बजेट कारोबारको नाजुक स्थिति

शनिबार, जेष्ठ १०, २०७७



- डा. गोविन्दबहादुर थापा

महालेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सरकारलाई फागुन मसान्तसम्म (बन्दा बन्दी सुरु हुनु अघिसम्म) राजस्व दैनिक रु. २ अर्व २४ करोड ९८ लाख प्राप्त भइरहेकोमा जेठ लागेपछि ९ गतेसम्म (१-९ सम्म) दैनिक रु. ६८ करोड ७ लाख मात्र प्राप्त भइरहेको छ । जबकि सरकारको खर्च जेठका यी दिनमा दैनिक रु. ३ अर्व ३५ करोड ७३ लाख भइरहेको छ । यसरी यी नौ दिनमा मात्र सरकारलाई दैनिक रु.दुई अर्व ६७ करोड ६६ लाख घाटा भइरहेको छ । यसरी राजस्वले चालु खर्च पनि धान्न नसकी रहेको स्थिति छ । यी नौ दिनमा प्रतिदिन रु. ३ अर्व ११ करोड ६१ लख चालु खर्च भइरहेको छ भने राजस्व माथि उल्लेख गरिए अनुसार दैनिक जम्मा रु. ६८ करोड ७ लाख मात्र प्राप्त भइरहेकोले सरकारले दैनिक रु. दुई अर्व ४३ करोड ५४ लाख आन्तरिक ऋण /वा वैदेशिक सहायताको उपयोग गरी चालु खर्च व्यहोरी रहेको छ ।

यसरी मुलुकमा बन्दा बन्दीको अवस्था जारी रहिन्जेल सरकारको वित्तीय कारोबारको स्थिति नाजुक बन्दै जानेछ । यो अवस्थामा सरकारले ऋण वा वैदेशिक अनुदानबाट सरकार सञ्चालन गर्दै जानु पर्ने छ।  जुन स्थिति अहिले नै आई सकेको छ । सम्पूर्ण करदाता उद्यमी, व्यवसायीहरूको बन्दाबन्दीको अवस्थामा आय शून्य भएकोले उनीहरूले बैङ्कको ऋणको किस्ता भुक्तानी गर्न सरकारसँग राहतको अपेक्षा गरिरहेका छन् । यो अवस्थामा सरकारले उनीहरूबाट राजस्व प्राप्त गर्न सक्ने छैन । । त्यसैले बन्दाबन्दै फिर्ता गरिएपछि पनि सरकारलाई पूर्वबत राजस्व प्राप्त हुने अवस्था छैन । मुख्य कुरा त बन्दाबन्दी कहिले फिर्ता हुन्छ ? भन्ने कुरा कसैले अनुमान गर्न सक्दैन भन्ने छ । किनभने हाम्रो दक्षिणी छिमेकमा कोरोना आतङ्क बढ्ने क्रममै रहेको छ । र, त्यहाँ बन्दाबन्दी फिर्ता नभई नेपालमा फिर्ता गर्नु सम्भव हुँदैन ।

्त्यसैले यस्तो स्थितिमा आगामी वर्षको बजेट यथार्थताको धरातलमा उभिएर निर्माण गरिनु पर्दछ । असम्भव लक्षहरू राखेर ठुलो आकारको अव्यवहारिक बजेट बनाउनु हास्यास्पद सिवाय अरू केही हुने छैन । बजेटको अर्को निराशाजनक पक्ष पुँजीगत बजेटको खर्च स्थितिको छ । यो वर्ष पुँजीगत बजेटको लक्ष रु. ४ खर्व ८ अर्व रहेकोमा वैशाख मसान्तसम्म (आर्थिक) वर्षको पहिलो १० महिना) जम्मा रु. एक खर्व १४ अर्व अर्थात् लक्षको २८ प्रतिशत भन्दा कम मात्र खर्च हुन सकेको छ । यसरी खर्चै नहुने ठुलो आकारको बजेट बनाउनुको अर्थ छैन । यसले पनि यथार्थताको धरातलमा उभिएर बजेट निर्माण गर्नु पर्ने कुरा माग गर्दछ ।

बजेट कार्यान्वयन हुने कुराको प्रत्याभूति नभई बजेटको आकार बढाउने कुरा कुनै पनि दृष्टिले मान्य हुँदैन। बजेट नक्कली मात्र हुन्छ । सरकार अर्को के कुरामा पनि सजग रहनु जरुरी देखिन्छ भने बन्दाबन्दीको अवस्था लम्बिने स्थितिमा आन्तरिक राजस्व र वैदेशिक सहायताबाट अति आवश्यकीय खर्च धान्न सम्भव नहुन सक्दछ । त्यो अवस्थामा सरकार आन्तरिक ऋणमा भर पर्नुको विकल्प हुँदैन । तर ऐनले सरकारलाई चाहे जति आन्तरिक ऋण लिन रोकेको छ । त्यसैले सरकार चलाउन नसकिने अवस्थाको लागि सम्बन्धित ऐन संशोधन गर्नु पर्ने अवस्था पनि आउन सक्दछ । अतः सरकार त्यसको लागि मानसिक रूपमा तयार रहनु पर्दछ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments