दुई समकालीन देशहरू : एउटा समृद्ध अर्को अझै अन्योलमा

सोमवार, पुस २८, २०७६



- आर के धमला

पृथ्वीनारायण शाहले नेपाल एकीकरणमा बिताएको लामो अवधि मध्यको एउटा समय बिन्दुलाई एकीकृत नेपालको निर्माण मान्ने हो भने, काठमाडौँ एकीकरण गरेको समय वि.स. १८२५ असोज (१७६८ सेप्टेम्बर २५) लाई एकीकृत नेपाल निर्माण भएको दिन मान्नुपर्ने हुन्छ। जतिबेला पृथ्वी नारायण शाह नेपालको पहाडी इलाकामा राज्य एकीकरण गर्दै थिए, ठिक त्यही बेला पृथ्वीको ठिक विपरीत विन्दुमा अर्को राष्ट्र निर्माण हुँदै थियो । हो, त्यही समय जर्ज वाशिंगटनले स्वतन्त्रता सेनानी गठन गरेर अमेरिकाको स्वतन्त्रता र निर्माणको मुक्ति सङ्घर्षको आगो बाल्दै नेतृत्व गर्दै थिए। विपरीत विन्दुमा रहेका अलि फरक भौगोलिक परिवेशका भिन्न भूभागमा रहेका यी देशहरू समकालीन हुन् । तर यसरी भन्न हामीलाई अनौठो लाग्न सक्छ। यी समकालीन देशका समानान्तर कुराहरूको बारेमा थोरै चर्चा गर्न खोज्दा यस्तो देखियो ।

पृथ्वी नारायण शाहको जन्म वि.स. १७७९ (सन् १७२३) हो भने जर्ज को जन्म वि.स. १७८८ (सन् १७३२ ) पृथ्वीनारायण शाह भन्दा जर्ज ९ झन्डै ९ वर्ष कान्छा देखिन्छन् । पृथ्वी नारायण शाहले नेपाल एकीकरण गरेको वर्षलाई नेपाल निर्माणको आधार वर्ष मान्ने हो भने संसार भरि नै नयाँ मुलुकहरू निर्माण र एकीकृत हुने प्रक्रियाको प्रारम्भिक अवस्था थियो भन्दा फरक पर्दैन । यसरी हेर्दा अमेरिकाको स्वतन्त्रता सन् १७७६ (वि. स. १८३३ ) मा भयो । पृथ्वीनारायण र जर्ज को उमेर ९ वर्षको फरक अनि नेपाल र अमेरिकाको एकीकरण / निर्माण पनि लगभग ९ वर्षको फरक रहेछ । सँगै अस्तित्वमा आएका दुई मुलुकको अहिलेको अवस्था तुलना गर्नु भनेको आफैमा हास्यास्पद तर्क हुन सक्छ। “समृद्ध नेपाल र सुखी नेपाली” नारालाई सार्थक बनाउन यस्तो विषय त्यति नै महत्त्वपूर्ण देखिन्छ । त्यसैले चर्चा गर्न खोजिएको हो । अमेरिकाको संवैधानिक, राजनैतिक, सामाजिक विषयहरूको जग जर्जको नेतृत्वमा भएको थियो । त्यो नै अमेरिकी राष्ट्र निर्माणको अभियानको आधार, प्रणालीको विकास गरेको समय थियो । त्यसैसरि पृथ्वीनारायण शाहले आफ्नो विवेकले भ्याएसम्म स-साना गणराज्यको एकीकरणको आधार तयार गरी एकीकरण शुभारम्भ भएको पनि त्यहीँ समय हो । नेपालको इतिहास, भौगोलिक अवस्था, एकीकरणपछि यसले व्यहोर्नु परेको राजनीति षड्यन्त्र, जालझेलभित्र मौलाएको नेतृत्व, नीति, नियम, सत्ताको होडबाजीले नै यसलाई जड बनाएको कारण अग्रगमनमा बाधा भइरहेको कुरा इतिहासको तुलना गरेर हेर्दा देखिन्छ ।
अब नेपालसँग सामिप्यता राख्ने केही सामान्य अमेरिकी तथ्यहरूको बारेमा छोटो अवस्थाको सान्दर्भिक तल प्रस्तुत गर्नु सान्दर्भिक लाग्यो ।

संविधानको निर्माण : 

अमेरिकामा एकपटक विश्वविद्यालयको कक्षा लिँदै गर्दा प्रोफेसरले प्रश्न गरे। संसारमा मुलुक निर्माणसँगै संविधान पनि निर्माण भएको देश कुन हो? सामान्य ज्ञानमा रुचि राख्ने भएकोले मैले यो प्रश्नमा धेरै घोत्लिए तर उत्तर आएन । अरूबाट पनि उत्तर नआए पछि अन्तिममा प्रोफेसरले भने- ” संसारमा अमेरिका मात्र यस्तो देश हो, जहाँ राष्ट्र निर्माणसँगै बनेको संविधान अहिले पनि कार्यान्वयनमा छ। अमेरिकाको संविधान सन् १७८९ मा जारी भयो। समय र परिस्थितिले सम्बोधन गर्ने क्रममा अहिलेसम्म दुईसय तीस वर्षमा २७ वटा संशोधन भएर अमेरिकी राज्य उत्कृष्ट रूपमा सञ्चालन भएका छन् र त्यही संविधानले काम गरी रहेको छ । अमेरिकाको राज्य सञ्चालन प्रणाली हेर्दा त्यहीँ संविधान समय सापेक्ष संशोधन हुँदै अनन्तसम्म रहने अवस्था छ।

यसरी सफल भएको संविधानको उत्कृष्टता मापन गर्ने संकेताङ्कहरू के होला? संविधान भित्रका शब्दहरू मिहिन रूपमा केलाएर तौलने कि बनाएको संविधान कार्यान्वयन पक्ष हेर्ने कि? अमेरिकामा स्कुल, कलेजमा अथवा अन्य प्राज्ञिक स्थानमा पनि संसारको सर्वोत्कृष्ट संविधान अमेरिकाको भनेर भनिँदैन/भन्दैनन् । संसारको अरू संविधानहरूसँग जोडेर हाम्रो यो राम्रो अरूको यो नराम्रो भन्ने पनि चलन छैन। जुन देशमा २३० वर्ष देखि निरन्तर एउटै संविधान कार्यान्वयन छ र संसारको सबै भन्दा राम्रो भनेर मापन मात्रै गरिँदो रहेछ ।

अब संविधान र देश निर्माणसँग जोडेर अलिकति नेपालको प्रसङ्ग जोडौँ । वि.स. २०४६ देखि २०७५ सम्मको २९ वर्षको अवधिमा नेपालमा ४ वटा संविधानहरू प्रयोगमा आए । त्यसभित्र पञ्चायत, वि.स. २०४७, वि स २०६२-०६३ को अन्तरिम र अहिले कार्यान्वयनमा रहेको गरी चार वटा संविधान पछिल्लो अवधिमा निर्माण भएका संविधान बनी सके । त्यो बिचको अवधिमा संशोधनको विषयमा आएका तर्कवितर्कहरुको त हिसाब नै छैन। वि.स. २०४७ ताका पनि संसारको सबैभन्दा उत्कृष्ट संविधान भनेर नेपाली राजनीतिज्ञ र संविधानविद्हरूले दाबी गर्ने गरेको र अहिलेको संविधानमा पनि त्यही कुराको रटान दोहोर्‍याइरहेको अवस्था रहिएको छ। अब संसारको उत्कृष्ट संविधान भनेर कसरी मापन गर्ने? संविधानको व्याख्याता र राजनीतिज्ञसँग सुझाव र उत्तरको खोजी गर्नु पर्ने देखिन्छ ।

कार्यपालिका, सरकार निर्माण :

अमेरिकामा सरकारको अवधि अर्थात् राष्ट्रपतिको कार्यकाल ४ वर्षको हुन्छ । कुनै कारणले राष्ट्रपतिको मृत्यु भए र महाभियोग लगाएर हटाएको अवस्थामा बाहेक, अहिलेसम्म सबै राष्ट्रपतिहरूले पूर्ण अवधि सरकार चलाएको छन् । त्यही भएर अमेरिकामा सरकारको स्थायित्व भन्ने शब्दको प्रयोग भएकै छैन । राष्ट्रपतिको कार्यालय बाहेक यत्रो ठुलो भूक्षेत्रको लागि अमेरिकामा जम्मा १५ वटा मात्र मन्त्रालय छन्। अमेरिकी सङ्घीय सरकारको मन्त्रालयहरूमा कृषि, वाणिज्य, रक्षा, शिक्षा, ऊर्जा, गृह, स्वास्थ्य तथा मानवीय सेवा, न्याय, आवास तथा सहरी विकास, आन्तरिक मामिला, श्रम, परराष्ट्र, यातायात, अर्थ र भूपू सैनिक रहेका छन् । संसारभर शक्ति र प्रतिष्ठाको हिसाबले अमेरिकी राष्ट्रपति पछि दोस्रो स्थानमा अमेरिकी परराष्ट्र मन्त्रीलाई मानिन्छ।

परम्परा र नियमको कुरा :

अमेरिका स्वतन्त्र भएको बेलामा संसारभरि नै राजतन्त्रात्मक मुलुकहरूको बोलवाला थियो। जर्जलाई पनि अमेरिकाको राजा हुन अनुरोध गरियो । तर उनले इन्कार गरे र गणतन्त्रात्मक व्यवस्थालाई संस्थागत गरे । दुईपटक भन्दा बढी राष्ट्रपति पनि बनेनन् ।  जुन पछि नजिर (प्रणाली) नै बन्यो। त्यो बेला संविधानमा दुई पटक भन्दा बढी राष्ट्रपति बन्न नपाउने कानुनी व्यवस्था चाही थिएन । जर्ज वासिङ्टन पदीय लोभ र षड्यन्त्र गर्न खोजेको भए सायद नेपाल जस्तै अमेरिकामा पनि अहिलेसम्म नै राजनीतिमा गुटबन्दी, षड्यन्त्र र शक्ति सङ्घर्षले राजनीतिकलाई गाँजी रहन्थ्यो होला ।

दोस्रो विश्वयुद्धको बेला पर्न गएको सङ्कटको कारणले होला ।  एफ डी रुजवेल्ट ४ पटक राष्ट्रपति भए। बहालवाला राष्ट्रपति बिरामी भएर अन्तिम कार्यकाल पुरा गर्न पाएनन् । त्यसपछि दुई पटक भन्दा बढी राष्ट्रपति बन्न नपाउने कुरालाई कानुनी रूपमा नै निर्दिष्ट गरियो। यही भएर नै होला हरेक चुनावमा नयाँ राष्ट्रपतिको अनुहार र नेतृत्व आउँछ। राष्ट्रपति विल क्लिन्टन निर्वाचित हुँदा ४६ वर्षको उमेरका थिए  ।  उनको समयमा नेपालमा प्रधानमन्त्री भएकाहरूमा स्व.गिरिजाप्रसाद, मनमोहन  र कृष्ण प्रसाद भट्टराई थिए । तर सबैको उमेर ७० नाघेको थियो।

न्यायपालिका :

अमेरिकामा ९४ जिल्ला अदालत, १३ वटा पुनरावेदन अदालत र एउटा सर्वोच्च गरेर जम्मा १०८ वटा पूर्णकालीन अदालतहरू छन्। जिल्ला अदालतहरूमा झन्डै ६००, पुनरावेदनमा झन्डै २०० र सर्वोच्चमा ९ जना न्यायाधीशहरू हुन्छन्। न्यायाधीशको लागि नामहरू राष्ट्रपतिले सिफारिस गर्ने गर्छन्। सामान्यतया राष्ट्रपतिलाई सम्भावित नामहरू न्याय मन्त्रालय, एफबिआइ, बार एसोसिएसन, सांसद, बहालवाला न्यायाधीस आदिले सिफारिस गर्छन्। राष्ट्रपति कार्यालयले हरेक सम्भावित व्यक्तिको पृष्ठभूमिको अध्ययन गर्छ र फाइल बनाउँछ । आवश्यक परेमा अन्तरवार्ता लिइन्छ । साथै गुप्तचर निकायले सेक्युरिटी क्लियरेन्स देखि जीवनको सबै पाटोहरू समेटेर विस्तृत फाइल बनाउँछ । अनुभव, वैचारिक क्षमता, जातीय र लिंगीय समावेशी, पुराना विवादास्पद निर्णयहरू सबैलाई आधार बनाइएर पठाएको फाइललाई माथिल्लो संसद् सिनेटले सुनुवाइ गर्छ ।  आवश्यक परेमा मतदान गरेरै पनि छनौट गर्ने गरेको छ। पार्टीको राजनीतिमा लागेर पदमा पुगेर पनि भागबण्डाको राजनीति मार्फत न्यायाधीश हुने, अनि न्यायाधीशको औपचारिक घोषणा हुनासाथ पार्टी अफिस पुगेर कृतज्ञता र दासत्व देखाउने चलन नेपालमा चलनचल्तीमा रहे पनि अमेरिकामा त्यो अहिलेसम्म बाहिर देखिएको छैन । राजनीति नियम, कानुन र प्रणालीमा चलेको कारण बनेका र बनाएका संविधान, नीति र नियमहरू दीर्घकालसम्म टिकेको हुनुपर्छ ।

व्यवस्थापिका संसद्को तल्लो सदन प्रतिनिधि सभामा ४३५ भोट दिन पाउने सदस्य हुन्छन्। अमेरिकी राज्यको मान्यता नपाएका ६ वटा टेरिटोरिहरु वासिङ्टन डीसी, अमेरिकन समोआ, गुआम, पोर्टोरिको, उत्तरी मरियाना द्वीप र अमेरिकी भर्जिनद्विप समूहहरूका प्रतिनिधिहरूलाई मतदान अधिकार हुँदैन। यस्तो प्रकारले बनेको त्यो प्रतिनिधिसभा सदस्यको पदावधि २ वर्ष हुन्छ। प्रतिनिधि सभाको संसदीय क्षेत्र जनसङ्ख्या र भूगोललाई आधार बनाएर निर्धारण गरिएको छ । समय समयमा राज्यहरूको जनसङ्ख्याको अनुपातमा संसदीय क्षेत्रको सङ्ख्या थपघट पनि भइरहन्छ।

माथिल्लो सदन सिनेटको लागि चाही हरेक राज्यबाट २ जनाको दरले ५० वटा राज्यबाट जम्मा १०० जना निर्वाचित हुन्छन् । यसरी निर्वाचित सिनेटरको पदावधि ६ वर्षको हुन्छ र हरेक २ वर्षमा एक तिहाईको अवधि सकिने गरी मिलाएको हुन्छ। यसरी हरेक २ वर्षमा झण्डै एक तिहाइको अवधि सकिन्छ । र नयाँ सिनेटरहरु आउँछन्। प्रतिनिधिसभामा सदस्य बन्नलाई २५ वर्ष पुगेको र अंगिकृत नागरिकको हकमा अमेरिकी नागरिक भएको कम्तीमा ७ वर्ष पुगेको हुनु पर्छ। त्यस्तै सिनेटर हुन ३० वर्ष उमेर पुगेको र अङ्गिकृत नागरिकको हकमा कम्तीमा ९ वर्ष अमेरिकी नागरिक भइसकेको हुनुपर्ने व्यवस्था छ ।

प्राकृतिक विपत्ति र शिक्षा :

संसारमा प्राकृतिक विपत्ति र सानोतिनो युद्ध नभएको देश नै छैन । सानोतिनो हरेक आपतविपतसँग जुधेपछि अमेरिकी सरकारले त्यसलाई शिक्षाको रूपमा लिएर त्यस सिकाइका अनुभवलाई विकासमा लगाएको छ । सन् १९३०-३९ सम्म भएको धुले आधि (DUST STORM)ले अमेरिकाको कृषि, उत्पादन, स्वास्थ्यमा ठुलो विपत्ति सृजना गर्‍यो । लाखौँ मान्छेहरू घरबार विहीन भए । खडेरीले मात्र लाखौँ जीवजनावरहरु मरे ।  कृषि ध्वस्त भयो । त्यस विपत्तिसँग जुध्दै अमेरिकाको मरुभूमि, चट्टानी र हिमाली भूभाग बाहेक सर्वत्र हरियाली छ। वनजङ्गलको व्यवस्थापन अचम्म लाग्दो छ ।त्यसैकारण आज अमेरिका पुरै हरियो छ। दोस्रो विश्वयुद्धको विध्वंसको कुरा गरेर साध्यै छैन । तर त्यो युद्ध सकिए पछि त्यसको असरको व्यवस्थापन गर्दा आज अमेरिकामा हरेक मान्छेको बिमा, सामाजिक सुरक्षा भत्ता र अन्य सुविधाहरू नागरिकहरूले सजिलोसँग उपभोग गर्न पाएका छन् ।

अर्को महत्त्वपूर्ण कुरा, अमेरिकाको प्राय सबै राजमार्गहरूमा आवश्यक पर्दा विमान अवतरण गराउन मिल्ने गरी पूर्वाधारहरू निर्माण गरिएको छ । यस्ता धेरै कुरा छन्, जहाँ हरेक विपत्ति पछि त्यसको व्यवस्थापन गर्दा विकासको अवसरको रूपमा उपयोग हुन सकोस् भन्ने मनसायले विकास गरिएको छ । नेपालमा वि.स. १९९० सालको भूकम्पपछि त्यस भूकम्पलाई अवसरको रूपमा लिएर बनाइएको बाटो आजको काठमाडौँको नयाँ सडक हो । अन्य समयका विपत्तिहरूलाई अवसरको रूपमा उपयोग गरियो कि गरिएन त्यो मूल्याङ्कन र आलोचना गर्ने जिम्मा नागरिकको नै हो ।

राष्ट्रिय एकता दिवस :

अमेरिका स्वतन्त्रता भएको दिन जुलाई ४ लाई अमेरिकीहरूले स्वतन्त्रता दिवसको रूपमा मनाउने गर्छन् । स्वाभाविक रूपमा त्यो दिन आफैमा ठुलो र गौरवको दिन हो । त्यो दिन अमेरिकाको प्राय सबै सहरहरूमा आतसबाजी गरिन्छ । हरेक टोल गाउँमा पटका पड्काएर खुसी मनाइन्छ। हरेक व्यक्तिहरूमा खुसी प्रकट गर्दै शुभकामना बाँडेको देखिन्छ । आम अमेरिकी आफू अमेरिकी भएकोमा गर्व गर्छन् र त्यो दिन राष्ट्रिय उत्सवको रूपमा स्वस्फुर्त भएर मनाउँछन्।

नेपालमा यो वर्ष २०७५ मा मात्र ४ दिन राष्ट्रिय दिवस परेको रहेछ।  जेठ १५ गते गणतन्त्र दिवस, असोज ३ गते संविधान दिवस, पौष २७ गते पृथ्वी जयन्ती, फागुन ७ गते प्रजातन्त्र दिवस । औसतमा प्रत्येक ३ महिनामा एउटा राष्ट्रिय एकता दिवस। अझै केही पहिले सम्म त लोकतन्त्र दिवस पनि मनाउने गरिएको थियो। नागरिक स्तरमा स्वस्फुर्त रूपमा गर्वका साथ राष्ट्रिय दिवस मनाउने परम्परा विकास हुनुको सट्टा बिदा दिएर जबरजस्त, कार्यलयीय समय पारेर पनि मानिसको उपस्थितिमा समस्या सृजना हुने राष्ट्रिय उत्सव मनाउने कुराले नेपालीहरू कति राष्ट्रवादी रहेछौ भन्ने प्रश्न उठ्ला र ! त्यसैले राष्ट्र, राष्ट्रियता र राज्यका संरचनागत प्रणालीको विकास र स्थायित्वका कुरालाई पनि माथि उल्लेख गरेका कुराले प्रभावित बनाउँछ होला । जति अग्रगमनको कुरा गरे पनि यस्ता कुरासँग राष्ट्रिय एकताको शुत्राधारहरूसँग जोडिने र सम्झन पर्ने रहेछ । नेपालको इतिहासमा पृथ्वीनारायण शाह र अमेरिकी इतिहासमा जर्ज वासिङ्टनलाई जनताले सदैव सम्झिरहने छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments