सुधार र प्रगतिको संकेत छैन

बुधबार, साउन २९, २०७६



- डा. गोबिन्द बहादुर थापा

सरकारको काम गराईमा अकल्पनीय ढिला सुस्ति छ साथै के बितेको छ र ! गर्दै गरौंला भने जस्तो देखिएको छ । विकासलाई गति दिन स्थापित र संगठित सबै सरकारी निकायहरुलाई आ—आफ्नो जिम्मेवारीको काममा सक्रियता पूर्वक संलग्न गराउनु पर्ने हुन्छ । देशमा दर्जनौ महत्वपूर्ण निकायहरु लामो समयदेखि रिक्त रहेका छन् । र तिनले गर्नु पर्ने काम अलपत्र परिरहेको छ । महत्वपूर्ण सरकारी निकायका प्रमुखहरुमा आफ्ना खास मानिसहरुलाई नियुक्त गर्ने परम्परा त्यागी राजनीतिक स्वार्थ भन्दा माथि उठेर दक्षता, क्षमता तथा ईमान्दारिताको आधारमा गर्ने परम्परा शुुरु होला भन्ने आम अपेक्षा थियो । देशमा तीव्र रुपमा सुधार र प्रगतिको निमित्त यसो गर्नुको विकल्प थिएन । तर यसमा पनि पार्टीहरुबीच भागवण्डा र पार्टी भित्र पनि आफ्ना विशेष मान्छेहरुलाई मात्र नियुक्त गर्ने पुरानै परम्पराले नै निरन्तरता पाईरहेको छ । त्यस्ता नियुक्तिहरु पनि समयमा नगरी निकै समय घर्काएर मात्र गर्ने परम्परा बसेको छ ।

केहि महत्वपूर्ण निकायहरुको प्रमुखमा नियुक्त भएका व्यक्तिहरु पनि  काम गर्ने वातावरणको अभावमा राजिनामा गरेर गएका छन् । तर पनि यसमा सरकार प्रतिकृया बिहिन भएर रहेको छ । आधा दर्जन जति संवैधानिक निकायहरुको गठन हुनै बाँकी छ र गठन भएका एकाध आयोगमा पनि प्रमुखमा मात्र नियुक्त गरिएको छ, आयुक्तहरु नियुक्त गरिएको छैन । त्यसैले यस्तो सुस्ती पाराको काम गराईले देशमा अपेक्षित सुधार र प्रगति कसरी होला? यस्तो पाराले द्रुतगतिको विकासको त कल्पना नै गर्न सकिदैन । यो त समय बिताउने मात्र काम भयो । बहुमतको स्थिर सरकार हुँदा पनि काम गराईमा हिजोकै शैली नछोड्ने हो भने यत्रो ऐतिहासिक परिवर्तनको के अर्थ भयो ?

बहुमतको सरकार बनेको डेढ वर्ष बित्न लाग्दा घुस, कमिशन र भ्रष्टाचार घट्नु पर्नेमा झन बढेको अनुभूति भईरहेको छ । सरकारी बेरुजु घट्नुको सट्टा बढ्दै गएको रिपोर्टिङ्ग भईरहेको छ । महालेखा परीक्षकको विभागको प्रतिवेदनले बेरुजुको यस्तै चित्र प्रस्तुत गरेको छ । सार्वजनिक निर्माणका आयोजनाहरुमा ढिला सुस्ति झन बढेर गएको प्रतित हुन्छ ।

प्रचण्ड बहुमतको बलियो सरकार लाग्दा पनि कलङ्की—नागढुङ्गा, चाहविल—साँखु र भक्तपुर-नगरकोट लगायतका दर्जनौं सडक सुधार कार्यले खासै गति लिन सकेको छैन । जनता नै सडकमा आएर व्यस्त सडक अवरुद्ध गर्दा पनि सरकारले खासै सम्दवेनशीलता र सकृयता देखाएन । अर्को तिर फजुल खर्चको मात्रा बेरोकटोक बढ्दै गईरहेको महसुश भईरहेको छ । यसरी वित्तीय अनुशासन भन्ने कुनै कुरै नरहे जस्तो देखिन थालेको छ । सरकारी संयन्त्रमा चरम खालको वेथिति व्याप्त छ । हुँदाहुँदा सरकारले सवारी चालक अनुमतिपत्र समेत वितरण गर्न नसकिरहेको स्थिति छ ।

यो यथास्थिति पनि कायम राख्न नसकेको अवस्था हो । सरकारबाट लिनु पर्ने सेवा सुविधा लिने कुरामा पनि ढिला सुस्ति, आलटाल र घुसको प्रचलन यथावत छ वा अझ बढेको छ । यसमा सुधार ल्याउने कुरामा कसैले केहि गरेकै देखिदैन, त्यतातिर कसैको ध्यान गएकै छैन । यो भनेको सरकार भएको अनुभति नै नभएको स्थिति हो । विगतका गैह्र वामपन्थी सरकारहरुको कार्यशैली भन्दा अहिले के कुरामा सुधार आयो ? के कुरामा प्रगति भयो ? यस्तो पाराले विकासको बाटोमा हामी धेरै पर जान सक्दैनौ ।

यस्तो राजनीतिक वातावरणमा त देशमा विकासको लहर उर्लनु पर्ने हो । अभियान चल्नु पर्ने हो । चारैतिर आशा, उत्साह, जोश र जाँगरको वातावरण बन्नु पर्ने हो । त्यस विपरीत देशमा निराशा, कुण्ठा र असन्तुष्टि घनिभूत हुदै गईरहेको अनुभूति हुन थालेको छ । धान रोप्ने बेला चामलको अभाव हुने र भदौ लाग्ने बेलामा दुधको अभाव हुने त्यहि पुरानै रोगबाट किसान र उपभोक्ताहरुले अहिले पनि मुक्ति पाउन सकेका छैनन् ।

यसरी पहिले र अहिलेमा फरक के भयो ? यो डेढ वर्षको अवधिमा यो क्षेत्रमा यस्तो सुधार र प्रगति भयो भनेर देखाउन सकिने कुनै कुरै देखिदैन । त्यस विपरीत यस वीच वेथितिका नयाँ नयाँ कीर्तिमान स्थापित भएका छन् । त्रिविवि भित्रैबाट फेल भएकालाई गोल्ड मेडलिष्ट बनाउने सम्मको कल्पनै गर्न नसकिने करतुत पनि अहिले भयो । आफै विज्ञापन गर्ने, आफै प्रश्न निकाल्ने, आफै जाँच लिने, आफै उत्तर पुस्तिका जाँच्ने र अन्तर्वार्ता लिएर आफ्नै परिवारका मान्छेलाई जागिर दिनेसम्मको दुष्कर्म पनि त्रिविविमा अहिल्यै भयो । बढुवा प्रयोजनको लागि पिएचडी डिग्रीलाई पहिल्यै देखि दिईदै आएको नम्बर घटाएर पिएचडी नगरेको आफैलाई प्राध्यापकमा बढुवा गर्ने काम पनि त्रिविविमा अहिल्यै सम्पन्न गरियो ।

यस्तो नाजुक अवस्थामा पुगेको त्रिविविको आन्तरिक व्यवस्थापनमा सुधार ल्याउन त्यस्तै प्रकृतिका सक्षमहरु मध्ये सक्षम पदाधिकारीहरु नियक्त गर्नु अत्यावश्यक भएको बेलामा विगतमा जस्तै भागवण्डा र आफ्नो निकटताका ऐरे खैरे व्यक्ति नै चयन गर्ने परम्परा तोडिने छाँट देखिदैन । यसले सुधारको सन्देश दिदैन ।

भनाईको मतलव के हो भने हिजो  कै विकृति र विसङ्गतिले अहिले पनि निरन्तरता पाईरहेका छन् । जसले देशलाई वेथिति, अराजकता, अनुशासनहिनता र अवनति तर्फ लाँदै छ  । जबकी स्थिर र बलियो सरकारले त्यस्ता विकृति र विसङ्गतिहरुको अन्त्य गर्दै देशलाई सुधार र प्रगतिको बाटोमा तीव्र बेगकासाथ अघि लैजानु पर्ने थियो ।

यस कुराले जनतालाई निरास पारेको छ । (पूर्व) एमाले नेतृत्वको सरकारको यस्तो चालाले कम्युनिष्टहरु प्रति नै जनतामा वितृष्णा  बढ्दै गएको पाईन्छ । यसले कम्युनिष्ट आन्दोलनलाई मात्र होईन देशलाई नै ठुलो घाटा पारिरहेको छ । यस्तो शैलीमा तत्काल सुधार गरिएन भने देश, जनता र वाम आन्दोलनले ठुलो नोक्सानी व्यहोर्नु पर्नेछ । आगे नेताहरुकै मर्जि ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata