राम्रो काम गर्ने कि ज्ञानेन्द्रलाई दोष दिने ?

बुधबार, चैत्र २०, २०७५



- यमराज तिमिल्सिना (उपाध्याय )

नेकपा भारी बहुमतका साथ सरकारमा  छ  । प्रजातन्त्रको ठेकेदार काँग्रेस पार्टी रक्षात्मक प्रतिपक्षको भूमिकामा छ । रणनीतिक स्वार्थहरुले जन्माएका मधेशवादीदलहरू  अन्यौलको स्थितिमा छन् । बिखण्डनको नारा बोकेको सिके राउतलाई रातो कार्पेटमा स्वागत गरेसँगै विप्लव समूह प्रति आक्रामक रणनीति सरकारले अप्नाएको छ । चन्दा,आतंक, बम विस्फोट जस्ता अराजक गतिविधि गरेको भनी विप्लव पार्टीलाई सरकारले प्रतिबन्ध लगाउदै धमाधम कार्यकर्ता पक्राउ गरिरहेको छ । विचित्र त के छ भने पूर्व राजा ज्ञानेन्द्र निर्मल निवासबाट बाहिर निस्कनासाथ सरकार मात्र हैन लोकतन्त्रको नाममा चुलो बाल्ने सबै तप्का , क्षेत्र र राजनीतिक दल एकै स्वरमा चिच्याउन शुरु गर्दैछन् । केवल जिब्रो मात्र लिएर नीजि भ्रमणमा निस्किएका पूर्व राजा लोकतान्त्रीक जुकाहरुको निम्ति टाउको दुखाई बन्दैछन् । अनेकौं सपना देखाउँदै प्राप्त उपलब्धीले जनताको मन मन्दिरमा स्थान जमाउन असफल राजनीतिक नेतृत्व पूर्व राजाकाे गतिबिधि सँग तर्सदै अनुपयुक्त  झमेला आफै निम्त्याउँदै  गइरहेकाे छ ।

 दुख ,खुशी,षडयन्त्र वा बाध्यता जे जस्तो भए पनि पूर्व राजा नारायणहिटी छोडदै सर्वसाधारण नागरिकको जीवन बिताउँदै छन भन्ने वर्तमान लोकतन्त्रले मान्नै पर्छ । गद्धी र श्रीपेज गुमाएका पूर्व राजा ज्ञानेन्द्र एक नागरिकको रुपमा देशभित्र जुनसुकै स्थानमा आउजाउ र शान्तिपूर्ण गतिविधि गर्न पाउँछन् । ज्ञानेन्द्रको भ्रमणमा हिंसात्मक एवम अराजक गतिविधिहरू भएका छैनन् । दशकौं बितिसक्दा पनि जनताले सकारात्मक परिवर्तनको  महशुस गर्न नपाएका र लोकतन्त्र प्राप्तिको आन्दोलनपछि जनताले चिनेको राजनीतिक नेतृत्वको तमाम कमजोरीको कारण पूर्व राजा ज्ञानेन्द्र घर बाहिर निस्कना साथ उनीहरुको दिमाग खल्बलिने कारण बनेको सर्वसाधारण मानिसले समेत बुझ्न भ्याई सकेका छन ।

 अरू जे भए गरे पनि ज्ञानेन्द्र शाहले सहजै नारायणहिटी दरबार छाडेकै हुन् । पूर्व राजाले गरेका शान्तिपूर्ण गतिविधि बाट कोहि डराउनु पर्ने स्थिति देखिदैन ।  पूर्व राजालाई शङ्का गर्नु भन्दा जनताको इच्छा र चाहना अनुरूप कार्य गरे कोहि राजा गएको ठाउँमा जय जयकार गर्न जानेवाला छैनन् । काम गर्न छोडेर राजालाई सराप्नुको कुनै तुक देखिदैन  । संविधानत : पूर्व राजालाई  वैयक्तिक स्वतन्त्रताबाट वञ्चित गरिने अभिव्यक्ति आउनु, राजाबाट खतरा छ भनी बढाइचढाईँ गरि राजनीतिक लाभ लिन खोज्नु र सरकारबाटै प्रतिबन्ध लाग्न सक्छ भन्ने जस्ता अभिव्यक्ति आउनुले नेपाली लोकतन्त्रको जग कती कच्चा रहेछ भन्ने पुष्टी हुँदैछ

लोकतान्त्रिक मुल्य मान्यता अनुसार राजनीतिक प्रतिद्वन्द्वीलाई दवाउन गलत मनासाय राखी अस्वस्थ राजनीतिक समीकरण गर्न खोज्नु भनेको लोकतान्त्रिक पद्धतीमा आत्महत्या गर्नु सरह नै हो ।मुलुकको परिवर्तन केवल वाद र तन्त्रले मात्र सम्भब नहुने र सार्थक परिवर्तनको निम्ति नेतृत्वको अहम भूमिका हुने असंख्य उदाहरण फेला परिसकेका छन । राजतन्त्र उन्मूलन गर्दै सङ्घीय, लोकतान्त्रिक गणतन्त्रात्मक प्रणाली सहित अग्रगामी छलाङ्ग मार्यो भनिएको कङ्गो विश्वको सबैभन्दा गरिब मुलुकमा दर्ज हुन पुगेको छ । पर्याप्त कृषियोग्य जमिन र वनजङ्गल, सुनखानी, हीराखानी, तामाखानी, युरेनियम, पेट्रोलियम पदार्थ तथा जलस्रोतका साथमा लोकतान्त्रिक गणतन्त्र भएर पनि सबैभन्दा गरिब देश बन्न पुग्यो । दक्षिण कोरिया गरिब थियो ।  तर कुनै न कुनै रूपको प्रजातान्त्रिक अभ्यास  भइरहेका बेला जनरल पार्क चुङ हीले सत्ता कब्जा गरे । ततपश्चात काेरियाकाे  अवस्था छर्लङ्ग नै छ । राजतन्त्र विस्थापित भएर माओवादीको ‘अग्रगामी शासन’ शुरु भएपछि विखण्डित र आहत भएको मुलुक इथियोपियाले ‘प्रतिगामी’ कदम चाल्दै माओवादी कम्युनिस्टहरूलाई पनि विस्थापित गरेपछि  राजतन्त्र पुनर्स्थापनाको नारा लाग्दै आएको छ । करिब बाह्र वर्ष पछि बेलायतमा राजतन्त्र फर्किएको इतिहास छ । जापानमा अझैं सम्राट छन्,सबैभन्दा बढि नेपाली कामदार हुने देश साउदी अरब र मलेसियामा पनि राजा नै छन् । रसियादेखि इथियोपियासम्मका मुलुक आर्थिक उन्नतिको दिशामा छन ।

कुनै तन्त्र भन्दा पनि शासकको नियत ठिक हुने हो भने समृद्धिको द्वार खुल्न असम्भव हुँदैन । देश आर्थिक उन्नति र विकासको दिशातर्फ अघि बढ्यो भने कुनै पनि व्यवस्थालाई जनताले नराम्रो भन्दैनन् र यो भन्दा बरू पुरानै व्यवस्था नै ठिक थियो भन्ने मनसाय सम्ममा  पुग्दैनन् ।  असन्तुष्टिका आवाज पनि गुञ्जिदैनन् । नेपालमा अग्रगामी व्यवस्था ठानिएको सङ्घीय, धर्मनिरपेक्ष, लोकतान्त्रिक गणतन्त्र कार्यान्वयनमा ल्याइएपछि एक राजाको सट्टा अनेक राजा महाराजालाई भाेगिरहेका छन् ।  राजनीति नेपालमा सबैभन्दा लाभदायक व्यापार ,व्यवसाय बनेको छ ।  विपन्न राजनीतिजीवीहरू रातारात महाधनाढ्यमा रूपान्तरित भएका छन् । उद्यमी, व्यवसायी र व्यापारी तथा उत्पादकहरू दिन प्रतिदिन सङ्कटको सामना गर्दै छन् । राजनीतिजीवी तथा कर्मचारी प्रशासकहरू बोलेको वा दस्तखत गरेकै भरमा सम्पन्न बन्ने, तर काम गर्ने वर्ग विपन्न बन्दै जाने जुन स्थिति पैदा भएको छ। यसले मुलुकलाई समृद्ध बनाउने कल्पना गर्न सकिँदैन ।

सरकार सुशासनको नारा लगाइरहेको छ । तर कतै पनि अनुभव गर्न सकिने प्रभावशिलता र पारदर्शिता देखिदैन । मुखले भन्ने तर व्यवहारमा नउतार्ने सत्तामा बसिसकेपछी आफैलाई सर्बेसर्बा ठान्ने  राजा महाराजाहरूको चरित्र थियो ।  त्यो भन्दा बढी लोकतान्त्रिक गणतन्त्रका शासकहरूमा झनै मौलाउदै गएको पाइन्छ । जनताले निश्चित समयसम्मका लागि जनादेश दिएका हुन्छन् । त्यसको सदुपयोग गर्न जान्नु पर्छ । तर  हामिले जे गरे पनि हुन्छ भन्ने जुन मनसाय शासकमा देखिन्छ।  त्यसले स्वयम् शासकलाई मात्र होइन देशलाई नै भड्खालोमा लाने संभावना रहन्छ ।

नेपाल भित्र बहुजाती, बहुधार्मीक, बहुसंस्कृतिक, बहुभाषिक नेपालीहरु बसोबास गर्दछन ।  यस्तो  फूलबारी संसारका कुनै ठाउँमा भेट्न सकिदैन।  तर आज पश्चिमाहरूबाट फूलबारी  मास्ने कुचेष्टा हुँदैछ र त्यसमा देशका ठूलै व्यक्तिहरूको संलग्नता रहदै आएको छ । यो हर्कत भनेको आफ्नो खुट्टामा आफै बन्चरो हान्नु सरह हो । नेपालमा रहेका विभिन्न जाति  जनजातिहरूका मौलिक संस्कृति माथि  भईरहेको पश्चिमाहरूको चलखेललाई स्वदेशी जुकाहरुले साथ दिईरहेका छन् ।  डलरकै आडमा पश्चिमाहरुले अमेरिकामा रेड इन्डियन, युरोपमा प्यागन, अष्ट्रेलियामा अबोरिजिनल, न्युजिल्यान्डमा माओरिहरु  माथी नरसंहार मच्याएर सखाप पारेकाे इतिहास नेपालमा दाेहाेर्याउन मरिहत्ते गरिरहेका छन् । पश्चिमको हतियार ब्यापार हजारौं खर्ब डलरमा हुनेगर्छ भनिन्छ । जब जब पूर्वी देशहरूमा युद्ध हुन्छन् पश्चिमी राष्ट्रहरूको प्रतिव्यक्ति आयमा वृद्धि हुन्छ । सत्ता पक्ष र विपक्ष दुबैले मिल्दै गरिने हतियार व्यापारकाे नयाँ क्षेत्र नेपाल बनाउन दिनरात एक गर्दै छन् ।

नेपालमा नियोजित अशान्ति कायम राख्दै हत्या हिंसा मार्फत हतियारको व्यापार र राजनीतिक उपस्थिती जमाउने पश्चिमा रणनीति पछिल्लो राजनीतिक परिवर्तनसँगै संस्थागत गर्ने खेल जान अन्जान मै गरिदै छ । बेला बेलामा आइएनजिओका एजेण्ट भनेर ठूलै व्यक्तिहरूको मुखबाट भाषण गरेको सुन्न पनि पाइन्छ । इराक र इरानको सिमाना “शत अल अरेबिया” क्षेत्रमा तेल खानी भएको कुरा थाहा पाए पछि दुबै देशलाई लडाएर आफ्नो फाइदा लिन शक्ति राष्ट्रहरूले कति चलखेल गरेका थिए । त्यस्तै रुवान्डामा तुत्सी र हुतु जाती बिच वैमनस्य र पछि हिंसा फैलाएर सय दिनमा पन्ध्र लाख मराईएको थियो  । अहिले त्यहाँ आफ्नो थर लेख्न प्रतिबन्ध छ भनिन्छ । नेपालमा पनि नेपाल एकीकरण हुनुभन्दा अगाडी देखि नै आँखा गाडेका ति पश्चिमाहरुकाे मनसाय बुझेका दुरदर्शीता राख्ने शासक भएकोले पटक पटकका प्रयास सफल नभए पछि बल्ल छयालीस सालपछि अलि अलि मौका छोप्न लागेका थिए । ०६३ सालपछि खुलम खुला गरिब, असाय, अपाङ्ग, दलित, मुस्लिम बाढिपिडित,जातजाति छुवाछूत, पिछडिएका जनता र क्षेत्र अनेक किसिमका बाहाना बनाएर देशका कुना काप्चा सम्म पुगि आफ्ना योजना सफल पारिरहेका छन् । पहिले नेपाली जातजातिलाई एक आपसमा मनमुटाव गराउने र बिस्तारै फुटाउने कुचेष्टा गर्दै आएका छन् ।

नेपाली जातीमा “बसुदैव कुटुम्बकम्” भाइचाराको भाव भएकोले धैर्य र सहनशिल क्षमतालाई कसरी उक्साहटमा पारि बिखण्डन ल्याउन सकिन्छ भन्ने दाउ हेरिरहेका छन् । यिनै पश्चिमाहरूको उक्साहटमा जातिय पहिचान, अधिकार ,समानुपातिक, आरक्षण जस्ता  विषयमा कित्ताकाट गरेर जाति जनजातिका मौलिक धर्म संस्कृति माथी नै प्रहार गरिरहेका छन् । आन्तरिक कमजोरीको फाइदा उठाउँदै राष्ट्रियता, राष्ट्रिय एकता र सामाजिक सद्भाव खलबल्याएका छन् । एनजिओ आइएनजिओको विस्तारबाट जनतालाई  सहयोग गरेको बाहानामा आत्मनिर्भर होइन दिनानुदिन परनिर्भर बनाइरहेका छन् । पछिल्लो समय देशमा अपराध र  अपराधीकरणमा वृद्धि भएका छन् । अनुशासनहिनता र अराजकता नेपाली समाजका नयाँ संस्कृति बनाउने कुचेष्टा गरिदैछ ।  देशलाई कहिल्यै पनि समृद्ध बन्न नदिने मार्ग अबलम्बन गरिरहेका छन् । नेपाल भित्र रहेका जमिन, जल, जङ्गल, जडिबुटी,वन पैदावर, खानी, प्राकृतिक सम्पदा माथि  र्याल चुहाएका छन् ।  यसबाट नेतृत्व सचेत र दुरदर्शी बन्दै व्यक्तिगत स्वार्थ भन्दा माथी उठि देशको सर्वोपरि हितमा लाग्नु अत्यावस्यक   भइसकेको छ ।  पूर्व राजालाई दोष दिनुको सट्टा आफ्नै गल्ती सुधार्दै जनताको हितमा काम गर्न ढिला हुँदै छ । आम जनताको भावना र आवस्यकता अनुसार चल्न ढिला गरे त्यसको परिणाम लोकतन्त्र,  मुलक र मुलकवासीले भोग्न बाध्य हुने छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata