नेपाली राष्ट्रियता माथिको लुछाचुँडी

सोमवार, बैशाख २९, २०७७



- मनोज कुमार कँडेल-अधिवक्ता

विश्व कोरोना कहरले क्षतविक्षत छ । नेपाल पनि विश्वसँगै कोरोना युद्धमा होमिएको छ । आज सम्म एक जना नेपालीहरूले पनि नेपालमा ज्यान गुमाएका छैनन् । झन्डै ३५ प्रतिशत नेपालीहरू जो सङ्क्रमित भएका थिए, कोराइनालाई जितेर घर फर्किसकेका छन् भने बाँकीको अवस्था सामान्य छ ।

लाग्छ – भगवान् पशुपतिनाथको कृपाले होला, कोरोना हामी नेपालीहरूबीच हार्दै छ । कोरोनाको यो लडाइसँगै नेपालीले नेपाली शान, नेपाली माटोको सुरक्षाको लडाई लड्नु पर्ने गरी नेपाली आकाशमा कालो बादल मडारिएको भान हुदैछ । हुन त यो कालो बादलले देशमा घेरा हाल्न थालेको आज होइन, यो कालो बादलले घेरा हालिरहेको हामीले नदेखेको पनि होइनौँ ।

तर हाम्रो लाचारीपन, चाकरीपन र निरीहपन बिच कालो बादल यसरी मडारिँदै छ । जसले नेपाल र नेपालीको त्यो माटो, त्यो शान र मान आज खुम्चिँदै गएको छ । यस बीच गोपाल प्रसाद रिमालको यो राष्ट्रिय गीत “रातो र चन्द्र सूर्य” जस्तै नेपालीको जङ्गी निशानलाई फैलाउनु जरुरी देख्दछु ।

हिमाल झैँ अटल यो, झुकेन यो कहिल्यै
लत्रेन यो कहिल्यै, जङ्गी निशान हाम्रो
यो जन्मँदै जगतमा कैंयौं प्रहार आए
साम्राज्य दुई हारे, हारेन शान हाम्रो

नेपाल ठुला छिमेकी देश चीन र भारतले घेरिएको छ । जनसङ्ख्या, भौगोलिक अवस्था, सामाजिक क्षमता, आर्थिक क्षमता लगायत सबै अवस्थाले कमजोर देखिन्छ । त्यही भएर होला धेरै प्रसङ्गमा नेपाललाई “दुई ढुङ्गा बिचको तरुल”भनिएको पाउँछौँ । चीन र भारतबीचको द्वन्द्व र उनीहरूबीच रहेको आर्थिक प्रतिस्पर्धामा नेपाल “दुई देशबीचको पुल”हुनु पर्ने थियो र हुन सक्थ्यो पनि । तर यस गतिमा नेपाललाई अगाडि बढाउन राजा महेन्द्रले केही कोसिस गरेता पनि जब नेपालमा भारतको सहयोगमा प्रजातन्त्र नामक नेता र पार्टीहरूको नाचतन्त्र आयो, सायद त्यहीबाट नेपालको आकाशमा कालो बादलले घेरा हाल्न थालेको थियो । जुन हामीले अहिले कालो मुस्लो भएर मडारिन लागेको देख्न थालेका छौँ ।

हिजो त्यो विद्यार्थी कालमा जब म नेपाल ल कलेजमा पढ्दै थिए । आज अति नै नकिनो लाग्ने गरी सम्झना आएको छ । सम्झिन्छु ती नेविसंघ र अनेरास्ववियू दुई कुकुर बिरालो जस्तो देखिने जमात, एकले अर्कोलाई लखेट्ने, कुट्ने र पछार्ने गरेको । उपत्यकाका एक कलेजबाट जमात लाटी बोकेर अर्को कलेजमा हमला गर्दै भन्थे यो अनेरास्वबियू चीनमा पानी परेपछि नेपालमा पानी परोस् नपरोस् छाता ओढ्छ अनि फेरी प्रति भाषण आउँथ्यो यी नेविसंघहरु भारतमा पानी परेपछि नेपाल सुख्खा हुँदा पनि यहाँ छाता ओढ्छन् ।

आज पो मलाई मति आयो, यी दुवै सर्प थिए त्यही भएर एकले अर्कोको खुट्टा देख्दा रहेछन् कता पानी परेको कता पानी नपरेको थाहा हुँदो रहेछ यिनलाई । सात सालको प्रजातन्त्र देखी २०४६ सालको बहुदल यता सबै आयातित भए । पञ्चायती व्यवस्था र सुधारिएको पञ्चायती व्यवस्था भने कुनै न कुनै रूपमा नेपालमा उत्पादित थिए तर आयातित व्यवस्थाले तिनलाई विस्थापित गरी सकेको छ ।

सायद जब मूलको पानी नै धमिलो हुन्छ कुनै पनि तहमा बगेर गए पनि पानी सग्लिने सम्भावना रहँदैन । हो आजको हाम्रो अवस्था यस्तै छ । यसको ज्वलन्त उदाहरण लकडाउन बिच चीनको राजदूतको सक्रियता थियो । कम्युनिस्ट पार्टीको त्यो रडाको बीच तिनै देवीले सुरक्षा कवच राखिन भन्ने हल्ला बजारमा त्यतिकै चलेको होइन । पार्टीहरू आज पनि कतै न कतैको छाता ओढेर राष्ट्रवादको अलाप हाली रहेका छन् ।

नेपालीले विदेशमा चुहाएको पसिनाको त्यो रेमिटेन्सबाट तलब भत्ता हसुरेर उत्तर र दक्षिणको ढोकामा दक्षिणा माग्ने यी हुतिहाराहरुले नै आज नेपाली आमाको बलात्कार गर्न सहयोग गरिरहेका छन् । यो लकडाउनको बिच लाग्छ, हरेक राष्ट्रवादी नेपालीको मन दुखी रहेको छ, पेट पोली रहेको छ । आफूले आफैलाई धिक्कारिरहेका होलान् आफ्नो देशको माटो माथि नाङ्गो नाच भइरहेको टुलुटुलु हेरी रहनु पर्दा । आफूले दिएको त्यो भोटले पनि अवश्य उनीहरूको मन पोलिरहेको छ ।

२०७२ साल जेठमा जब चीन र भारतले नेपालको भूमि लिपुलेकलाई उनीहरूको व्यापारिक केन्द्र अझ भनौँ सामारिक केन्द्रको रूपमा प्रयोग गर्नको लागी सन्धि गरेको थिए, हो त्यहीबाट नेपाल र नेपालीहरूको सार्वभौमसत्ताको प्रश्न उठेको थियो ।

नेपालको भूमि कसरी चीन र भारतले सन्धि गरेर प्रयोग गर्न सक्थ्यो ? तर उत्तर र दक्षिणका छाता ओढेर बाँचेका यी भस्मासुरहरु के बोल्थे र । हो, यसैको नियति थियो र आज हामीले सुनी रहेका छौँ नेपालको शासक, सेना, प्रहरी, गुप्तचर कसैलाई पनि थाहा छैन रे बाटो खनेको ।

के त्यो मुसाले दुलो खनेको थियो ? के त्यो दुम्सीले घर बनाएको थियो, थाहा नहुने, होइन भने यी शासक, सेना, प्रहरी, गुप्तचरलाई देशले किन पाल्ने ? के का लागी पाल्ने ? के देश लुट्न, भ्रष्टाचार गर्न मात्र ? गम्भीर प्रश्न उभिएको छ ।

सुनेको छु, अहिले नेकपाले चीनको राष्ट्रपतिको किताब पढाई रहेको छ, आम कार्यकर्तालाई । चीनले छापेर पठाएको किताबले देश प्रति माया जगाउला ? यसले देश भक्ति सिकाउला ? यसरी किन हामी राष्ट्रियताको नाममा अधोगति, अधोमती तिर लागी रहेका छौँ ? हाम्रो दर्शन, गीता, महाभारत अनि वेदहरू जो विश्व दर्शन बनेको छ, खोइ तिनको पढाई, राष्ट्रवाद भाषणले त आउने होइन नि ?

यही एक हप्तामा तिन घटना घटे जसले नेपाल र नेपालीको राष्ट्रियता र सार्वभौमिकतामा प्रश्न उठाएको छ । पहिलो, चिनिया राजदूतको सत्ताधारी पार्टीसँगको चलखेल जसले प्रस्ट सन्देश थियो नेकपाको नेतृत्व उत्तरको कब्जामा छ । यसै बीच बन्दको समय ५० औँ जना चिनियाहरु सिंहदरबार छिर्न कोसिस गर्दछ । नेपाल प्रहरी निरीह जस्तो कुटाई खाएर बस्छ ।

दोस्रो, नेपालको भूमि नेपालीको माटो लिपुलेकमा भारतले एकपक्षीय रूपमा खनेको सडकको उद्घाटन गर्छ, अनि सरकार भन्छ उनीहरूलाई केही थाहा थिएन अनि घर भित्र महिनौँ देखी डोजर चलाएको देख्न नसक्ने सरकार, सेना, प्रहरी, गुप्तचर निकम्मा हुन ?

भारतीय सीमामा नेपाली कुटिन्छन्, नेपाल प्रहरी कुटिन्छन् अनि नेपाली सीमा सुरक्षा फौज पनि यसै बिच कुटिन्छन् तर हामी मौन धारणा गरी रहेका हुन्छौँ । जनताले अति नै कराए भने एक प्रेस नोट निकाल्यो, हाइ सन्चो ।

तेस्रो, अमेरिकी दुतवासले प्रेस विज्ञप्ति निकाल्दै सल्लाह दिन्छ, यो सांसदले जस्ताको तस्तै एमसीसी पास गरेर उनीहरूको भावभक्ती देखाउनेछ । उनीहरूको चाहाना पुरा गर्ने छ ।

अवश्य यो पनि अमेरिका र चीनको शक्तिको लडाई होला । हामी नेपाली अवश्य रुनु पर्नेछ जसले जिते पनि । यो लडाई उनीहरूले अवश्य नेपालको लागी लडेका छैनन् । लाग्छ, छिट्टै अब अमेरिकाको छाता ओढेर अर्को राष्ट्रबाट जन्मिनेछ ।

तिन तिरको लुछाचुडिले नेपाल आमाको छाती छियाछिया परेको हुनुपर्छ । रुँदै सराप्दै होलीन यी हुत्तिहारा सन्तानहरू जसले नत लिपुलेक बचाउन सक्छ नत अर्को देशको छाता ओढ्न छोड्छ ।

अनि यो देशमा सेना हुँदो हो त गोर्खालीको त्यो खुकुरी उदाएर त्यो लिपुलेकमा टल्काउने थियो र भन्थ्यो भलै हामी हारौँला तर एक थोपा रगत रहे सम्म यो माटो छोड्ने छैनौँ ।

राष्ट्रवादी शासक हुँदो हो त सुन्ने थियो आफ्नो सिमानामा डोजर कुदाएको । आदेश दिन्थ्यो र भन्थ्यो १ हप्तामा मेरो देशमा कुदेको ती अपराधी पाइलाहरू फर्क नत्र नेपालीको शरीरमा अझै रगत जिउँदै कुदिरहेको ।

अन्तमा,

जब सम्म चन्द्र सूर्य, आकाशमा रहन्छ
तब सम्म हुन्छ आफ्नै, रातो रगत यो हाम्रो
रातो र चन्द्र सूर्य, जङ्गी निशान हाम्रो
जिउँदो रगत सरि यो, बल्दो यो शान हाम्रो

लेखक: मनोज कुमार कँडेल, अधिवक्ता /बालअधिकारकर्मी हुनुहुन्छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments