यात्रा एक, यात्री अनेक : हुम्ला

बुधबार, असार ११, २०७६



- चित्र विष्ट

चैत महिनाको आधा भइसक्दा पनि कर्णालीका पहाडहरुमा हिउँ थुप्रिने अवस्था रोकिएको थिएन,यो वर्ष । नेपालगञ्जबाट मुगु ताल्चा एयरपोर्टसम्मको ४५ मिनेटको हवाई यात्रामा हिउँले सजिएका थुप्रै सेताम्य पहाडका थुम्काहरु चुमुचमु देखिन्थे । जलवायु पविर्तनको एक प्रमुख उदाहरण होला यो ।

आज फेरी आकाश टम्म थियो । चंखेली लेकमाथी कालो बादल मडारीदै थियो । केही बेरमै मुगुका डाँडाकाँडाहरु सेताम्य हुने निश्चित झै थियो । “मौसम खराब छ, चंखेली लेक चढ्न सकिन्छ त ….?” बिहानै ६ बजे जनक जी लाई फोन गरे । “ विस्तारै चेन्ज हुन्छ…., समस्या नहोला । बरु..हिडौं सर ” जनक जी ले छोटो निर्णय दिनुभो । यहि बाट शुरु भयो गमगढी ( मुगु) देखि सिमिकोट (हुम्ला) सम्मको पैदल यात्रा ।

हुम्ला, कर्णाली अञ्चलको एक जिल्ला हो । यो हिमाली क्षेत्रमा पर्छ । यो नेपालको उत्तर पश्चिम क्षेत्रमा अवस्थित छ ।यसको सिमाना उत्तरमा चिन संग जोडिएको छ…., आदीे किताबी जानकारी उहिल्यै कक्षा ४ मै सामाजिक किताबमा पढेको थिए ।

34

हुम्ला, एक सडक सञ्जालमा नजोडिएको, कठिन भौगोलिक जटिलता भएको र आर्थिक, सामाजिक र राजनैतिक रुपले राज्यबाट पछाडी परेको जिल्ला हो भन्ने कुरा अलि पछि युनिभर्सिटि अध्ययन, जागीरे समय र राष्ट्रिय तथ्याङ्क गुगल हेरेर थाहा पाएको थिए । तर त्यस भित्रको वास्तविक प्रत्यक्ष अनुभव गर्ने अवसर बल्ल जुर्दै थियो ।

सिमसिम पानी परिरहेको चिसो-चिसो मौसममा अलि तौल भएको झोला सहित उकालो चढिरहँदा शरिर पसिनाले भिजेर असजिलो भइसकेको थियो । त्यसैले होला, शायद, ..गमगढी देखि पारी पट्टी नेटा डाँडा पुग्न डेढ घण्टा बढि समय लाग्यो । यो यात्रा नितान्त व्यक्तिगत जस्तै थियो.. । काम सकेर सर्रर काठमाण्डौं फर्कने एउटै योजना थियो । तर लामो बाटोको यात्रामा एक्लै हिडिरहँदा मनमा थप भावहरु बहकिने रहेछन ।

नेटाको डाँडाबाट वारी गमगढी तिरै फर्केर मोबाईलमा गमगढी बजारकै फोटो कैद गर्दै थिए । भर्खरै बनिरहेको गमगढी सोरु सडक खण्डमा गुडिरहेका ‘बोलेरो मोडल’का गाडीहरु पनि मेरो मोबाईलमा कैद हुदै थिए । “सर….चिया” एउटी बहिनीले पछाडी बाट बोलाईन् । म झस्के…..। तर जनक जी ले अघि नै चिया अर्डर गर्नु भएको रहेछ ।

चियाको कप लिएर म तिनै बहिनीको पसलमा बसे । निलो सुरुवाल कुर्ता, कालो जाकेट माथी हल्का निलो रङको घुम बेरेकी …उनले खुट्टामा गोल्ड स्टार जुत्ता लगाएकी थिइन । माध्यामिक तह सम्म अध्ययनरत जस्तो देखिने उनको शारिरिक आकृति देखेर, मैले सामान्य रुपले सोधे “कुन स्कुलमा पढ्छौ बहिनी..”?  यहाँ बाट ९/१० कक्षा पढ्न प्रकाश मा.वि. लुम वा महाकाली मा.वि गमगढी नै जानु पर्छ भन्ने मलाई थाहा थियो ।

चुलोमा दाउरा ठोस्दै उनले भनिन् “दुई पटकसम्म एस.एल.सी. पास गर्न सकिन, अनि स्कुल छोडे” ।

“अनि अर्को पटक दिइएनौ त एस.एल.सी. परिक्षा..?” मैले थप घचघच्याए ।

“नाइ” ।

किन ? मैले उनि तिर फर्र्केर साोधे । उनि केहि लजाए जस्तै भईन ।

“अनि किन परिक्षा नदिएको त बहिनी ?” मैले नम्र स्वरले फेरी सोघे ।

“नानी भई (जन्मी) ……टाईम भएन ” । एकै झोक्कामा कारण बताईन, उनले ।

“विहे गरिसक्यौ …..? उमेर त सानै देखिन्छ त ” मलाई सोध्न मन थियो, तर सोधेन ।

“ए….” चियाको चुस्की संगै मैले टाउको हल्लाए । जनक जी यो सबै सुनिरहनु भएको थियो ।

“अब हाम्रो खाना बाम हुन्छ” पिठ्युँमा झोला भिर्दै जनक जी ले भन्नु भयो । RAP – 3 ( गा्रमिण पहुँच कार्यक्रम ) द्धारा निर्माणाधिन सुन्दर फराकिलो सडकलाई पछ्याउदै हामी लुम खोला तिर लाग्यौं । माथी बाम गाऊँसम्म त ट्याक्ट्रर पनि पुग्दो रहेछ । रङरङको लालीगुराँसको सौन्दर्यता, बाक्लो जंगलको बिचैबाट निर्माणाधिन फराकिलो बाटो र लुम खोलाको कञ्चन पानी ..निकै आनन्दको आभास भइरहेको थियो । पर खोलामा रोकिराखेको एउटा ट्याक्ट्रर थियोे । वरिपरी १० ̷ १२ जना केटाकेटीहरु रमाईरहेका थिए । झुत्रा लुगा, मैलो जिउ तर अनुहार भरी खुसी …म मुुसुक्क हाँसे । “सर …यहाँ नेर…” । ढकमक्क लालीगराँस फुलेको रातो बोट देखे पछि, जनक जी को फोटोको लागी अफर थियो त्यो । मैले झोला झारे । फुल टिपेर, …समातेर ….देखाएर …पोज पोजमा फोटो खिच्यौं । केटाकेटी हरुले हामीलाई हेरिरहे, …हामीेले उनिहरुलाई । हामीले तिनिको ट्याक्ट्ररको रमाइलो देख्यौे, उनिहरुले हाम्रो लालीगुराँससँगको नक्कल । हामी पनि हाँस्यौं, उनिहरु पनि हाँसे ।

 बाममा गमबहादुर जी ले आफ्नै घरमा खानाको व्यवस्था गर्नु भएको रहेछ । पारिवारिक भेटघाट र भलाकुसारी पश्चात दिउँसो १ बजे बामबाट हिडियो । गमबहादुर जी ले व्यवस्था गरिदिएको घोडामा हाम्रो लगेज लोड गरेर हामी चंखेली तिर चढ्यौं ।

चंखेली लेक हुम्ला र मुगु जिल्लाको दक्षिण पुर्वि सम्बन्ध जोड्ने सिमाना हो । करिब ३८०० मिटर उचाईमा रहेको यसको मुख्य चुचुरोको केहि तलको काँधमा गोरेटो बाटो छ । हामी पनि यहि बाटो पछ्याउँदै थियौं । यो काँध चढ्नुको अर्को विकल्प पनि छैन त्यो ठाँउमा । दुई तिरैबाट काँध पुग्न घण्टौं उकालो चढ्नै पर्ने बाध्यता रहेछ । यहि उकालो/ओरालो धाउदै यि दुई जिल्लाको दैनिक सम्बन्ध साटासाट भइरहेको छ । उहिले राजा विरेन्द्रले मुगु जिल्ला भ्रमणको बेला शिकार गर्न जाँदा यहि चंखेली डाँडाको तल पट्टि लुकेको मृगको एक जोडीको फोटो खिचे रे …. । त्यो फोटो नेपाली रु. १ को नोटमा अहिले पनि छँदैछ ।

फोईपाटाको खोलाबाट चंखेली काँध पुग्न हामी ३ घण्टा बढि तेर्सो उकालो चढ्यौं । साँझ छिप्पिदै थियो । चंखेली लेकमा कालो बादल फेरी मडारिदै थियो । उजाड डाँडाको सुनसान यात्रामा ओहोर दोहोर गरिरहने खच्चडको घण्टीको धुनले पुरै वातावरण संगितमय जस्तै लाग्दथ्यो ।

तिर्खा र थकावटले ज्यान प्याक प्याक भइसकेको थियो । घाँटी साह्रै सुक्यो । हिउँको टुक्रा मुखमा चुसे । तर चिसोका कारण धेरै खान सकिएन । लेकको चिसो सिरेटोले टाउको खाईसकेको थियो । खच्चडको उच्च ओहोर दोहोरको कारण हिउमाथीको बाटो पुरै हिलाम्य भएको थियो । करिब बेलुका ५ बजे चंखेली काँधमा पुग्दा फेरी हल्का हिउँ पर्न शुरु भइसकेको थियो । एउटा सानो काठको टहरो बाट धुँवा निस्किरहेको थियो । हामी त्यसै भित्र छिर्यौं ।

टहरो चिया पसल रहेछ । एक जना दिदि सुधारिएको चुलो वरिपरी तिन केटाकेटी राखेर आगो तापिरहनु भएको थियो । मैले तातो पानी मागे । चाउचाउको सुप तयार गरिदिन अनुरोध गरे । जनक जी पनि चुलोकै आडमा बस्नु भो । म ढोकाबाट बाहिर हेरिरहे । फराकिलो ठाँउ पुरै सेताम्य थियो । फुसफुस हिउँ थपिदै थियो । हिउँ र हिलो छल्दै एक हुल खच्चड हुम्ला तिर बाट आए ।

 जनक जी आफै हुम्लाको बासिन्दा हुनुहुन्थ्यो । तर गाँऊ नभेटेको वर्षौ भयो रे । कुरा गर्दै जाँदा दिदि परिचित नै पर्नु भएछ । कुराकै प्रसङ्गमा दिदिले सुनाउनु भयो,…यो शुन्य डाँडामा पनि धेरै पटक एक्लै रात विताउनु भएको छ रे । तातो पानी खाईरहेको मेरो हात लकलक काँपे । म आफै डराए । सुनसुान ठाऊँ, कुनै यातायात र सञ्चारको सुविधा छैन । थुप्रै महिला हिंसाका घटना सम्झे …।

बिग्रिदै गएको साँझको खराब मौसमले म चिन्तित थिए । मोबाईल हेरे, साढे ५ बजिसके छ । आजको गन्तव्य पुग्न अझै २ घण्टा हिड्नै पर्ने रे । त्यहाँ बस्न मिल्ने व्यवस्था थिएन । सेताम्य डाँडाहरु, हिलाम्य बाटो, फुसफुस झरिरहेको हिउँ र वेगको हावा …यात्रा सोचे भन्दा जटिल हुने भयो । ओरालो बाटो, चिप्लो पनि । रात छिप्पिदै थियो, मान्छेकोआवतजावत लगभग बन्द नै भइसक्यो । चराचुरुङ्गीको आवाज पनि बन्द नै छ । तर जारी छ ..हाम्रो पैदल यात्रा र आकाशबाट फुस फुस हिउँ….।
बाक्लो जंगल र कालो आकाशले होला, साढे ६ बजे नै अध्याँरो छिपिक्कै..। हाम्रो लगेज आफैले बोकेका थियौं किनकी यहि खराब मौसमका कारण अघि नै काँध बाट घोडा फर्काइ सकेको थियौं ।

मोबाईलको उज्यालोको सहाराले हामी ओरालो झरिरहेका थियौ । थकावट मेटाउन न कुनै स्थान थियो, न हामी संग समयनै । हिउँ, हिलो, चिप्लो र अध्याँरो…हाम्रा प्रमुख चुनौति थिए । मनमा अनेक गलत कुराहरु बहकिदै थिए । हामी दुई मध्ये एकजनालाई मात्र केहि घटना, चोटपटक भयो भने ……?

साढे सात बजे भन्दा ढिलो हामी सात थाप्ले पुग्यौं । हिउँले भरिएको एउटा( थाप्लो ) फाँटमा सानो होटेल रहेछ । अगाडी नै २ जना गेष्ट रहेछन । आलुको अचार र जिरे खुर्सानीको स्वादसँग उनिहरु चिनियाँ मदिरा पिउँदै थिए ।

सुतेर त निन्द्रा मात्रै पुरा भयो, गन्तव्य पुरा गर्न त फेरी उठ्नै पर्ने थियो । यस्तै साढे सात तिर बाहिर निस्के, भोलिपल्ट । मौसम निकै सुध्रेको रहेछ । “राति हामी झरेको बाटो ..उ..त्यतै बाट हो ”, जनक जी ले मुखमा पानी छ्पाप्दै देखाउनु भयो । चाँदीको घेरामा सुनको जलप ….। सेताम्य अग्लो पहाड माथी सुनौलो बिहानी रश्म । तल फेदिसम्म बाक्लो कोणधारी जंगल । रुखको पात पातमा एकदमै ताजा हिउँ । भर्खरै खुलेको आकाश । गुगलमा भेटिने उत्तर अमेरिकी देशको कुनै दृष्य भन्दा अझै लोभलाग्दो । म हेरिरहे …।

बाहिर कति चिसो, तर त्यो सुन्दरताले मुटु तातो बनायो ।
“सर, तातो पानी लिएर जानु”, शौच तिर संकेत गर्दै होटेलवाला दाईले भन्नु भयो । हिउँबाटै फुटेर आएको पानी छोई सक्नु थिएन ।

भगवान सरी होटेलवाला दाईलाई धन्यवाद दिई पुनः झोला उठायौैं । दाई सरकारी कार्यालय सहयोगी हुनुहुँदो रहेछ । रिटायर्ड हुन केहि वर्ष मात्रै बाँकी । गाँऊ र कार्यालय नजिकै रहेछ । तर होटेल देखिको पैदल दुरी ४ घण्टा बढिको । कहिले काँही कार्यलय जानुहुन्छ रे । तर त्यो सेवा भन्दा, यो सेवा साँच्चै महान थियो ।

लगभग २ घण्टा तर्सो ओरालो हिडेपछि एउटा चिया पसल भेटियो । ओरालो/तेर्सो, फेरी ओरालो/ तेर्सो, …बाटो विस्तारै सहज हुदै थियो । “यो उकालो/तेर्सो, सात पटकसम्म पछि हामी हिजो बास बसेको ठाऊँमा पुगिन्छ, त्यसैले त्यसलाई सात थाप्ले भन्छन”, महत्वपूर्ण कुरा जनक जी बताईरहुनु हुन्थ्यो ।

चंखेली लेकबाट धेरै तल झरिसकेका थियौ । हिउँसँगको सह-यात्रा अब लगभग छुटिसकेको थियो । ओरालो सकेर अलि तेर्सो उकालो तिर बढ्दै थियौं । जनक जि अलि अगाडी हुनुहन्थ्यो, म पछ्याउदै थिए । कतै झुक्किने दोबाटो रैछ भने, उहाँ रोक्किनु हुन्थ्यो र मलाई पछ्याउन सजिलो हुन्थ्यो । धुपीको बाक्लो जंगल बिचको बाटो सुनसान नै थियो । घण्टीको धुनले खच्चड परै बाट आएको सुनिन्थ्यो । मान्छेको वस्ति अझै देखिएको थिएन । म जनक जि लाई पछ्याउदै थिए । यात्रामा म एक्लै गुनगुनाए …….।
लामै छ हुलाकी बाटो, कर्णाली पारीको ।
फुल टिपि पैरनु भईन, मायाका बारीको ।। ( देउडा गित )

म खच्चडसँग हिडिरहेको थिए । शायद मेरोे गुनगुनावट र खच्चडको घण्टीको ..सुर संगित मिलिरहेछ ।

जनक जी अगाडी एउटा पसलमा पर्खिरहनु भएको थियो । “राब्लो छ, खाना यतै खाउँ, सर ” उहाँले भन्नु भयो । “सिस्नो” म झुक्केको बुझेर फेरी भन्नु भो ।
“आहा ! ” मैले उहाँको ईच्छा पुरा परिदिने सोच बनाए । कोदोको रोटी र सिस्नोको राब्लो, आजको खाना विशेष रह्यो ।

अग्लो धुपी र बाक्लो लेकाली विरुवाबीचको गोरेटो  बाटो छल्दै अलि पर तिर बस्ती देखियो । जनक जी ले अब जाने ठाँउ र कार्यक्रमको सुची सुनाउनु भयो । करोडौंको जंगल भित्र यत्रतत्र काटिएका रुख र खेर गएका काठका लठ्ठाहरु देखेर मेरो मन खिन्न भयो ।

रिमि, देउली, दार्मा, पिप्लाङ्, मेल्छाम, गर्दै चंखेली गाऊँपालिका मै ५ दिन बित्यो । चंखेली त्यहि डाँडाको नाम बाट साभार गरिएको नाम हो । मुगु र हुम्लाका जनताबीच चंखेली कसको भू–भागमा पर्छ भन्ने बारेमा विवाद पनि हुन्छ रे ! जे होस् हुम्लाले साविकका दार्मा, मेल्छाम लगायत अन्य गा.वि.स.हरु मिलाएर गाउँपालिका विकास गरि चंखेली नामाकरण गरिसकेछ । चंखेली गाउँपालिकाको केन्द्र पिप्लाङ् तोकिएको छ ।

त्यो क्षेत्रको काम सकेर हामीले सिमिकोट लाग्नु थियो । पिप्लाङ्बाट सिमिकोटसम्मको पैदल दुरी अढाई दिनको हो । हुम्ला कर्णालीको तिरै तिर उत्तर तिर पछ्याउने बाटो त्यति उकालो ओरालो भने छैन । अजबहादुर र छिरिङपनिसँगै हुनुहुन्थ्यो आज ..। बाटो भरी छिरिङ अनेक अनुभव सुनाउँदै जानु भयो  ।

“यो संघियताले केहि दिएन, सर”, सलिसल्लामा माछा खाँदै गर्दा छिरिङले दुखेसो पोखे । “ गाउँपालिकामा २/३ जना भन्दा बाहेक अरु कसैलाई केहि फाईदा भएन । विकास …सुविधा केहि छैन । नयाँ नयाँ भष्ट्रचार मात्रै । योजना लटर पटार पार्छन, रकम सबै आफै । गाउँमा झनै समस्या थपियो ……। ” लामा नेपाली लवजमा उनि भन्दै थिए ।

केहि सुनेका र बाटो छेउमा प्रत्यक्ष देखेका प्रतिनिधि उदाहरणले यहाँको स्थानीय क्षेत्रमा फस्टाउदै गएको आर्थिक अनियमितताका बारेमा थप स्पष्ट परे म । कयौं ठाउँमा धारा, सिचांर्ई नहर निर्माण गरिएका, तर पानी कहिल्यै नझरेर /नबगेर २/३ महिनामै जिर्ण हुदै भत्किएका संरचनाहरु मोबाईलमा प्रशस्त कैद गरेको थिए ।

छिरिङ अगाडी थप्दै गए । “ हाम्रोमा (कर्णालीमा) स्पष्ट २ किसिमको वर्ग छ । एक थरी …जो अलि केहि बुझेको छ, ….बोल्न सक्छ, ….तिनिहरुको परिवार, केटाकेटी सबै सुर्खेत, नेपालगंज र काठमाण्डौं तिर छन । यिनै पुरुषहरु कोहि जागिर, अझ बढि त राजनिति तिर आवद्ध छन यता । यहाँको विकास र जनताको सुविधासँग यस्ता मान्छेको वास्तविक भावना हुदैन । तर उपभोक्ता समुह गठन, निर्माण समुह गठनमा भने यिनै मान्छेको प्रभाव हुन्छ ।

“अर्को समुह छ, जसलाई आफ्नो जनजिविका भन्दा अरुको न चासो छ, न थाहा नै छ । सधै आफ्नै दैनिकीसँग व्यस्त छ । राज्यले के सुविधा, अवसर, अधिकार दिएको छ, त्यति सम्म अनभिज्ञ छ । सामाजिक विकास निर्माण …योजनाको समिति ..केहिमा तिनिहरुको सहभागिता हुदैन । ”

“जसलाई चाहिन्छ, उसलाई थाहा छैन । जसलाई थाहा छ, उसलाई चाहिदैन ” । छिरिङले निचोड निकाले ।

छिरिङको आक्रोश म मौन तरिकाले सुनिरहेको थिए । जनक र अजबहादुर पनि । “ सर..यो कर्णाली करिडोर जोड्ने बाटो हो । बाजुराबाट आउने बाटो पनि यहि हो ।” सलिसल्लाको दोभान परको झोलुङ्गे पुल देखाउँदै जनक जी ले प्रसङ्ग मोडे । मैले फेरी फर्केर हेरे । सङ्लो निश्चल लोती खोला, हुम्ला कर्णालीको धमिलो पानीमा हरायो । बगरकै छेउको फाँटमा हलक्क हुर्केका, सुरिलो अग्ला अग्ला सल्लाका रुखहरु ….। मैले अनुमान गरे….सुरिला सल्लाबाट नै सलिसल्ला .. । सबै जनाले गु्रप फोटो मोबाईलमा कैद गर्यौं ।

सलिसल्ला सर्केगाड ३ घण्टाको पैदल यात्रा रमाईलो भइरहेको थियो । छिरिङको चाख लाग्दो कुराले कर्णालीको सन्नाटा आफैं  हरायो ।

सर्केगाडको एक रात बसाई पछि, ठिङ्ग पहाड र खोच-खोचबाट बगिरहेको कर्णाली नदिलाई विपरित दिशाबाट पछ्याउँदै हामी सर्किदेउपुग्यौं । तीन घण्टा बढिको यात्रा पश्चात भोक र थकाईको पिडा अत्यन्तै भयो ।

बजार नजिकै एउटा विद्यालय थियो, तर शनिबार भएकोले बन्द रहेछ । “यो क्षेत्रको एक मात्र माद्यामिक विद्यालय हो, यहाँ पढ्न विद्यार्थीहरु एक/डेढ घण्टा देखि हिडेर आउँछन”, सँगै बसेका अजबहादुर जी ले सुनाउनु भयो । देब्रे हातमा चियाको गिलास लिदै मैले चारैतिर हेरे, भर्खर विकास भइरहेको सानो वस्तिमा १२/१५ वटा घर/पसल भन्दा बाहेक अरु कुनै संरचना थिएनन् । नजरले भेटेसम्म कतै मानव वस्ति पनि थिएन ।

हाम्रो कुरासंग जोड्दै साहुजी एकजना फडेरा दाईले भन्नु भयो, “ त्यहिको कुनै एक विद्यालयको प्र.अं. को नाममा ४ लाख बेरुजु देखियो, वि.व्य.स.ले उक्त प्र.अ. लाई कारवाहीको दुईटा विकल्प सुनायो । पहिलो, ४ लाख तिर्ने र प्र.अ. भइरहने । दोस्रो प्र.अ. बाट हटेर सहायकमा बस्ने । प्र.अ. ले दोस्रो विकल्प रोजे । सबै बेरुजु मिनाह भयो” । हामी सबै हाँस्यौं ।

दाइको कुराले सामुदायिक विद्यालयको कमजोर प्रशासकिय र व्यवस्थापकिय अवस्थाको राम्रै प्रमाण दियो । विद्यालयमा आधारभुत भौतिक संरचना नहुनु, एउटै कोठामा २/३ कक्षासम्म पठन पाठन गराउनु, शैक्षिक सत्र शुरु भएको दुई महिना सम्म पनि विद्यार्थीले पाठ्य पुस्तक नपाउनु, लामो समयसम्म शिक्षक अनुपस्थित रहनु….आदी यस अवधिमा प्रत्यक्ष देखेका सवालहरु त्यहि उदाहरणले प्रष्ट पार्यो । यस बाट विद्यार्थीको सिकाई स्तर सहजै अनुमान गर्न सकिन्थ्यो ।

रु. एक सय (१००) देखि एक सय पचास (१५०) सम्ममा सादा खाना बाटोमा पाईन्थ्यो । मुगु गमगढी देखि ४/५ दिनको खच्चड मार्फत जिल्ला भित्रिने दाल, चामल, नुन तेल मसला आदीको लागत केलाउदा, यो दर सामान्य थियो । त्यसमाथी ढुवानी र परिश्रमको लागत पनि होला ……।

तर १०/१५ मिटरको दुरीमा रहेको कर्णाली नदिको माछा चाहिँ निकै महङ्गो । “किन यस्तो ?”, सर्किदेउको होटलवाला दाई फडेरालाई सोधे । उहाँले सहजै भन्नुभो, “माछा जति पनि बिक्रि हुन्छ ” । सुकाउन राखेको आलो माछाको एक सुईरो देखाउँदै भन्नु भयो, “यसको मुल्य रु. १२०० हो । थाहा छ …..तपाई लाई बढि लाग्यो होला ” ।
“ कसले किन्छ त यति महङ्गोमा ..?” मैलेप्रति प्रश्न गरे
“तिनीहरु जस्तै ”। अति पर विद्यालयको भवन निर्माणमा जुटिरहेका स्थानीय श्रमिक तिर दाइले संकेत गरे । “ दैनिक साँझ तिर प्रायः सबैले रक्सी पिउँछन् । त्यति बेला यो माछाले पुग्दैन । एक प्लेट माछासँगै २ बोत्तल रक्सी पनि जान्छ । खच्चड गोठाला र संस्थाका मान्छे पनि माछाका नियमित ग्राहक हुन ” । दाईले भने । म एकहोरो सुनिरहे । जब कि त्यो सुईरोमा स–साना माछाको १० पिस रहेछ ।

“विकासे संस्थासँगैआएको एक विकृति हो सर, यो । राम्रै दाम कमाउछन, ….राम्रैमा खर्च गर्छन, बचत केहि छैन ” । छिरिङ्ले व्यङ्य गरे । “यता तिर चिनियाँ मदिरा सस्तोमा पाउँछ, उता (चीन) तिर घोडा खच्चडलाई हो रे । अब हाम्रो यता मान्छेका लागी । यसैका कारण कर्णालीमा मान्छेको आयु थोरै छ सर ।” उनले सुनाए ।

लिप्नेगाडको सुनसान बाटोमा एक जना स्थानिय दाइले साथ दिनुभयो । कर्णालीको उराठ लाग्दो सन्नाटा छल्दै बाटोमा विभिन्न गफ भए । घर पनि सोधियो । उहाँको घर उनापानी रहेछ । मैले तल्लो बाजुरा भने । कुराकै प्रसङ्गमा आफु बाजुरा भएर धेरैपटक हिमाञ्चल, भारत गएको र मार्तडीसम्म बाटो पुग्दा आफू हुम्ला बासीलाई पनि धेरै राहत भएको खुसी सुनाउनु भयो । कुरा मै फेरी सम्झनु भयो…“मार्तडी बाट तल जाने बेला धेरै पटक बाम्का ( बाजुराको एक स्थानीय बजार ) भन्ने ठाँउमा बसमा कचकच हुन्छ । त्यहाँका बसवाला र अरु मान्छे हामीलाई सिटबाट उठाएर पछाडी मुढामा बसाउँछन् । केहि बोल्यो भने ..सबैको भाडा दिने हो भनेर झपार्छन् । मार्तडीबाट सिट काटे पनि बाम्का भन्दा तल मुढामा बस्नु पर्छ । आफु दुई पटक सुदुरपश्चिम बस र एकपटक कर्णाली रिभर बसमा यस्तै भएको …सुनाउँदै गर्दा उहाँको भाव अवरुद्ध भयो । मेरो घर पनि त्यहि पेरिफेरी नै हो भनेर भन्ने आँट मलाई पनि भएन ………।

तीन दिनको हिडाई पश्चात बल्ल सिमिकोट पुगियो । हुम्ला राष्ट्रिय सडक सञ्जालमा नजोडिएको भएता पनि, खार्पुनाथ दोभान देखि सिमिकोट सम्मको उकालोमा हामीले राहत पायौं । हेलिकप्टरमा चढेर आएको बोलेरो गाडीले हामीलाई बोक्यो । सिमिकोटको बसाई आनन्दको रह्यो ।

बिहान ९ बजेको नेपालगञ्जको फ्लाइट बिहान ६ः३० मै साईरन बजेको होटेलको कोठामै सुनियो । “ल प्लेन आउने भयो, छिटो गरौ, यता टाईमको फिक्स हुदैन, मौसम अनुसार फलाईट हुन्छ, फास्ट गरौ” । विरेन्द्र जी हतारिदै आउनु भयो । राती नै प्याक गरेको लगेज समातेर हामी दुवै एयरपोर्ट तिर दौडियौं । होटेल र एयरपोर्टसम्मको पैदल दुरी ५ मिनेट जतिको थियो ।

तारा एयरको ट्विनेटर जहाजले जमिन छोडेसँगै १० दिनको हुम्ला यात्रा टुङ्गियो । यात्राभरमा साथ दिने सबै साथी जनक, छिरिङ, अजबहादुर र बिरेन्द्र जी को अपार माया एक पटक फेरी सम्झे ।

उडिरहेको जहाजबाट देखिने सुन्दर हिमालसँगै यात्राभरका क्षणसँग म पुनः हराए..। दाउराको भारी गह्राको कान्लामुनी बिसाएर तमाखु खाँदै, दार्मा गाउँकी दिदिहरुले गाइरहेको ठाडी भाका(देउडा) को एक अन्तरा फेरी सम्झे …।
नई पाँईदो एक सरो लुगा नई पेटभरी अन्न
को सक्देला हाम्रा व्यथा काठमाण्डौं लाई भन्न ।।
को सक्देला हाम्रा व्यथा काठमाण्डौं लाई भन्न…………।।।।।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank