आत्मनिर्भरता समृद्धिको बाटो

बिहिबार, साउन ३०, २०७६



- रम्भा पौडेल

आत्मनिर्भरता समृद्धिको बाटो

भूमिका:
समृद्धि जीवनलाई उज्यालो बनाउने पाटो हो । प्रर्याप्त सन्तुलित खाना, बस्नलाई राम्रो घर, लाउनलाई प्रर्याप्त कपडा, शुद्ध  पिउने पानी यातायात र सञ्चार, गुणस्तरीय शिक्षा र स्वास्थ्य सुविधा, विचारमा प्रगतिशिलता,  स्रोत र साधनमा पहुँचको अवस्थालाई नै समृद्ध जीवन भन्न सकिन्छ ।

आज नेपाली जनताको जीवनस्तरलाई हेर्दा यी आवश्यकताहरू सबै जनताले अझै प्राप्त गर्न सकिरहेका छैनन् । कैयौँ नेपालीहरूको साँझ बिहानको छाक टार्ने समस्या यथावत् छ । यही खाने लाउने समस्या समाधानका लागि नेपाली जनताले परिवर्तन खोजे । राष्ट्र र जनताको उन्नतिका लागि नै ठुला ठुला आनदोलनहरु भए । जनताले खोजेको शासन व्यवस्था नआई जनताको दिन आउँदैन भनेर नै पार्टीहरू शासन व्यवस्था परिवर्तनमा लागे । जनता आन्दोलनमा लागे । २०६२ -६३ को शान्तिपूर्ण आन्दोलनले १५ सय वर्ष देखिको सामन्तवाद र २४० वर्ष लामो राजतन्त्रात्मक शासन व्यवस्था परिवर्तन गरी गणतन्त्रात्मक शासन व्यवस्था स्थापित भएको छ । नयाँ संविधान बनेको छ । जनताले आफूलाई मन पर्ने संविधान आफै निर्माण गरेका छन् ।

बदलिएको परिस्थिति :
हिजोका राणाकालीन दिनहरूमा जनता बोल्न सक्ने अवस्थामा थिएनन्। पंचायतकालमा थोरै खुकुला दिनहरू आए ।पार्टीहरूले भूमिगतै रूपमा भए पनि जनतामा चेतना जगाउने र आफ्ना अधिकारका लागि उठान र लड्न जनतालाई जगाउने काम गरे । बहुदलले सबै कुरा खुला पारिदियो । हिजो धनी र गरिबका बिचमा विचार र चेतनाको पनि गरिबी थियो । गरिब हुनु तथा तल्लो जात हुनु भाग्यको खेल हो भन्ने मान्यतामा थिचिएको समाजमा जनता आफ्नो भाग्य नै यस्तै भएको कुरा स्वीकार गरेर बसेको अवस्था थियो । तर आज जनताका विचारमा परिवर्तन आएको छ ।पछाडि परेको वर्ग पनि आज राजनीतिक चेतनाबाट जर्मुराउदै छन् । अब भाग्य होइन अधिकार र उपभोगका लागि मानिसहरू उठदैछन ।हिजो घरभित्र बस्ने महिलाहरुआज खाडिमुलुक देखि जापान, बेलायत, अमेरिकासम्म काम, दाम र अवसरको खोजीमा पुगिरहेका छन् । नेपाललाई नयाँ ढङ्गले विकास र परिवर्तन गर्नु पर्नै अवधाराणाहरु अगाडि आएका छन् अर्थात् नयाँ नेपाल बनाउने कुरा आएका छन् । मुलुक अब राजनीतिक मुद्दाबाट आर्थिक विकास र समृद्धिको चरणमा प्रवेश गरेको छ ।यसका लागि आर्थिक सुशासनको अवस्थामा उल्लेख्य परिवर्तनको खाँचो छ ।देशको आर्थिक समृद्धिका निमित्त श्रमशक्ति, स्रोत  साधनको परिचालन हुनु पहिलो आवश्यकता हो। हाम्रो देशको श्रम शक्ति कहाँ र कस्तो अवस्थामा छ ? स्रोत र साधनहरूलाई के कसरी परिचालन गर्न सकिन्छ? यसको खोजी हुनु जरुरी छ । नेपालको समृद्धिका आधार, प्रणाली, संरचना, अवसर र अवरोधहरूको पहिचान गरी अगाडि बढ्नु पर्दछ । युवा शक्ति बिदेसिएको छ । यसलाई रोक्ने बिन्दुको खोजी गरिनु पर्दछ ।

हाम्रा चुनौतीहरू:
एकातिर हत्या हिंसा, बेरोजगारी, कालोबजारी, भ्रष्ट्राचार, महिला बेचबिखन छदैछ भने अर्कौ तर्फ हाम्रो नेपाली समाज पुँजीवादको प्रारम्भिक अवस्थातिर रूपान्तरित हुँदैछ । सबै कुरा पूँजीसँग दाँजिने र साटिने अवस्था बन्दै छ । यति बेला महिला विज्ञापनका साधन र चरम उपभोग्य वस्तु बन्दैछन । राजनीतिलाई पैसाले किन्दै छ । निष्ठाको राजनीति अब समाप्त हुँदैछ एकातिर भने अर्को तर्फ जनतामा उत्साह पनि मर्दैछ । जनतामा निराशा आउनु राज्यको लागि दुखद कुरा हो । चाहे त्यो नेतामा होस वा जनतामा उत्साहित भएर काम गर्ने वातावरण सृजना गर्नु पर्दछ । राज्यका अगाडि यी चुनौतीहरू देखिदैछन । समयमै यी चुनौतीहरू सामना गर्नु पर्ने देखिन्छ ।

  • प्रत्येक वर्षको आर्थिक वृद्धिदर अत्यन्त न्यून छ । यस तर्फ ध्यान जाओस् ।
  • देश भित्रको बढ्दो बेरोजगारीले जनशक्ति पलायन भइरहेको छ । यसको छिटो व्यवस्थापन हुनुपर्दछ ।
  • हरेक वर्षको आयात निर्यातलाई हेर्दा आयात बढ्दो र निर्यात घट्दो भई व्यापार घाटामा देखिन्छ । यसलाई सन्तुलन गर्ने तर्फ लाग्नु पर्दछ ।
  • उत्पादनका साधनमाथिको पहुँच र त्यसको वितरणमा असमानताका कारणले नै जनतामा असन्तुष्टि आएको छ।
  • गरिब झन् गरिब हुदैछन भने केही मानिसको हातमा पूजि थुप्रीदैछ ।

अबको हाम्रो बाटो :

माथिका चुनौतीहरूलाई सामना गर्दै देश र जनतालाई समृद्ध बनाउने दिशातर्फलाग्नु सरकारको प्रमुख दायित्व हो । तर त्यसका लागि ठोस योजनाको भने खाँचो पर्दछ । स्वाधीन अर्थतन्त्रको मौलिक विकासको बाटो नै अबको हाम्रो मूल बाटो बन्नुपर्दछ  । व्यक्ति व्यक्तिमा छरिएर रहेको पूँजीलाई एकत्रित गर्दै साना ठुला योजना, परियोजना र संस्थाहरूको निर्माण गर्दै थप पुजी निर्माणको दिशा तर्फ अगाडि बढ्न जनतालाई प्रेरित गरिनु पर्दछ । व्यक्तिसँग रहेको पूँजीलाई व्यावसायिकतामा लगानी गर्न प्रेरित गर्नु पर्दछ । वैदेशिक रोजगारीबाट प्राप्त हुने आम्दानीको निश्चित अंशलाई उत्पादनमूलक काममा लगानी गर्न ठोस योजना बनाइनु पर्दछ । देशभित्र छरिएर रहेका स्रोतहरूको परिचालन गरिनु पर्दछ । लगानी कर्ताको पुजिएको सुरक्षाको ग्यारेन्टी गरिनु पर्दछ । वृद्ध र बच्चा बाहेक हरेक नेपाली नागरिकलाई काम गर्नै पर्ने बाध्यकारी अवस्था सृजना गर्नु पर्दछ । काम नगर्ने ठुला गफ मात्र गर्नेका अगाडि काम गर्ने नै ठुलो हो भन्ने मान्यता स्थापित गरिनु पर्दछ ।

पलायन भएर गएको ठुलो श्रमशक्तिलाई नेपाल भित्राउने योजना बनाइनु पर्दछ ।  गाउँफर्क अभियान अव फेरी लागु गर्नु पर्दछ । यतिन्जेल युवाहरू बाहिर बसे त ठिकै गरे । कसैले नयाँ सिप सिके, कसैले भाषा सिके, कसैले लगानीका आधार सिके त कसैले सभ्यता सिके होलान ।

जे सुकै होस । आज समयले तिनै युवाहरूको खोजी गरिरहेको छ । अब राष्ट्रको उन्नतीको ढोका तिनै श्रमिकहरूको हातमा छ, जो श्रम गर्छन्, जो स्वरोजगारको खोजी गर्छन् र आत्म निर्भर भएर बाच्छन् । ती सबै जनताका लागि नेपालको कृषि , पर्यटन, जलस्रोत, खानी, जङ्गल, माटो उद्योग, व्यापार जडीबुटी फलफूल सबै क्षेत्रले हामीलाई उपयोग गर भन्ने सन्देश दिइरहेका छन् । यसैमा नै हाम्रो भविष्य छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata