कानुनको उपहास गरिरहेको मापदण्ड विपरीत ती क्वारेन्टाइन !

शनिबार, जेष्ठ १०, २०७७



- मनाेज कुमार कँडेल- अधिवक्ता एवम् बालअधिकारकर्मी

क्वारेन्टाइन कोरोना भाइरस सङ्क्रमणको शङ्काको घेरामा रहेका व्यक्तिहरूलाई सुरक्षित राख्नको लागी अस्थायी रूपमा व्यवस्था गरिएको एक प्रकारको अस्पताल नै हो । कोरोना भाइरस मानिसको आँखाले नदेखिने भएको हुँदा कुनै पनि सङ्क्रमित ठाउँबाट आएका व्यक्तिहरूलाई शङ्काको घेरामा राखी उनीहरूको उपचार अस्थायी रूपमा रहेको क्वारेन्टाईनमा राखेर गरिन्छ ।

जसबाट पहिलो, उनीहरू सङ्क्रमित रहेको अवस्था रहेछ भने समाजमा सङ्क्रमित हुन रोक्दछ । र उनीहरूको उपचार तत्काल सुरु गर्न सकिन्छ । दोस्रो, सङ्क्रमण नदेखिएको व्यक्तिहरूलाई सुरक्षित उनीहरूको परिवारमा जान र बस्न सक्ने वातावरण सहज हुन्छ ।

क्वारेन्टाइनसँग ६ वटा महत्त्वपूर्ण पक्ष 

पहिलो:- क्वारेन्टाइनमा राखेका मानिसहरू सङ्क्रमित नभएका तर सङ्क्रमित भएका हुन सक्ने सम्भावना सबभन्दा बढी भएको हुन्छन् । यस कारण यसमा राखिएका मानिसहरूको तुरुन्तै परीक्षण गर्ने व्यवस्था र व्यवस्थित बसोबासको व्यवस्था हुन जरुरी रहन्छ ।

यसलाई छात्रा बासको रूपमा होइन एक अस्पतालको रूपमा बुझ्न अति आवश्यक छ । जति छिटो परीक्षण त्यति छिटो सङ्क्रमण रोक्ने तथा छिटो भन्दा छिटो ट्रेसिङ गर्न सजिलो हुन्छ जुन समाजमा हुने सङ्क्रमण रोक्ने एक मात्र आधार हो ।

दोस्रो:- कुनै एक मानिसमा पनि सङ्क्रमित रहेको अवस्थामा यसको मापदण्ड पूर्ण रूपमा पालना गरिएन भने उक्त क्वारेन्टाइनमा रहेका सबै मानिसहरूमा सङ्क्रमण हुने अवस्था हुन्छ । यस कारण क्वारेनटाइन अति उच्च जोखिम रहेको हुँदा उच्च सतर्कता बीच सञ्चालित हुनु पर्दछ ।

तेस्रो:- क्वारेन्टाइनमा बसेका मानिसहरूमा भाइरस सङ्क्रमित नभएता पनि उनीहरू अत्यधिक मनोवैज्ञानिक दबाबमा रहेका हुन्छन् । जसले उनीहरू शारीरिक र मानसिक दुवै रूपमा कमजोर हुने हुँदा उनीहरूलाई शारीरिक र मानसिक रूपमा बलियो बनाउन चाहिने आवश्यक व्यवस्था हुनु अति नै महत्त्वपूर्ण हुन्छ ।

नत्र रोगले भन्दा पनि भयले उसको रोकसँग लड्ने क्षमतालाई झन् कमजोर बनाउन सक्छ । त्यसैले मानसिक दबाबलाई यस प्रकार सञ्चालित मापदण्डले झन् बढवा दिने गर्दछ ।

चौथो:- कोरोनाको लक्षण देखिन समय लाग्ने र नेपालमा त अत्यधिक व्यक्तिहरूलाई लक्षण नै नदेखिएको पाइएको छ । यो अवस्थामा पहिलो चोटिको परीक्षणबाट नेगेटिभ देखिए पनि सङ्क्रमित नभएको भन्न सकिने अवस्था नरहने भएकोले निश्चित समय सम्म क्वारेनटाइनमा रहेका व्यक्तिहरू बिचको शारीरिक दुरीलाई तोकिएको मापदण्ड अनुसार पूर्णतः पालन गर्नु पर्दछ । नत्र उनीहरूबीच नै सङ्क्रमण हुने खतरा अत्यधिक रहन्छ ।

पाँचौँ:- क्वारेन्टाइन सबभन्दा उच्च जोखिम भएको ठाउँ हो । यस कारण क्वारेन्टाइन स्थापना तथा सञ्चालनमा कुनै पनि हालतमा लापरबाही हुनु हुँदैन । नत्र यही क्वारेनटाइन नै सङ्क्रमणको केन्द्र बन्ने कुरामा दुई मत छैन ।

छैटौँ:- क्वारेन्टाइनमा रहेका व्यक्तिहरूमा कोरोना भाइरस मात्र होइन अन्य विभिन्न सरुवा रोगहरू पनि हुन सक्दछन् । यस कारण न्यूनतम मापदण्ड विपरीत यस प्रकार सञ्चालित क्वारेन्टाइनहरुबाट कोरोना सङ्क्रमित हुने सम्भावना त पक्कै छ नै सँगसँगै अन्य विभिन्न रोगहरू पनि एक अर्को बिच सङ्क्रमण हुने उच्च सम्भावना हुन्छ ।

साथै उनीहरूमा अन्य रोगहरूको पनि सङ्क्रमण हुने सम्भावना रहन्छ । शौचालय, बस्ने कोठाहरू, फोहोर पानीको कारण निरोगी व्यक्ति १५/२० दिनको क्वारेन्टाइनको बसाइबाट बिरामी भएर घर पुग्नु पर्ने अथवा अर्को सरुवा रोग भिरेर जानु पर्ने वातावरण पनि हुन सक्ने हुन्छ ।

हो, यस कारण विश्व स्वास्थ्य सङ्गठनले क्वारेन्टाइनको मापदण्ड तोकेको छ । यसैलाई मान्यता दिँदै नेपाल सरकारले पनि क्वारेनटाइनको मापदण्ड जारी गरेको छ । तर चीनबाट ल्याइएका विद्यार्थी राखेको क्वारेनटाइन बाहेक नेपालमा हाल सञ्चालित कुनै पनि क्वारेनटाइन नेपाल सरकारले तोकेको मापदण्ड अनुसार नरहेको देखिएको छ ।

यहाँ सम्मकी क्वारेनटाइनमा तातो पानी, सफा शौचालय, उचित खानपान, व्यवस्थित बस्ने, सुन्ने ठाउँ जस्ता न्यूनतम व्यवस्था समेत नभएको यथार्थता हामीले देखेका छौँ । क्वारेनटाइनमा बसेको मानिस बिरामी हुँदा अस्पताल लाने एम्बुलेन्स सम्मको व्यवस्था हुन नसकेर बिरामीले मृत्युवरण गर्नु परेको समाचारले हामीलाई लज्जित तुल्याएको छ । नेपाल सरकार आफैले बनाएको क्वारेनटाइन न्यूनतम व्यवस्था नहुनु सरकारको चरम लापरबाही प्रमाणित भएको छ ।

नेपाल सरकारले तोकेको न्यूनतम व्यवस्था के के छन् ?

१) सुरक्षाको पूर्ण ग्यारेन्टी ।
२) नुहाउन, कपडा धुन, शौचालय लगायतमा चाहिने स्वच्छ पानीको व्यवस्था ।
३) फोहोर व्यवस्थापनको लागी आवश्यक सरसफाइका सामानहरू, आवश्यक डष्टविन लगायतको व्यवस्था ।
४) स्वच्छ, शुद्ध पानी र पोषणयुक्त खानपिनको व्यवस्था ।
५) बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती, दिर्घरोगी तथा छुट्टै क्षमता भएका व्यक्तिहरूको लागी विशेष खानपिन र अन्य आवश्यक व्यवस्था ।
६) पूर्ण सरसफाइको ग्यारेन्टी सहित आवश्यकता अनुसार सरसफाइको कर्मचारीको व्यवस्था ।
७) सञ्चार, स्वास्थ्य, सडक अन्य आवश्यक व्यवस्था ।
८) एम्बुलेन्स २४ घण्टा उपलब्ध हुनुपर्ने र चालक पनि अनिवार्य रहनु पर्ने ।
९) सुत्नको लागी उचित व्यवस्था ओढ्ने, ओछ्याउने, झुल लगायत मौसम अनुसार अति आवश्यक व्यवस्था हुनुपर्ने ।
१०)  सय जना रहने क्वारेनटाइन कम्तीमा एक जना एमपीएच, एपडी गरेको चिकित्सक हुनु पर्ने ।
११)  मेडिकल अधिकृत र स्वास्थ्य परिचारिका कम्तीमा १र१ जनाको व्यवस्था ।
१२) प्यारामेडिक र फर्मासिस्ट १/१ जना ।
१३) स्वास्थ्य सुरक्षाको लागी आवश्यक अन्य तातोपानी, साबुन, ह्यान्ड सेनिटाईजर लगायत न्यूनतम आवश्यक सामानहरूको व्यवस्था हुनुपर्ने ।

 किन बने मापदण्ड विपरितका क्वारेन्टाइन ?

केन्द्र सरकारले जारी मापदण्डहरू राज्यको सबै सरकारी निकाय, प्रदेश सरकार तथा स्थानीय सरकारहरूलाई कानुन सरह लागु हुन्छ । विभिन्न स्थानीय सरकार तथा प्रदेश सरकारहरूले हाल सञ्चालित अधिकांश क्वारेनटाइन मापदण्ड विपरीत हुनु एक गम्भीर कानुनी प्रश्न हो ।

यसले कानुनको उल्लङ्घन त गरेको नै छ । यस प्रकारको गतिविधिहरू संवैधानिक र मानव अधिकार विरुद्ध पनि छ ।

नेपालको संविधान अनुसार पनि सबै नेपालीहरूको उपचार पाउने र स्वच्छ वातावरणको अधिकारलाई आधारभूत मानव अधिकारको रूपमा ग्यारेन्टी गरेको छ । यस कारण पनि यो संवैधानिक अधिकारको समेत विरुद्धमा छ ।

यो मानव अधिकारसँग जोडिएको पनि विषय हो । राष्ट्रिय मानव अधिकार आयोगले समेत यस सम्बन्धमा सरकारको ध्यानाकर्षण गरेको छ ।  तोकिए बमोजिमको व्यवस्था सबै क्वारेन्टाइन स्थलहरूमा व्यवस्था गर्नको लागी निर्देशन समेत दिएको छ ।

अन्तमा,

मापदण्ड विपरीतका सबै क्वारेन्टाइन गैर कानुनी हुन्छन् र त्यस प्रकारको क्वारेनटाइन स्थापना गर्ने व्यक्ति तथा समूहलाई कानुनी कारबाही हुनु पर्दछ भने सबै मापदण्डहरू बन्द गरिनु पर्दछ ।

यदि मापदण्ड अनुसार सञ्चालन गर्न नसकिने हो भने उनीहरूको घरलाई नै क्वारेनटाइन बनाउनु बुद्धिमत्ता हुन्छ । यसरी घरमै क्वारेनटाइनमा रहँदा न्यूनतम मापदण्ड नपुगेको क्वारेनटाइनमा रहनु भन्दा जोखिम कम हुने कुरा यसमा संलग्न चिकित्सकहरूले बताएका छन् ।

मापदण्डहरू विश्व स्वास्थ्य सङ्गठनलाई देखाउन र कागजी दस्ताबेज बनाउन मात्र राज्यहरूले बनाउने होइन । यसको पूर्ण परिपालन गर्नु राज्यको मुख्य जिम्मेदारी हो । यस कारण पनि क्वारेन्टाइन कुनै देखावटी र प्रचारबाजीको विषय कदापि हुनु हुँदैन ।  नत्र यो कानुनी शासनको उपहास हो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments