‘ टयूबलाईट’ मधुमास !

फरक मत

सोमवार, जेष्ठ १४, २०७५



- दीपेन्द्र पाण्डे

बलिउड कलाकार सलमान खान भारतीय सिनेमा उद्धोगमा मात्र हैन संसार भरका युवा युवतीको ढुकढुकीमा राज गर्न सफल चर्चित कलाकार हुन् । थुप्रै हिट फिल्म दिएका सलमान खानको चलचित्रले कम्तीमा दुई सय करोड आम्दानी नगरे फ्लप कै हैसियत पाउने उनको उचाई ट्यूबलाईट फिल्मको झिनो ब्यापारले नयाँ चुनौती थपेर गएको मानिन्छ । आफ्नो लागी भन्दा नाम र फ्यानको लागी बढी जिम्मेवार बन्नु पर्ने सलमानको बाध्यता फेरी खटकदै छ ।

केवल ट्रेलर मात्र रिलिज गरिएको सलमान अभिनित नयाँ चलचित्र रेस ३ मा आफ्नै कलमबाट लेखिएको गीत र प्रेमिका यूलियाको आवाजलाई लिएर गरिएको कमेण्ट इसको ट्युबलाईट बनानेका इरादा है क्या ? भन्ने भनाई ओली सरकारको मधुमास पछी सिंहदरबार छिरेको चर्चा हुँदैछ ।

आमजनता , कार्यकर्ता , समर्थक , शुभेच्छुक र भोटर समेतले नेपाली राजनीतिका सलमान मानेको ओली सरकारले मधुमास पूरा गरेको छ । शान्ति , स्थिरता र समृद्धीको सपना बाँडेर निर्वाचन मार्फत देशको सर्वाेच्च कार्यकारी पद प्राप्त गरेका प्रधानमन्त्री ओलीले देखेका मुर्छित सपनाहरु कसरी कार्यान्बयनमा लगिदैछ ? भन्ने संकेत मधुमास भित्र देख्ने अबसर मिलेको छैन । प्रधानमन्त्री ओलीको हरेक वचन र व्यबहारलाई अत्यन्तै नजिक बाट आँतुरता पूर्वक नियाली रहेको जनमानस उनको बिगत सुहाउँदो नपाउँदा हतास बन्दैछ । माओवादी ध्वंसको समयमा उनीहरुको अराजक क्रीयाकलापको बिरुद्ध दह्रोसंग खुट्टा टेक्दै आर्जन गरेको लोकप्रियता भारतीय नाकाबन्दी पछी कुबेर नै बन्न सफल भए ।
जनताको मनमा अनेकौं सपना रोप्न सफल ओलीलाई दक्षिणको अरुचीको बिच सिंहदरबारको कुर्सी दिलाउनुको मतलब उनको गतिविधी , कार्यक्रम , र भाषणहरु सलमानकै दुई सय करोड कल्बमा प्रबेश गरेको फिल्म जस्तै होस भन्ने जनसमुदायको चाहाना हो । विगतमा ओलीले बनाएको सलमान छबी जताततै खोजिएको वर्तमान समय जनअपेक्षा अनुरुप हुन नसक्दा ओली सरकारको मधुमास ट्यूबलाईट बन्नुको प्रमुख तीन कारण तल उल्लेख गरिएको छ ।

अनुपयुक्त मोदी मोह :

सुगौली सन्धी पछाडी नेपाली सत्ताले इस्ट इण्डिया कम्पनी र १९४७ पछी भारतीय सत्तासंग कुनै न कुनै रुपमा गुलामी गरी रह्यो । नेपालको भूअबस्थीती र सत्तामा बस्नेहरुको आफ्नै कमी कमजोरीको कारण दक्षिणको एकलौटी दादागिरी सहन बाध्य भयो । नेपालले चाहेको भन्दा दिल्लीले चाहेको हुने नेपाल भारत सम्बन्ध संबिधान जारी गर्दैगर्दा एकलौटी रुपमा मोदी सत्ताको गलत नीतिको सिकार बनाइएको आम नेपाली मान्न तयार छन् । पहिलो कार्यकालमा नाकाबन्दी नहटाए भारत जान्न भन्ने प्रम ओली दोस्रो कार्यकाल सुरु हुन अगाबै अनुपयुक्त मोदी मोहमा फस्न पुगे ।

मुलुकको राजनीतिले आवस्यक नदेखेको प्रधानमन्त्रीको भारत भ्रमण केवल ब्यक्तीगत सम्बन्ध सुधार्न प्रयोग गरिएको पुष्टी भ्रमणको दौरान भुसुक्क बिर्सिएका एजेण्डाहरु पञ्चेश्वरको डिपिआर , सीमा समस्या , सन् १९५० को सन्धि, व्यापार घाटा , ग्यास बुलेटका समस्या प्राथमिकतामा नपर्नुलाई लिन सकिन्छ । अझ एककदम बढदै नाकाबन्दी जस्तो आर्थिक अपराधलाई चटक्कै बिर्सदै मोदीलाई रातो कार्पेट बिछ्याउने ओली कार्य जनताको नजरमा स्थान पाउन सकेन । मुलुकको सार्वभौम सत्ताको चर्को वकालत गर्ने प्रधानमन्त्री ओलीकै कार्यकालमा भारतीय आर्मीको ताण्डब नृत्य जनकपुर , मुक्तीनाथ र काठमाडौंमा हुनुले दोस्तीको निम्ती सात खुन माफ भन्ने नजिर ओली राष्ट्रबादले खडा गरेको छ ।

बिगारेको पनि भारतले सपारेको पनि भारतले भन्ने बुझ्दा बुझ्दै कुटनीतिमा ओली सरकार सफल भन्नु सुर्य ग्रहण पुजा गरेर हटाएको भने जस्तै हो भन्ने राजनैतिक विश्लेशकहरुको राय छ ।

जन जिविकाको सवालमा अत्यन्तै फितलो :

उत्पात र उल्कैको काम गर्छु भन्ने आशा देखाउँदै जन्मिएको ओली सरकारको निम्ति सय दिन आफैँमा त्यति लामो समय होइन । उनी सुपर झापा निवासी र सुपर काम गर्न सत्तामा पुगेको कारण जनताले सुपर अपेक्षा गर्नु आफैमा जायज हुने नै भयो । फागुन ३ गते प्रधानमन्त्री भएका ओलीले चैत २ गतेसम्म तीनपटक मन्त्रिपरिषद् विस्तार गर्दा पनि सुपर पूर्णता दिन सकेनन् । ड्याङका ड्याङ विकासे निर्णय गर्दै जन जिविकाको सवालमा सुपर काम गर्ने जनअपेक्षा ओली सरकारले पूरा गर्नुको साटो यो त हेन्डसमहरूको देश हो । शास्त्र पढे हुन्छ । उर्वशी, मेनका, राम, कृष्ण भनेपछि कति हुरुक्क हुन्थे ? नेपालीजति सुन्दर कोही हुन्छन् र भन्दै कलाकार हँसाउने ओली हास्यरसबाट समृद्ध नेपाल निर्माण गर्न कम्मर कस्दै छन् ।

यातायात र वैदेशिक रोजगारका क्षेत्रमा रहेका ठूला सिण्डिकेटविरुद्ध सरकारको कारवाहीलाई अपवाद मान्ने हो भने लोकतन्त्र , प्रचलित कानुन , बिधी र प्रकृयाको सिमा भित्र रहेर दबंग शैलीमा ओली सरकार चल्नेछ भन्ने जनअपेक्षा अपेक्षा मै सिमित रहयो । आम जनताको दैनिकी संग सरोकार राख्ने तमाम निकायहरुलाई उचित नियन्त्रण गर्न उदासिन देखीएको ओली सरकार सुशासनमा अत्यन्त कमजोर देखिएको छ ।

फूलको आँखामा फूल नै संसार  भन्दै सपना मात्र देख्ने रोग समय मै उपचार नगरे आगामी दिन झनै पटयार लाग्दो हुनेछ । शिक्षा र स्वास्थ्य क्षेत्रमा भएको बेथिती र ब्रमलुट , मालपोत कार्यालयमा भइरहेको चरम घुसखोरी , लाईसेन्स शाखाको भ्रष्ट्राचार , काठमाडाै‌को धुलो , कंलकी नाग ढुङ्गाको ज्यानमारा सडकले रुप परिवर्तन गर्न सकेको भए ओली सरकारको मधुमास तीन करोड जनताको मन मन्दिरमा बास गर्न सफल हुने थियो । सुशासन , बिकास , र समृद्धी युद्धस्तरमा चाहिएको वर्तमान नेपालमा ओली कार्याशैली अत्यन्त एकल काँठे , सुस्त र प्रचारमुखी हुन पुग्दा उनको मधुमास सलमानको टयूबलाईट बन्न पुगेको छ ।

सम्पती विवरण कम दम्पती विवरण ज्यादा:

गत जेष्ठ ९ गते ओली नेतृत्वको सरकारका मन्त्रीले सम्पती विवरण जनता माझ पस्किए । कानूनले तोकेको समय पार गर्दै नितान्त कर्मकाण्ड कै रुपमा आएको सम्पती विवरणलाई दम्पती विवरण भन्न सकिने आधार प्रशस्त भेटिन्छन । आफ्नो सम्पतीको विवरण आमजनता र कार्यकर्ताको नजरमा पर्नासाथ जनवादी कम धनवादी राजनीति हाबी भएको मान्न सकिन्छ । आफ्नै सम्पती विवरणलाई लिएर झस्किएका कम्युनिष्ट मन्त्रीहरु दाइजो , श्रीमतीको पेवा , पैतृक , मावली जस्ता शब्द सापटी लिन बाध्य भएको दृश्य अत्यन्त रोचक , लज्जास्पद र हास्यास्पद मान्न करै लाग्छ । विगतमा जनवादी विवाह गर्दा चिया र बिस्कुट खाँदै ताली पडकाएर नयाँपन दिन सफल कमरेड मन्त्रीहरु संबिधान र कानूनले प्रतिबन्ध लगाएको दाइजो सम्पतीको रुपमा देखाउन बाध्य भएको घटना झुटै झुट्को पुलिन्दा सिवाय केही होइन भन्ने ठोकुवा गर्न सकिन्छ ।

निर्वाचनकाे  समय पैसाको अभाब देखाउँदै साइकल चढेर नौंटकी गर्ने मन्त्रीहरु श्रीमतीको सम्पती कसरी निर्वाचनमा खर्च गरौं भन्ने हास्यास्पद तर्क ओली सरकारलाई भारी पर्दैछ । प्रधानमन्त्री ओली र प्रचण्ड मिलेर छानेका मन्त्रीहरुको सम्पती विवरणले सरकारको मधुमास टयूबलाईट हुन पुगेको मान्ने आधार आफैमा जायज छन ।

अन्तमा

नेपाली जनताले चाहेको विकास के हो ? वर्तमान अवस्थामा कुन विकासलाई प्राथमिकतामा लिने ? समग्र देशको दीर्घकालीन विकासको निम्ति सम्पूर्ण राजनीतिक शक्ति र समुदायसँग कसरी सहकार्य गर्ने ? देशको प्राकृतिक स्रोत र साधनको अधिकतम प्रयोग कसरी गर्ने भन्ने कुरालाई आँखा चिम्लँदै शुरु गरेको ओली उडान रेल र पानीजहाजको चक्रब्युहमा फसिसकेको छ । जेष्ठ १५ गते रिलिज गरिने बजेट नामको रेस ३ मा सलमान यूलियाको नक्कल गर्दै अध्यक्ष प्रचण्डले गीत लेख्ने र प्रम ओलीले गाउने गल्ती गरे ओली सरकार सलमानको टयूबलाईट  बनीरहने छ ।

लोकप्रिय काम गरेर भन्दा कुरा बाट चर्चित हुने उडन्ते कार्यशैली ओली सरकारले तुरुन्त रोक्नु पर्नेछ । हरेक कुराको आफै बिज्ञ रहेको भ्रम त्याग्दै पार्टी सहयोद्धा कमरेडहरु सँग सल्लाह र सहकार्यको दायरा बढाउनु पर्नेछ । घोचपेच र ब्यङ्ग गर्ने प्रधानमन्त्रीको पुरानो आदत तत्काल स्थगित गर्दै लोकतन्त्रको न्युनतम विधी , प्रकिया , पद्धती अनुरुप प्रतिपक्षी पार्टी सँग सहकार्य गर्नु झनै जरुरी देखिन्छ । आफ्ना विचार , काम र कार्यशैली सँग असहमत बुद्धीजीबीको सोच , आवाज र नियत प्रती आक्रामक हुनुको सट्टा नम्र , शिष्ट , भद्र बन्दै मुलुक , लोकतन्त्र , चुनाबी घोषणापत्र , जनताको आबश्यकता र अपेक्षालाई नजिकबाट चिन्न सक्ने योग्य टिम निर्माण गर्नु पर्नेछ । अन्यथा ओली सरकारलाई ट्यूबलाईट बनाउनु पर्छ भन्नेहरु सफल हुन पुग्नेछन ।

3098 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank