पृथ्वीनारायण शाहलाई अपमान गर्नेहरुले बुझेको कुरा !

आइतवार, पुस २७, २०७६



- यमराज तिमिल्सिना

जब पौष २७ गते आउँछ । अनि पृथ्वीनारायण शाहको सेरोफेरोमा रहेर अनेक स्वभाविक अस्वाभाविक पाटाहरू आआफ्नो हैसियतले खोतलिने गर्दछन् । जेजति किस्सा गरेर अपमान गर्न खोजिए पनि पृथ्वीनारायण शाह ‘न भुत्तो न भविष्यतिर’ व्यक्तित्व हो । स्वतन्त्र नेपाल रहनुमा पृथ्वीनारायण शाहको ऐतिहासिक योगदान जति छ ।  त्यति अरू कसैको पनि देखिँदैन । त्यसो भन्दैमा राजा एलम्बर, राजा अंशुवर्मा अनि बहादुर शाह, राजेन्द्र लक्ष्मी, अमरसिंह थापा, भीमसेन थापा, बलभद्र कुँवर, भक्ति थापा जस्ता वीरहरूको अवमूल्यन गर्न खोजिएको होइन । सिङ्गो नेपाल निर्माण गर्नमा अनेकौँ वीर सपूतले साथ दिए पनि नेतृत्व पृथ्वीनारायणकै थियो । इतिहासका पाना पल्टाउँदा पृथ्वीनारायण शाहले मुलुक एकीकरण नगरेको भए अहिलेको नेपाल र नेपाली रहिरहेको अवस्थामा हुने थिएन । किनभने दक्षिणका नवाबले तराईको भूभाग कब्जा गरेका थिए ।

अवधका बादशाहहरूको जग्गा/जमिन तराई क्षेत्रमा थियो । जुन जग्गा कमाउने काम हाम्रा सेन राजाहरूले गरेका थिए ।  ‘सेन’ राजा मोही मात्रै थिए।  जग्गाका मालिक ‘अवध’ बादशाह थिए । तसर्थ भारतका नवाब, अवधका बादशाहलाई सेनहरू ‘कर’ बुझाउँदथे । पछि ‘नवाब’ र ‘अवध’ ब्रिटिस जनरल किन लकसँग पराजित भएपछि सेनहरूले ‘कर’ किन लकलाई बुझाउन थाले । मुकुन्द सेनका ससुराली मकवानपुर, हरिहरगढी भएकोले पर्सा देखि लगभग जनकपुर सम्मको जग्गा कमाउँथे र केही पैसा हात्ती करको रूपमा तिर्थे भन्ने इतिहास भेटिन्छ । ‘किन्लक’ तराईबाट जित्दै सिन्धुलीगढी सम्म आइपुगेका थिए । यस्ता घटनाक्रमलाई नियाल्दा देशलाई एकीकरण गरेर ब्रिटिसलाई पराजित गर्न नसकेको भए सबै भूभाग इस्ट इन्डिया कम्पनी अन्तरगत हुने थियो । जुन उपत्यकाका राजाले कम्पनी सरकारले रातो कार्पेट ओछ्याएर स्वागत गरिसकेका थिए । दूरबिनले युद्ध गरेको स्थललाई देखाएर चकित पारिसकेका थिए । पहिलेको नेपाली भूभाग कुमाउँ, गडवाल अहिले भारतको भए जस्तै कहिल्यै नफर्कने गरी गुमिसकेको हुने थियो ।

टुक्रा टुक्रामा विभाजित थियो ।  स-साना स्थानीय शक्तिहरू एक अर्काका प्रतिस्पर्धी थिए । एक राज्यले अर्को राज्यलाई आक्रमण गर्ने खोसाखोस गर्ने मात्रै नभएर आफू आफूमा पनि मनमुटाब कलह आन्तरिक खिचातानी थियो ।  कोही पनि राजा रजौटा सुरक्षित थिएनन् । शान्ति अमन चयनका लागि पनि बलियो राज्य निर्माण गर्नुपर्ने आवश्यकता थियो । त्यही मौकाको पर्खाइमा कम्पनी सरकार थियो । सो कुरालाई राम्ररी निहालेका शाहले राष्ट्रियता र स्वाधीनता जगाउन  अत्यन्त कठोर प्रयत्न र सङ्घर्ष गरी राष्ट्रको पून: एकीकरण गरेर एउटै मालामा उन्न सफल भएका थिए । किराँत राजाले एकीकरण गरेको राष्ट्र विभाजित भैसकेको थियो ।  पछि अंशुवर्माले एकीकरण गरेर समृद्ध तुल्याएका थिए । जुन समयलाई स्वर्णिम युग भनिन्छ । उनीहरूको शासन विधि स्थानीय स्वायत्ततामा आधारित थियो । त्यसपछिको समयमा केन्द्र कमजोर हुँदै गयो । अधिराज्यभर राजा रजौटाहरू पलाए देश छिन्नभिन्न अवस्थामा थियो । पृथ्वीनारायण शाहले त्यसलाई पून: एकीकरण गरे । परिणाम आजको विश्व मानचित्रमा नेपाल स्थापित भएको छ ।

जसको नेतृत्वमा कार्य सम्पन्न हुन्छ ।  उही नायक ठहरिन्छ । वि.सं. २००७ को सफलता हुनमा वि.पी कोइराला, सुवर्ण समसेर  २०४६ लाई हेर्ने हो भने गणेशमान सिंह र कृष्णप्रसाद भट्टराई २०६२/६३ मा गिरिजाप्रसाद कोइराला २०७२ मा सुशील कोइराला र दस वर्ष सम्म चलेको माओवादी हिंसामा जति सपूतले जीवन उत्सर्ग गरे पनि इतिहास पुष्पकमल दाहाल ‘प्रचण्ड’ कै रहनेछ । त्यस्तै  तत्कालीन समयमा पृथ्वीनारायण शाहले एकीकरणको नेतृत्व नगरेका भए इतिहास अरू कसैको नाममा लेखिन्थ्यो होला । त्यो बेग्लै कुरा हो । विचारको राजनीति नियाल्दा नेपाली इतिहासमा पृथ्वीनारायण शाह नै पहिलो देखिन्छ ।   रणनीति कुशलता हिसाबले जङ्गबहादुर राणा र राजा महेन्द्र आधुनिक विचारका दृष्टिकोणले वि.पी. कोइराला र पुष्पलाल श्रेष्ठ विचार प्रवाहका नायव नै ठहरिन्छन् । कुनै वादका पछाडि लागेर इतिहास बङ्ग्याउन खोज्नु हुँदैन ।

शाह वारायणासी गएका बेला त्यहाँ फिरङ्गीहरूले अधीन गरेर बसेको देखे र विदेशी उपनिवेशवादीको रणनीति भारतीयहरूबाट राम्ररी बुझ्ने मौका पाए । वारायणासी बस्दा ब्रिटिसहरूले तिब्बत लिन चाहेको कुरा पनि थाहा पाए । बाटो थाहा नभएकोले तिब्बत आक्रमण गर्न सोचे जस्तो सजिलो थिएन । त्यसैले ब्रिटिसले गोप्य रूपमा क्यापुचीन पादरीहरूलाई मध्य एसिया हुँदै तिब्बत र ल्हासाबाट नेपाल पठाएका थिए । मल्ल कालमै काठमाडौँमा भित्रिएका पादरीहरूको मान सम्मान र इज्जत राम्रै थियो । पृथ्वीनारायण शाहले पनि सुरुमा राम्रै व्यवहार गरे तर जब पादरी मार्फत अङ्ग्रेज शासक किन्लक आउन थाले तब पृथ्वीनारायण शाहको मनमा शङ्का पस्यो । धर्मको आवरणमा राज्य हडप्न आएको चाल बुझे पछि देशबाट निकाला गरिदिए ।

विदेशी पहिला व्यापार लिएर आउँछन् । पछि बन्दुक लिएर आउँछन् भन्थे । शाहकै दूर दृष्टिले अहिले ऐतिहासिक सार्वभौम राष्ट्रका नागरिकका रूपमा शिर ठाडो पारि संसार चहारिरहेका छौँ । पृथ्वीनारायण शाह सङ्ग लज्जास्पद हार व्यहोरेपछि ब्रिटिसले आफै नेपालको इतिहास लेखे । शाहदेखि असन्तुष्ट भएका आसाम दार्जिलिङ तिर शरण लिएर बसेका पूर्व नेपाली केही जानकारलाई आफ्नो हातमा लगेर कथंकथाथित कपोलकल्पित कुरा बङ्ग्याएर इतिहास लेख्न लगाई बदनाम गर्न खोजे । नेपाली नागरिकका मौलिक धर्म संस्कृति परम्परा रहनसहन आदी मास्न उद्धत फिरङ्गिले लेखेको इतिहास पढेर निर्मम समीक्षा नै नगरी जबरजस्त नश्लिय दोष थुपार्न लगाइयो । पृथ्वीनारायण शाहको व्यवहारले नेपाली सांस्कृतिक एकताका साझा प्रतीकका रूपमा रहेको इतिहासले देखाउँछ ।

ब्रिटिस साम्राज्यबाट जोगाएको राज्यमा अहिलेका नेताले राज गरिरहेका छन् ।  कथित जानकारले धारे हातले गाली दिइरहेका छन् । राजाकै पुर्खा ठानेर शाहलाई अपमान गर्न खोज्नु अज्ञानता हो । खासमा राजा महाराजाको चरित्र सामन्ती हुन्छ भन्ने ठान्नु अल्प ज्ञान मात्रै हो । राजा राज्यको एक प्रतिनिधि मात्रै हुन्छ ।  अरू केही हुँदैन । आधुनिक युगमा कार्यकारी मानिएका प्रधानमन्त्री र राष्ट्रपति जस्तै । केही राजा निरङ्कुश र क्रूर भएको सन्दर्भलाई लिएर सबैलाई एउटै टोकरीमा राख्न खोजियो भने त्यो अन्याय ठहरिन्छ । शासकीय उत्तरदायित्व पारिवारिक रूपमा स्थापित गरे भन्दैमा ऐतिहासिकयता भुलेर कसैको अवमूल्यन गरिनु न्यायोचित हुँदैन ।

खासमा ‘शासन’ आफैमा सामन्ती चरित्रको हुन्छ । राजा,महाराजा बाहेक गैर राज घरानाबाट पनि तानाशाह पैदा भएका इतिहास ताजै छन् । साधारण नागरिक पनि शासन सत्तामा पुग्यो भने खराब व्यवस्था लाद्न सक्छ । हिट्लर, मुसोलिन, स्टालीन, ब्याकस्ट्रोक, इदि अमिन कुनै राज घरानाका थिएनन् ।  तर तानाशाह भएर निस्किए । कुनै बेला दक्षिण एसियामा जिया उलको अचाक्ली, इरानमा धार्मिक तानाशाह, बर्मामा सैनिक तानाशाह र हालको उत्तर कोरियालाई हेर्दा पनि तीन पुस्तासम्म एउटै परिवारले शासन चलाएका छन् ।

पृथ्वीनारायण शाहको महत्त्वाकाङ्क्षा आन्तरिक राज्य जित्नुमा मात्रै थिएन ।  साम्राज्यवादी शक्तिलाई नेपालमा प्रवेश नै गर्न नदिई दक्षिण एसियाबाटै लखेट्ने मनसाय थियो । वर्तमानमा स्व धर्म, संस्कृत, स्थानीयता स्वराष्ट्र, राष्ट्रियता, उन्नति जस्ता कुराको सवाल उठिरहेका बेला दूरदर्शी राष्ट्र निर्माताले अठारौँ शताब्दीमै यी कुरा बुझिसकेका थिए । दक्षिण एसियामा नै साम्राज्यवादी शक्तिको विरोधमा स्थानीय, क्षेत्रीय परम्परा र संस्कृतिको संरक्षण संवर्धनका लागि अभियान नै चलाएका थिए ।

स्थानीय भाषा,धर्म,संस्कृति, सभ्यता परम्परा स्थानीयता, क्षेत्रीयता र आर्थिक आस्थालाई जगाउने स्वाधीनता बचाएर राख्ने नीति थियो । जुनजुन ठाउँ आक्रमण गरेर जित हासिल गरे त्यहाँकै चालचलन, रीतिरिवाज, परम्परागत धर्म संस्कृतिलाई हस्तक्षेप गरेनन् सुरक्षित राखे । काठमाडाै कुमारी पूजामा स्वयम् राजा नै उपस्थिति हुने चलन यथावत् छ । त्यो स्थान आज राष्ट्रपतिले दिइएको छ ।अङ्ग्रेजको साम्राज्यवाद विस्तारको महत्त्वाकाङ्क्षा हिमाली भेग असुरक्षित थियो ।

अनेकता र विविधता भित्र एकता, नेपाली राष्ट्रियता बोकेर विभिन्न जातजाति,समुदायका योद्धा शिल्पी आदिलाई, साझा संस्कृति र स्थानीय शक्तिलाई एक ढिक्का बनाएर उपनिवेश हुनबाट जोगाउन आफ्नै ज्यानको समेत बाजी थापेर अङ्ग्रेजलाई पराजित मात्रै गरेनन् हतोत्साहित हुने गरी नै लखेटेका थिए । मानिस सर्वगुण हुँदैन ।  कमजोर रहित पनि त्यस्तै पृथ्वीनारायण शाहमा पनि थुप्रै कमी कमजोरीहरू थिए ।

जयन्त रानाको छाला काढेका,कीर्तिपुरेका नाक काटेका जस्ता कुरालाई लिएर राज्य एकीकरण गरेको ठुलो योगदानलाई अपमान गर्न खोज्नु इतिहासको बेइमान गर्नु हो । त्यति बेलाको युद्धको स्थिति र चरित्र नै त्यस्तै प्रकारको हुन्थ्यो । कि त एकीकरण नै नगरेको भए हुने थियो । हामी जुनसुकै राष्ट्रसँग समाहित भए पनि स्वीकार गर्थ्यौँ । पुर्खाको अपमान भयो त्यसैले नेपाल एकीकरणको पक्षमा छैनौँ भन्न सक्नुपर्छ । होइन भने तत्कालीन अवस्थामा भएका अमानवीय व्यवहार लाई आलोचना गर्दै नेपाल एकीकरण गरेको स्वीकार गर्नु पर्दछ ।

विश्व मानव अधिकारका बारेमा ज्ञान भएको पछिल्लो समयमा त त्यस्तै प्रकारका अमानवीय व्यवहार दस वर्षे युद्धमा राज्य र विद्रोही पक्षबाट पनि भएका थिए । त्यसले के कति फाइदा बेफाइदा भए छुट्टै अध्ययनका विषय भए । जर्मनमा हिट्लर जस्तै तानाशाह थिए विस्मार्क तिनले पनि पृथ्वीनारायणले जस्तै राज्य एकीकरण गरेका थिए त्यसैले त्यहाँका जनताले विस्मार्कलाई ‘फादर अफ जर्मन’ मान्दछन् । ससाना टुक्रा टुक्रामा रहेका तत्कालीन राज्यहरूका लागि साम्राज्यवादी, विस्तारवादी र तानाशाह जे भए पनि कसैले कन्चुस्याईँ नगरी भन्न सक्नुपर्छ आधुनिक नेपालका निर्माता पृथ्वीनारायण शाह नै हुन् ।

अग्रगमनका नाममा इतिहासको अन्त्य गर्न खोज्नु अन्तमा आफै सकिनु पनि हो । पृथ्वीनारायण शाहले अन्तमा भनेका थिए ‘सबैलाई चेतना भएदेखि यो देश सबै थरी देशवासीले फक्रिन पाउने साझा फूलबारी हो र यहाँ चलेका आआफ्ना कूल धर्म र परम्परा नछाड्नु ।’ तर आज आफ्ना कुल धर्म परम्पराको कुराहरू गर्ने हो भने पुरातनवादी, रूढिवादी, खसवादी, हिन्दुवादी, नश्लिय चरित्र बोकेका सामन्ती वर्ग, यथास्थितिवाद आदि अनेक उपमाको ट्याक लगाइदिन पछि पर्दैनन् । नेपाललाई मौलिक धर्मबाट विमुख गराउन त सफल भए भए अब सांस्कृतिक पहिचानबाट विमुख बनाएर अन्तमा पहिचान विहीन बनाउने योजना लाई नजर अन्दाज गर्ने लोभी पापी पद पदलोलुप कथित स्युडो ज्ञानका बिद्ध्वान जानकारहरूलाई थाहा नहुने कुरा भएन ।

बसिबसी विरोध गरेकै भरमा छाक टर्ने, जहान परिवार पालिने,छोराछोरीलाई विदेशी कलेजमा छात्रवृत्ति हुने र आफूलाई पद मिल्ने भएपछि किन व्यर्थ सत्य ओकलेर सारो झन्झट व्यहोर्नु भन्दा चुप लागेकै बेस ठानी चुप रहेका छन् । मख्खले चौतारीमा बसेर पृथ्वीनारायण शाहलाई सराप्नेहरूले एक पटक त्यही चौतारीलाई नियालेर हेरुन् अनि मातृभूमिको माटोलाई छोउन् र यथार्थ बोध गरून् । आफ्नो इतिहास बिर्स्यो भने देश मासिन पुग्छ । सन्ततिको भविष्य समेत अन्धकार हुन्छ । पृथ्वीनारायण शाहको ठाउँमा अरू कसैले पनि नेपाल एकीकरण गर्न सक्थे उनैलाई राष्ट्र निर्माता मानिन्थ्यो तर कसैले सकेनन् । कठिन परिस्थितिमा पनि दृढ सङ्कल्पका साथ एक सानो टुक्रोका रूपमा रहेको राज्यका राजाले छरपस्ट टुक्रिएका राज्यलाई पून: एकीकरण गरी विशाल स्वाधीन राष्ट्र निर्माण गरे ‘बाघको छालामा स्यालको रजाइँ’ भइरहेको नेपाली राजनीतिमा इतिहासको अपमान गर्दा परिवर्तनले पूर्णता पाउँछ ठान्नु मूर्खता हो ।  राष्ट्र निर्माता पृथ्वीनारायण शाह चन्द्र सूर्य रहुन्जेल अमर रहिरहने छन् । जय होस् !!

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments