्जालमा उल्लेखनीय रूपमा वृद्धि, भूकम्प पुनर्निर्माणमा उल्लेखनीय प्रगति, सहरीकरण वृद्धि, निर्माणाधीन योजना र परियोजनाहरू समय अगाडि नै सम्पन्न गर्ने चुनौती समाधानको बाटोमा, सडक -रेल पूर्वाधार निर्माणमा तीव्र गतिमा काम, रेल, पानी जहाज, जलमार्गको पहुँच तर्फ देश, नमुना सहर र एकीकृत बस्ती निर्माणको आधार तयार, निजगढ विमानस्थल, निजगढ–काठमाडौँ फास्ट ट्रयाक, केरुङ–काठमाडौँ, पोखरा–लुम्बिनी रेलमार्ग, बुढिगण्डकी, पश्चिम सेती, अपर कर्णाली, तमोर जस्ता राष्ट्रिय गौरवका आयोजनाहरू गेम चेन्जर र मुलुककै आर्थिक विकासको विग पुस हुने आयोजनाहरूमा सरकार युद्ध स्तरमा कार्यरत, वातावरण संरक्षण र जलवायु परीपर्तनमा सरकारको उल्लेखनीय योगदान, पेट्रोल पाइप लाइन निर्माण, खेलकुदका पूर्वाधारमा उल्लेखनीय प्रगति, कृषिको यान्त्रीकरण, व्यवसायीकरण र औद्योगिकीकरणमा उल्लेखनीय सफलता, श्रम, महिला, बालबालिका तथा समाज कल्याणको क्षेत्रमा उल्लेखनीय उपलब्धि, सामाजिक सुरक्षामा नयाँ थालनी, श्रमिकको स्वर्ण युगको सुरुवात आधारित सामाजिक सुरक्षा कार्यक्रम लागु, शिक्षाका, स्वास्थ्यका सुचांकहरुमा सन्तोषजनक प्रगति, ७५३ वटा नयाँ उद्योग ग्राम बन्दै, शान्ति सुरक्षामा उल्लेखनीय सुधार, देशभर 4G सेवा सञ्चालन आदी सयौं समृद्धिका ऐतिहासिक आधारहरू सरकारले निर्माण गरेको छ ।

सुशासनका लागि मानक थालनी

यातायात सिन्डिकेटको अन्त्य, तस्कर माथि कारबाही र प्रभावकारी नियन्त्रण, विकास निर्माणको ढिलासुस्ती हटाउने कदम, औचित्यहीन भ्रमणमा नियन्त्रण, सुरक्षाकर्मी दुरुपयोग अन्त्य, राजमार्ग र सडक सुरक्षा प्रबन्ध, अध्यागमन व्यवस्थापनमा टोकन प्रणाली, पेट्रोलियम चुहावट रोक्न लकिङ प्रणाली, सार्वजनिक खर्चमा मितव्ययिता, खरिद अनियमितता रोक्न एकीकृत सूचना प्रणाली, सामाजिक सुरक्षा भत्ता वितरणमा पारदर्शिता, कन्सुलर प्रमाणीकरण आधा घण्टामै, राजदूत नियुक्तिमा मापदण्ड तर्जुमा, विकास खर्चमा उत्साहजनक वृद्धि, सरकारी भुक्तानीमा ‘सेन्ट्रल विलिङ सिस्टम’ आदी अनेकौँ कार्यहरू  सरकारले गरेको छ।

यस्तो अवस्थामा यो सरकारलाई भ्रष्टाचारमा लिप्त भएको भनेर नेपाली काँग्रेसले आरोप लगाएको छ। विज्ञानमा विश्वास गर्नेले प्रमाण विना बोल्न मिल्दैन । विना प्रमाण कसैलाई लाग्दैमा फलानो भ्रष्टाचारी भन्न मिल्छ ? भ्रष्टाचारीलाई कारबाही गर्ने निकायहरू नेपालमा सक्रिय नै छन्। प्रमाण भए सम्बन्धित निकायमा उजुरी किन नगरेको? विना प्रमाण अनुमानको भरमा कसैलाई भ्रष्टाचारी भन्नु, चरित्र हत्या गर्नु अपराध मानिन्छ।

शान्ति सुरक्षा बारे केही प्रश्नहरू

शान्ति, सुरक्षामा सरकारले उच्च सफलता हासिल गरेको छ। कन्चनपुरमा निर्मला पन्तको बलात्कार र हत्याको घटना र हत्यारा पत्ता लगाउन नसकेको स्थितिलाई नेपाली काँग्रेसले निर्वाचनको मुद्दा बनाएको छ। संसारकै उदाहरण हेर्दा कुनै पनि बलात्कार, हत्या वा अपराधका घटनाको सत्यता कुनै छिटो पत्ता लागेका छन् भने कुनै ढिलो गरी पत्ता लागेका छन्, कुनै त लामो समयसम्म रहस्यमा रहन सक्छ। विकसित देशमा पनि कुनै अपराधका घटनामा ढिलो गरी तथ्य पत्ता लागेका हुन्छन् । अझ कुनै त रहस्यमय रूपमा रहेका हुन्छन् । देश अधिनायकवाद तिर गयो भनेर प्रतिपक्षले प्रस्तुत गरेका आधारहरूमा कुनै दम छैनन् । लोकतन्त्रको आधारभूत मान्यतामा यो सरकारले के गर्न नहुने काम गरेको छ ? विना आधार यो सरकारलाई लोकतन्त्रको आवरणमा एक दलिए सर्वसत्तावाद तर्फ उन्मुख भएको किन भन्ने ?

अन्त्यमा,
सरकारले युगिन महत्वका कामहरू गरेको छ। नेपाल rising star of world को रूपमा उदाउँदै छ। दिगो विकासका लक्ष्यका २३१ सुचांकहरू मध्य धेरै सुचांक सकारात्मक दिशा तर्फ अगाडि बढेका छन्। देश औद्योगिकीकरण तिर गइरहेको छ।

आर्थिक, सामाजिक परिवर्तन छिटो हुन्छ, विकास छिटो हुन्छ भन्ने भ्रम नेपाली राजनीतिमा रहेको छ । नेपालको मात्रै होइन दक्षिण एसियाकै प्रवृत्ति नकारात्मक कुरा तिर बढि विश्वास गर्ने र रमाउने प्रवृत्ति हो । यसकारण नेपाल हल्लैहल्लाको देश भनेर भन्नु पर्ने स्थिति आएको छ । आलोचना गर्ने, ध्वंस गर्ने लोकप्रिय हुने प्रवृत्ति छ । हाम्रो देश कानुन, नियम, विधिले चलाउने कि अराजकताले ? व्यक्तिगत सनक र लहडले देश चल्दैन। अराजकता विरोधी महानुभावहरू, अराजक हर्कतको विरोध गरी जिम्मेवार भूमिका निभाउनु आजको कर्तव्य हो ।

सन् २०३० सम्ममा नेपालीको प्रतिव्यक्ति आय १००० डलरबाट ४०००–४५०० डलरमा पुर्याउने वाम सरकारको लक्ष्य छ ।  मानव जातिको श्रापको रूपमा रहेको गरिबी समाप्त गर्न  सरकार दिनरात एक गर्दैछ । खान नपाएर मुलुकवासीलाई मर्ने नदिनेतर्फ सरकार चनाखोपूर्वक लागिरहेको छ । नेपाललाई स्वाधीन, अग्रगामी, समृद्ध मुलुक बनाएर नेपाली जनतालाई विश्वका विकसित मुलुकका नागरिक सरह बनाउन समृद्धिको युद्ध लड्नु पर्ने बेलामा देशमा पुनः अस्थिरता उत्पन्न गराउन, समृद्धिको सपना पुरा हुन नदिन केही शत्रुहरू मरेर लागेका छन् । अत्यन्त उज्यालो सम्भावना बोकेको हाम्रो देशलाई हर तरहबाट माफियाहरू कमजोर पार्न चाहन्छन् । कम्युनिष्ट पार्टी विभाजित होइरहोस् भनेर बिहान उठ्ने बित्तिकै भगवानसँग प्रार्थना गर्ने प्रायोजित दलालहरू कम्युनिस्ट शक्तिलाई कमजोर बनाउन, अधिनायकवादी भनी बदनाम गर्ने उद्देश्यले अनेकौँ अकल्पनीय षड्यन्त्रहरू प्रायोजन गर्ने छन्, नयाँ कथाहरू प्रचार गर्ने छन् ताकी नेपालमा फेरी अस्थिरता आओस्, नेपाल आत्मनिर्भर कहिल्यै नबनोस् । यस्ता देशका शत्रुहरूको इच्छा पुरा हुन स्वाभिमानी नेपालीले कुनै हालतमा दिने छैनन्।

प्रमुख प्रतिपक्ष र अन्य राजनैतिक पार्टीहरूले नेकपा र सरकारलाई लगाएका अनौठा, आपत्तिजनक, हास्यास्पद र झुठा कुरामा आधारित आलोचना र आरोपहरूमा विश्वास नगरी मुलुकको दिगो शान्ति, स्थिरता र समृद्धिको लागि नेकपाको चुनाव चिन्ह ‘सूर्य’ मा मतदान गरी सूर्य ध्वजावाहक उम्मेदवारहरूलाई जिताउन सम्पूर्ण मतदाताहरूमा हार्दिक अनुरोध गर्दछु।

डा. रामकुमार अधिकारी धादिङ २ (१) बाट निर्वाचित नेकपाका सांसद हुन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata